Skip to content

प्रतिक्षा (सामाजिक कथा)

  • by


कुनै समय सडकको किनारमा पङ्तिबद्ध भएर उभिएका राता, सेता र निला शिरिशका फूलहरू ढकमक्क फुलेकोले मनमोहक दृश्य देखिन्थ्यो त कुनै समय तिनै फूलहरू पात सँगै झरेर अति नै उराठ लाग्दो देखिन्थ्यो । त्यस्तै गरेर कुनै रात पारिजात र रातकी-रानी फूलहरूको मगमग बसना चल्थ्यो भने कुनै रात झुपडीहरूबाट दर्दनाक चित्कार सुनिन्थ्यो । दुई चार जना भेला भएर कुरा गर्न र कुनै सामाजिक कार्य पनि गर्न नसकिने अबस्था हुँदै गैरहेको थियो । साँच्चै नै सरकारको बर्बरता दिन प्रतिदिन बढिरहेको थियो । त्यति बेला हरेक शहर अनि गाउँ-गाउँ र टोल-टोलमा गस्तीको टोलीहरू तिब्र रुपमा खटाइएको थियो भने त्यो बर्बरता र तानाशाह को बिरुद्ध जनतामा पनि चेतनाको आगो भुसमा सल्केको आगो जस्तै प्रति घण्टा तीनसय किलोमिटरको दुरीमा फैलिरहेको थियो ।

सानु स्वरमा कसैले सूर्यप्रकाश भनेर बोलाएको आवाज सुनेपछि खाँदा खाँदैको अन्तिम गाँस त्यसै थालमा छोडेर सूर्यप्रकाश हत्तारिंदै उठ्छ अनि तत्कालिन् तानाशाह सरकारको बिरुद्ध छापिएको पर्चा र दस्तावेजहरू भएको झोला बोक्छ । त्यसपछि संगीतालाई राम्ररी ढोका लगाएर सुत्नु है भन्दै बिस्तार चोर बिरालोको चालमा ढोका खोल्छ । त्यही बेला संगीताले दुई महिनाको छोरालाई च्याप्दै एकछिन पख्नुस भनेर सूर्यप्रकाशलाई रोक्छिन ।

संगीताको आवाज सुनेपछि सूर्यप्रकाश टक्क अडिन्छ त्यसपछि संगीतले भन्छिन, “बिन्ती छ बाहिर नजानुस, हजुरलाई केही भैहाल्यो भने म के गरी बाँच्नु अनि फेरि यो दुधे बालाख छोरालाई मैले एक्लै कसरी हुर्काउनु ?”

प्यारी श्रीमती संगीताको कुरा सुनेपछि सूर्यप्रकाशले भन्छ, “हेर संगीता तिमी त देश र जनताको हितमा लड्ने एक क्रान्तिकारी बाहादुर योद्धाकी श्रीमती हौ, तिमीले यसरी कम्जोर भएको सुहाउँदैन बरु तिमीले त मलाई हिम्मत पो दिनु पर्छ । भोलि देशको निम्ति मैले म आफैंलाई बलि चढाउनु पर्यो भने पनि तिमीले तिम्रो आफ्नै हातले सिंदुर पुछेर अनि नारीभरी सजिएका राता र हरिया चुराहरू फुटाउँदै इन्क्लवको नारा लागाउन सक्नु पर्छ त्यस्तो अबस्थामा पनि तिम्रो आँखाबाट आँसु झर्नु हुँदैन किनकि तिमी मेरी श्रीमती मात्र नभएर नेपाल आमाकी पनि छोरी हौ ।”

धेरै नै बियाँलो भैसकेको छ त्यसैले हेर संगीता मलाई नरोक अब मैले जानु पर्छ । बाहिर साथीहरूले मलाई पर्खिरहनु भएकोछ भन्दै बिस्तारै ढोका खोल्छ र सूर्यप्रकाश आफ्नो गन्तब्यतिर लाग्छ । संगीताले पनि सानु मन गर्दै सुस्तरी ढोका लगाउँछिन् र बाँकिरहेको काम धन्दा सकेर सूर्य पर्काशको बाटो हेर्दै मन बहलाउनको लागि चिनिया आन्दोलन बारे लेखिएको किताब पढ्न थाल्छिन ।

एक बजे रातिसम्म पनि सूर्यप्रकाश घर नआएपछि संगीताले निदाउने कोसिस गर्छिन् तर उनीलाई पटक्कै निन्द्रा लाग्दैन । र कोल्टे फेर्दा फेर्दै मिर्मिरे बिहानी हुन्छ । रातभरि नानिदाएकोले लालगेडी जस्तै भएको आँखा मिच्दै संगीता बिछ्याउनाबाट उठ्छिन् र छोरालाई कोक्रामा सुताएर काममा हात नलागे पनि बढार कुँडार गर्न थाल्छिन् । फागु पुर्णिमा भएकोले बिहानैदेखि मानिसहरू भांग र रंगमा झुम्न थालिसकेका थिए । काम सकिएपछि संगीता पनि बार्दलीमा बसेर चिया पिउँदै फुङ्ग उँडेको मन लिएर होलीको रंग हेर्दै थिइन् ।

त्यही बेला एक जना कहिल्यै पनि नदेखेको मान्छे छेउमा आएर बसेको देख्दा संगीताले झस्किंदै सोधिन, “तपाइँ को हो ? किन यहाँ आउँनु भएको ? मैले त तपाइँलाई कहिल्यै देखेकी थिइन ।”

संगीताको कुरा सुनेपछि ती अपरिचित मान्छेले भने, “म सूर्यप्रकाशजी को साथी हुँ, हिजो रातिको मिटिंगमा वाहाँ लगाएत सात जना साथीहरू पक्राउमा पर्नु भयो । तर म भने भाग्न सफल भएँ ।”

यति भनिसक्ने बित्तिकै ती अपरिचित मान्छे आफ्नो परिचय पनि नदिई त्यहाँबाट हतार हतार निस्किए । ती मान्छेको कुरा सुनेपछि संगीतको गला अबरुद्द भयो, केही पनि बोल्न सकिनन् ।

बिचरा स्तब्ध हुँदै ती मान्छेलाई परसम्म टुलु टुलु हेरी रहिन । श्रीमान पक्डाउ परेको खवरले संगीतालाई त्यो दिन अनि रात कटाउन बर्सौं जस्तै भयो । जसो तसो रात बितेर घाम उदाएपछि छोरालाई च्यापेर संगीता श्रीमानलाई खोज्न हिंडिन् । तर कहीं पत्तो लगाउन सकिनन् । हरेक दिन श्रीमानलाई खोज्न धेरै कोशिस गरिन । यही शिलसिलामा बिचराले माइती-मावली, छर-छिमेकी अनि उनको श्रीमान सूर्यप्रकाशका साथीहरू सबैलाई गुहारिन् तर उनको केही लागेन । सूर्यप्रकाश मारिएकी या कुनै जेलमा जिउँदै छन् केही अत्तो पत्तो थिएन । सूर्यप्रकाशको खोजी कार्यमा बरु सूर्यप्रकाश कै केही साथीहरूले सघाएका थिए तर संगीताकै माइतीले भने उनलाई सघाएनन् । अझ उनको ठुलो दाइले त उनलाई सहायता गर्नुको बदला अबदेखि यो घरमा धेरै नआउनु फेरि प्रहरीले हामीमाथि पनि संका गरेर समात्न आउँछ भनिदिए । संगीतासँग उनको दाजुले यस्तो कुरा गरेको सुनेर पनि बुबा-आमा चुप छाप लागेको देखेपछि उनलाई छातीभित्र हजारौं बाणले रोपे जस्तै लाग्यो । त्यसपछि संगीतालाई माइती घरमा एक छिन पनि बस्न मन भएन तर के गर्नु रात परेकोले उनी विवश थिइन त्यसैले केही नबोली रात काटिन र बिहान उठ्ने बित्तिकै बाबा आमासँग बिदा मागेर आफ्नै घर गइन ।

सूर्यप्रकाश बेपत्ता भएको पनि छ माहिना बितिसकेछ, यतिंजेलसम्म त घरमा भएको अन्न र अप्ठ्यारो पर्दाको लागि भनेर खुत्रुकेमा राखेको पैसाले घरको गर्जो टर्यो तर अब भने संगीतालाई घर चलाउन हम्मे हम्मे पर्न थाल्यो । एक वर्ष पनि नपुगेको बालख छोरालाई कोसँग छोडेर काममा जाने, के गर्ने बिचरा संगीता नितान्त एक्ली भएकी थिइन् । घरपट्टि र माइतपट्टि कसैले पनि उनलाई सहायता गरेनन् । परिस्थितिसँग दिक्क भएर माइत गइन् भने के के नै माग्न गएको जस्तो सम्झिन्थे त्यसैले उनी कोही पनि आफन्तकोमा जान्दिन थिइन् । बरु छिमेकीले उनलाई सकेको मद्दत गर्थे । संगीताको एक जना मामाको घर उनकै गाउँमा थियो । उनको मामाले घरमै किराना पसल राखेका थिए र राम्रो ब्यापार पनि हुन्थियो साथै संगीताको मामा त्यो गाउँको धनीमानीमै गनिन्थे ।

अब त जाउलो बनाएर खाने चामल पनि सकिएको थियो र पैसा पनि थिएन । त्यसैले ठुलो आशा बोकेर संगीता उनको मामाको पसलमा दाल चामल उधारो माग्न गइन् । तर मामाले उनलाई रासन उधारो नदिएर उल्टै पहिलेको बाँकी सत्तरी रुपैंया मागे ।

मामाको कुरा सुनेपछि छक्क पर्दै संगीताले भनिन्, “मामा मसँग पैसा भएको भए म किन अहिले उधारो माँग्न आउँथेर फेरि अर्को कुरा यस्तो बिपत्तिमा मैले हजुरको पैसा कसरी तिर्नु ?”

संगीतको कुरा सुनेपछि फेरि उनको मामाले भने, “तिमी जेसुकै गर तर तिमीले भात खाने थाल बेचेर भए पनि मेरो पैसा चाहिं तिर्नु पर्छ ।”

मामाको कुराले संगीताको मुटु चिरियो तर पनि मलिम् हुँदै भनिन्, “मामा हजुर आफैँ भन्नुस त मैले भात खाने थाल बेचेर केमा भात खाने नि ?”

संगीताले बोलिनसक्दै फेरि उनको मामाले भने, “पातमा खाउ की भुइँ फुकेर खाउ मलाई मतलब छैन तर मेरो पैसा छिट्टै देउ मसँग दुनिया झारे झुरेलाई बाँड्ने सस्तो पैसा छैन ।”

आमापछि काका मामा भन्छन् उनकै कुरा यस्तो सुनेपछि संगीतालाई असहीय पीडा भयो अनि मुटुमा भक्कानो छुटेर आयो तर पनि आफूलाई सम्हाल्दै भनिन्, “मामा म हजुरको ऋण जति सक्दो छिटो तिर्ने कोशिस गर्छु बरु भुइँ फुकेरै भात खाउँला चिन्ता नगर्नुस ।”

आफू त भोकै बसौंला तर यो बालाखलाई भोकै राख्ने कुरा भएन अब के उपाय गर्नु होला । सम्पतिमा सबैको हाइ हाइ बिपत्तिमा कोही छैन दाजु भाइ भनेको यही रहेछ भन्ने सोच्दा सोच्दै संगीता घर पुगिन । छोरा भोकले रुन थाल्यो तर उनीसँग केही उपाय थिएन त्यसैले खुइय गरेर छोरालाई नरौ बा भन्दै भुइँमा थचक्क बसिन् । एक छिनपछि उनको दिमागमा बाल सखी सीताको याद आयो र बसेको ठाउँबाट जुरुक्क उठेर सीताको घर गइन् अनि सीतालाई आफ्नो अबस्था बारे बताइन् । सीताले पनि घरका मान्छेले थाहा नपाई अलिकति पिठो, चामल नुन पोको पारेर दिइन् त्यो बेला संगीता र सिता दुवै जनाको आँखा रसायो एकछिनसम्म उनीहरू एक आपसमा बोल्न सकेनन् त्यसपछि आँसुको धारा बगाउँदै संगीताले सितासँग बिदा मागेर घरतिर प्रस्थान गरिन । घर आइपुगेपछि अलिकति जाउलो पकाएर छोरालाई खुवाइन् र आफूले पनि खाइन् त्यसपछि बिछयाउनामा पल्टिएर छोरालाई सुताउँदै आफ्नै मनसँग कुरा गर्न थालिन ।

“अब यासरी त हुँदैन मैले केही त गर्नु पर्छ तर हातमा फुट्टी कौडी पैसा छैन के पो गर्ने होला फेरि ती मामाको ऋण पनि तिर्नु छ, खोइ कसरी अगाडि बढ्ने होला, गुड्दा गुड्दै को मोटर गाडी एकै ठाउँमा रोकिएको जस्तै भएको छु । न टेक्ने हंगा छ न त समाउँने हाँगा छ, त्यसै अलपत्र पो भएँ, गुहार मागौं भने खोई कोसँग माग्ने होला ।” यसरी मनमनै एक्लै कुरा गरिरहेकी थिइन् निकै बेरपछि बल्ल उनको दिमागमा एउटा उपाय फुर्यो र ढुक्क भइन् ।

सीताले दिएको दुई माना पिठो र एक माना चामलले पन्ध्र दिनलाई पुर्याइन । बिचरा संगीताले छिमेकीको बारीबाट कुनै दिन लट्टेको साग खोजेर ल्याउँथिन त कुनै दिन कर्कलो मागेर ल्याउँथिन अनि त्यसैमा एक मुठी पिठो र आधा मुठी चामल मिलाएर जाउलो बनाउँदै खाने गर्थिन । संगीताले घरमा भएको तांबे गाग्री, खंड्कुला, झर्के थाल, आँखोरा र गहना सबै बेचिन् अनि सबैभन्दा पहिले उनको मामाको सत्तरी रुपैंया तिरिन् त्यसपछि कम्तिमा दुई महिनालाई पुग्ने दाल चामल किनेर घरमा राखिन् र अब बाँकिरहेको पैसाले एउटा लैनु गाई किनिन र दुध बेच्न थालिन । दुधभन्दा पनि दही बेच्दा बढी नाफा हुने भएकोले केही समयपछि अरुको घरबाट पनि दुध बटुल्दै दही जमाएर ताजा र मिठो दहिको ब्यापार गर्न थालिन् । नभन्दै दिनको दुई ठेकीसम्म दहीको ब्यापार हुन थाल्यो । झन् चाड बाडमा त उनलाई दहीको माग पुरा गर्न निक्कै हम्मे पर्थियो । उनलाई सानु बच्चासँग काम गर्न गारो भए पनि कमसे कम दुई छाक खानलाई भने दुख हुन छोड्यो । उनको अथक परिश्रम को कारणले फेरि अर्को पनि गाइ किनिन र ब्यापारलाई अलिक बढाइन् यसो गर्दा गर्दै छोरा पनि हुर्कंदै गयो र उनलाई काम गर्न सजिलो हुन थाल्यो । दिनभरि त संगीता काममा व्यस्त हुन्थिन तर रातले भने उनलाई भित्र भित्रै जलाउने गर्थ्यो । सूर्यप्रकाशको अझैसम्म पनि केही अत्तो पत्तो थिएन । कसै कसैले त सूर्यप्रकाशलाई मारिसक्यो रे भन्ने हल्ला पनि सुनाउँथे ।

संगीतले सूर्यप्रकाशलाई धेरै नै खोजिन तर केही खबर पाउन सकेकी थिइनन् । अब त कता कता उनको मनमा आशा मरिसकेको थियो । दुई महिनाको छोरा छोडेर गएका सूर्यप्रकाश, छोरा सात बर्षको भइसक्दा पनि फर्किएका थिएनन् । बेला बखतमा संगीतासँग छोराले मेरो बाबा खोइ आमा भनेर प्रश्न गर्ने गर्थियो अनि त्यति बेला उनले छोरालाई तिम्रो बाबा पैसा कमाउन प्रदेश जानु भएकोछ भनेर कुराले छल्ने गर्थिन । एक दिनको कुरा हो बिहानको करीब नौं बजेको थियो होला बाहिरबाट कुनै अपरिचित आवाजले घरमा को हुनुहुन्छ भनेर बोलाएको सुन्दा संगीता अत्तालिंदै बाहिर निस्किन त्याहाँ एक जना मान्छे ढोकाको छेउमा उभिएका थिए । संगीताले झास्किंदै ती अपरिचित व्यक्तिसँग परिचय मागिन् । बरण्डामा राखिएको खाटमा बस्दै ती पराइ मान्छेले पनि आफ्नो परिचय दिए ।

त्यसपछि फेरि संगीताले सोधिन, “तपाइँ के कामले याहाँ आउनु भएको?”

अनि ती पाहुनाले भने, “हेर्नुस तिन महिनासम्म म सूर्यप्रकाशजी सँगै जेलमा बसेको थिएँ र हिजो मात्र रिहा भएर आएको हुँ । म चाहिं अरु नै कारणले जेल परेको हुनाले निस्किएँ तर सूर्यप्रकाश जीको अवस्था भने अति नै दयनीय छ, फेरी वाहाँलाई जेल सार्छ अरे भन्ने हल्ला सुनेकोछु त्यसैले सक्नु हुन्छ भने जसरी पनि आज भेट्न जानुस । बिचरा सूर्यप्रकाशजी त दुबिधामा हुनुहुन्थियो । मेरी संगीता घरमा छन् की छैनन् होलिन, मेरो बारे के सम्झिन्छिन होलिन अनि छोराले बाबा खोज्दा के भन्छिन होला भनेर मसँग यस्तै यस्तै कुरा गर्नु हुन्थ्यो ” ।

ती पाहुना हरिप्रसादको कुरा सुनेपछि संगीता रुन थालिन । तर पनि सूर्यप्रकाशलाई बेपत्ता पारिएको सात बर्षपछि जिउँदै रहेको खवरले भने संगीतालाई अलिकति खुशी बनाएको थियो ।

छोरालाई स्कुल नपुर्याई आफैंसँग लिएर सूर्यप्रकाशलाई भेट्न बिराटनगर जेल जानको लागि बस चढिन् । यत्तिका बर्षपछि श्रीमानलाई भेट्न पाउने कुराले ज्यादै नै हर्षित भएकी थिइन् । उनको आँखामा श्रीमानको त्यो मन्द मुस्कान र तेजस्वी अनुहार आइरहेको थियो । यति धेरै बर्षपछि छोरा र मालाई देख्दा वाहाँलाई कस्तो लाग्छ होला अनि मैले आफूलाई कसरी सम्हाल्छु होला, आज त मलाई यो बाटो पनि कत्ति लामो लागि रहेको छ यस्तै सोच्दा सोच्दै बिराटनगरको बस पार्क आइपुग्यो । संगीता बसबाट ओर्लिन र रिक्सा चढेर श्रीमानलाई भेट्न कारागार गइन् । तर उनलाई सूर्यप्रकाशसँग भेट्न दिएनन् । त्यसपछि उनले जेल प्रमुखसँग धेरै बिन्ती बिसाइन् अनि रुइन्, काराइन् तर उनको केही लागेन । कठै ती अबलाको क्रन्दन त्यहाँ कसैले सुनेन् बरु उल्टै धम्क्याउँदै हप्काएर फर्काइ दिए । बिचरा संगीता फेरि रुँदै घर फर्किन । आमाको त्यो अबस्था देखेर घरि घरि छोराले के भयो आमा भनेर सोध्थ्यो त्यति बेला संगीता झन् भक्कानिदै छोरालाई अँगालो हालेर रुन्थिन । उनी विछिप्त अबस्थामा घर आइपुगिन तर पनि उनको संधैको दिनचर्या त छँदैथियो त्यसैले मन नलागी नलागी पनि काममा जुटिन् ।

समयको रफ्तार संग्सँगै अब देशमा राष्ट्रिय आन्दोलन जोड तोडले चर्किन थालेको थियो । क्रुर प्रसासनले जनतालाई मारेर रगतको खोला बगाए पनि संघर्षको भेल झन् झन् उर्लिन थालेको थियो । त्यसै कारण आखारमा तानाशाही सत्ताले जनताको सामु घुंडा टेकन बाध्य भयो र जनताको बिजय भयो । त्यसपछि धेरै राज बन्दिहरू रिहा भए तर सूर्यप्रकाश भने बेपत्ता नै थिए । ठुला भनेका नेताहरूसँग संगीतले धेरै चोटी गुहार मागिन् तर त्याहाँ आश्वासनभन्दा बाहेक अरु केही थिएन । जनताले विजय पाएको तिन महिनासम्म पनि सूर्यप्रकाश घर नआउँदा भने संगीतले मायाँ मारिसकेकी थिइन् ।

एक दिन बिहान छोरालाई स्कुल पुर्याएर घरको काम सकेपछि दही बेच्नको लागि बजार जानलाई संगीता बाहिर निस्किन् र ढोका बन्द गरेर ठेकी उठाउन लाग्दा आँगनमा कसैल्ले खोकेको आवाज आयो र संगीताले आँगनतिर फर्केर हेरिन्, त्याहाँ एक जना लट्टा परेको लामु कपाल र दारी भएको अनि हेर्दा कंकाल जस्तो देखिने जिर्ण शरीर भएको मान्छे लौरो टेकेर उभिएको देखिन् । त्यति बेला उनको शरीरभरि काँडा उम्रियो अनि मुटुको धड्कन बन्द भएर स्वास रोकिएको जस्तो भयो किनकि त्यो जिर्ण शरीर भएको मान्छे सूर्यप्रकाश थियो । संगीतालाई देखेपछि सूर्यप्रकाश मुस्कारायो तर उस्को मुस्कुराहटमा बेदनाको संसार भरिएको थियो । सूर्यप्रकाशको यस्तो अबस्था देखेपछि संगीतको शरीर सिथिल भएर आयो अनि गला अबरुद्द भएकोले बोली पनि निस्किरहेको थिएन ।

अन्तिममा बल्ल बल्ल आफूलाई सम्हालेर उनले प्रश्न सोधिन, “हजुरको यो कस्तो हालत भयो ?”

संगीताको कुरा सुनेपछि सूर्यप्रकाशले भने, “मलाई केही भएको छैन पिर नगर अब घर आइपुगेको छु सब ठिक हुन्छ।”

सूर्यप्रकाशको कुरा सुनेपछि फेरि संगीताले भनिन्, “हजुरका ती राजनैतिक मित्रहरू जति बेला पनि हजुरकै वरी परी घुमिरहन्थे आज खोइ कता गए तिनीहरू ?” श्

रीमतीको कुरा सुनेपछि दुखी हुँदै सूर्यप्रकाशले भने, “यो बिषयमा मलाई नसोध संगीता किनकि यो मेरो अति तितो अनुभव हो । ठुला नेताले आफ्नो काम सिद्द भएपछि घर परिवार र ज्यान समेत मायाँ मारेर उनीहरूलाई त्यो ठाउँमा पुर्याउने कार्यकर्ता माथि यस्तो ब्यबहार गर्छन भन्ने कुरा मलाई थाहा थिएन । म सँगै झोला बोकेर हिंडेका साथीहरूले पनि मलाई अहिले नचिनेको झैं गर्छन् । के गर्छौ संगीता राष्ट्रको लागि मरिमेट्नेले यस्तै पुरस्कार पाइँदोरहेछ यो कुरले मलाई आज धेरै दुख लागिरहेको छ । आफ्नो सेवकलाई जनताले छिट्टै बिर्सिन्छन भन्ने मलाई थाहा थियो तर यो अबस्थामा आफ्नै समकालीन साथीहरूले यसरी धोका दिन्छन् भन्ने कुरा मैले सपना पनि सोचेको थिइन तर ठिकै छ मलाई कसैसँग पनि गुनासो छैन किनकि सेवा आफैँमा एउटा पुरस्कार हो ।”

संगीताले सूर्यप्रकाशलाई डोर्याएर भित्र लगिन् र आराम गर्न भनिन् त्यति बेला सूर्यप्रकाशले प्यारी श्रीमतीको अनुहारमा हेरेर आँखाभरि आँसु बनाउँदै बहने, “संगीता म तिम्रो अपराधि हुँ, यस्तो दिन भोग्नु पर्छ भन्ने मलाई अलिकति पनि अन्दाज बएको भए तिम्रो कुरा मान्ने थिएँ र आज यो दिन आउने थिएन । यो खाउँ -खाउँ र लाउँ-लाउँ भन्ने रहर लाग्दो उमेरमा मैले गर्दा आठ बर्षसम्म तिमीले कत्ति धेरै दुख भोग्नु पर्यो । हुन सक्छ बहने मलाई माफ गरिदेउ है संगीता ।”

सूर्यप्रकाशको कुरा सुनिसकेपछि आँसु पुछ्दै संगीताले भनिन्, “हजुर बाँचेर आउनु भयो मेरो लागि यही ठुलो कुरा हो, अब औषधि उपचार गरेपछि बिस्तारै हजुरलाई जाति भईहाल्छ त्यसैले भयो अब धेरै चिन्ता नगर्नुस।”

संगीताको कुरा सुनेर सूर्यप्रकाशले लामो सास फेर्यो । शुक्रबारको दिन भएकोले उनीहरूको छोरा संजीव पनि स्कुलबाट छिट्टै आइपुग्यो । सूर्यप्रकाशले छोरालाई देखेर आँसु रोक्न सकेन । संजीव भने नौलो मान्छे देखेकोले आमाको पछिल्तिर गएर लुक्यो । संगीताले छोरालाई वाहाँ तिम्रो बाबा हो भनेर चिनाइन् तर पनि संजीव बाबाको छेउमा गएन झन् डराए जस्तो गरेर आमालाई छोड्दै छोडेन । संगीताले छोरालाई खाजा खुवाएर श्रीमानको लागि खाना बनाउन थालिन् । सूर्यप्रकाश भने छोरालाई एकोहोरो हेर्दै मैले मेरो छोराको भविष्य बिगारें, बाबु भएर पनि आज म उसको ठुलो अपराधि हुन पुगें भन्ने सोचेर पछुतो मानिरहेको थियो यत्तिकैमा संगीताले खाना लिएर आइन् र सूर्यप्रकाशलाई भनिन्, “हजुरको स्वाभिमान नै हजुरको गौरव हो त्यसैले केही चिन्ता नलिनुस अब सब ठिक हुन्छ । मेरो प्रतिक्षाको घडी पनि सकियो त्यही भएर म आज अति खुशी छु ।”

खाना खाइसकेपछि हजुर आराम गरेर बस्बस्दै गर्नु होला, म यो एक ठेकी दही बेचेर झट्टै आइहाल्छु भन्दै खुशी मनले बजार गइन् ।

लक्ष्मी अनुरागी

काठमाण्डौ, कपन

Leave a Reply

Your email address will not be published. Required fields are marked *