Skip to content

युवा आकाङ्क्षा र आजको संसार

  • by


जीवनमा जो पनि एक पटक न एक पटक युवा हुन्छ तर उमेरले । युवा हुने थोरै हुन्छन्, सोच र कर्मले । युवा त्यस वर्गको नाम हो- जो सत्यको भक्त हुन्छ, न्यायको हिमायती मानिन्छ । सत्यका लागि टुट्न सक्छ, असत्यमा झुक्दैन । बरु मेटिन सक्छ, अन्याय सहन सक्दैन । नयाँ आयामका लागि नयाँ दिशातर्फ लम्कन्छ । मक्किएका सिद्धान्त र पोचिएका मान्यतामा विश्वास राख्दैन । जीवनको नवीन अध्याय सुरु गर्न समर्पित नभई रहँदैन । स्वर्ग-नरक, मोक्ष-परलोक जान्दैन, इहलोक सपार्न कम्मर कस्छ, वर्तमान सजाउन तत्परता देखाउँछ । सत्यका लागि, अभीष्ट प्राप्तिका लागि खतरा मोल्न पनि तयार छ, असुरक्षा भोग्न पनि तयार छ । म्यानभित्र सजिएको खियायुक्त तरवार बन्नु छैन । जीवनयुद्धको दौडानमा काम लाग्ने धारिलो तरवार बन्नुछ । चाहिँदो काममा भट्किन पनि तयार छ, परेको खण्डमा झुक्न पनि तयार छ, हुनै परे असफल हुन पनि तयार छ । किनभने हिम्मत जुटाउनुछ, सफल हुने सम्भावना ल्याउनुछ । असफल हुनबाट भाग्ने सफल हुनबाट पनि भाग्छ । भूल गर्न डराउने ठीक गर्नबाट पनि चुक्छ । सत्यमा झुक्न नजान्ने असत्यका विरुद्ध कुर्लन पनि सक्दैन । दर्शक बन्न मात्र चाहँदैन, कर्ता नबनी रहँदैन । सुन्दर हेर्न चाहन्छ, कुरूप मेट्न चाहन्छ । आ-आफ्नो अस्तित्व र व्यक्तित्वमा विश्वास राख्छ । नवीन ऊध्र्वगामी परिवर्तनको अपेक्षा गरिरहन्छ । जुनसुकै कुराको सतहमा हिँड्न/दौडन चाहँदैन, गहिराइमा डुबुल्की मार्न चाहन्छ ।

युवा मन वर्तमानको सजावटमा मख्ख र मस्त हुन रुचाउँछ । अघि देखिएका कामकुरालाई आजै फत्ते गर्न चाहन्छ । भयको सिकार बन्न चाहँदैन, ज्ञात कुरामा सीमित रहन सक्दैन । अज्ञात कुराको खोजयात्रामा निस्कन्छ, अभयका साथ रमाउन खोज्दछ । भयग्रस्त भई यान्त्रिक बन्न, गुलाम हुन स्विकार छैन । अभय भई ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न छोड्दैन । सुहाउँदो महत्वाकाङ्क्षाको महल खडा गर्छ र जीवनलाई ऊध्र्वगामी दिशातर्फ मोड्छ । बढी ज्ञानी, बढी समझदार, बढी जानकार बन्न खोज्छ, खानको लागि बाँचेको सम्झन्छ । आदर पाए आदर नै फर्काउँछ, घृणा पाए, घृणा नै हुइँक्याउछ । हरेक कुरा लुकाउन जान्दैन, अपारदर्शितामा विश्वास गर्दैन । आफ्नो अज्ञात रहस्यको खोजयात्रामा कसैले विघ्नवाधा नपारून् भन्ठान्छ । संसारलाई भरमग्धुर उपयोग र उपभोग गर्न रुचाउँछ । समग्रमा भन्नुपर्दा, हाँसेर-नाचेर, रमेर-रमाएर, संसारलाई सौन्दर्ययुक्त बनाउन चाहन्छ । संसार युवा जोसले, युवा सोचले, युवा कर्मले उभो लाग्नुपर्छ, नवीन युग आउँनुपर्छ, संसारले काँचुली फेर्नुपर्छ भन्ठान्छ ।

यस खाले युवा विचार र अठोट विपरीत पुरानो पुस्ता पुरानै सिद्धान्त, मान्यता र दर्शन बोकी खडा भएको छ । राजनीतिमा युवा वर्गलाई मुछेर ‘फुटाऊ र लुट, जुट्न नदेऊ र यथास्थितिमा भुलाऊ’ भन्ने रणनीतिमा छ । आफ्ना अपूरा इच्छा-आकाङ्क्षा पूरा गर्न युवावर्गलाई सिँढीको रूपमा प्रयोग गर्दै छ । गुलिया वचन बाँडेर, प्रलोभनमा फँसाएर ‘सन्तोषम् परम् सुखम्’को दर्शन घोकाइरहेछ । असन्तोष हुने ठाउँमा असन्तुष्टीका स्वरहरू उराल्न दिँदैन । मुलुकभन्दा दलीय मान-मर्यादा ठूलो हो भन्ने आभाष बेलाबेलामा दिई रहन्छ । युवा वर्गको असीमित ऊर्जालाई सीमित ठाउँमा कैद राख्न लगाउँछ ।

अझै पनि पुरानै पुस्ताको नेतृत्व छ, हैकम छ, बोलवाला छ । नीति निर्माण तहमा पुग्न पुरानै सोचमार्गी नै सफल भएको छ । पुरानो नयाँ पुस्तालाई भन्छ- नयाँ पुस्ता सङ्कुचित सोचभित्र नै रहोस् । पुरानै रीतिथिति बमोजिम सबै कुरा यथावत् सञ्चालित भइरहून् । अतीत हेरेर योजना बनाऊ । भविष्य सोचेर महत्वाकाङ्क्षा देखाऊ । बेक्कारको खतरा नमोल, आनन्दले सुरक्षित बन । चुपचाप म्यानभित्र बस, जे साथमा छ त्यत्तिमै सन्तुष्ट बन । ठीक गर, भूल नगर, दर्शक बन, ज्ञान बटुल । सुन्दर पनि हेर कुरूप पनि सहू । संसार जुन गति र दिशामा दौडियो, त्यही गति र दिशामा दौड । भोलिको काम भोलि नै गर, ज्ञातको मार्गमा हिँड, अज्ञातको पासोमा नपर । चुपचाप काम गर, प्रचलित सिद्धान्त र मान्यता खुरुखुरु पालना गर । ठीक बोल, ठीक गर । पुराना पुस्ताको अनुभव बटुल, जहाँ छौँ त्यहीँबाट मस्तिष्कको विकासमा जुट ।

अन्तमा, युवालाई अहङ्कारी हुनबाट जोगाउन, पथभ्रष्ट हुनबाट बचाउन र राष्ट्रोन्नतिमा एक हिस्सा तुल्याउन पुरानो पुस्ताले जालझेलको रणनीति त्याग्नुपर्छ । युवावर्गका जोसिला रणनीति र र क्रियाकलापको प्रशंसक एवं सहयोगी हुनुपर्छ । अझ होस सहितको जोस थप्नुपर्छ । प्रतियोगितात्मक शिक्षा, प्रतिस्पर्धात्मक शिक्षा, विवेकलाई अङ्कमा तौलने शिक्षा, अहङ्कार दिलाउने शिक्षा, मौलिक व्यक्तित्व धरासायी पारी अरूझैँ बन्न प्रोत्साहित गर्ने शिक्षा लिने र दिने प्रचलन हटाउनुपर्छ । राजनीतिको फोहोरी खेलमा युवावर्गलाई मुछ्नुहुन्न । गलत काम-कुरामा लाग्न प्रोत्साहित गर्नुहुन्न । युवा जोस, जाँगर र हिम्मतको दुरुपयोग गर्न सख्त मनाही हुनुपर्छ । पुरानो र नयाँ पुस्ताका बीच दूरी बढ्न दिनुहुन्न । पुरानाले अनुभव बाँड्नपर्छ, लाद्नुहुन्न । नयाँबाट ज्ञान लिन समेत हिच्किचाउँनुहुन्न । युवा वर्गलाई गलत मार्गप्रति सचेत पार्ने र सही मार्गप्रति अभिप्रेरित गर्ने जिम्मेवारी पुरानो पुस्ताकै हो । नयाँ पुस्तालाई उपयुक्त पोषण दिन भुल्नुहुन्न । उचित स्नेह, उचित आदर, उचित अवसर दिन चुक्नुहुन्न । नयाँ पुस्ताको नूतन सोचलाई, नूतन कार्यलाई र नूतन व्यक्तित्वलाई पुरानो पुस्ताले हृदयदेखि नै स्विकार्नुपर्छ भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

नन्दलाल आचार्य

सन्दर्भ ः पत्रकार कृष्ण सेन स्मृति दिवस

Leave a Reply

Your email address will not be published. Required fields are marked *