Skip to content
RajuSyangtan-02


म एमाओवादीको महाअधिवेशनमा भात पकाउन एउटा टेन्टबाट खटिएको थिएँ । मेरो काम भाँडा माझ्ने थियो । भाडा माझ्ने ठाँउबाट माओवादीको भाषण बेला बेलामा कानैमा गुन्जिन आउँथ्यो । दोस्रो दिन एउटा नारी आवाज वरपर गुन्जियो । कतै सुने सुने जस्तो, उक्त आवाज पछ्याउँदै गएँ । जति जति नजिक पुग्यो, त्यति त्यति परिचित लाग्न थाल्यो । भान्सेको परिचय पत्र देखाएर टेन्टको प्वालबाट स्टेजमा चिहाएँ ।

खचाखच भरिएको महाधिवेशन हल । सजिसजावट रोस्टममा उभिएर धाराप्रवाह बोलिरहेकी थिइन एउटी महिला नेतृ । नियालेर हेरें, उही मेरो कमाण्डर कमरेड नमुना । उनी बोलिरहेकी थिइन अविरल सागर उर्ले सरी । आँधी गर्जे सरी । अनायासै म भने खै कता डुँबे थाहै पाइन । टेन्टको सानो प्वालबाट विस्मृतिमा छोडी आएको तर नमेटिएको पाइतालाका डोबहरू पछ्याउँन पुगेछु ।

पश्चिम नेपालबाट पुर्वको लागि एउटा बटालियन हाम्रो कार्यक्षेत्रमा आईपुग्यो । पहिलो पटक त्यही भेट भएको थियो कमरेडनमुनासँग । पश्चिम नेपालको दुर्गम एउटा दलित बस्तीमा थियो उनको घर । घर नगएको बषौं भएको थियो रे । संयोगबस उनको र मेरो टिम एउटै भयो । उनी मेरो प्लाटुन कमाण्डर थिइन । म त्यही प्लाटुनमा सहकमाण्डर थिएँ । हामी अनायासै नजिकिन थालेछौं । कहिलेकाहीँ राति कुहिनेटोमा आफ्नो हात जानी जानी मेरो हातमा ठोकाएर कुन्नि के के लेखेको पत्र थमाउँथी । म दिउँसो सेन्ट्रीमा लुकिलुकि पढ्थें । युद्धमा हिंड्दा हिड्दै कुन बिसाउनीमा पुगेर हाम्रो मुटुको बिचमा प्रेमको लालुपाते फुल्न थालेछ थाहै भएन । सम्झना ताजै छ ।

उनले भनेकी थिइन, “कमरेड पल्लव, क्रान्ति भोज भतेर होइन, र होइन कारचोपी भर्नु पनि । यहाँ त अग्रिम हस्ताक्षर गर्नु पर्छ मृत्युको हल्केलामा ।”

उनी अगाडि भन्दै थिई, “हाम्रो प्रेमलाई पुर्णता दिन हामी विवाह बन्धनमा बाँधिनु पर्छ ।”

“हो, तपाई ब्राह्मण हुनुहुन्छ । म दलितकी छोरी । यो विभेदको पर्खाल तोड्न आफैबाट सुरु गर्नु पर्छ पल्लवजी ।”

म चुपचाप ज्ञानी बालकले झैं उनको कुरा सुनिरहन्थें । उनको मृग नयनी आँखा । हमेसा मुस्कुराई रहने, चन्चले बानी । तर चन्चलता भित्रको गम्भिरता र त्यो दायित्वबोध । दुनियाँलाई बुझ्ने सुस्पष्ट दृष्टिकोण उनीसँग थियो । अझ कम्ब्याड युनिफर्ममा सजिदाँ त, उनी असाध्यै राम्री देखिन्थिन् । हिजो जस्तो लाग्छ । उनले भनेकी थिइन, “कमरेड पल्लव के तपाई छुवाछुतको पर्खाल नाघ्न सक्नु हुन्छ ? म निरूत्तरित उनको अगाडि ठिङ्ग उभिरहन्थें ।”

पछि उनैले कुरा सुरु गर्थिन, “मलाई विश्वास छ पल्लवजी तपाईले त्यो पर्खाल तोड्न सक्नुहुन्छ ।”

म अनायासै टाउको हल्लाउँथें । तर मन भारी भएर आउँथ्यो ।

फरमेशनमा एकै छिन उनलाई नदेख्दा मन बेचैन भएर आउँथ्यो । उनी भने कहिले संगठन निमार्ण, कहिले शैन्य तालिम, कहिले छलफल बहस त कहिले जनश्रममा ब्यस्त हुन्थि । जुन गाउँमा पुग्यो त्यस गाउँमा स्वास्थ र शिक्षाको बारेमा जानकारी लिएर जनचेतनाको अभियान नै चलाउँथी उनी । महाभारत लेक र चुरेको बस्तीहरूमा उनलाई नचिन्ने को होला र । मेरो मनमा उनीप्रति अगाध स्नेह र सम्मान जागेर आउँथ्यो । हामी दुई अलि नजिक नै भएछौं । हाम्रो उठबसलाई लिएर हेडक्वाटरमा रिपोर्ट पुगेछ । केही महिनापछि एउटा कार्यक्रममा पार्टीले हामीलाई दाम्पत्य जीवनमा बाधिदियो ।

लडाई झन झन चर्किदै गयो । लाग्न थालेको थियो अब जीवन चाहिँ संयोग मात्र हो र मृत्यु यतै वरिपरि छ । लडाईको दुई दिन अघि हेटक्वाटरले हामीलाई सगै बस्ने प्रवन्ध मिलाई दियो । साँझ ढल्दै थियो । हामीले मिठो भलाकुसारी गरेर त्यस दिनको रात कटाउने योजना बनायौं । माझी बस्तीको एउटा झुपडिको बाहिर बार्दलीमा उदाउँदै गरेको जुन हेर्दै हामीले लामो भलाकुसारी गर्यौं । दुई दिन पछि सदरमुकाम कब्जा गर्ने पार्टीको योजना थियो । हामी दुई दिन मात्रै पनि त बाँच्न सक्थ्यौं । तर हाम्रो भलाकुसारी दुई दिनको थिएन । हाम्रो सपना दुई सताब्दीकोभन्दा धेरै थियो ।

उनी भन्दै थिइन, “पल्लव, अर्को शताब्दीमा हामी हुने छैनौ । तर त्यति बेला सगरमाथाको चुचुरोमा रातो झण्डा गाडिएको हुनेछ । यस धर्तीमा मान्छेहरू मान्छेद्धारा बेचिने छैनन् । मान्छेले मान्छेको रगत पसिना चुसेर खाने छैन । दुई नदीको किनार जस्तो धनी र गरिवको सीमारेखा हुनेछैन । अनि यो झुपडी निर एउटा चौतारा बन्ने छर ढुङ्गामा कुँदिएको हुनेछ तिम्रो र मेरो अमर बलिदानको कहानी, अनि तिमी र म, ऊ त्यो हेर त, जूनको देशमा बसेर धर्तीमा हाम्रो सन्ततीहाँसी खुशी भएर बसेको हेर्नेछौं । आहा कति रमाईलो हुनेछ त्यो दिन ।”

ऊ जून हेर्दै टोलाउँथी ।

“त्यो सुनौलो दिनको लागि त हामीले हाम्रो रगत बगाएर यो सताब्दीको कालो मैलो पखाल्नु पर्छ नि त नमुनाजी ।”

मैले उसको एकाग्रता तोडी दिन्थें । त्यस पछि हामी धेरै बेरसम्म जुनलाई हेर्दै भोलिकोसुन्दर संसारको परिकल्पना गर्दै बस्यौं ।

भोलिपल्ट बिहान शाही सेनाले करिव ३ किलो मिटर नजिकबाट घेराहाल्दै आएको खवर आयो । सदरमुकाम कब्जा गर्ने योजना वैरीहरूले थाहा पाएकी भन्ने शंका लाग्न थाल्यो । त्यस दिन कमरेड नमुनाले मलाई बोलाएर भन्नुभयो, “कमरेड पल्लव चुरे शीरबाट बढेको दुश्मनलाई रोक्ने जिम्मा तपाईको भो । तपाईसँग हाम्रो प्लाटुन हुन्छ । जसरी भए पनि तपाईले रोक्नै पर्छ ।” म व्रिगेटको स्पेशल टाक्स फोर्समा सेलेक्ट भएँ । “हामी दक्षिणबाट बढेको दुश्मनलाई सखाप पारेर आउँछौं ।”

श्रीमतीले श्रीमानलाई लडाईको मैदानमा खटाउँदैछ । स्वयम श्रीमती पनि गोलीको पर्राहरूमा लुकामारी खेल्न जान तयार छे । यो कस्तो विडम्बना । त्यस दिन कमरेड नमुनाले भनेको याद छ मलाई, “पल्लव मैले त्यो आर्कको जिम्मा अरु साथीलाई पनि दिन सक्थें, तर म चाहन्छु मेरो जीवनसाथी अरु कोहीभन्दा कम नहोस् । युद्धको हरेक यसल्ट केवल तिमी र मैले मात्रै समाह्लुँ । म यस लडाईको पहिलो शहिद भएर देखाउँछु ।” उनले आफ्नो कुरा टुङ्ग्याई ।

म मनमनै अठोट गर्थें । तिमीभन्दा म पहिला शहिद भएर देखाउँछु नमुना, अनि तिमी गर्वका साथ भन्ने छौ, “म शहिद परिवार ।” हात मिलाएर हामी छुट्टियौं ।

लडाई घमासान भयो । दुश्मनलाई हामीले रोक्यौं । मेरो आर्कमा एकजना सहयोद्धालाई गुमाएँ । मैले प्लाटुनलाई तोकिएको स्थानमा पुर्याएँ । पुरै व्रिगेट आउँने क्रम सकिन लाग्यो । लाल सेनाको लस्करमा कमरेड नमुनालाई खोज्दा खोज्र्दै साँझ पर्यो । कसैलाई सोध्ने हिम्मत भएन । साथीहरूले दर्जनौं हतियार कब्जा गर्नुभएछ ।

एक जना साथीले छेउमा भनेको सुने, “चार जना कमरेडहरूलाई गुमायौं आज ।”

मन झनै भारी भयो । अलिवर झाडीमा आएर नमुनाको बाटो धेरै बेरसम्म हेरिरहें । जुन सदाझैं उदायो । मलाई सोध्न मन लाग्यो “ए जुन, मेरो मनुना कहाँ छिन भन्देऊ न, म ऊभन्दा अगाडि शहिद बन्न चाहान्छु ।”

“तपाइलाई मेडिकल विभागमा आउनु भन्नु भा’छ ।” एकजना कमरेडले खवर ल्याए पछि मन हलुका भयो ।

हस्याङ–फस्याङ गर्दै मेडिकल विभागमा पुगें । घाईते साथीहरू छटपटाउँदै हुनुहुन्थ्यो । कुनामा एउटा हसिलो मुखाकृतिले मेरो प्रतिक्षा गरिरहेको थियो ।

“पल्लवजी साथीहरूले खाना खानु भयो ?” नमुनाको स्वरमा पीडा र गर्व दुबै पाएँ ।

“अँ खाई सक्नु भयो, तपाइलाई कस्तो छ ?”

उनको आँखाबाट बगेको आँशुका बुँधहरू मेरो हत्केलासम्म आईपुग्यो ।

“कहाँ गोली लागेको नमुनाजी ?

मेरो प्रश्न नसकिदै डाक्टर अगाडि आएर भन्नुभयो “हेर्नुस् न पल्लवजी उहाँ आफ्नो उपचार गराउँनै चाहनुहुन्न । पहिला अरु कमरेडहरूको उपचार गर्नु मात्र भन्नुहुन्छ । फेरि यहाँ मध्ये गम्भिर घाईते उहाँ नै हुनहुन्छ । उहाँको दायाँ हात पुरै माथिबाट यल.यम.जी.को गोलीले छिया छिया पारेको छ ।”

म स्टेचर छेउमा बसें । जुन हातले चन्द्रमालाई देखाउँदै धर्तीमा ल्याएर झुपडीमा पोख्ने कुरा गर्नु हुन्थ्यो आज त्यही हात छैन ।

उनी अगाडि भन्दै थिइन, “पल्लवजी, मैले पनि मुक्तिको लडाईमा एउटा हात गुमाएँ । आज म असाध्यै खुशी छु ।”

आफ्नो शरिरको अंग गुमाउदा पीडा होइन गर्वले छाति उँचो बनाएकी कमरेड नमुनाको बारेमा जति भने पनि अपुरो हुन्छ । घाईते साथीहरूलाई थप उपचारको लागि ईन्डिया लानु पर्ने भयो ।

त्यस दिन साँझ उनले भनिन, “पल्लवजी म निको भएर चाँडै आउँछु । अगाडिको पाइलाहरू अब तपाईले पुरा गर्नुपर्छ ।”

बिदाइको हात मिलायौं । त्यस पछि उनले सम्हालेको प्लाटुन सम्हाल्न थालें ।

युद्ध झन झन चर्किदै गयो । भिडन्त, मुडभेडनभएको कुनै हप्ता रहेन । बिछोडलाई शक्तिमा बदल्ने प्रयन्त गरें । तर मन सम्हालिन धेरै गाह्रो भइरहेको थियो । न कुनै सम्पर्क, न कुनै ठेगाना । चिठी पठाउँ त कहाँ पठाउँ । कस्लाई सोधुँ, कहाँ खोजुँ । ईन्डियामा गएका साथीहरू प्रायः सीमानामा मै गिरफ्तार परिरहनु भएको थियो । क्रान्तिकारी सिपाही भावनामा डुब्न नहुने हो । तर मैले सकिन । उनीविनाको प्रत्येक लडाईहरू फिक्का लाग्न थाल्यो । जेनी मार्क्सले त भनेकी थिई, “प्रेमले मानिसलाई सुन्दर र सक्रीय बनाउछ ।” तर मलाई नमुनासँगको विछोडले निष्कृय बनाउँदै लग्यो, जुन मैले गल्ती गरिरहेको थिएँ । उनको चन्चल बानी, बुलन्द कासन शैली यो आखाँले खोजिरह्यो । म एकोहोरो बस्न थालिसकेछु । हेडक्वाटरमा बोलाएर कयौं पटक हिम्मत लिएर अगाडि बढ्न सम्झाईयो । अन्तमा मलाई जिल्ला पार्टीमा फिर्ता पठाईयो ।

जिल्ला पार्टीमा पनि मैले अपेक्षाकृत काम गर्न सकिन । जनयुद्धमा हिंडेको एउटा सिपाही पागलप्रेमी भएर स्खलित हुँदै थियो । आँखामा उनकै मात्र तस्विर आइरह्यो । उनी विना अब यो बाटो एक्लै नहिड्ने सोच्न थालें। आफूलाई जनसेनाबाट उही उपाध्याय ब्राह्मण पुत्रको रुपमा पाउँन थालें । एक दिन डिउटीबाटैहातको बन्दुक भुईमा राखेर खोलाको किनारै किनार दक्षिणतिर लागें । भोलिपल्ट विहान काठमाण्डु आई पुगेर ब्यूझिएछु ।

काठमाण्डौं आएर धेरै काम खोजें । देशको अवस्था विग्रदो थियो । दिनहुँ आन्दोलन जुलुस चलिरहन्थ्यो । खलासी, कुल्लीकाम, भाडाँ माझ्ने कामभन्दा अरु पाउन सकिन । अन्तमा टेन्ट हाउसमा भाँडा माझ्ने काम गर्न गएँ ।

६२/६३ को आन्दोलनपछि युद्ध रोकियो । जनसेनाको ब्यारेक सात ठाउँमा राखेको थाहा पाएँ । नमुनालाई खोज्दै गएँ । तर कतै भेटिन । एक जनाले नमुनालाई देखेको रे भनेर पोखराको एउटा होटलमा लिएर गयो । कुर्थासुरुवाल लगाएकी, पातलो जिउ, कपाल अनियन्त्रित भएको, कालो सलले थोरै जिउ ढाकेकी, चप्पल लगाएर टेवुल पुछ्दै गरेकी ब्यस्त एउटी युवतीको पछाडि गएर बिस्तारै बोलाएँ । उनी उही मेरो जीवन साथी नमुना थिइन । म स्तब्ध भएँ । मन थाम्न सकिन । तर उनी भने मलाई देखेर प्रतिकृया विहिन भई । उनको आखाँमा न कुनै हर्ष नै पाएँ न कुनै विष्मात नै । थाहा पाएँ उनको दाँया हात अब काट्नै पर्ने अवस्थामा पुगेछ । ईन्डियाबाट उपचार गरेर फर्किंदै गर्दा नेपाल आई पुगेर गिरफ्तार पर्नुभएछ । शान्ति प्रकृयापछि जेल मुक्त भएर जनसेनाको अस्थायी शिविरमा पुग्नुभएछ । घाईते भएकै कारण जनसेनामा अयोग्य हुनु भएछ । थप उपचारको लागि भौतारिदाँ भौतारिदै अन्तमा होटलमा टेवुल पुछ्न पुग्नु भएछ ।

नमुना घर आउन मानिनन । उनी त जिन्दगीदेखि नै थाकेकी जस्ती देखिन्थिन । जनसेनामा अयोग्य लडाकु, दिनानुदिन विग्रदो घाईते शरिर, पछि थाहा पाएँ, जेलको विषयलाई लिएर पार्टीले निगरानीमा राखेको रहेछ । धेरै दिन प्रयास गरे पछि बल्ल बल्ल नमुना घर आउन तयार भई । हामी घर आयौं ।

घरको संघारमा पुग्दा नपुग्दै गाउँलेहरूको ठुलो भिड जम्मा भयो । मेरो बुवा जो सातगाउँको पण्डित ढोका छेकेर बस्नु भयो । नमुना र म सँगै थियौ । मलाई नमुनाबाट छुट्यायो । सबै महिलाले नमुनालाई तथानाम गाली गर्न थाल्यो । मेरो माईजुले नमुनाको गालामा एक चड्कन लगाई । अर्की महिला आएर कपाल समाई भुत्लाउँन थाली । काकी र ठुलीआमा आएर नमुनालाई घोक्क्रयान थाली कोही कसैले केही बोलेनन् । गाउँलेहरू मुकदर्शक भएर हेरिरहे । मैले प्रतिवाद गर्न खोजें । गाउँलेहरूले मलाई समाए । म कारयतापुर्वक मेरो कमाण्डरलाई घोक्क्रयाएको हेरिरहें ।

“डंकीनी, खोरोन्डी, कुकुर्नी, डुमको छोरी भएर मेरो घरमा बुहारी बन्न खोज्ने ? के छ तेरो प्रमाण मेरो छोरासँग बिहे गरेको ?”

मेरी आमा नमुनाको कपाल समाएर एकोहोरो पिट्न थालिन । नमुनाको घाईते हातबाट रगत बग्न थाल्यो । कपालमा समाएर घिसार्दै पर चौतारामा लगे । नमुना रक्तमुछेल भई । उनी केही पनि बोल्न सकिरहेकी थिइनन । उसको पक्षमा बोली दिने त्यहाँ कोही पनि थिएन । यस्तो लाग्थ्यो, नमुना कुनै पाल्तु जनावार हो उसले मालिकको काम विगारेको छ र सजाय भोगिरहेको छ । म निरिह कायर, लाछी भएर झ्याल भित्रबाट मेरो कमाण्डरलाईपिटेको हेरिरहें । बाहिर निस्कन खोज्थें । फेरि गाउँलेहरूले समाउँथ्यो । अन्तमा नमुना मनभरि अनि तन भरि असङ्ख्य घाउका टाटाहरू बोकेर एक्लैखोलाको किनारै किनार गई । मलाई कसैले सुनपानी छर्क्यो । अनि तान्दै तान्दै चोटातिर लग्यो । तान्नेक्रम रोकिएन । झल्यास्स ब्यूझिंएछु । मलाई स्वयमसेवकले पछाडि कमिजमा समाएर तानिरहेको रहेछ । कमरेड नमुना रोस्टममा बोलिरहेकी थिइन । निरन्तर आधी गर्जे सरी । सागर उर्ले सरी । करिव ७ वर्ष पछि उनलाई देखें । तर धित मर्ने गरी हेर्न पनि पाइन ।

भाँडाको चाङतिर आउँदै गर्दा भनेको सुनें “रिपार्ट सबैभन्दा राम्रो यो केटीले राखी, यिनले पक्कै केही गर्छे । यिनी रोजा लग्जेवर्ग, जेनी माक्र्सभन्दा कम छैन, क्यामिला त के हो र, हेर्दै जाउ यो केटी नेपालको ठुलो मान्छे बन्छे, हेर घाईते भएर पनि कसरी बोल्दैछे . . . .. छोरी मान्छे हुनु त यस्ति पो ।”

म सुन्दै सुन्दै जुठो भाँडाको डङ्गुरमा आईपुगें । वितेको ७ वर्षमा कालीगण्डकीमा धेरै पानी बग्यो । नमुना कहाँबाट कहाँ पुगिन । म भने उही जुठे भएर बसेको छु । कारयता, निरिह र आत्मग्लानीले छिया छिया भएँ । आफैसँग टाढा धेरै टाढा भाग्न मन लाग्यो । कुनै कठघरामा गएर बेस्सरी चिच्याँउदै मलाई सजाय देऊ भन्न मन लाग्यो । तर आत्म प्रायश्चितको लागि यो दुनियामा कुनै कठघरा बनेको रहेनछ । आफैलाई कोतरेर धुजा धुजा पार्न मन लाग्यो । टेन्टमालिक आई पुग्यो ।

“कहाँ गा’थिस् तेरो बाउले माझ्छ भाँडो ?”

टेन्ट मालिकको छुद्र बचन, मैले रोजेको कारयताको बाटो, मेरो अङकारी जात र मेरो पुरुषतादेखि आफैले आफैलाई धिक्कारें । भाडाँ माझ्न थालें । आँशुले आँखा भरिएर आयो । दुई थोपा आशुँ तप्प तप्प हत्केलामा खस्यो । एउटा थोपा सम्मानको थियो । अर्को थोपा ग्लानिको थियो । मनमनै नमुनालाई स्यालुट गर्दै अलिकति हासें । अनि आफैपट्टि फर्केर ग्लानिले बेस्सरी रोएँ . . . . .।

–राजु स्याङतान
महोत्तरी खयरमारा ८
हाल काठमाण्डौं

९८४१८४३४०१

1 thought on “नमुना”

Leave a Reply

Your email address will not be published. Required fields are marked *