जन्मेपछि एक दिन न एक दिन यो धर्ती छाडेर जानु नै पर्छ । प्राकृतिको नियमलाई हाँक दिन विज्ञानले सक्छ तर जित्न सक्दैन । प्रकृति जसरी सन्तुलित अवस्थामा रहेर साराका सारा सजीव एवं निर्जीव दुवैको अस्तित्वलाई सुरक्षित राखेको छ त्यसरी नै मानिसले चाहिँ प्रकृतिको झै भूमिका निर्वाह गर्न सक्छ तर आजको मान्छेले आफूमा भएको शक्तिलाई पहिचान्न सकेको छैन । ९५ प्रतिशत उर्जालाई क्रियाशिल पार्न सकेको छैन । आजको मान्छे पैसाको पछि लागेको छ र भन्न थालेको छ …..पैसा भए सब थोक साथमा नभए सब थोक पाखामा …. । मान्छेलाई श्रेष्ठ मान्छे भएर बाँच्न योग, ध्यान, प्रणायामले सिकाउँछ । ओशो मौलश्री ध्यान केन्द्र, राजविराजले यही बैशाख २४ गतेदेखि २६ सम्म अनुप दास धर्मशालामा ओशो ध्यान शिविर संचालन गरेको छ। प्रेम, ध्यान र उत्सवका निम्ति प्रेमपूर्ण आमन्त्रण गरेको पम्पलेट मेरो हातमा पनि परेको छ । अवश्य पनि जीवन, प्रेम र मृत्यु यी तिनैलाई बुझ्न मौलश्री ध्यान केन्द्र, राजविराजको सक्रियतामा संचालित ओशो योग, ध्यान,प्रणायाम शिविर सफल हुनेछ भन्ने शुभेच्छाका साथ म संदर्भ जोड्दै छु । प्रेम र मृत्युको कला सिक्नुछ, मृत्युको स्मरणले मात्र भयको डोरीले जेलिनु पर्ने त्यस मृत्युलाई जित्ने र सहजरुपमा यसलाई लिने ज्ञानको विकास गराउँनुछ भने ओशोे सिद्धान्तको, ओशोबाट प्रतिपादन भएको ओशो योग, ध्यान, प्रणायाम सिकौँ । यसै सन्दर्भमा मनका आँखाका धनी उदयपुरमा बसोबास गर्ने साहित्यकार पुन्य कार्कीजीको समय अमृतसन्दर्भका यी शब्द र वाक्यहरु पैचो लिँदै मान्छेको मनलाई तौलन खोज्दै छु ।
स्रष्टा पुन्य कार्कीर्जी भन्छन्……समय स्वयं अमृत रहेछ । समयको केन्द्रस्थमा अमृतत्व लुकेर बस्तो रहेछ । जगत्का तमाम चिजहरु मृत छन् तर समयको अखण्ड धारामात्र जीवित चिज रहेछ । पृथ्वीको निश्चित आयु छ अरे । सूर्यको पनि निश्चित आयु छ अरे । अझ मान्छेको आयु त निश्चित हुने नै भयो । यसरी हेर्दा जगत्का सबै जड या जीवित वस्तुहरु एउटा सुनिश्चित समयसीमा आफ्नो सास धानिरहेका छन् । आफ्नो अस्तित्वको स्तम्भ ठड्याइरहेका छन् । एउटा निश्चित सीमाबाट मुक्त भएर सतत गतिमा बगिरहने चिज समयमात्र रहेछ । कहिल्यै मृत्यु हुन नसक्ने चिज त समयमात्र रहेछ ।
वर्तमान कालमात्र समयको यस्तो जादूगरी मेशिन हो । यसले समयका हरेक पललाई पेलेर भूतको गर्तमा झारिदिन्छ । हिजोको भूत कालपनि अनन्त छ । यो कहिले देखि सुरु भयो, त्यसको फेद अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । यो अनादि बेलादेखि आफ्नो रफ्तारमा दगुरिरहेको छ भोलिको भविष्यपनि अनन्त असीम नै छ । यसको टुप्पो कहाँ पुगेर टुंगिने हो, त्यसको कुनै पत्तो छैन । सबै चिजको निश्चित आयाम छ, सबै चिजको निश्चित छेउ टुप्पो छ । तर समयको फेद कुन हो टुप्पो कुन हो, यसको भेउपत्तो पाउन सकिएको छैन ।
जीवन खण्डित छ । वस्तुजगत खण्डित छ तर समयमात्र अखण्ड छ जीवनको अन्त हुन्छ । वस्तुको अन्त हुन्छ । समयको अन्त कहिल्यै हुँदैन । अनि त यो अनन्त छ । जीवनको सीमा छ । वस्तुजगतको सीमा छ । समयमात्र असीम छ ।
सबै चिजको सुरुवातदेखि अन्तसम्मको एउटा सुसंगत शृङ्खला देख्छु । तर समय यही विन्दुबाट सुरु भएको हो भन्ने सुसंगत शृङ्खला देखेको छुइनँ ।
स्टेफेन हकिङ महोदयको समयको इतिहास आजसम्म पढ्ने सुयोग मिलेको छैन । त्यसमा उनीपनि निश्चित छन् कि छैनन् त्यो मलाई थाहा छैन । त्यसैले अहिले म निर्धक्क भनूँ, यसको प्रवर्तनको निश्चित तिथि, मिति, बार, संबत्, घडी, पला केही छैन । फेरि समय कसले जन्मायो, यसको देखिने रुपको जन्मदातृ जननी फेला पर्दैन । यही विन्दुमा पुगेर रहस्यको एउटा कालो सुरुङ्ग भित्र छिरिन्छ ।
यो रहस्यको सिलसिला अहिलेसम्म असीम छ, अव्याख्य छ । जति अनुमान र व्याख्याका लहरहरु चलेका छन् । त्यो परिधिबाट सतही चक्कर काट्ने कुराभन्दा वढी केही होइन । यो परिधिको सिन्को भचाँइमात्र हो यसको केन्द्रस्थमा पुगेर गाँठी कुरा फुकाउन वैज्ञानिकहरु अझ असफल छन् ।
समयको सतत धारालाई हेरेपछि तिलस्मी भावले छुने गर्छ यसको अविरलता एक डिठ लगाएर हेरिरहन मन लाग्छ । समयसत्यको अनुपम बान्कीले जीवनका विरोधाभासहरु हल गर्न मलाई काफी मद्दत गर्छन् । समयको सानो सानो सूत्री समातेर जीवनका गुत्थीहरु फुकाउने गर्छु । समयको सानो अंश टेकेर यसको असीमताको रसपान गर्छु ।
आजभोलि जीवनको बाटोमा समयको अमृतरुपका रानारुनी फेला पार्न थालेको छु । हिजो सम्म म पनि समयलाई मृतरुपमा मृतवस्तुका रुपमा हेर्नेगर्थेँ । समयको मृत्यु हुन्छ भन्थेँ । आज मेरो अनुभूतिको आयाम वदलिएको छ । वास्तवमा समय मृत चिज होइन रहेछ, यो त अमृतरुपमा हाम्रो नाकको स्वाससँगै बग्दोरहेछ ।
समयको अमृतरुप त्यतिबेला भोग्न सकिनेरहेछ, जतिबेला वर्तमानको सूक्ष्मक्षणलाई समातेर बाँच्न थालिन्छ । भूत र भविष्यका भूतप्रेतहरु मनको अन्तरकुन्तरबाट फ्याँकिदिए पछि वर्तमानको विशुद्धरुप सबैको नजरसामु टड्कारोसँग उभिँदो रहेछ । त्यसपछि मात्र क्षणवोध गर्न सकिने रहेछ ।
जब मानिसलाई समयको क्षणवोध हुनथाल्छ, पलपलमा बित्ने पलवोध हुनथाल्छ तब यो मृत कालबाट अमृतकालमा पदार्पण गर्छ । विगत र आगतकाललाई मृतकाल ठान्दा वर्तमानको सजीव क्षणलाई मात्र अमृतकाल मान्नु पर्ने हुन्छ । जब यो अमृत क्षणलाई भोग्ने, सदुपयोग गर्ने, रसपान गर्ने हिसावबाट आफूलाई हिँडाउन थालिन्छ, मान्छे पूर्ण स्वायत्त प्राणीको रुपमा विकसित हुनथाल्छ । ऊ भविष्यको पर्वत जस्तो आटब्य आयुबाट मुक्त हुन्छ र भूतको कालो ढिस्कोबाट पनि छुटकारा पाउँछ । त्यतिबेला ऊ एउटा जीवित कणको रुपमा आफ्नो अस्तित्वको खोजी गर्छ ।
समयको ढिस्कोमा वाहिर टुक्रुक्क बसेर यसको अमृतरुप फेला पर्दैन । वाहिरको स्थूल ढिस्कोबाट त्यसको सूक्ष्म कणमा छिर्नुपर्छ । कणलाई पनि टुत्र्mयाँउदै अणुपरमाणुमा ओर्लिनु पर्छ । अणुपरमाणुको पनि इलेक्ट्रोन, प्रोटोन, न्यूट्रोनहरुको वर्तुल चक्रमा आफूलाई एकाकार गर्नुपर्छ । अनि मात्र समयको स्वादवोध हुनथाल्छ । एक-एक निमेष समयको अमररुप अविर्भाव हुनथाल्छ । हामी समयको वाहिरी वर्तुलचक्रमा घिसेपिटे जिन्दगी बाँचिरहेका छौ । समयको सूक्ष्म अंगमा छिरेर यो सँग केन्द्रस्थ हुन सकिराखेका छैनौं । यहीँबाट हाम्रो दुःखको शृङ्खला सुरु हुन्छ । जुनदिन समयको परमाणु सत्तालाई समात्ने, ग्रहण गर्ने आत्मसात र अनुभूति गर्ने अवस्थामा पुग्छौँ, त्यसपछि समय स्वादिलो लाग्न थाल्छ । समयबाट अखण्ड रसवर्षा हुनथाल्छ । समयले जीवनको मधुमास खुलाउन थाल्छ । समयले प्रीतिको भाका सुनाउन थाल्छ ।
अहिलेसम्म मैले सारै अलिनो जिन्दगी बाँचेछु । बेस्वादको जिन्दगी नाचेछु । स्वाद र सुगन्धविहीन जीवन वास्तवमा नै मृत जीवन हो । मृत जीवन, समयलाई मृत ठानेपछि पैदा हुन्छ । प्रतिपल समयलाई जीवन्त, ताजगीपूर्ण र अमृतमय ठानेपछि जीवनमा पनि अमृतमय रसधारका थोपाहरु चुहुन थाल्छन् ।
कि त अतितको स्मृति कि त भोलिको अतृप्त सपनालाई मनमा, मस्तिष्कमा, हृदयमा, नाभीकेन्द्रमा सजाउन थालेपछि समयको अमृतरुपमा कालोबादल लाग्दोरहेछ । अमृतरुप विषाक्तरुपमा फेरिँदो रहेछ । समयको धड्कन त वर्तमानका पलहरुमा मात्र सुन्न सकिने चिज रहेछ । न त यसलाई अतितका कालकोठरीमा छुन छाम्न सकिन्छ न त भविष्यमा यसलाई पाउन सकिन्छ ।
जीवनका विविध थरि स्वादहरुमा म समयका सवल क्षणहरुलाई समात्न थालेको छु । बाल्यकालको रंगिन तथा मधुमय क्षण समयको एउटा निखर रुप थियो । जवानीको तरुणकाल समयको अर्को ओजस्वी रुप थियो । बूढ्यौलीको छन्दवद्ध आखिरी क्षण समयको अर्को अन्तिम तथा अनिवार्य सत्य थियो ।
जीवन त समय बनेर न आँउदो रहेछ । वाल्यकाल, युवाकाल, वृद्धकाल समयका किसिम किसिमका बान्की सिवाय केही होइनन् रहेछ । बुझ्दा यी सबै कालमा अमृतका कणहरु विच्छिएका छन् । सबै कालमा मधुमासका बुँदहरु पोतिएका छन् । तिनलाई रसपान गर्नसक्ता सबै कालबाट उत्तिकै स्वादको झर्ना चाख्न सकिन्छ । जसले स्वाद लिनमा कञ्जुसी गर्छ, उसको जीवन वेस्वादपूर्ण बन्छ । म वेस्वादे जीवनलाई घृणा गर्ने मान्छे हुँ । जीवनको वेस्वादप्रति मेरो ठूलो विरोध छ ।
जीवनलाई स्वादमा परिभाषित गर्नेहरुले समयको अमृत रुप फेला पार्न सक्छन् । जीवनलाई वेस्वादमा बाँच्नेहरुले जीवनको पलप्रतिफल समयलाई वीषका अणुअंशमा ढुट्याइरहेका हुन्छन् । आखिर जीवन भनेको समयको ढेडी न हो, त्यसैले जीवन र समयलाई एकअर्काका पर्यायवाची तत्वका रुपमा हेन थालेको छु ।
वास्तवमा जीवन भनेको आयुको एक धारा हो । आयुको यो धारा समयको एउटा जीवन्त रुप हो । समयको यो जीवन्त रुप वर्तमानको ज्यादै सूक्ष्मक्षणसँग गाँसिएको हुन्छ । तिनै क्षणहरु खप्टिएर मान्छेको जीवन्त अस्तित्व उभिएको हुन्छ । त्यसैले जीवन भनेको वर्तमानमा मात्र विद्यमान रहने चिज हो । अतितमा जीवन हुँदैन अनि भविष्यमा पनि जीवनलाई अहिले नै लुगा सुकाए जस्तो डोरीमा टाँग्न सकिँदैन ।
अहिलेको मौजुद घडी भनेको वर्तमानको ताजा क्षणमात्र हो । यो क्षणलाई अमृतरुपमा पिउँदा भोलिको समयपनि अमृतरुपमा बर्सिने पक्का छ । यो क्षणलाई दुःखको रुपमा बुझ्दा भोलिको क्षणपनि दुःखमय हुने कुरा निश्चित छ । वर्तमानलाई विषाक्त समयको रुपमा ग्रहण गर्दा भोलिको समयपनि वीषमय विषादपूर्ण हुने कुरा आजै अनुमान लाउन सकिन्छ । भोलिको समय त आजको फोटोकपी न हो । भविष्य त वर्तमानको प्रक्षेपण न हो । आजको जीवनले भोलिको जीवनलाई निर्धारण गर्ने कुरा बुझेपछि म भोलिप्रति चिन्तित हुन छाडेको छु, त्यसको साटो आजै त्यसको चिन्तना गर्न थालेकोछु । वर्तमानले भविष्यको चित्र स्केच गर्ने सत्य थाहा पाएपछि आजलाई वढी भोग्न थालेको छु । आजलाई भरपुर रुपमा बाँच्न थालेको छु । आजलाई नाँच्न थालेको छु ।
आजलाई कवितामा उन्न थालेको छु । आजलाई संगीतमा झुम्न थालेकोछु । आज विर्सेर आगतको आस्था साँच्न सक्तिन म । आज भुलेर आगतको अस्कोट बेर्न सक्तिन म । आज वेखुसी बसेर भोलिको खुशी प्राप्त गर्न सक्तिन म ।
समयको सूक्ष्म अंश क्षण हो । क्षणलाई देख्न थालेपछि म क्षणजीवी भएको छु । त्यसैले म सुनौला भविष्यको चित्र भित्ता भरिभरि टाँसेर बाँच्ने भविष्यजीवी कदापि हुइँन । भोलिका सपना मस्तिष्कभरि टाँगेर वर्तमान ढुसुढुसु उङ्नेहरुको भीडबाट समाज पीडित छ । देश पीडित छ । वर्तमानको माग र चाहनामा भन्दा, वर्तमानको आवश्यकता र आकाँक्षामा भन्दा भोलिको हवाई कल्पनामा रमेर हामी यतिखेरको दायित्व भुलिरहेका छौं । त्यसैले हामी क्षणलाई देख्ने, क्षणलाई समात्ने र त्यसको घोडा चढ्ने क्षणजीवी हुनु जरुरी छ ।
तपाई कुन कुन सत्य मान्नु हुन्छ कुन्नी ? मेरो लागि त एकमात्र सत्य आज हो । भोलि त एक रंगिन झुट हो । भोलि त एक छलकारी चोट हो । यो चोटले वर्तमानको कोमल मुटुलाई दुखाउने गर्छ । यो चोटले मान्छेलाई यथार्थबाट पृथक गरेर अतृप्त चाहनाको दलदलमा गिराउने गर्छ । आकाँक्षाको आकाशमा यसरी शैर गराउँछ, जसबाट पींंडाबाहेक झर्ने चिज केही हुँदैन ।
भोलिको समयको पीडाबाट मुक्ति आजको समयले नै दिन्छ । हिजोको ओखति पनि आज हो, भोलिको ओखतिपनि आज हो । यो ओखति क्षण क्षणका स-साना गोटी बनेर मेरो वरिपरि छरिइरहेका छन् । एकएक दाना टिपेर म तिनलाई मुखमा हाल्ने गर्छु । जसले अतितका घाउलाई पनि निको बनाउँछ । आगतको ज्वरलाई पनि पूरै शितल बनाइदिन्छ ।
अतित र आगत अर्थात् भूत र भविष्य मानसतलमा रहने काल्पनिक समय विम्ब हुन् । अथवा केवल स्मृति र कल्पनामा टाँसिएर बस्ने मानसिक कालका पातला छनकमात्र हुन् । यो मानसिक समयरेखाबाट म आफूलाई मुक्त गर्न चाहन्छु । जतिजति आफूलाई मुक्त गर्दै गयो, त्यतित्यति समयरुपी अमृत घडा प्यालाहरुमा छलछल गर्दै पोखिन थाल्छ । त्यसको स्वादलाई अनि म कलकल कलकल पिउँदै जान्छु ।
अहिले भविष्यको सगरमाथा आरोहण गर्न निस्केकाहरुले वर्तमानको रौता डाँडोपनि चढ्न सकिराखेका छैनन् । भोलिको सगरमाथा चढ्नेले त आजको रौता या खाँबु डाँडो उक्लिनुपर्छ । आज रौता नचढी भोलि कहाँबाट सगरमाथाको शिखर चुमौँला । जसले वर्तमान बनाउँछ, त्यसले जीवन बनाउँछ । खाली भविष्यको जीवन बनाउनेहरुले त जीवनलाई दिनप्रतिदिन छ्यान्द्रादार चुहुने चाल्नोमा अनुदित गर्दा रहेछन् । अहिले म जीवनलाई चाल्नो बनाउनेहरुको चर्तिकला हेरिरहेछु । जीवनलाई नचुहुने नाङ्लो बनाउन सपना देख्नेहरुले जीवनलाई जानीनजानी चाल्नो बनाउँदै लगेको दृश्यले पनि मलाई समयको अमृतरुप खोज्न, फेला पार्न उत्प्रेरित गरिरहन्छ ।
दुष्पुर आकाक्षाँका सुइराहरुले वर्तमानको निखुना नाङ्लोलाई छेडिरहेछन् । प्वालैप्वाल बनाइरहेछन् । त्यो प्वालदार नाङ्लोमा चामल कनिका त के मकैका दानापनि चुहुन्छन् । यसरी जीवनका आयुदानाहरु वर्तमानको छ्यान्द्रादार चाल्नोबाट चुहेर सिद्धिरहेछन् ।
वर्तमान भनेको जीवनको यथार्थ हो । यो यथार्थलाई गहन रुपमा वोध नगरी, यथार्थलाई भित्री हृदयले आत्मसात नगरी जीवन कसरी अमृतमय बन्नसक्छ र ? कसरी जीवनको समय सुनौला रुपमा अनावरण हुनसक्छ र ? त्यसकारण म यथार्थलाई स्वीकार गरेर वर्तमानलाई फलदायी वलदायी, मलदायी, चलदायी, हलदायी बनाउने दिसातर्फ अभिमुख हुन्छु । वर्तमानका समस्यादेखि तर्सेर, भागेर होइन कि समस्यालाई नै समाधानका सिढी बनाएर आगतको यात्रा गर्छु ।
जीवन भनेको सयमको अर्को नाम न हो । अनि समय चाहिँ अमृतको अर्को नाम न हो । अनि समय यथार्थको अर्को नाम पनि हो । यथार्थ फेरि बर्तमानको अर्को नाम हो । त्यसैले न म यथार्थदेखि भाग्न सक्छु न वर्तमानदेखि छलिन सक्छु, न समस्या देखि अछुतो जीवन विताउन सक्छु । फेरि वर्तमान काल भनेको आँखाको एक झिम्क्याइमा बित्ने समयको सानो पलमात्र हो । यी एउटै अन्तर्सत्यलाई आरेखित गर्ने वेगल वेगल रुपका नामहरु हुन् । यी वेगल वेगल नामहरुलाई म यहाँ किन जोडिराखेको छु भने जीवनको सर्वाधिक निर्णायक र प्रभुत्वशाली समय वर्तमानको क्षणमात्र हो । जुन समयमा हाम्रो मुटुको धड्कन चलिरहेको छ । जुन समयमा नाकका मसिना प्वालबाट स्वासको लहर ओहोरदोहोर गरिरहेको छ । यही स्वास आरोग्यअमृत बनेर शरीरमा घुसिरहेको छ । त्यसले नै शरीरभित्र जीवनको स्पन्दन छरिरहेको छ । अक्सिजन रक्तसंचार वनेर शरीरका कोश कोशमा फैलिरहेको छ ।
जीवनको यो चलायमान घडी जहाँ मेरो जीवित अस्तित्व विद्यमान छ । त्यसलाई नजिकबाट बोध नगरी कहाँ हवाई सपनाको दुनियाँमा हेलिएछु । आफैलाई आफ्नो विगतदेखि कुरीकुरी लागेर आँउछ । जुनदिनदेखि कुरीकुरी वोध भयो, त्यो दिनदेखि मेरो वर्तमान वर्तमान रहेन । वर्तमान अमृत भयो । वर्तमान बाँच्नु भनेको मेरा निम्ति सुरापानमा रम्नु जस्तै भयो । अहिले त समय समय रहने समय एक अमृत घडा बनेर मेरो समु छल्किरहेछ, त्यो मेरो प्यालामा पोखिइरहेछ, म भने निर्मिमेष त्यसलाई पिइरहेछु । मद्होश बनेर झुमिरहेछु ।
नन्दलाल आचार्य