आफ्नो तमाम स्वच्छता, निश्चलता
प्रेम अनि अनुराग बाल्यकालमै बिर्सेर
छाडी आएको रहेछु
उमेरको पत्रै पत्र थपी आएको यस मोडमा
बल्ल सम्झी झसँग भएछु
अब फर्कु कसरी ?
त्यो किशोर को जोस र जाँगर बीच
प्रतिभा को एउटा बिउ रोपेको थिए
जुन फुल्दा न फुल्दै कुल्चेको रै छु
एउटा आशा अनि विश्वास
जुन काखी च्यापी हिडेको मैले
बिगत मै कतै हराएको रै छु
अवस्थाको यस बिचल्ली परिस्थितिमा
बल्ल पो सम्झेछु
अब फर्कु कसरी ?
जवानीका दरिला दैलाहरू
जोशका बलिया पाइलाहरू
अनि
अहंकारको जगेर्नालाई
आफ्नो व्यक्तित्वको आधार सम्झेछु
यसैबीच
काँधमा बोकेको उत्साह अनि आकांक्षालाई
ख्यालै न गरी मस्ताना चालमा हिडदा हिड्दै
कतै खसालेको रै छु
बलहीन भएको यस जीर्ण अवस्थामा
विवश र बेसहारा भै
बल्ल तर्सेछु
अब फर्कु कसरी ?
हरि पौडेल
नेदरलैंड