Skip to content


निकै समयअघिको कुरो हो । म वीरगन्जबाट फर्केको थिएँ । एकदिन टुँडिखेलमा बसेर बदाम खाइरहेको थिएँ । जाडोयाममा घमाइलो दिनमा चउरमा घाम ताप्दै बदाम खानुको मजा नै अर्कै हुन्छ । केही साथीहरू पनि थिए । यस्तो चलन नै थियो । अझै पनि होला । त्यत्तिकैमा एउटा मानिस आएर उभियो । उसले सोध्यो, “कहिले आउनुभयो -”
मैले भनेँ, “पाँच-सात दिन भयो ।”
उसलाई त्यत्ति नै जान्नु थियो क्यार  † ऊ मेरो उत्तर पाएपछि सन्तुष्ट भएर हिँड्यो ।
यसमा अस्वाभाविक केही देखिँदैन बाहिर । भित्र भने एउटा अस्वाभाविकता थियो । प्रश्नकर्ता मसित घनिष्ट देखिन्थ्यो । म भने उसलाई पटक्कै चिन्दिन थिएँ । तैपनि, मैले कसरी आफ्नो चित्त बुझाएँ । भनेँ, “मेरो बिर्सने बानी छ, त्यसैले चिन्न सकिनँ ।”
एकपटक न्युरोडमै अर्कै कुनै मानिसले सोध्यो, “उताको हालचाल कस्तो छ -”
उताको भनेर कसैले सोध्यो भने म वीरगन्ज नै भन्ठान्छु । मैले भनिदिएँ, “राम्रै छ ।”
त्यो मानिस पनि अपरिचित थियो । त्यहाँ पनि मैले आफूलाई सान्त्वना दिएँ, “मेरो बिर्सने बानीले यस्तो भएको हो ।”
तेस्रोपटक कुनै तेस्रो व्यक्तिले सोध्यो, “कहिले आउनुभयो -”
यसपटक भने म आफूलाई सान्त्वना दिन नसक्ने भएँ । प्रश्नकर्ता अपरिचित त छँदै थियो, यसपटक धेरै दिन भएको थियो, म वीरगन्ज वा कतै अन्त नगएको । त्यसपछि, ‘कहिले आउनुभयो  -‘ भन्ने प्रश्नको के उत्तर दिने – भन्न त भनिदिएँ, “निकै दिन भइसक्यो ।”
त्यसपछि त्यस्तो बारम्बार हुन थाल्यो । कहिले आउनुभयो र कहिले जानेबाहेकका घटनाहरूको बयान पनि गर्न थाले, जसमा म उपस्थित थिइनँ तर म भएको देखाइन्थ्यो ।
हाम्रँे भेट नभएको धेरै दिन भयो भन्ने मानिस थिए, जसलाई धेरै दिन के, मैले कहिल्यै भेटेको, अझ देखेको पनि थिइनँ । त्यस्तो धेरैपटक हुन थालेपछि मलाई चिसो पस्यो, अवश्य यस्तो कोही छ, जसलाई तिनीहरू म ठानिरहेका छन् अथवा मलाई त्यो ठानिरहेका छन् ।
अन्त्यमा थाहा भयो, त्यस्तै रहेछ । अन्त्यमा जाउलाखेलको चउर -त्यस बखतको)मा एउटा मान्छेले मलाई भेट गराइदियो, त्यो म ठानिने मान्छेसित । त्यो मभन्दा केही अग्लो थियो । तर, कतै बनोट मिल्दो हो । मैले आफ्नो कुरा भनेँ । त्यो मानिसले पनि बतायो, उसलाई पनि म ठानेर कतिपटक प्रश्न गर्दथे । ऊ लेख्दैनथ्यो । मानिस सोध्थे, अचेल नयाँ के लेख्दै हुनुहुन्छ – ऊ के जवाफ दिन्थ्यो, म भन्न सक्तिनँ ।
रमाइलो के भने, उसको र मेरो भेट भएपछि भने त्यो समस्या फेरि आएन मलाई । कथाका केही मौलिक प्रकार हुन्छन् रे दुनियाँमा, जसमध्ये केस अफ मिस्टेकेन आइडेन्टिटी ।
मलाई लाग्छ, ऊ र म दुवै वृद्ध भइसकेका छौँ । त्यसले गर्दा मान्छे भ्रमित नहुँदा हुन् । बार्धक्यले कति भ्रमको निवारण पनि त गर्दो हो ।
त्यस्तै ‘मिस्टेकन आइडेन्टिटी’ एउटा मेरो नाउँसम्बन्धी छ । एकपटक मलाई फोन गर्दै परिचितहरू भन्न थाले, “तिम्रो साइकल चोरी भएछ हगि -”
म साइकल त चढ्थेँ तिनताका तर मेरो साइकल चोरी भएको थिएन । एक समय यस्तो पनि आयो, जब मान्छे फोन गर्न थाले, “छात्रवृत्ति पाएछौ, बधाई!”
कुन छात्रवृत्ति – मलाई नै थाहा भएन छ । एकदिन मैले एउटा मित्रसित भनेँ, दुवै घटनाको चर्चा गरेर । उनले बताए तिनको गल्ती होइन । एकपटक अखबारमै छापियो, ध्रुवचन्द्र गौतमको साइकल चोरी भयो, फलाना ठाउँमा, फलाना गते । त्यसैगरी अर्कोपटक संस्कृत छात्रवृत्ति पाउनेहरूको लिस्टमा एउटा नाउँ ध्रुवचन्द्र गौतम पनि थियो ।
मित्रहरूले मलाई भनेछन्, संस्कृत छात्रवृत्तिसमेत छाडेन ध्रुवचन्द्र गौतमले । बुझ्दा थाहा भयो, छात्रवृत्ति पाउने र साइकल चोरी हुने ध्रुवचन्द्र त एउटै हो तर त्यो ध्रुवचन्द्र म थिइनँ । नाउँ ठ्याम्मै मिल्यो कसैसित । त्यसैको परिणाम थियो यो । पछि थाहा भयो, एक जना अर्का ध्रुवचन्द्र गौतम पनि छन्, शङ्करदेव क्याम्पसमा । अब त क्याम्पस सकी पनि सक्यो होला । उनको र मेरो भेट भएको छैन । यसरी भन्न सकिन्छ, यसलाई ध्रुवचन्द्र गौतमले ध्रुवचन्द्र गौतम भेटेको छैन ।
मिस्टेकन आइडेन्टिटीको अर्को अचम्मको नमुना दुई-तीन वर्षघि गोवाको एउटा पञ्जाबी रेस्टुराँमा जाँदा देखियो । मसित दुई जना अरू पनि थिए । भारतभ्रमणका क्रममा हामी गोवा पुगेका थियौँ । त्यहाँको उक्त पञ्जाबी रेस्टुराँमा पस्नलाग्दा दुई-तीन जना लहरै उभिएका मानिसले दुवै हात जोडेर एकैपटक अभिवादन गरे, “नमस्कार लालुप्रसादजी!”
मैले अचानक आएको यो अभिवादनतर्फअचम्म मानेर फर्काएँ, “लालुप्रसाद -”
एक निमेषमा तिनीहरूले मैले भन्नासाथ बुझे, केस अफ मिस्टेकन आइडेन्टिटी हो यो । त्यसपछि सरी भन्दै तिनीहरू पनि हटे ।
त्यसै यात्रामा हामी कोलकाता पनि गएका थियौँ । लजका मानिसहरू मिजासिला थिए । चार-पाँच दिनजति बसियो होला । त्यति मिजासिला किन भएछन् भन्ने रहस्य हिँड्ने बेलामा खुल्यो । निकै समयसम्म उनीहरूले मलाई लालुप्रसाद नै ठानेका रहेछन् । तर, तिनीहरू त्यतातिर गएनन्, लालुप्रसाद हामी बसेजस्तो लजमा किन बस्न आउँथे –
यो जानकारी मलाई मसित गएका युवकहरूले दिएका थिए । मतिर हेरेर सुरुसुरुमा मुखामुख गरेजस्तो त लागेको थियो तर त्यसको कारण त्यो होला भन्ने थिएन । जेहोस्, यो घटना रोचक भने थियो ।
पोहोर साल यसपालिजस्तै हामी चार जना मित्र भारततर्फगएका थियौँ । राम्रै समय बित्यो । कतिपय कारणले, यसपटकको यात्राभन्दा अघिल्लो वर्षगरेको यात्रा बढी रमाइलो माने साथीहरूले । पोहोर सालको यात्रामा तीर्थधामहरू पनि सामेल थिए । रामेश्वरम्सम्म पुग्यौँ । त्यहाँ केटाकेटी बेलादेखि जाने चाहना थियो, पूरा भयो । यसपटकको यात्रामा शिरडीबाहेक कुनै पनि त्यस्तो ठाउँ थिएन, जहाँ म अघि नगएको हुँ । तैपनि, यात्रा गर्न रमाउने हुनाले नरमाइलो भएन ।
पोहोर सालको यात्रामा हामी तिरूपति, रामेश्वरम्बाहेक चेर्न्नई पनि पुगेका थियौँ । त्यहाँको जति सम्झना थियो, त्यो मैले लेखिसकेर कति त बिर्सी नि सकेँ । एउटा घटना सम्झन्छु । त्यो मैले कतै लेखेको पनि छैन । प्रसङ्ग नआएकाले ।
चेर्न्नई पहिले मद्रँस थियो । त्यो चेर्न्नईमा हामी सस्तो तर सफा होेटल खोज्दै जाँदा बल्ल एउटा होटेल फेला पार्‍यौँ । हामी गर्मी र थकाइले लस्तपस्त भएकाले पनि होला, त्यो ठीकैको होटललाई तत्काल स्वीकृत गर्‍यौँ । दुई सय कोठाको बस्दा यो सस्तोको भने ध्यान राख्यौँ ।
बिहानै होटेलको केटो चिया वा कफी लिएर आइपुग्थ्यो । दुब्लोपातलो युवक थियो । ब्रेकफास्ट पनि कहिलेकाहीँ कोठैमा ल्याइदिन्थ्यो । कुनैकुनै दिन बिहानभरिमा, लन्चअघि चार कप चियाकफी पनि सजिलैसँग खाइन्थ्यो ।
यति वर्ण्र्ाालेख्नुको कारण छ, मेरो प्रसङ् गसँग मेल खाने । चिया ल्याउने मानिस एक-दुई दिन मलाई देखेर झुक्किएछ, लालुप्रसाद भनेर । पछि त्यसले बतायो । उसको भ्रम हटेपछि पनि ऊ बेलाबेलामा मलाई देखाएर आफ्नो दक्षिणी उच्चारणमा भनिरहन्थ्यो, “लाद्रलु, लाद्रल्लु जैसा ।” उसले बतायो, ऊ पहिले झुक्किएको थियो ।
अहिलेसम्म यति मानिस झुक्किएको मलाई थाहा छ । तर, किन झुक्किए – म लालुजस्तो छैन । झुक्किनाको मनोविज्ञान के होला आदि म सोच्छु ।
मलाई लाग्छ, तिनले पनि लालुलाई सूक्ष्म रूपमा नहेरेका होलान् । अनि, मोटामोटी रूपमा अनुहारको कुनै पनि संरचना अलिकति पनि मेल खायो भने त्यो आरोपित गरेर एक प्रकारको सुविधा लिने र सानै भए पनि तनावबाट मुक्त हुने प्रयास गर्छ मान्छे । यस्तै मनोविज्ञानले नै त जन्माउँछ, केस अफ मिस्टेकेन आइडेन्टिटी । शेक्सपियरको कमेडी अफ र्एर्रस यसको एक उत्कृष्ट नमुना हो । अर्को डाँफे डुमेरयिाको द स्केपगोट पनि त्यसको उत्तम नमुना हो । हिन्दी फिल्ममा त यस्ता मिस्टेकन आइडेन्टिटीका कथा भरमार छन्, प्रायः डबल रोलका रूपमा । जे भए पनि कहिलेकाहीँ वास्तवमा अरूले आफूलाई अरू व्यक्ति भनिदिनु रमाइलै लाग्छ मलाई त, एक क्षणका लागि भए पनि । त्यसमाथि कुनै प्रख्यात व्यक्ति ठानिदिनु त कथात्मक मनोरञ्जनजस्तै हो । त्यस कारण यसलाई एक मनोवैज्ञानिक ‘एरर’का रूपमा लिन्छु म र ‘टु अट इज ह्युमन’ भनेर स्वाभाविक रूपमा लिन्छु ।
मैले नै पनि बस कति मानिसलाई कोही अन्य मानिस ठानेका घटना छन् । मान्छे नचिनेर लामो गफ गरेका घटना छन्, तिनको त हिसाब लगाउनसमेत सम्भव नहोला । यसलाई पनि स्वाभाविकै मानेको छु मैले ।

नेपाल साप्ताहिक अंक ३२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *