Skip to content


आख्यानका क्षेत्रमा स्थापित भइसकेको नाम हो, अनमोलमणि। आजका उत्तरआधुनिक भनिने साहित्यसँग निकट छन् उनका कथाहरू। सामान्यतया उत्तरआधुनिकका नाममा अमूर्त र बोझिल सामग्री पस्किने प्रवृत्तिबाट मुक्त छन्। त्यसैले पनि उनको पछिल्लो कथासंग्रह नीलिमा र गाढा अँध्यारो आम पाठकबीच चर्चित बन्यो। यिनै अनमोलमणि पछिल्लो समय कविका रूपमा प्रवेश गरेका छन् काव्यसाहित्यमा सबुत कवितासंग्रह लिएर।

विषयको उठानमा पाठकलाई कतै पनि नअलमल्याई सीधै आफ्नो अभिव्यक्ति राख्ने क्षमताका कारण उनको यस संग्रहभित्रका कविताहरू सर्वग्राह्य भएका छन्, एउटा उदाहरण :

कुमारी जूनजस्तो यौवन बोकेर रहर फुलाएर आँखाभरिमरूभूमिजस्तो हृदय बोकेर कुनै प्रेमीको बाटो कुरेर बसेकी बूढीकन्याजस्तै भएर बलिरहेको दियोसँगै कामुकता बालेर मनभरि भिक्षुणीहरू साँझ-बिहान कुमारी रहनुको पीडा दबाएर ओठले जप गरिरहेछन्- गुम्बामा ।(भिक्षुणीहरू)

संग्रहका ३३ थान कवितामा उनी समय र परििस्थतिसँग कुनै न कुनै रूपमा मुखरति भएका छन्। उनी आमकविले जस्तो विम्बहरूमा भन्दा यथार्थहरूमा बढी अभिव्यक्त हुन चाहेका देखिन्छन्। समयचेत उनको कविताको मूल पक्ष हो। यद्यपि, हरेक कवि यसमा आफूलाई समाहित गराउन चाहन्छ। तर, अनमोलले चाहिँ समयचेतनामा अरूले उधिनेर, छानेर छाडेको र देख्न नसकेको थुप्रोबाट मूल्यवान् चीजलाई सर्लक्क झिकेका छन् कवितामा। ‘प्रेमविरुद्ध’ यसको एउटा उदाहरण हो।

उनी थोरैमा धेरै बोल्न सक्छन्। उनको कविताशिल्पको यो पक्ष नै सशक्त र मौलिक छ। त्यसैले उनका कविता माझिएका कवि, कवितालाई कित्ताकित्तामा विभाजित गर्दै अर्थ कोट्याउने समालोचकदेखि सामान्य पाठकसम्मलाई समान प्रभाव छोड्न सफल छन्। केही कविता प्रेममाथि पनि सिर्जिएका छन्। उनका कवितामा खोट लाउने ठाउँ प्रेमकै कवितामा भेटिन्छन् भने सबैभन्दा सशक्त कविता पनि प्रेममाथि नै लेखिएका छन्। अशक्त प्रेमकविताको उदाहरण :

किन दियौ रातो गुलाब ?
किन दियौ ओठको मुस्कान ?
(रेम अनुभव)

सशक्त प्रेमकविताको उदाहरण :
तिम्रो सम्झनाको तातोबाहेक
केही छैन मसँग
यो डिसेम्बरको जाडोमा ।
(डिसेम्बरको जाडो)

तर, संग्रहमा कम लेखिएका छन् प्रेमकविता। कविको मुख्य लक्ष्य प्रेमइतर, कुण्ठित भोगाइ र अनुभव, विचलित वर्तमान, विसंगत परििस्थति र विपर्यस्त समय हुन्।

भनिन्छ, कविता लेख्न सजिलो छ र साहित्यमा सबैभन्दा बढी कविता नै लेखिएका छन् तर राम्रो कविता लेख्न अत्यन्त कठिन छ, त्यसैले साहित्यमा राम्रा कविता सारै थोरै लेखिएका छन्। अनमोलमणिको सबुतले दोस्रो भनाइलाई सकारेको छ।

सबुत
कवि : अनमोलमणि
प्रकाशक : बीएन पुस्तक संसार प्रालि
मूल्य : १२५ रुपियाँ
पृष्ठ : ७९

नेपाल साप्ताहिक ४५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *