Skip to content

कतार बसाइ र मेरा अनुभूतिहरू

  • by


देशको राजनीति उथुलपुथल र केही आफ्नै नितान्त व्यक्तिगत बाध्यताले घरदेश छाडी परदेशको यो खाडीमा पाइला टेकेको पनि कति छिटै छ वर्ष पुग्नै लागि सकेछ । पछाडि फर्केर हेर्दा कहाली नै लाग्ने भैसकेछ ।

हाल देशको राजनीतिले केही आशा लाग्दो किरणहरू छर्दै गरेको अवस्थामा मेरो जीवनले पनि निराशपनलाई केही हदसम्म भए पनि पन्छाएको पाएको छु । यतिखेर म जिन्दगीको परिभाषा बुझ्न सक्ने भा’छु ।

समस्या र बाध्यता जो कोहीको जीवनमा आउने कुरा हो, यो स्वाभाविक कुरा हो । यसलाई सहर्ष स्वीकार्नुको विकल्प म देख्दिन । बरु जहाँ जस्तो हालतमा रहेर भए पनि त्योसँग मुकाबिला गर्नु बुद्धिमानी हो भन्ठान्छु म । वास्तबमा हो पनि । यदि त्यसो हो भने किन म पनि अब आफ्नै स्वदेशमा बसेर समस्या र बाध्यताहरूसँग पौंठे जोरी नखेल्ने ? किन मुकाबिला नगर्ने ? जस्ता दह्रो सोच र चेतना म भित्र सल्बलाइरहेको छ जस्लाई म मात्र अनुभूत गर्न सक्छु । र त लाग्दैछु यति लामो समय पश्चात घरदेश जसरी खाली हात खाडी छिरें त्यसरी नै रित्तो रित्तो तर चेतनाको पोको पन्तुरो बाँधेर । म सम्झिन चाहन्छु यति खेर हिजो उस्तै समस्या र बाध्यताको चाङ बोकेर सहयात्रामा निस्कनुभएका मेरा मित्रहरू ललित लगायत २१ जनालाई । उहाँहरू जहाँ जे जस्तो हालमा भए पनि मेरो न्यानो माया र शुभकामना सुन्दर जीवनको ।

आफ्नो मूल्य आफै तिरी बेचिनु पर्दाको पीडालाई थाती राखेर अरुको अधिनमा स्वविवेकलाई बन्धक बनाई कडा परिश्रम गर्नुपर्दा असहज स्थितिको सामना त जो कोहीले पनि गरेकै हुन्छ । म मात्र यसबाट अछुत रहुँला र ? र पनि त्यसलाई मैले समस्याको रुपमा नलिई अवसरको रुपमा लिएँ । केही सिक्ने केही अनुभूत गर्ने परिकल्पना सहित म होम्मिएँ यो महासागारमा । यस मानेमा मेरो आफ्नो व्यक्तिगत अनुभवमा म केही हदसम्म सफल पनि भएँ । यसैलाई मैले परदेशी जीवनको सबैभन्दा ठूलो उपलब्धि मानेको छु

प्राय हामीहरू घर देश छाडी विदेश भासिइसकेपछिको अवस्थामा मात्र पैसा कमाउने धुनमा हुने गर्छौं र भने जसरी अथवा सोचे अनुरुप धन एकिकृत गर्न नसकेमा मानसिक रुपमा विक्षित्प्त हुन्छौ जस कारण हामी संधै तनाबमा हुने गर्छौं । फलस्वरूप सफलता भन्दा असफलता बढी हावी भएको महशुस गर्छौ । तर सत्य अर्कै हुन्छ । नकारात्मक सोचाईले कतिपय अवस्थामा हामी आत्महत्या समेत गर्न पछि पर्दैनौं । एकातिर घर-परिवारबाट टाढा बस्नु पर्दाको पीडा अर्कोतिर नेपालीहरूप्रति गरिने भेदभावको शिकार हुनुपर्दा धेरै भन्दा धेरै नेपालीहरूले अकालमै ज्यान गुमाइरहेका छन् विदेशमा । त्यसमाथि जो होचो उस्को मुखमा घोचो भने झैं मौसमले पनि हामी नेपालीलाई साथ नदिइरहेको अवस्था सर्वविदित नै छ । यस्तोमा सम्हालिएर आफ्नो कर्तव्य निर्वाह गर्नु आफैमा चुनौती हो भन्दछु ।

यहाँनिर म अन्य कुरा भन्दा पनि मैले भोगेको, जानेको र मथिङ्गलले भ्याएसम्म बुझेको केही अनुभवहरू राख्न चाहन्छु जसले गर्दा नेपालबाट भर्खरै आउनु भएका दाजुभाइ, दिदीबहिनीहरूलाई केही हदसम्म भएपनि राहत मिलोस र धेरै बर्षदेखि यहाँ रहनुभएका अग्रज साथीहरूमा स्वदेश फर्की केही गरौं भन्ने उत्प्रेरणा मिलोस । समस्या हल गर्ने ध्ययमा जन्मभूमिबाट अलग भैसकेको अवस्थामा सानोसानो कुरामा आफूलाई बहकाउनु पक्कै पनि राम्रो कुरा हैन । भगोलिक हिसाबले हामी आफ्नो जन्मथलोदेखि टाढा हुनुपर्दा हरेक कुराहरू फरक लाग्नु स्वाभाबिक कुरा हो जस्तो लाग्छ ।

एक त खाडी मुलुक उसै त हावापानी नमिल्ने अर्को समय पनि नमिल्ने । त्यसो भएको हुदाँ यहाँ रहनुहुने कतिपय दाजुभाइहरूमा भ्रम उतपन्न भैदिन्छ कि आफ्नो दैनिकीसँग नेपाली दैनिकी पनि मिल्छ भनेर । तर यथार्थमा त्यसो हुन्न । नेपाली समय यहाँको भन्दा लगभग ३ घण्टा छिटो दौडने हुनाले पनि यस्तो भ्रम सृजना भैदिन्छ जसको सास्ती नेपालमा बस्नु हुने आफ्ना प्रियजन आफन्तहरूले खेप्नुपरिरहेको हुन्छ जस्मा हाम्रो ध्यान गएकै हुदैँन । हामी त मस्त आफ्नो ड्युटी अफ भए पछि बाँकी पुरै समय फ्रि हुन्छौ । तर नेपालमा रहनुहुने हाम्रा आफन्तजनहरू त व्यस्त नै भैरहनुभएको हुन्छ । यस्तोमा नाना भाँती शंका उपशंका गरी पटक पटक फोन गरेर घरका सदस्यहरूलाई तनाव दिनु मुर्ख्याईँ हो । अनावश्यक शंकाले बनिबनाउ घर भत्किन बेर लाग्दैन । समय समयमा घरपरिवारको अवस्था हालचाल बुझ्नु छुट्टै कुरो हो तर छिन छिनमा एउटै कुरा दोर्यायई तेर्यारई घरका सदस्यहरूलाई तनाव भिडाउनु आफैमा लज्जास्पद र हानीकारक कुरा हुन् । यसो हुनुको अर्को एउटा कारण समय अन्तर हो भने अर्को ड्युटी अफ भएको पुरै समय अनावश्यक सोचेर हो हल्लामा बिताउनाले हो । हामीमा एउटा बानीको विकाश हुनु अत्यावश्यक छ त्यो हो फुर्सदिला क्षणको सदुपयोग गर्ने । सदुपयोगिताको सिद्दान्तमा हामी चल्न थाल्यौं भने पक्कै पनि आशातित फल प्राप्त गर्न सकिन्छ भने तनावबाट पनि हामी शतप्रतिशत मुक्त हुन्छौं । अब रह्यो सदुपयोग कसरी गर्ने ? भन्ने कुरा । त्यसको लागि कुनै ठूलो योजना बनाउनु आवश्यक छैन । सानो भन्दा सानो काममा हामी आफूलाई अल्मल्लाउन सक्छौं जस्तै किताबहरू पढ्नु, अनलाईनमा समाचारहरू हेर्नु, केही मनका भावनाहरू कोर्नु अथवा सुन्दर दृश्यावलोकन गर्नु इत्यादि ।

अर्को कुरा हामी यस्तो सर्कलमा घुलमिल हुनु आवश्यक छ जहाँ बौद्दिक बर्ग होस् । उहाँहरूबाट केही सिक्ने केही जान्ने मौका पाउँछौं । त्यस्तै विभिन्न संघसंस्थाहरूमा आबद्द भैई सामाजिक कृयाकलापमा आफूलाई सहभागी गराउन सके एक त परिचित हुने अवसर जुट्छ अर्को आत्मसन्तुष्टि पनि प्राप्त हुन्छ । यसले हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा फाईदा पुर्याउँछ । म पनि विगत ६ वर्षदेखि यिनै उपयोगिताका सदुपयोगिताका सिद्दान्त आफूमा लागू गर्दै आइरहेको छु । यसबाट मलाई फाईदै भएको छ ।

आफू समस्या पर्दा होस् अथवा अरु कुनै साथी परेको होस् एक अर्कामा दु:ख सुख बाँड्ने गरियो भने जस्तै मुश्किलता पनि हल हुने सम्भावना रहन्छ । केही समय अघि मात्रै मैले यही खाडीमा आएर अलपत्र परेको मेरो भाइलाई यहींको साथीभाइको समन्वयबाट उद्दार गरी स्वदेश फर्काउन सफल भएको थिएँ । यसमानेमा म आफूलाई भाग्यमानी पनि ठान्दछु कि यति ठूला र फराकिला हृदय बोकेका साथीभाइहरू मैले यो मरुभूमिमा पाएँ । साधुवाद ती मनहरूलाई ।

त्यस्तै हामीमध्ये कतिपय साथीहरू विविध देशहरूबाट आएका कामदार मित्रहरूसँग घुलमिल हुन्छौं । घुलमिल हुनु आफ्नै ठाँउमा छ त्यही घुलमिललाई मायाको नाम दिएर अन्य गलत गतिबिधिमा लाग्नु एक्दमै ठूलो भूल हो । मिठो बोल्दैमा कोही कसैको मनमा पस्न सक्दैन । भ्रमका खेती गर्नेहरू प्रसस्त छन् यहाँ । माया प्रेमका नाटक मञ्चन गरेर कमाएको सारा सम्पती दम्पच पार्ने कुटिल चालमा पर्नुभएका हाम्रा थुप्रै दाजुभाइहरू हुनुहुन्छ । यसले एकातिर आफ्नो मेहनत खेर गैइरहेको छ भने अर्कोतिर आफैलाई बढि मानसिक कष्ट परिरहेको छ । यस्तोमा कोही साथीहरू त विक्षिप्त समेत् हुनुभएको देखिएको छ । अत: यस्ता झिनामसिना कुराहरूमा आफूलाई अल्म्ल्याउनु हुन्न भन्ने मेरो मान्यता र सुझाव् छ ।

यहाँनेर प्राय हामी खाडी मुलुकमा बस्ने सबैले अनुभव गरेकै कुरालाई पनि म उप्काउन चाहन्छु । त्यो के हो भन्दा हामी बसेको ठाउँ अचाक्ली गर्मी हुने ठाउँ हो । यस्तो वातावरणमा मदिरा सेवन गर्नाले शारीरिक रुपमा अत्यन्तै घातक सिद्द हुन्छ । बरु यस्को साटो प्रसस्त मात्रामा पानी र झोल पदार्थहरू पिउनु पर्छ । यसले हाम्रो शरीरको तापक्रम बाहिरी वातावरणसँग एडजस्ट हुन सक्दछ ।

यस्तै विचार र अनुभवहरू लिएर म स्वदेश फिर्ता हुदैंछु ।

यतिखेर मैले सबैलाई सम्झिनै पर्छ । उहाँहरूलाई जसले मलाई यो खाडीमा बाँच्न सिकाउनुभो, संघर्ष गर्न आँट भर्नुभो । मलाई यतिका समयसम्म साथ दिनु भो उहाँहरू मेरो निम्ति सधैको लागि प्रेरणाको स्रोत हुनुहुन्छ । नामै लिनु पर्दा यहाँका दुई साप्ताहिक पत्रिका राजधानी र कान्तिपुरलाई मैले भुल्नु हुन्न । यी दुई पत्रिका नै मेरो निम्ति आफ्नो कथा व्यथा पोख्ने माध्यम हुन् । त्यसै गरी विभिन्न वेभ साइटहरू – मझेरी डट कम, डिसी नेपाल, नेपालइसराइल डट नेट, हाम्रो संसार डट कम, नारी दार्पण, नेपाल जापान डट कम लगाएत दर्जनौं साहित्यक वेभ पेजहरूप्रति म ऋणी छु । त्यसै गरी यहाँका साहित्यिक संघ सस्थाहरू प्रति आभारी छु जहाँबाट मैले धेरै सर्जकहरूलाई चिन्न पाएको छु र आफूलाई चिनाउन सकेको छु ।

अन्त्यमा म सानो मान्छेको सानै योजनाको साथमा ठुलो र गहकिलो आत्मबल लिएर घर जाँदै छु । पक्कै पनि यहाँहरूको माया, सल्लाह सुझाब र साथ पाउने नै छु भन्ने कुरामा बिस्वस्त छु । साथै सबैमा पुन: उही आग्रह मान्छेको जीवनमा जति नै धन दौलत हात लागे पनि समस्याले कहिले पनि छाड्दैन । त्यसैले जे जति छ त्यतिमै चित्त बुझाउन सिकौं र आफ्नै देश फर्की यहाँका कम्पनीमा खटे जतिक्कै इमान्दारिता र लगनशिलताका साथ आफ्नै माटोमा परिश्रम गरौं । यसबाट प्राप्त हुने थोरै धन नै सही तर बढिया आत्मसन्तुष्टि मिल्नेछ भन्ने मेरो विश्वास छ । कमसेकम आफ्नो परिवारको साथमा त रहन पाउनेछौं । उनीहरूको साथ एवं हौसलाले थप उर्जा पाउनेछौं ।

मैले पनि यही सोचलाई विस्तार गर्ने जमर्को गर्दै अरु केही लान नसके पनि यतिका वर्षको मेहनतको रङ स्वरुप आफ्नै गीतिसंग्रह ‘अतृप्त मनका रहर’ बोकेर जादैंछु जसलाई म आफ्नो जननी नेपाल आमालाई श्रद्धाले सौगात स्वरुप अर्पण गर्न चाहन्छु ।

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *