Skip to content

इतिहासको कठघरामा चन्द्रशमशेर


भनिन्छ, देवशमशेर र राजा पृथ्वी वीरविक्रम शाहबीचको सम्बन्ध सतहमा नराम्रो देखिँदैनथ्यो। तर, देवशमशेर प्रधानमन्त्री (श्री ३ महाराज पनि) भएपछि दुवैबीचको सम्बन्धमाथि धमिरोले चढाइ गर्न थाल्यो। राजनीतिक रूपमा उदारवादी थिए देवशमशेर। आफ्नो रतिरागात्मक जीवनमा पनि उस्तै स्वच्छन्द। कतिसम्म भने प्रधानमन्त्री भएपछि पनि नारायणहिटी दरबारमा पसी राजाका रखौटीहरूसँग अभिसाररत हुन रुचाउँथे। उनी राजदरबार प्रवेश गरेको खबर पाउनासाथ राजाचाहिँ दरबार परसिरबाट बाहिरनि बाध्य हुन्थे।

यसबाहेक देवशमशेरबाट यी राजालाई खासै समस्या भएको इतिहासमा भेटिँदैन। तर, देवशमशेरको त्यही ऐयासी स्वभाव नै उनका लागि घातक बन्यो। प्रधानमन्त्री पदबाट देवशमशेरलाई गलहत्याउने कार्यमा चन्द्रशमशेरलाई तिनै राजाको पनि समर्थन रह्यो। समर्थनको कारण थियो, आफ्ना रखौटीहरूसँग आफ्नै दरबारमा देवशमशेरको रतिक्रीडा। राजाको समर्थनको त्यही जगमा उभिएर चन्द्रशमशेर समूह देवशमशेरलाई प्रधानमन्त्रीबाट हटाउन सफल भयो।

विसं १९५८ मा प्रधानमन्त्री भएको तीन महिनामै देवशमशेरको कमजोरीमाथि टेकेर चन्द्रशमशेरले उनलाई पदच्यूत मात्र गरेनन्, निर्वासनमा धनकुटा पठाइदिए र आफू प्रधानमन्त्री भए। यो घटनाक्रमसहित चन्द्रशमशेरको जन्मदेखि दोहोरो निमोनिया खेपेर ६६ वर्षको उमेरमा निधन हुँदासम्मको जीवनचक्रलाई संक्षेपमा लिपिबद्घ गर्ने प्रयास गरेका छन्, प्रकाश ए राजले, महाराज चन्द्र शम्सेरको जीवनी पुस्तकमार्फत। ३४ थान सन्दर्भ सामग्री जुटाएर तयार गरएिको यो पुस्तक यस्तो आँखीझ्याल हो, जहाँबाट चन्द्रशमशेरको उत्थान, उनका योगदान र विसंगतिलाई चियाउन सकिन्छ।

चिट्ठा परेको शासन

जंगबहादुर राणाका कान्छा भाइ धीरशमशेरका ठाँहिला छोरा थिए, चन्द्रशमशेर। विसं १९२४ मा जतिबेला उनी चार वर्षका मात्र थिए, ठूला बुबा जंगबहादुरले बनाएको प्रधानमन्त्रीको रोलक्रम अनुसार २४औँ नम्बरमा थिए। रोलक्रममा २३ जना अगाडि हुँदाहुँदै पनि उनी प्रधानमन्त्री होलान् भन्ने कसैले कल्पना गरेका थिएनन्। तर, उनी प्रधानमन्त्री भए, त्यो पनि २८ वर्षसम्म निरन्तर। १ सय ४ वर्षको राणा शासनमा सबैभन्दा बढी अवधि (३० वर्ष) प्रधानमन्त्री हुने जंगबहादुर थिए भने त्यसपछि चन्द्रशमशेर।

आफ्नो शासनकालको केही वर्षपछि मात्र जंगबहादुर श्री ३ महाराज हुन पाएका थिए भने चन्द्रशमशेर शासनकालको सुरुदेखि आखिरीसम्म प्रधानमन्त्री र श्री ३ महाराजसहितको दोहोरो पदमा रहे। तसर्थ, सबभन्दा धेरै अवधिसम्म श्री ३ महाराज हुने चन्द्रशमशेर नै थिए।

राणाकालीन शासन सधैँ वक्ररेखामा घुम्यो। त्यहाँ राजनीतिको सीधा गणितले कहिल्यै काम गरेन। त्यही कालमा विसं १९४२ को काण्ड (प्रधानमन्त्री रणोद्दीपसिंहको हत्या) भयो, जुन चन्द्रशमशेरका लागि प्रधानमन्त्रीको ढोका खुल्ने आधार बन्यो। धीरशमशेरको देहान्त भएपछि राणा परविारमा जंगबहादुर पुत्र ‘जंग राणा’ र धीरशमशेर पुत्र ‘शमशेर’हरूबीच शीतयुद्घ सुरु भयो। ४२ सालको पर्व त्यही शीतयुद्घको परिणाम थियो।

त्यतिबेला म्याटि्रकुलेसन अर्थात् इन्ट्रान्स परीक्षा उत्तीर्ण गर्ने पहिलो राणा खड्गशमशेर थिए। तर, म्याटि्रकुलेसन उत्तीर्ण गरेका राणा प्रधानमन्त्री भने चन्द्रशमशेर मात्र। शासक राणाहरूमध्ये अंग्रेजी भाषाको राम्रो ज्ञान भएकाले उनलाई भारतमा शासन गररिहेका अंग्रेजसँग सीधा सम्पर्क राख्न सजिलो भयो। यसले उनलाई आफ्नो शासन अवधिलाई रबरजस्तो तन्काउन मद्दत पुग्यो।

चन्द्रमा दाग

चन्द्रशमशेरको छवि जहिल्यै अलोकतान्त्रिक रह्यो। उनले आफ्ना पूर्वसमकक्षीकै सिको गर्दै शासन विधि निरंकुश त राखे नै, लोकतान्त्रिक अध्यायको पहिलो पाना पल्टाउने जनताको प्रयासमा पनि प्रहार गरे। जस्तो: ‘मकैको खेती पर्व’मा लेखकहरूको दमन गर्न उनले कुनै कसर बाँकी राखेनन्।

आर्थिक मामिलामा चन्द्रशमशेर कतिसम्म भ्रष्ट थिए भने आफैँले सरकारी ढुकुटी प्रयोग गरेर ५० लाख रुपियाँमा बनाएको सिंहदरबार दुई करोड रुपियाँमा नेपाल सरकारलाई नै बिक्री गरे। यही नजिरको आडमा धेरैपछि राजा महेन्द्रले पनि सरकारी खर्चमा बनेको नारायणहिटी दरबार सरकारलाई बेचेका थिए।

चन्द्रशमशेरका काला किस्साहरूको पूर्णविराम यत्तिमै लाग्दैन। प्रथम विश्वयुद्धमा सहयोग गरेबापत नेपाल सरकारलाई अंग्रेजहरूले प्रतिवर्ष १० लाख रुपियाँ दिन्थे। तर, त्यो रकम सरकारको ढुकुटीमा नभई जो सत्तामा थियो, उसैको बगलीमा पुग्थ्यो। यो प्रवृत्ति विसं ००७ सालसम्म रहेको थियो। तर, पुस्तकमा यसबारे विस्तृतमा चर्चा गरिएको छैन।

आफ्नो शासन अवधिमा राज्यको ढुकुटीमा दाखिला हुनुपर्ने राज्यको आयस्ता र विभिन्न व्यक्तिबाट सर्वस्व हरण गरिएका सम्पत्तिलाई चन्द्रशमशेरले पारिवारिकरण गरे। करबि एक अर्ब रुपियाँभन्दा बढीका ती सम्पत्ति आफ्ना नौ जना छोरा र दुई रानीका नाममा उनले विदेशी बैंकमा जम्मा गरेका थिए।

चन्द्रशमशेर आफ्नो सिवाय अरूको आर्थिक उन्नति भएको हेर्नै चाहँदैनथे। इतिहासकारहरूले उनका बारेमा यस्तै मूल्यांकन गरेका छन्। नातेदार, भारदार, कारिन्दा, व्यापारीहरू कुनै तरिकाले धनी भएको पत्तो पाउनासाथ अनेक निहुँ पारी सर्वस्व हर्थे। सम्भवतः बीपी कोइरालाका पिता कृष्णप्रसादको भारत निर्वासनको मूल कारण पनि चन्द्रशमशेरको यही स्वभाव थियो।

कूटनीतिमा निकै चाख राख्ने चन्द्रशमशेरका बारेमा धेरैले सम्झिरहने कुरा उनको हाँसो पनि हो। उनी रिसाए वा खुसाएको ठम्याउन हम्मेहम्मे पथ्र्यो रे! उनको शासनकालमा उनलाई जोडेर लोकोक्ति नै तयार थियो, ‘हाँस्यो कि नास्यो।’

चन्द्रको उज्यालो

यस्तो होइन कि चन्द्रशमशेर केवल दागधब्बाकै प्रतीक हुन्। उनले झन्डै तीन दशकको शासनकालमा कूटनीति कौशल देखाउनुका साथै विकासका केही प्रयास गरेको कुरामा इतिहासकारहरूबीच एक राय छ। जस्तो: पहिलो विश्वयुद्धमा नेपालका तर्फबाट बेलायत, फ्रान्स तथा रुससमेतका मित्र राष्ट्रलाई उनले सहयोग गरे। सन् १९१८ मा मित्र राष्ट्रहरू विजयी भए। परिणाम, त्यसको केही वर्षपछि विसं १९८० मा नेपाललाई भारतमा शासन गररिहेको अंग्रेजले सार्वभौम सम्पन्न स्वाधीन देशका रूपमा मान्यता दियो। विसं २००४ मा भारत स्वतन्त्र भएपछि नेपालले भारतमा हैदराबाद, ग्वालियर, बडोदाजस्ता ‘देशी राज्य’सरह भारतमा विलय हुनु परेन।

नेपालमा सती प्रथा र दासत्व उन्मूलन गर्ने श्रेय पनि चन्द्रशमशेरलाई नै जान्छ। नेपालमा पहिलोपटक काठमाडाँै उपत्यकाको फर्पिङमा बिजुली निकाली विद्युत् आपूर्ति गर्ने पनि उनै हुन्। त्यसैले होला काठमाडौँ सहरका बासिन्दा पछिसम्म पनि त्यसलाई ‘चन्द्र बत्ती’ भन्थे। चन्द्रशमशेरको शासनकालमा नेपालको पहिलो व्याकरण बन्यो, जसलाई विसं १९६९ मा हेमराज शर्माले चन्दि्रका व्याकरण नाम दिएर सार्वजनिक गरे। काठमाडौँ-हेटौंडा रोपवेदेखि चन्द्र नहर, त्रिचन्द्र कलेज बनाउने श्रेय पनि उनलाई नै जान्छ।

चन्द्रशमशेरबारे यी र यस्तै विवरण समाविष्ट यो पुस्तक आकारमा सानो छ, जम्मा ६० पृष्ठ मात्र। पुस्तकले चन्द्रशमशेरको जन्मदेखि मृत्युसम्मका महत्त्वपूर्ण पाटालाई सामान्य ढंगले समेट्न खोजेको छ। तर पनि चन्द्रशमशेरका बारे सामान्य जानकारी राख्न चाहनेहरूका लागि यो पुस्तक उपयोगी नै हुन सक्छ। विशेषगरी इतिहासमा रुचि राख्ने पाठक, विद्यार्थी र अध्येताका लागि ।

महाराज चन्द्र शम्सेरको जीवनी
लेखक : प्रकाश ए राज
प्रकाशक : नवीन पब्लिकेसन्स
पृष्ठ : ६०
मूल्य : १५० रुपियाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *