Skip to content

यादवजीले सुरुसुरुमा कल्पनाबाट कुनै किसिमको किस्ताबन्दीको आसा गरेका थिएनन् । उनी ता कसरी हुन्छ त्यसबाट छुट्काराको आसामा थिए । जानी नजानी कल्पनाका साथ उनले जे बोले त्यसले उनैलाई अहिले पोल्न थालेको छ । ‘त्यस्ता धन्यवादले मात्र पुग्दैन’ भनेका थिए उनले– पछिल्लो पटक कल्पना आएको बेला तेस्रो किस्ताबन्दीमा । यो भनाइ उनैका लागि कुनै बेला एउटा घाँडो हुन सक्ने ठहर उनले गर्दै गरेनन् तत्काल । कल्पनालाई यादवजीका भनाइमा कानाले आँखो खोजेजस्तै भएको थियो । उनका त्यस भनाइको उत्तरमा कल्पनाले कत्ति पनि ढिलो नगरी तुरुन्तै भनेकी थिई— “म छँदै छु नि सर । हजुरले भन्नु प¥यो कल्पना हाजिर !!” यस कथनबाट कल्पनाका मनमा के थियो भन्ने कुरा जगजाहेर थियो । यही कल्पनाको मनोवैज्ञानिक यथार्थताबाट उनी भागिरहेका थिए । भरसक यसका साथ भेट हुन नपरे पनि हुने उनको सोच थियो । उनको मनको द्वन्द्व अहिले पनि मडारिइरहेको थियो । कल्पनाबाट सधैं यसै गरी भागेरै यस समस्याको समाधान होला के त, के सधैं भागेरै सकिएला त ? उनले यस विषयमा सारै गहिरोसँग सोच्न थालेका थिए । यो कुरा अहिलेसम्म पनि कल्पना र यादवजीकै माझमा रहेको थियो । यो घटना सार्वजनिक हुनु भनेको यादवजीको चरित्रमा मात्र होइन जागिरमा समेत एउटा तुफान हुन सक्थ्यो । यसैले उनले सकभर घरमा गोप्य राखेका थिए । विषय गोप्य भए पनि उनका मनको तनाव भने सार्वजनिक हुन लागेको थियो ।
उनकी श्रीमतीले यता केही दिनदेखि यादवजीमा कुनै मानसिक तनाव छ भन्ने लख काट्न थालेकी थिइन् । घरमा अलिक एकाकी जस्तो र अन्यमनष्क जस्तो देखिन थालेका थिए यादवजी । आफैं एकान्तमा घोरिन थालेका र अनुहारमा चिन्ताका रेखाहरु सग्बगाएका देखिन थालेका थिए । खाना पनि उति राम्रो गरी खान छाडेका थिए । यसको मूल कारण अरु केही नभई कल्पनाको किस्ताबन्दीकै कुरा थियो । यसै कारण उनी अहिले निकै नै तनावमा थिए, तर यसलाई सार्वजनिक गर्नु भएको थिएन ।
यादवलाई किस्ताको खासै अर्थ थिएन तापनि समयक्रमको परिवन्दले उनलाई बाँधेको थियो । हतारो ता कल्पनालाई नै भएको जस्तो देखिन लागेको थियो । अस्वाभाविक हिसाबले कल्पनालाई नै यादवजीको लागि किस्ता बुझाउने मन तुल्बुलाएको थियो । यादवले खोजेकै थिएनन् । उनी ता किस्ता बुझ्नु भन्दा परपरै भाग्न खोजिरहेका थिए । हो, वास्तवमा कल्पनालाई नै हतारो परेको जस्तो थियो । पहिले पहिले कल्पनाले यादवबाट उसमाथिको उपकारका लागि किस्ता बुझाउने उसले सोचेकी थिई तर अहिले भने उसैलाई उल्टै किस्ताको बुझाउने खाँचो पर्न थालिसकेको थियो । धेरै महिनादेखि आफ्नो पतिको अभाव र साथीभाइहरुले जिस्क्याउने गरेको कारणले उसको मनमा निकै उथलपुथलहरु मचिन थालेका थिए । यसबाट उसका मनमा ओइलाउन लागेका पालुवाहरु ताजा हुन लागेका थिए अनि उसको मनको बगंैचाबारीमा पिपिरा र मुजुराहरु पलाउन पनि थालेका थिए । आखिर ऊ पनि एक युवती नै थिई । उसका मनमा पनि भावनाहरु सग्बगाउनु स्वाभाविक थियो । वसन्त सकिएकै थिएन कोइली कराइरहेको थियो पर पर कतै ।
“अचेल के भएको छ तपाईंलाई ? किन यसरी धुम्धुम्ती हुनुभएको हँ ? के छ मनमा त्यस्तो समस्या ? मलाई भन्नु प¥यो !” केहीपछि बेलुकीपख एक दिन यादवकी पत्नीले यादवको अवस्थाबारे जान्न चाहिन् ।
“केही भएको छैन । के भएको देख्यौ र ?” यादवले कुरा टार्न खोजे ।
“मनमा के भरिएको छ ? सेयर गर्नुपर्छ भन्ने मान्छे तपाईं नै होइन ? बाँडेपछि मन हलुको हुनछ भन्नुहुन्थ्यो त ! खोइ बाँडेको सेयर गरेको ?” उनकी पत्नीले सम्झाउँदै फेरि सोधिन् ।
“मेरो मनमा केही पनि भरिएको छैन । तिमी त्यसै खालि……”
“हो, मलाई थाहा हुन्न र ? के बोकेको हो मलाई तुरुन्तै भन्नुहोस् ।” उनले निकै खुरुन्धार गरिन् ।
तर यादवजी चूपै लागे । आलटाल गरेर कुरा पचाए । त्यो प्रसङ्ग त्यति बेला त्यत्तिकै सकियो । केही दिन यसै गरी बिते ।
एक दिन बेलुका अफिसबाट फर्किएर यादवलाई चिया दिँदै कुरै कुरामा यादवपत्नीले भनिन्–
“थाहा पाउनु भयो नयाँ कुरा ?”
“के हो त्यस्तो नयाँ कुरा ? भन न त ।” उनले उत्सुकता जनाए ।
“शिक्षकको जागिरमा पास भएकी र बालिका विद्यालयमा नियुक्ति पाएकी कल्पना भन्ने आइमाई थिई नि, चिन्नुहुन्छ होला, रुपाकी साथी ।”
“कति हुन्छन् त्यस्तो एकै नाम भएका मान्छेहरु । सबैलाई ता कसरी चिन्नु ?” उनले बुझेर पनि नबुझेझैं गरे । तर उही उनलाई किस्ता बुझाउन आउने कल्पनाकै कुरा हो भन्ने उनलाई स्पष्टै भइसकेको थियो । उनका मनमा निश्चय नै कल्पनाले हुने नहुने कुरा केही गरिछे क्यारे भन्नेमा उनलाई उनकी श्रीमतीको कुरा गराइबाट जानकारी भइसकेको थियो । तैपनि नबुझेझैं गरे । कल्ःपनाको खबर के रहेछ भन्ने कुराको जानकारीका लागि उनको मन बडो आतुर भइसकेरको थियो तैपनि आफैंलाई सम्हालिरहेका थिए । बढी चाख राखे भने उनलाई नै पर्छ फसाद । अनि के गरुन् त बिचरा !
“हेडमास्टरका साथ भागिछे नि त । सात दिन जति हराएर अहिले फर्किएछन् ।”
“हँ !! लौ अन्तिम किस्ता उतै तिरिछे । राम्रै भएछ । टेन्सनै सकियो ।” एक्कासी यादवको मुखबाट कुरा खस्यो । उनकी पत्नीका कुरा सुनेर उनका मुखबाट अनायासै निकियो ।
तर उनकी पत्नी भने यादवजीको मुख हेरेको हेरेकै भइन् । यादवले के भन्न खोजेका हुन् उनले लखसम्म पनि काट्न सकिनन् ।


हेरौ‌ कथा कसैले पढिहाल्छ कि त ।

2 thoughts on “अन्तिम किस्ता”

  1. अन्तिम किस्ता हेडमास्टरसँग।
    अन्तिम किस्ता हेडमास्टरसँग। गज्जबको प्रसङ्ग। यादवजीलाइ त काँडा झिके झैँ भयो तर फेरी काँडा बल्झिने भयो श्रीमतीको प्रश्नरूपी बाणले ।

    पाद टिप्पणी पनि पढेँ, तर त्यो चाहिँ कथा पढिसकेपछि हो । अगाडि होइन ।

  2. त भने नि मेरा पाठक जम्मा तीन
    त भने नि मेरा पाठक जम्मा तीन जना भए भनेर । अरु पहिलो दोस्रो र तेस्रो किस्ता पनि पढेपछि मात्र यसको महत्व अझ स्पष्टिन्छ भन्ने मेरो ठनाइ छ । मेरो प्रकाशनाेन्मुख पुस्तक किस्ताबन्दी बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *