Skip to content

जीवनमृत्यु चोकको पसल


रातको एक बज्न आँटेको हुनुपर्छ । घडी छैन कोठामा, त्यसैले समयको अनुमान मात्र लगाइरहेछन मान्छेहरू । हार्ने इतिहास बोक्नेहरूका लागि एकचोटीको विजय पनि सयौं पटकको जीतभन्दा ठूलो हुन्छ शायद, त्यसैले नजिकैको बरण्डामा एक हुल मान्छेहरू ताली पिटिरहेका छन्, उनीहरूको देशले आज चौकामाथि चौका बर्साइरहेको छ । तथाकथित राष्ट्रियता झल्किंदैछ उनीहरूको अनुहारमा ।

भित्र कोठामा एउटा बुढो शरीरले जीवनका अन्तिम कोषहरू उत्पादन गर्ने असफल प्रयत्न गर्दैछ । छेउमैं बसकेको छ, जिन्दगीमा एक्लै हुन गइरहेको अर्को व्यक्ति । मलिन, क्लान्त मुहरामा चिम्सिएका आँखाबाट पानी रसाइरहेको छ, मूलको पानी फुटेसरी । खाटमा पल्टिएको बुढो शरीर छट्पटिंदैछ, घरि टाउको यता पल्टाउन खोज्छ, घरी उता । हात चलाउन खोज्छ तर ऊ असफल भइरहेछ बारम्बार । कारण उसलाई जीवन दिने भनेर घोचिएका सुईहरूको पीडाले त्यसो गर्नबाट रोकिरहेको छ । टाउको समेत घुमाउन सक्दैन उसले । नाकमा मास्क लगाइएको छ । छेउमै सिलिण्डर माथि शीशीको सानो जारमा उम्लिएसरि पानी निरन्तर प्रवाहमान छ । यो पानीको गति र उसको छटपटीबीच मानौं केही सम्बन्ध भएजस्तो । पानी चल्न छोड्यो कि ऊ पनि बन्द । सदा सदाका लागि ।

बिरामीको छेउमा आँखाबाट अश्रु चुहाइरहेकी बुढीले यताउता हेर्छे । सम्भवतः कुनै सहारा । मान्छेको लागि यतिखेर, यस्तोबेला सबैभन्दा ठूलो सहारा भन्नु नै भरोसा हो । त्यान्द्रो मात्रै किन नहोस्, डुब्दा त्यसले पनि त आँट दिन्छ किनारामा पुग्न । कसैले तँ एक्लै छैनस्, हामी छँदै छौं नि भन्ने शब्दहरू मात्रै पनि उसका लागि पर्याप्त हुन्थे । तर त्यत्ति भनिदिने समेत कोही छैन । झ्यालबाहिर अँध्यारोमा टिल्पिलाइरहेका बत्ती हेर्दै उभिरहेको छोरा बाहेक कोही छैन । अँध्यारामो उसको विगत नाचिरहेको छ । टाढा कतै देखिरहेका बत्तीमा टोल्हाउँदै जसोतसो बुवाले आफूलो नखाएर नलाएर पनि स्कुलको कापी किनदिएको सम्झिैंदछ उसले । घरी उसको ध्यान कोठामा जाँदैछ । जहाँ भावसून्य, विकल्पहीन जिन्दगी खाटमा पल्टिएको छ । अनि छिन् बिरामीभन्दा झनै गलेकी उसकी आमा ।

एकछिनपछि झ्यालबाट कोठातिर फर्किन्छ छोरा । कोठाभन्दा घरको चारभित्ताको प्रतिविम्ब आउँछ होला । तर यो कोठाभन्दा पनि एउटा हल हो । स्कुल, कलेजको ठूलो कोठा जस्तो । उनीहरूका लागि सारा संसार नै शून्य लागिरहेपनि यो हल भने पक्कै पनि शून्य छैन । यहाँ थुप्रै अर्धश्वासहरू चल्मलाइरहेका छन् । मधुरो बत्तीको उज्यालोमा छोराका आँखाहरू घुमे चारैतिर । छेउकै खाटमा एकजन मान्छे उत्तानो पेट पल्टिएको छ । पेटमा सेतो पट्टि देखिन्छ, छटपटीदैछ ऊ पनि । अर्को बेडमा यस्तै यस्तै छन्, कोही सुतेको अभिनय गरेजस्ता । कोही उँघेका । मानौं कि यहाँ आफूजस्तै अन्य रुग्ण श्वासहरू देखेर सबै श्वासहरू निराशाको अन्तिम स्थितिमा पुगेका हुन । कोठामा मधुरो बत्ती दिने धुलोको पत्रले ढाकिएको बल्ब छ र मान्छेका आसा अनि प्रत्यासाहरूलाई एकसूरमा नचाउँदै तीनचार वटा पंखा नाचिरहेका छन् । १८, २० वटा अर्धश्वासहरू पल्टिएका हरेक खाटमाथि लेखिएको छ, बेड नं. १, २, ३… ।

जीवन संसार र मृत्यलोक बीच यो नम्बर नै उनीहरूको अन्तिम चौतारी हो श्वास बिसाउने । यहाँबाट फर्केर मान्छेहरूको संसारमा जाने अथवा मृत्युलोकको अनन्त यात्रामा अघि बढ्ने? यी दुवै विकल्पहरू यी सबै श्वासहरूका अगाडि छन् । हरेकको अन्तिम लालसा अँझै मान्छेबीच नै बाँच्ने नभएको होइन । यो बेड मृत्युलोकको पहिलो आधार शिविर नबनिदेओस् भन्ने कामना उसको यानि छोराको पनि छ । उसको प्रत्यासा यो बेड नं.ले उसलाई मृत्युको घेराबाट बाहिर निकालोस् भन्ने हो । ऊ मात्रै किन यो २४ बाई ३६ को हलका २० वर्ट बेड नम्बंरहरूको अभिलाषा यही नै छ ।

मृत्यु र जीवनबीचको आधार शिविर मान्न सकिने यो हल एउटा अस्पतालको साइनबोर्डले बैधता पाएको छ । चाहे हलसित जोडिएको ट्वाइलेटको भेन्टिलेसन नै यो हल किन नबनेको होस्, चाहे लामखुट्का हुलहरूले दिउँसैदेखि मृत्यु संगीतमा नृत्य किन नगरेका होउन, चाहे कोठाको दुर्गन्धले फोहोरको डुंगुरबाट निस्किने गन्धलाई नै किन मात नगरेको होस्, बाहिर साइनबोर्डमा लेखिएको अस्पताल र रिसर्च सेन्टर भन्ने शब्दले यो मान्छेको जीवन जोगाउने ठाउँ हो भनेर परिचय दिने गरेको छ । यो वैध अस्पतालमा हरेक राती कम्तीमा एउटा जीवनलाई मृत्युले किन्ने गरेको कुरा बेजान साइनबोर्डले कहिल्यै बताउँदैन । न त साइनबोर्डले रोगी बिरामीहरूको वित्तीय अनुसन्धानबाहेक अन्य कुनै खोज यस रिसर्च सेन्टर हुँदैन भन्ने कुरा बताउँछ । साइनबोर्डले भित्रको केही बोल्दैन । ऊ पनि चालाक भइसक्यो धेरै ।

तर मान्नैपर्छ, यो अस्पताल नियमबद्ध छ । यहाँ अनुशासन छ । अनुशासनको यस्तो नियम सम्भवतः कर्मचारीतन्त्रमा पनि पाईंदैन होला । जस्तो कि, यो अस्पतालमा बिहान नौ नबजि डाक्टर या अन्य स्वास्थ्यकर्मीहरूको उपस्थिति हुँदैन । उनीहरू नियमका पक्का छन् । यो अस्पतालमा बेलुकी ६ बजेपछि उनीहरूको बिदा हुन्छ । राती बस्दैनन उनीहरू । कोठामा खाँदिएका भेडाहरू मर्न सक्छन्, उनीहरूलाई थाहा छ तर जाबो आशा मारेका रुग्ण श्वासहरूका लागि उनीहरूले आफ्ना श्रीमती र श्रीमानको अंगालोको न्यानो राप किन गुमाउन ?

अरु नियमहरू झनै अनुशासनबद्ध छन् । यो अस्पतालमा हरेक दिन कम्तीमा ४ जनालाई चिरिन्छ, र डाक्टर यति कुशल छन् कि अपरेसन उनीहरू एक्लैले गर्छन् । समय पनि बढी लाग्दैन । पिसाब रोकिन्छ या रगत आउँछ भन्ने बिरामी आयो भने दायाँ पेट चर्ररर चिरिन्छ, नसा तानिन्छन्, दायाँ हातको कैंची चल्छ, भित्र खाक्सीजस्तै मासु झिकिन्छ, अनि रोगीलाई त्यही कोठाको कुनै बेडमा थान्को लगाइन्छ । जस्तोसुकै बिरामी होस्, सकेसम्म चिर्न परोस् । चिर्न नसक्ने नै भए भएजतिका एक्सरेहरू गर्न सकियोस् । त्यो पनि गर्न नहुने स्थितिमा कमसेकम सूई त लगाउनै पाइयोस् । किनभने यो अस्पताल हो, समाजसेवा गरिरहेका छैनन् डाक्टरहरू ।

व्यवहारमा भने अस्पतालमा सारै उदार छ, त्यो कोठामा एकजना बिरामीका लागि दशजना कुरुवा आएपनि पुग्छ । भाषण, गाली जे गरेपनि हुन्छ, चुरोटको धुवाँ उडाएपनि हुन्छ, भित्तामा पान थुकेपनि हुन्छ । यिनै विशेषता (मान्छेहरूका विवशताभन्दा अस्पतालको मानहानी हुनसक्छ)ले गर्दा अस्पतालमा प्रतिदिन ८ देखि १२ जना रोगीहरू चिर्नकै लागि भरिन्छन् । यो हलजस्तो कोठा मानौं इलाष्टिक जस्तो तन्किन्छ क्यारे, जति मान्छे आएपनि त्यहाँ ठाउँ छैन भनिँदैन । बिरामीको सेवा गर्नेपर्ने उनीहरूको नियम हो । मान्छे कम भए रोगीको उपचार बढी दिन हुन्छ, कुनैबेला त प्रोटेस्टेन्टको भीडियो एक्सरे गरिएको बिरामी समेत महिना दिन बस्नुपर्ने हुन्छ भने कुनै बेला चिरा लगाएको बिरामी समेत डाक्टरको परिभाषामा तेश्रो दिन घर जान योग्य हुन्छ । गणितको सूत्र जस्तो बढी मान्छे कम दिन, कम मान्छे बढी दिन । अर्थात् बिरामीको सेवाबाट पाइने अमृत अर्थको अन्तिम जोडमा फरक नपरोस् ।

अस्पतालको एउटा अर्को नियम पनि छ, अस्पतालमा शुरुमा नै एउटा कार्डमा हस्ताक्षर गराइएको हुन्छ । यो रक्षा कवच हो, योग्य चिकित्सकहरूका लागि । बिरामीका लागि भने यो विवशतापत्रभन्दा फरक नपर्ला । कार्डमा लेखिएको हुन्छ( उपचारको प्रकृयामा अप्रेसन गर्दा या अरु कुराले गर्दा रोगीको मृत्यु भएमा त्यसको भागिंदार चिकित्सक हुने छैन….। हुन पनि किन होस्, डाक्टरले जबर्जस्ती बोलाको हो र ? हाम्ले पो लगेको ।

र, पाठक महोदय, यही नियमबद्ध, कुशल, समाजसेवारुपी अस्पतालमा भाग्यवश म पनि आइपुगेको छु मेरो बिरामी बोकेर ।

त्यसो त हाम्रो गाउँमा अस्पताल नभएको होइन । मैले यत्रो हण्डर खाएर यो नियमबद्ध यमशालामा बुढो शरीर बोकेर ल्याउनु नपर्ने थियो । १६ जना डाक्टरको दरबन्दी छ हाम्रो अस्पतालमा । दाताहरू र अन्तराष्टीय मञ्चमा प्रगति प्रतिवेदन प्रस्तुत गर्न के छैन यो अस्पतालमा । गाइने छैन कि, चिर्ने छैन कि, दाँत उखेल्ने छैन कि, फिजिसियन, सर्जन, चेस्ट, पेडियाटिसियन..। ख्ुटादेखी रौं सम्मका डाक्टरको ठाउँ छदरबन्दीका लागि छुट्टयाइएको । तर बिडम्बनाको कुरा, ५०, ६० लाख खर्च गरेर डाक्टर बनिसकेपछि २०, २५ हजार महिनाको आम्दानी हुने ठाउँमा, त्यसमा पनि देशको पुछार सीमामा के खान जाने डाक्टर । न हाम्रो जिल्लाका कोही स्वास्थ्य मन्त्री भए, न अर्थमन्त्री, न त कुनै पार्टीका नेता नै । त्यसैले यो अस्पतालमा नियम पुर्याउन तीनचारजना चिकित्सकहरूको अदलीबदली भइरहेको हुन्छ । तर बिडम्बनाको कुरा, मेरो अस्पतालका डक्टरहरूलाई प्रायःजसो पश्चिमी भाषामाभन्दा “रिफर” गर्न सारै राम्रो लाग्छ । थाहा छैन, यो रिफरको ब्याक भ्याल्यु कति हुन्छ ?

त्यसैले अञ्चल अस्पतालमा हप्तादिने बिरामी थन्क्याएपछि छैठौं दिन चिकित्सकले मलाई एउटा पर्चा थमाइदिए र भने, “हामीले निकै प्रयास गर्यौं तर भएन । सर्जन पनि त चाहियो । ह्याँ सरुवा भएका सर्जन केन्या गा छ रे युरोलोजिष्टहरूको सम्मेलनमा । यो पर्चा लग्नुस्, रिफर गर्देको छु ।”

उपायविहीन भएर अञ्चल अस्पतालको भव्य र बडेमाको भवनबाट निराश हुँदै रिक्सा, तांगा, जीप गर्दै मैले मेरो बिरामीलाई यहाँ ल्याउनु मेरो बाध्यता थियो । म यहाँ आउने दिनहरूमा संविधानमा स्वास्थ्य सेवालाई मौलिक हक र अधिकारका रुपमा सुनौला अक्षरले लेखिँदै थियो । म भने डाक्टरका सुनौला अक्षरको रिफर बोकेर छिमेकी देशको यो सहरमा आइपुगेको थिएँ हिजो मात्रै ।
र, यसै अस्पतालमा मैले त्यो बुढोमान्छे, उसकी श्रीमती र छोरालाई भेटेको थिएँ ।

बुढो मान्छेको आज पेट चिरिएको रे । विचरा, अप्रेसनपछिको पीडा झेलिरहेको छ ।

बुढोको छोरा झ्यालबाट फर्केर बिरामी छेउ आएर उभियो । बुढोको श्वास बढिरहेको छ । आँखा निश्चेष्ट छन् । पेट ढ्याम्मै फुलेजस्तो देखिन्छ । म बुढोको छिमेकी खाटमा मेरो बिरामीसँग बसिरहेको छु । मेरो बिरामीको अहिलेसम्म कुनै सोधपुछ भएको छैन हिजोदेखि । कारण, यहाँ व्यस्त छन् डाक्टरहरू । सोच्छु,– यो भैसी बाँध्ने गोठमा आइपुग्नु मेरो नियति र विवशता रहेछ । हो, हामी सबैको विवशता । सामान्य एक्सरे गर्न समेत आफ्नो ठाउँमा नपाएपछि देशकै होनहार चिकित्सकहरूको सल्लाहमा म त्यहाँ पुगे, हामी सबै त्यहाँ पुग्यौं । थाहा छैन, मलाई दिइएको “रिफर”को पर्चा कति रुपैयाँको चेकमा परिवर्तन हुन्छ होला, तर के गर्ने ? कसाई भन्ने थाहा भएपनि बाघबाट जोगिन बाख्रोले मान्छेकै शरण लिन्छ । मेरा लागि पनि त्यस्तै थियो । कि मेरो औकात हुनुपर्यो राजधानी या छिमेकी राजधानीका महंगा अस्पतालमा बिरामी लैजाने, कि मैले घरमैं मृत्यु कुर्नुपर्यो । हैन, भने छिमेकी साना शहरका यी अस्पताल भनिने शालाहरूमा ल्याउन बाहेक मसँग अरु के विकल्प शेष थियो र ?

बुढोतर्फ हेरे, हिजो म आउँदा बुढो राम्रै देखिन्थ्यो । श्रीमतीसित कुरा गर्दै थियो, बुहारीलाई “धान काट्नुपर्छ, घरमैं बस” भनेर सल्लाह दिंदै थियो । “तपाईलाई के भएको नि” भनेर सोधेथे मैले ।

“खै, नाइटोको दायाँ भागमा डल्लोजस्तो मासु पलायो, अनि भित्र सारै दुख्न थाल्यो । सहन नसकी यता ल्याको ।” उसको छोराले ओढाएको कपडा बुढोका जीउबाट झिक्दै मलाई देखायो ।

“अनि के अप्रे्सन गनुपर्ने ?” मैले सोधेथे ।

“सबैले त्यै भन्छन्, कति ठाउँ पुगियो भनिसाध्ये छैन । महेन्द्रनगरको अस्पतालमा देखाउँदा यता हुँदैन सीमापारी अस्पतालमा जानु भन्ने सल्लाह दिए डाक्टरले ।”

साँझतिर मैले फेरि सोधे– अप्रेसनमा त खर्च लाग्ला नि निकै ?

– लाग्छ तर के गर्ने ? गर्नैपरेपछि । भएको जग्गा बन्धकी राखेर आका छौं ।

– कति भन्छ अप्रेसनको ?

– अप्रेसनको कति भन्ने कि कतिको अप्रेसन भन्ने ? अनौठो जवाफ दियो उसले ।

– कतिको अप्रेसन रे ? अप्रेसनको त फिक्स खर्च होला नि ?

– “हुनुपर्ने हो तर नहुँदो रहेछ” उसले भन्यो, “तीनचार ठाउँ पुगियो । यसो जीउडाल हेर्छन, चेक गर्नु छैन, जाँच गर्नुछैन । अप्रेसन गर्नुपर्ने भन्छन्, अनि कति लाग्छभन्दा लाग्न त जति पनि लाग्छ, तर तिमीसित कतिपैसा छ, त्यतिका अप्रेसन गर्ने भन्छन् ।” वेवशी झल्किन्थ्यो उसको मुहारमा ।

– “अनि यसले कति मागिरा छ ?”

– शुरुमा चालिस हजार भारु भन्यो, औषधकिो खर्च अलग, पछि पैसा छैन त्यतिभन्दा “ल, कति छ” भनेर सोध्यो । आफूसित त्यै दश एघार हजार हो । उसले “ल, जमा गर, भोलि त्यतिको अप्रेसन गरिदिउँला” भनेको छ ।

अचम्म मान्नुपर्दैन, यो पनि यो अस्पतालको एउटा विशेषता हो ।

र आज, केही छिन अघि बुढाको दश हजारको अप्रेसन भएछ । आधा घण्टा बन्द कोठामा डाक्टर र बुढो मान्छे मात्रै थिए रे । कोठाबाहिर निस्किंदा बुढाको नाइटो पट्टिले सेतो भएको थियो । मासुको डल्लो काटियो, फालियो या के गरियो ? उनीहरूले केही थाहा पाएनन् ।

यो अस्पतालको थप विशेषता भन्न विर्सेँ– तल्लो तलामा अप्रेसन हुने गर्थ्यो भने माथिल्लो तलमा बिरामीलाई एकजना काम गर्ने केटाले काँधमा बोकेर या दुई जनाले हातखुट्टा समातेर लैजाने गर्थे ।

अघि मैले त्यो अनौठो दृश्य देखेँ– अप्रेसन गरेको बिरामीलाई काखमा दुवै हातले च्यापेर एकजना मान्छे ठमठम सिंढी चढिरहेको थियो । मान्छे समात्नु ठिक अघि उसले बरण्डामा कुचो लगाउँदै थियो । यति व्यस्त कि मान्छे बोक्नु परेकोले उसले हात पनि धुन पाएन होला । विचरा ।

र, यतिखेर त्यही बुढो मान्छे अक्सिजनको सहारामा हिक्क हिक्क गर्दैछ ।

“मलाई लाग्दैन यो मान्छे बाँच्छ होला”, मनमनै सोचे तर प्रकटमा भनिन केही ।

एक सेकेण्ड, दुई सेकेण्ड, साँझ सात बजेदेखि अहिले ४ घण्टा बित्न थाल्यो । अक्सिजनले अप्ठ्यारो भएको पो हो कि भनेर उसले त्यसको पाइप तान्न खोज्यो । मैले तत्काल नै यसो नगर्नुस भने । उसले भनेको मान्यो र हातखुट्टा मालिस गरिदिन थाल्यो । तर बुढाको छाती उम्लिरहेको थियो ।

म झ्यालपट्टि गएर बसेँ खाटमा । बाहिर निष्पट अँध्यारोमा टाढा केही पिलिक पिलिक बत्ती देखिँदैछन् । मेरो मष्तिष्कमा सोचाइहरूको भूमरी छ । सोच्छु, यो मान्छेका अगाडि कुनै विकल्प छैन । अप्रेसन गरेर डाक्टर घर गइसकेको थियो । सम्भवतः मच्चिदैथियो होला आफ्नो श्रीमतीमाथि । यता भने उसको बिरामीमाथि काल मच्चिदैथियो । मलाई लाग्यो, काल र डाक्टरमा समानता छ । उता ऊ मच्चिदैछ, उसले च्याप्दैछ यता कालले । दुवैले निरिह मान्छेलाई नै च्याप्दैछन् । म तन्द्रामा डुबे एकछिन् । मनमा एउटा विचार आयो, “डाक्टर मृत्यु हो, मृत्यु डाक्टर….।” आँखा अगाडि एउटा तस्वीर नाच्यो । एकजना सेतो देवदूत आइरहेको छ, हातमा रुद्राक्षको माला बोकेर । असीम श्रद्धा उत्पन्न हुने देवदूत, मन्त्रमुग्ध भावले मैले हेर्न थाले । अचानक कतैबाट हावा चल्यो र हावासँगै नीला, हरिया, सेता, खैरा कागजहरू खस्न थाले– पचास, हजार, पाँचसय…। देवदूतमाथि खसिरहेका यी कागजका नोटहरूले क्रमशः आकार बढाउँदै लगे । हेर्दा हेर्दै एउटा थुप्रो लाग्यो र देवदूतको अस्तित्व लोप भयो । हावा रोकिन बन्द भयो । मलाई गर्मी अनुभूति भयो । मानौं कतै ठूलो धुनी जलिरहेको छ । हेरेँ, अघिको थुप्रोको भित्रबाट भूसको जस्तो आगो बलिरहेको छ धुवाँरहित । हेर्दाहेर्दै यो राप एकछिन धपक्क र निभ्दै कालो भयो । कालो, खरानी अघिको कालो । र, त्यसबाट उही अघिको देवदूत बाहिर निस्कियो ।

तर यो के ? म झन्नै चिच्याउन पुगिनँ । सेताम्ये, मायालु, श्रद्धालु, भगवानको अवतार देवदूतको ठाउँमा एउटा कालो न कालो प्रतिमाले लिएको थियो । शरीरभरी पैसा नै पैसाका सिक्काहरू टाँसिएका । उसले मतिर हेरेर जीव्रो निकाल्यो– अब भने मैले सम्हाल्न सकिनँ, लाग्यो, ऊ मलाई नै निल्न अगाडि बढ्दैछ .‘। म चिच्याउनै के आँटेको थिए, मेरो आँखा अगाडिको कल्पनालाई ध्वस्त गर्दै एउटा चिच्याहट मेरो कानमा ठोक्कियो– यता आउनु त, सलाइन बन्द भयो, बालाई झन बढी भयो ।

म आफ्नो तन्द्राबाट ब्यूँझिए ।

यत्तिकैमा बुहारीको चिच्याहट सुनियो, लौ न, यो सलाइन त बन्द भयो । सबैका आँखा माथि झुण्ड्याइएका सलाइनमा गए । अस्पतालको अर्को विशेषता सलाइन पनि हो । बिरामी आएपछि सलाइन पानी चढाउनैपर्छ भन्ने उनीहरूको नियम छ, केही होस् नहोस सलाइन चाहियो चाहियो ।

साँच्चिकै दुवै पाइपहरू र बोतलबीचको सकेट भल्भमा पानी खस्न बन्द भएको थियो । छोराले प्रयास गर्यो, तर केही लागेन, यता हातको सूइ हल्लाई बुहारीले । अहँ केही भएन । बुढीले त्यो सूई झिकेर फेरि लगाई भएन । उनीहरू निकै आत्तिए । लौन के गर्ने कसो गर्ने ? उनीहरूका हात नली, सूई, सकेट, बोतलमै खेल्दै थिए । यता बुढोमाथि मृत्यु स्खलित भइसकेको थियो, उसको सम्पूर्ण गर्व र अस्मिता चुर चुर गर्दै । र, उता सम्भवतः मृत्युकै समरुप डाक्टर पनि ।

म अवाक भएँ । मेरो बिरामी सुतेको छ, डर लाग्यो, म आजै आएको यो मृत्युशालामा । बुढाको अनुहार विभत्स र डरलाग्दो लाग्न थाल्यो । लाग्यो बुढोको जीवनको मूल्य दशहजारभन्दा बढिरहेछ । दश हजारले किन्न सकेनन उनीहरूले आफ्नो प्रिय मान्छेको जीवन….। उनीहरू रुन पनिसकेनन् । अचानको यो झटका… । बुढी केहीछिन ट्वाँ परिन् र खसिन बुढामाथि….। त्यसपछिको स्थिति म वर्णन गर्न सक्दिनँ, तपाईहरू आफै कल्पना गर्नुहोस् । त्यो रात त्यत्तिकै बित्यो । तर, यो सामान्य थियो हलका अन्य बिरामीका लागि । मानौं उनीहरू अभ्यस्त छन्, मृत्युको यो नाटक मञ्चन हेर्न ।

भोलिपल्ट बिहान बेड नं. २७ खाली थियो । हिजो रातीको विभत्सताको कुनै चिन्ह त्यहाँ शेष थिएन । एउटा धोएको तन्ना फेरिएको थियो । बुढोको कुनै निशानी थिएन मानौं कि यो बेड फेरि अर्को जीवनलाई पासोमा पार्न प्रतिक्षामा छ । कसैलाई लाग्दैनथ्यो, यहाँ दुइचार घण्टा अगाडि मृत्युले यही बेडमा मान्छेको गरिबी र विवशतामाथि ताण्डव नृत्य गरेर फर्केका थियो । मैले मेरो बेडतर्फ हेरेँ, यसमा पनि त…। जीऊ सिरिंग भयो ।

दश पनि बज्न भ्याएको थिएन होला, एकजोडी मान्छे एउटा आठ वर्षको मलिनो अनुहार भएको बच्चालाई सहारा दिंदै भित्र छिरे । उनीहरूको बोली सुनेँ, “कति राम्रो डाक्टर रैछन्, पैला दश हजार लाग्न्या भन्यो, छैन भन्या त लौ, ७ हजारको अप्रेसन गरिदिन्छु भने ।”

त्यो दिन डाक्टरको व्यस्तताका कारण मेरो बिरामीको परीक्षण हुन सकेन । केही पेन किलरहरू पाए बस । साँझ छेउकै नयाँ आएको बच्चा र उसका बाआमासँग कुरा गरे । हप्तादिन अघि नै नाम लेखाएको रे उनीहरूले । अब सात हजारको अप्रेसन चार पाँच दिनपछि रे, मैले हिजो रातीको बुढोको मुहार सम्झिएँ ।

त्यो रात पनि त्यत्तिकै बित्यो । थाहा भयो, यो बेड नम्बरको अट्टहास र मान्छेको विवशताको रोदनबीचको लडाइँ नौलो रहेनछ । पैसा छ, जीवन छ । पैसा नहुनु नै मृत्युलाई निम्तो दिनु हो । साँझ बिहान खानलाउन धौ धौ पर्नेहरूका लागि एउटा ज्वरो आउँदा समेत हजार दुईहजार खर्च गर्नुपर्छ भने अलि जटिल रोग लागे मृत्यु कुर्न बाहेक के नै उपाय छ र ? उता आफ्नो देशमा भनसनु छ, अस्पतालमा टाइम पाउँछ । नेता भए उपचार खर्च पाउँछ । विदेश गएर उपचार गर्न पाउँछ । सोचेँ, हाम्रा नेता जस्तै माथ्लाघरे काइलबा पनि क्यान्सर लाग्दा अम्रिका त छोडौं, काठमाडौं या चितवन नै जान पाएको भए..। सुस्केरा हाल्नु बाहेक के गर्न सकिन्छ । सोचाइमा रातहरू बित्दै गए ।

डाक्टरले मेरो बिरामीको प्रोष्टेट यानि कि मुत्र थैलीभित्रको एउटा भागको अप्रेसन गर्ने डेट दियो । अप्रेसनको मूल्य चाहिँ सर्जरीपछि मात्रै थाहा हुने अनौठो तर्क दियो उसले । म चुप लागे, डाक्टर र डाइभरसँग के जोरी खोज्नु । जे होस्, अस्पतालमा कुनैपर्ने स्थिति देखियो । तर हरेक दिन उस्तै पीडा, उस्तै विवशता, यो आधारशिविरमा मृत्युको निरन्तर जित । मान्छेले जति मेहनत गर्दा पनि एक जीवन बचाउन नसक्ने, मृत्युले हरेकपल्ट चौका छक्का बर्साइरहने । दिनैपिच्छे बेड नं. हाँसिरहेको अनि मृत्यु र डाक्टर सँगसँगै मच्चिएको देख्न मेरा लागि असम्भव भयो ।

आज मेरो बेड नं. अलि हँसिलो देखिन्छ । कारण, ऊसले आफूमाथि पल्टिएको बिरामीबाट मुक्ति पाउने दिन आइरहेको बुझिसक्यो क्यारे । त्यसैले म बसेको बेड आजै हुने मेरो बिरामीको अप्रेसनको स्वागतमा थियो । म भने मानसिकरुपमा शिथिल भएको छु । बारम्बार मष्तिष्कमा शुरुका साँझको तन्द्राको देवदूत अनि बुढाको मुहार नाचिरहेको छ । मसँग मोलतोल भएको छैन अँझैसम्म । डाक्टरले सोध्छ पक्कै कतिको अप्रेसन गरुँ भनेर ? मसँग जवाफ छैन, कतिले मेरो बिरामीको जीवन जोगिन्छ ।। यो गोठमा भैंसीहरूको मूल्य मैले कसरी तोक्ने ? कति तिरियो भने मृत्यु भाग्ला, यसको ग्यारेण्टी कसले दिने ?

गोकर्ण भट्ट

4 thoughts on “जीवनमृत्यु चोकको पसल”

  1. यो हाम्रो समाजको प्रतिनिधि
    यो हाम्रो समाजको प्रतिनिधि कथा हो । अझ यसले पुरै पश्चिम् नेपालका जनताले आफ्नो स्वास्थ्य लाई लिएर पाएको सास्ती को विम्ब जस्ताको तस्तै उतारेको छ ।सर्जकलाई सलाम छ !

  2. यो हाम्रो समाजको प्रतिनिधि
    यो हाम्रो समाजको प्रतिनिधि कथा हो । अझ यसले पुरै पश्चिम् नेपालका जनताले आफ्नो स्वास्थ्य लाई लिएर पाएको सास्ती को विम्ब जस्ताको तस्तै उतारेको छ ।सर्जकलाई सलाम छ !

  3. Hearty story
    डाक्टरले सोध्छ पक्कै कतिको अप्रेसन गरुँ भनेर ? मसँग जवाफ छैन, कतिले मेरो बिरामीको जीवन जोगिन्छ ।। यो गोठमा भैंसीहरूको मूल्य मैले कसरी तोक्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *