Skip to content

सिंहवाहिनी -१९- उन्नाइसौ अध्याय (शुम्भको दूत र देवी संवाद)


देवीजीको शन्देश पुग्यो राजालाई
शुम्भले दूत बनाई भेजे सुग्रीबलाई
शुम्भले सुग्रीवलाई सबै अर्ति दिए
सुग्रीबले मनन् गरे शुम्भ भावनालाई

शुम्भ भन्छन् –
गई भेट सुन्दरीलाई भन सबै कुरा
मीठा कुरा गर्नलाई तिमी नै छौ सुरा

अमृतसरी मीठा मीठा कुरा त्यहाँ गर्नु
मेरा सारा वीरतालाई पनि त्यहाँ छर्नु

वीरताका सारा कुरा बुँदा बुँदा सुन्दा
तनमन रसाउला मन भित्र गुन्दा

अवश्य यी कामहरू सहजले गर्नु
लालित्य दर्शाएर उनको मन हर्नु

यति आज्ञा सुग्रीबले जब सुन्न पाए
सुग्रीब देवी भेट्न हिमालतिर लाए

आज्ञा बोकी सुग्रीब जब पुगे हिमाल
देवीसँग राख्न थाले सहजमा सवाल

शुम्भासुर बलवान अति पराक्रमी राजा
तीनैलोकमा उनीमात्रै हुन् सबका साजा

उनका भाइ निशुम्भ छन् उस्तै बलवान
शुम्भजीले पठाउनु भो दूत बनाइ जान

स्वर्ग–राज इन्द्र पनि शुम्भ बाट हारे
शुम्भले सारा बैभव आफ्नो हात पारे

आभूषण जे जति छन् इन्द्र बाट छिने
शक्तिशाली शुम्भ हो सबै देवले चिने

यज्ञादि देवभाग पनि शुम्भजीले लिन्छन्
पाणिग्रहण भयो भने साह्रै सुख दिन्छन्

त्यसोहुँदा तिमीलाई विवाह गर्ने इच्छ्या
शुम्भ र निशुम्भमा तिम्रै रह्यो स्वेच्छ्या

शुम्भजीले भन्नु हुन्छ स्त्रीरत्न तिमीलाई
तिमी जस्ती रानी पाउनु भाग्य हामीलाई

हुन पनि स्त्रीरत्न रजनीकी चाँद
सारासंसार तिम्रै हो छैन कहंी साँध
काम जनित रससाथ देऊ शुम्भ हात
शयलमा राख्ने छन् तिम्लाई दिनरात

यति कुरा भवानीले दूतबाट सुनिन्
‘साँचो कुरा भन्नुभयो’ दूतलाई भनिन्
‘जीवनमा मैले पनि प्रण गरेकी छु
युद्धमा जित्नेलाई पति वरेकी छु

यही दृढ प्रतिज्ञा हो राय सुनाइ दिनु
जसो गरी राम्रो हुन्छ निर्णय त्यही लिनु
भजन

अति सुन्दरी अति सुन्दरी
कौशिकी देवी छन् अति सुन्दरी

हिमाल पर्वत नै सुन्दरताले छाउने
प्रकृति हुन् ती देवीत साह्रै सुहाउने
हिमालको सौम्यरूप चाँदीको नै टल्कन
सौन्दर्य छ शक्तिशाली संसार नुगाउने
अति सुन्दरी…

सेतो सेतो हिमछादित, शिव बासस्थल
शिवशीरमा रमण गर्छिन् शुद्ध गंगाजल
कुमारीको अवतार भो जब उमा बाट
देवताले प्राप्त गरे चाहिए जति बल
अति सुन्दरी
कौशिकी पनि तिनै उमाजी कि अवतार
सरस्वती कहलाउँछिन् सबै सरासर
यिनै बाट मर्न जाने शुम्भ निशुम्भ लौ
यिन्कै भजन गाउनु पर्छ हामी बराबर
अति सुन्दरी….

कैलाशको रौनक नै अति रम्य लाग्ने
गौरी तिम्रो नाम लिंदा सारा दुख भाग्ने
संसारमा भरिपूर्ण तिम्रै महामाया
तिम्रै मायाजालबाट संसार हो जाग्ने,
अति सुन्दरी ….

देवताको स्तबनले देवी खुसी भइन्
सबै देवहरू अघि दर्शन दिदी भइन्
देवताका कष्ट यिनलाई थाहा लाग्यो
कुमारीले सबै भन्दै अन्तरध्यान भइन्
अति सुन्दरी…..

वीसौं अध्याय

दूत फर्कनु र दैत्यसैन्य युद्धमा जानु

दूत फर्के सन्देश लिइ शुम्भ छन् जहाँ
शुम्भको क्रोध बढ्यो सन्देश सुनी त्यहाँ

धुम्राक्षलाई बोलाएर शुम्भ बोल्न थाले
क्रोधित भै आफ्ना नेत्र राम्ररी नै बाले

हिमाल जाऊ तिमी फकाऊ सुन्दरीलाई
मीठा मीठा शब्दजालले उनीलाई बुझाइ

जसो गरी ल्याउनु पर्छ ल्याऊ त्यसै गरी
शुम्भले सन्देश दिन थाले यही घरी घरी

नारी हुन् कमलाङ्गिनी डराउनु छैन
लड्न परे लड्नु पर्छ पछि पर्ने हैन

धुम्रले आज्ञा पायो हिमालमा जान
उसलाई हुन गयो प्रकृतिको ज्ञान

साठी हजार सैन्यलाई उसले साथ लियो
लाल लाल नेत्र बनाइ क्रोधित मद पियो

भन्न थाल्यो देवीलाइर्– हेर नितम्बिनी
मेघमाला सुन्दरता रैछ्यौ कादम्बिनी

सुन्दरता सजाउने महल पनि हुन्छ
त्यस्तै वर रोजेपछि उच्चाइलाई छुन्छ

शुम्भसँग हजुरको जोडा मिल्छ राम्रो
सवारीहोस् हजुरको कामना हो हाम्रो

नत्र भने लडाइमा तिमी मर्नु पर्ला
सहजैमा स्वीकारेमा काल पनि टर्ला

यति कुरा देवीले धुम्रबाट सुनिन्
आफ्नो दृढ प्रतिज्ञा उसलाई भनिन्

मार्न सक्छौ मार तिम्ले काट्न सक्छौ काट
मलाई नै लाने भए युद्ध लड्न आँट

जसले जित्छ समर उही पति हुन्छ
म पनि त हेर्दै छु नि कसलेपो छुन्छ

धुम्रलोचन अघि बढ्यो देवी समाउन
युद्धभूमि तात्न थाल्यो सेना सजाउन

हूं कारको मन्त्र बाटै धुम्र भस्म भयो
भूतलमा यिनको नाम धुमावती रह्यो

धुमावती माइको जसले भक्ति गर्छ
सम्पूर्ण संकट जति भक्ति बाटै टर्छ

सिंह पनि रणमा थाल्यो अघि सर्न
सिंह बाटै दैत्यको सुरु भयो मर्न

यो खबर शुम्भलाई जब पत्ता लाग्यो
क्रोधपूर्ण मुद्रामा शुम्भ निकै जाग्यो

चण्ड मुण्ड बोलायो सारा कथा सुनायो
देवीलाई बाँधेर ल्याउन नै अह्रायो

सारा कर्म गर्नु धैर्य पनि धर्नु
सबै कुरा भनि अनि अघि सर्नु

सहजमा आए सहज नै सही
अस्त्र लिन परे अस्त्र लिनु त्यहीं

मार्न परे मारिदिनु देवीलाई
मनखत छैन कुनै हामीलाई

मारे पछि पनि बाँधेर नै ल्याऊ
चाँडो भन्दा चाँडो काम सकी आऊ

यति कुरा शुम्भले जब भनि दियो
चतुरंगिणी सेना उस्ले साथ लियो

चण्ड र मुण्ड जान हिड्दा भए
सरासर तिनी हिमाल पुग्दा भए

हिमाली शिखरमा देवीको नै बास
हिमको छ श्रृङ्गार, छैन त्यहाँ त्रास
सिंह माथि बसेकी हिमश्रृङ्गार घसेकी
देवी नजिक पुगे गरी ठूलो सहास

आज्ञा पालन गरेर शक्ति पनि धरेर
फर्कनु थियो दुबै काम सफल गरेर
लगाउनु पर्ने त्यहाँ विवेक र बुद्धि
कुरा गर्न थाले लौ दुबै अघि सरेर

शुम्भ–निशुम्भको महिमा कहन्छन्
सिघ्र जानुपर्यो देवीलाई भन्छन्

तिमी पनि रैछ्यौ अति मानिनी
विन्ति छ तिमीमा बन कामिनी

त्रिलोकहारी अति मनकारी
शुम्भ निशुम्भ छन् विहारी
त्रिलोकका यिनी अधिकारी
पत्नी बन हे कल्याणकारी

उनलाई पति पाउन
गहनाले तन छाउन
अति राम्रोनै हुनजाला
उनको अघि लाउन

शक्ति छ उनको अपरम्पार
उनकै शक्तिमा चल्छ संसार
उनकै प्रकृति तिमी बन्दामा
अझै थपिन्छ त्यहाँ अलङ्कार

पुरुष शक्तिमा नारी भाग्य हुन्छ
बुझ्दैन जसले त्यसले हात धुन्छ
मौका छ बन्नलाई अहो भाग्य मानी
भन शुम्भ सरीको अरु यहाँ कुन्छ

हो रूप सबको तनको सौन्दर्य
छर्छन् पुष्पले पनि लौ माधुर्य
पार्दछ त्यसले वागलाई रम्य
मान्नु त छैन यहाँ लौ आश्चर्य

पुष्पशोभा हुन्छ भमरा घुमेको
मदमस्त योवन त्यसैमा झुमेको
तिम्रो यो रूप लावण्यलाई
पल्लवित हुन्छ शुम्भले समाइ

नगर ढीलो हिंड हामीसँग
वासना छर्दै हेर मग मग
यही त बन्छ अनमोलमणी
टल्किन जान्छ तनको सुहाग

रूपको घमण्ड विष बन्न जान्छ
रूप नै सबै हो भनि जस्ले ठान्छ
समाऊ अब अमृत–घडालाई
तत्ब नै बुझेमा अमरत्ब धान्छ

शुम्भ अति वीर छन्
अति धेरै धीर छन्
भावनामा बग्नमा
पवित्रमा नीर छन्

सबै कुरा देवीले धैर्यसँग सुन्छिन्
मैले गर्नु छैन उनको भक्ति भन्छिन्

देवीको कथन छ अति शूक्ष्म सारमा
ठूलो शक्ति हुन्छ परमब्रह्माधारमा

सबै भन्दा ठूलो हुन्छ उनै शिव शक्ति
उनै शिव शक्तिमा नै मेरो जान्छ भक्ति

यहाँ मैले रूपको वर्र्णन सुन्नु छैन
कर्म गर्छन् कर्मकाण्डी अरु कुरा हैन

आएका हौ लड्न भने लड चण्ड मुण्ड
तिम्रो शक्ति देख्छु यहाँ अति धेरै झुण्ड

समरमा मन गयो क्रोध अति बढ्यो
आँखीभौ तनभरी कालो रूप चढ्यो

यही कालो बर्णले विकरालरूप धर्यो
सिर्जनाको प्रतिमूर्ति कालीरूपमा सर्यो

कालीदेवी कहलाइन् हिमालमा छँदा
सारा कर्म सिद्ध गरिन् देव दुःख पर्दा

विकराल रूप धारी प्रकट भइन् काली
अति क्रोधितरूपमा नयनज्योति बाली

हातमा थियो तरबर अनि साथै पास
खड्वाङ हेर्दा लाग्थ्यो विचित्र नै खास

गलाभरी देखिने नरमुण्ड माला
साडी हेर्दा देखिने बाघको नै छाला
शरीरको मासु सुक्दै सुक्दै गाको
नरकङ्काली रूप तिन्को भा‘को

यस्तो रूप हेर्दा डर धेरै लाग्ने
तिन्ले दानवको शक्तिमात्र दाग्ने

मुख हेर्दा लाग्थ्यो अति धेरै ठूलो
अति ठूलो देखिने घाँटीको नै दुलो

गाडिएका नेत्रहरू अल्लि राता राता
सारा तन हेर्दा लाग्ने पृथ्वीकै छाता

विकराल त्यो रूपधारी
देवताकी कल्याणकारी
युद्ध भयो लौ बडा भारी
वास्तबमा ती थिइन् नारी

महान थियो नारीशक्ति
सबले गर्ने यिन्कै भक्ति
सवल तन भव्य मन
गाला थिए लौ रक्ती रक्ती

कुदिन काली रणमहा
दैत्य शक्ति थिए जहाँ
समात्तै भक्षण गर्दै
सबै मार्दि भइन त्यहाँ

समरमा जोजति थिए
सबै तिनी पेट्मै गए
रण कौशल थरी थरी
छनौट गर्दै स्थान लिए

कपालका रौं रौ. गन्दै
तँ पनि मरिजा भन्दै
गलालाई घोट्दै घोट्दै
लात्तले कुल्चिदिंदै

बढिन् काली लिइ अस्त्र
दैत्य बने त्यहाँ त्रस्त
दुबै गण भिडे मस्त
युद्धत लाग्ने विचित्र

अस्त्रसस्त्र चबाइ दिने
अस्त्र हानी खसाइ दिने
दैत्य सैन्य क्षण भरमा
सारा सखाप पारी दिने

देखे पछि यस्तो शक्ति
चण्ड मुण्ड भिडे मस्ति
देवी पनि अघि बढ्दै
दैत्य पारिन् रक्ति रक्ति

बाण बर्षे बर्षा जस्तै
चक्र चले त्यहाँ मस्तै
सूर्य थिए मेघ भित्रै
रण भूमि अस्तव्यस्तै

चण्ड मुण्ड रोषमा थिए
आफ्नो स्थान यिनले लिए

काली पनि गर्जन थालिन
तै पनि यिनी थिइन् शालीन

देखिन् यिनले दैत्य सहास
सुनियो देवीको अट्टहास

प्रदर्शित भयो मोती दन्त
प्रकाशित भयो लौ अनन्त

अबत देवीले झिकिन् तरबार
गर्न थालिन उसलाई प्रहार

हँ को मन्त्र जप्न थालिन्
कपाल समाइ टाउको काटिन्

मुण्डले देख्यो चण्ड मरेको
चण्डको शीर भूइँमा झरेको

ऊ पनि जाग्यो देवीलाई मार्न
सकेन उसले रौं पनि झार्न

चण्ड र मुण्ड मारिन गए
वाँकी सेनामा हुन गयो भय

कालीले टिपिन् दुबैको शीर
लिएर गइन् ती देवी निर

कालीले दुबै शीर भेटी चढाइन्
हर्षित मुडमा विन्ति बढाइन्

मैले मारे चण्ड र मुण्ड
अनेकौं दैत्य थिए झुण्ड

शुम्भ निशुम्भ हजुरले मार्नु
सम्पूर्ण देवको दुःख नै टार्नु

यो शब्द बाणी कालिको सुनेर
बोल्दछिन् देवी मनमै गुनेर

जे गर्नु थियो सब गरि दियौ
ती चण्ड मुण्ड मारी पनि लियौ

को भूल्न सक्छ यति ठूलो काम
प्रसिद्धि पाउली चामुण्डा नाम

भजन

मारिन् कालीले मारिन् कालीले
चण्ड मुण्ड दुबै दैत्य मारिन् कालीले

शुम्भ निशुम्भका प्रवल ती शक्ति
सबै र्दैत्य मिली गर्थे शुम्भ–भक्ति
चण्ड मुण्ड मरे पनि तर पाए मुक्ति
शुम्भले युद्ध गर्न खोज्न थाले युक्ति,
मारिन् देवीले…

चामुण्डाको नामले त्यहाँ प्रसिद्ध पायो
काली शक्ति नामले जहाँ प्रसिद्धि छायो
शिवजीकी शुक्ष्म शक्ति सबै गर्छन् भक्ति
सिद्धिमयी अणिमाको भजन किर्तन गायो
मारिन् देवीले

यिनको शक्ति बन्न जान्छ जीवनको उर्जा
सञ्चालित छन् यो तनका सारा कल पूर्जा
तन मन रसाउँ छ यिनको नाम लिंदा
अपूर्ब छ यिनको शक्ति आतमा लिन्छिन् गुर्जा
मारिन् देवीले

चण्ड मुण्ड दुबै मिली मार्ने धम्की दिन्छन्
आनन्दै आनन्द त शुम्भ दिन्छन् भन्छन्
देवीजीले आफ्नो राय मुस्कानमा भन्छिन्
सरासर आफ्नो पनि परिचय दिन्छिन्,
मारिन् देवीले

अद्वितीय परमबह्मा ती नै सदाशिव
उनलाई मानेको छ संसारले खुब
उनको शक्ति आदिअन्त्य कसले कहाँ जान्नु
उनै मेरा पतिदेव हुन् अरु कस्लाई मान्नु,
मारिन् देवीले

प्रकृतिले पति पनि सुहाउँदो दिन्छिन्
त्यही शक्तिले यत्रतत्र सबै बस लिन्छिन्
हस्तिनीले हात्ती खोज्छे बघिनीले बाघ
कामातुर जति बनुन् लाग्न दिन्नन् दाग,
मारिन् देवीले

देवी भन्छिन् दैत्यलाई झुटा बोल्र्छौ किन
बजाउन सक्छौ तिम्ले आफ्नो आफ्नो धुन
समातेको छ तिमीलाई कालसर्प योगले
तिम्रा मालिक बन्ने छन् मेरा हातका घुन,
मारिन् देवीले

अझै पनि बुद्धि भए पातालमा जाऊ
युद्ध छोडें भनिकन माफी माग्न आऊ
नत्र भने सबै दैत्य यहीं मारिदिन्छु
शुम्भ निसुम्भ शक्तिलाई राम्ररी चिन्छु
मारिन् देवीले

Leave a Reply

Your email address will not be published. Required fields are marked *