Skip to content

मझेरी भलाकुसारी, अंक १८ (होम सुवेदी)

20150212_HomSuvedi-Interview-06


होम सर, नमस्कार । तपाईंलाई मझेरी भलाकुसारीमा स्वागत छ ।

धन्यवाद छ मित्र ।

शुरुमा, आफ्नो व्यक्तिगत, पेसागत, र साहित्यिक परिचय पाउन सकिन्छ कि ?

अवश्य । दुई छाक अघाउँजी खान पुर्याउन नसक्ने एक साधारण अति नै विपन्न ब्राह्मण परिवारमा पाँचथरको अमरपुरमा जन्मेको व्यक्ति हुँ । मैले आफ्नै पूजापाठ र भिक्षाको कमाइबाट दार्जिलिङदेखि संस्कृतको पठनपाठन सुरु गरेको हुँ । दार्जिलिङ, बनारस र काठमाडौं मेरो अध्ययनको थलो हो । काठमाडौमा रहँदा मैले मदनपुरस्कार पुस्तकालय, मनदपुरस्कार गुठी जगदम्बा प्रेसतिर काम गरी पेटको समस्या टार्दै अध्ययन गरेको हुँ । त्यहींबाट २०२९ सालदेखि मेरो साहित्यिक यात्रा सुरु भएको हो । म हाल सहप्राध्यापकको रुपमा मेची बहुमुखी क्याम्पसको नेपाली विभागको अनुसन्धान प्रमुखको रुपमा कार्यरत छु ।

नेपाली भाषाको कुरा गरौं । नेपाली भाषाको बारेमा समस्टिगतमा भन्नु पर्दा अहिलेको अवस्था कस्तो लाग्छ ?

नेपाली भाषाको अवस्था अहिले साइबर र नेटको दुनियाँले गर्दा विश्वव्यापी भइसकेको छ । यो अत्यन्त सुखद पक्ष हो । तर यसको शुद्धताको भने उति बढी ख्याल नगरिएका प्रमाणहरू देखिन्छन् । पहिले बेग्लै प्रकाशकहरू हुन्थे, प्रेसमा शुद्धताको ख्याल गरेर परिष्कार गरेर मात्र सामग्री प्रकाशित हुन्थ्यो छापिन्थ्यो तर अहिले प्रकाशक स्वयं नै हुनाले यसो भएको हो । समष्टिगत रुपमा भाषा साहित्यको विस्तार भएको छ तर यो संघीयता भन्ने जिनिसले नेपाली साहित्यलाई ता खासै समस्या नपार्ला भाषालाई भने हानी पुर्याउने सम्भावना देखिन्छ ।

तपाईंको अनुभवमा गत चालीस पचास वर्षमा नेपाली भाषामा के कस्ता परिवर्तन भएको छ ?

भाषाको परिवर्तन हुन चालिस पचास वर्ष उति काफी हुन्न सिंखडाज्यू । भाषाको परिवर्तन नजानिदो गरी हुन्छ । यसलाई परिवर्तन हुन ता केही लामै समय लाग्छ । लेखनमा, शब्दभण्डारनमा, गठन प्रकृया आदिमा विकास भएको अवश्य हो । तर कुनै भाषाको डिजाइनमै परिवर्तन हुन ता चालिस पचास वर्ष काफी हुन्न । यसैले यस भाषामा चालिस पचास वर्षमै परिवर्तन हुन सक्ने कुरा होइन । त्यसरी चालिसै वर्षमा भाषिक परिवर्तन हुँदै गयो भने ता छोराहरूले गरेको कुरा बाबुआमाले नबुझ्न सक्ने भए नि होइन र ? नेपाली भाषाको भाषिक तथा साहित्यिक भण्डारमा के कस्तो विकास भएको छ भनेर सोध्नुभएको थियो भने अर्कै उत्तर हुने थियो । भाषिक परिवर्तनको बारेको कुराको उत्तर त यही हो ।

यस भाषामा केकस्ता परिमार्जन र नीतिगत कुराहरूको आवश्यक छ ?

कुनै एक देशका एक अमुक भाषाको वक्ताले त्यसै देशको अर्को भाषाका वक्तासँग कुरा गर्ने भाषा भनेको माध्यम भाषा हो । नेपाली भाषा पनि माध्यम वा सम्पर्क भाषाको रुपमा छ । यसलाई नेपाल राष्ट्रको एक मात्र सम्पर्क वा माध्यम भाषाका रुपमा मान्यता भएकै छ र हुनुपर्छ । भाषिक विकासका नीति नियमहरूलाई राज्यले लागु गरेर भाषिक कार्य गर्ने संस्थाहरूले विशेष ख्याल गरेर अनि भाषाविशेषज्ञहरूको राय सल्लाह अनुसार परिमार्जन गरिनु पर्ने कुरा हिजो पनि थिए आज पनि छन् र एक जीवन्त भाषामा यी निरन्तर चाहिने पक्षहरू हुन् । परिमार्जन गरिनु पर्छ भन्दैमा कुनै व्यक्तिविशेषका लहडबाजीहरूले स्थान पाउनु पर्छ भन्ने होइन । अहिले लेखनको क्षेत्रमा केही व्यक्तिहरूले आफ्नो मान्यतालाई अजमाउन निकै कोसिस गरिरहेको देखिन्छ । यो भनेको भाषिक लेखनमा अराजकता आउने सम्भावनाको सूचक हो ।

अब साहित्यतर्फ लागौं, भाषा र साहित्यतर्फ कसरी मन तानियो ?

मेरो मन तानिनुको कारण माथिको पहिलो प्रश्नमै आइसकेको छ । मदनपुरस्कार पुस्तकालय र जगदम्बा प्रेस भनेका कुनै बेला साहित्यकारहरूका जमघट हुने थलोहरू थिए । भनौं निजी एकेडेमी थिए । त्यहाँ साहित्यिक भाषिक विद्वान्हरूको जमघट नै हुने गरेको थियो । तपाईंलाई ता थाहा पनि छैन होला, केशवराज पिंडाली, भैरव अर्याल, बालमुकुन्द पाण्डे, रामकुमार पाण्डे, दाताराम शर्मा, लीलाध्वज थापा, शंकर लामिछाने, शंकर कोइराला, साम्बभक्त सुवेदी, पूर्णप्रकाश यात्री, पुष्कर लोहनी, ज्ञानमणि नेपाल, नृपेन्द्र्रपुरुष यादि, रोचक घिमिरे आदिआदि भेला हुन्थे । वासुदेव शर्मा लुइँटेल र कमल दीक्षित त त्यहाँका मेरा हाकिम नै भइहाले । म तिनीहरूको त्यो जमघटमा थिएँ । यिनैको सम्पर्कबाट यतातिर लागेको हुँ । नपत्याए अरु कोही नभए पनि रामकुमार पाण्डे सर त हुँदै हुनुहुन्छ उहाँसँग सोधिहेर्नुहोस् है ।

बीसौं या तीसौं दशकसँग तुलना गर्दा अहिलेको नेपाली साहित्यिक अवस्था कस्तो देख्नुहुन्छ ?

तपाईंले २०२० र २०३०तिरको कुरा गरेको हुनु पर्छ, बीसौं दशक र तीसौं दशक भनेर । यदि यसै हो भने पहिलो दशकको साहित्य देवकोटाको निधनपछि अनि पञ्चायतको कठोरताले गर्दा जर्रो र टर्रो किसिमको थियो । गुणात्मकता खुस्केको थियो । वाक्स्वतन्त्रताको हननका कारण यसो भएको थियो । दुर्बोध्यता नै त्यो बेलाको लेखनको बाटो थियो सुबोध्यताबाट लेखकहरू पञ्चको प्रपञ्चमा पर्न सक्थे । मोहन कोइराला, द्वारिका श्रेष्ठ, ईश्वरबल्लभ आदिको जन्म यिनै कारणले भएको हो भने तीसको दशकदेखि अधिक वाक् स्वतन्त्रता आएको थियो र जनजीवनको यथार्थतालाई जनताले बुझ्ने बोलीमा त्यो प्रयोग हुन थालेको थियो सडक कविता क्रान्तिको बाटो लिएर । अहिलेको साहित्यमा संख्या र परिणाम बढी छ तर गुणात्मकताको कमी अहिले पनि खट्कन्छ । भन्न के सकिन्छ भने अहिलेका लेखकहरूका पाठक भने बढी छन् त्यसैले साहित्यिक स्तर नभएका लगभग सस्ता मस्ता किताबहरू (कर्ण शाक्य, हरिवंश, पूर्व सेनाप्रमुख रुक्माङ्गद कटुवाल आदि) को बिक्रीबट्टा भने धुमधाम हुने गरेको छ । लेखाइको बान्कीमा छनकमनक भने हेर्न लायकको हुने गरेको छ । उतिबेलाको र आजको साहित्यमा यही फरक छ ।

पुराना साहित्यिकहरूमा मन पर्ने र नयाँमा आशा देखिएका श्रष्टाहरूको नाम लिन पर्दा कस(कसलाई सम्झनुहुन्छ ?

पुरानाहरू ता उनै भामोसूधपाबाललेहरू नै हुन् । अहिलेकाहरूले कस्तो किताब लेख्दा बिकाउ हुन्छ त्योतिर मात्र ध्यान छ । बजारिया साहित्यको मारामारी छ । त्यसैले साहित्यको चरण नै फरक पार्ने पुस्तक मैले यो बेलामा पढ्न पाएको छैन । लघुकथा, गजल, गीत, हाइकु, ताङकाहरू लेख्यो सुनायो । गेटप राम्रो दिएर किताब छाप्यो अनि राम्रोसँग प्रचार गर्यो बस आजको साहित्यको समाज यतै रुमलिइरहेको छ । देशैको साहित्यको समाज हल्लाउने सामग्री मैले पढ्न पाएको छैन । यसैले अहिलेको कुन लेखकलाई म उच्च भनूँ खै । मदन पुरस्कार जित्नेहरूलाई माओवादीले खाजासामल दिएकै छ, माओवादीको हमलाहरूको बयान गर्न नपाएको भए अहिलेका इनेगिनेकाहरू के लेख्ने थिए होला भनेर जीव्रो टोक्छु म ।

तपाईंका विशेष गरी हास्यव्यङ्ग्य, कविता, र कथा पढ्न पाइन्छ । आफूलाई चाहिं कुन विषयमा लेख्न विशेष रुचि हुन्छ ?

तपाईंले मबाट जे विषय पढ्न पाउँदै हुनुहुन्छ म त्यतैतिर लेख्न रुचाउँदो रहेछु भनेर बुझ्न सक्नुहुन्छ । तर लेखाइमा सतर्क हुनुहोला, हास्यव्यङ्ग्यलाई हाँस्यव्यङ्ग्य नलेख्नुहोला ।

के कस्ता घटना वा अवस्थाले लेख्न प्रेरित गर्छ तपाईंलाई ?

सामाजिक परिस्थिति र आफ्नै मनमा परेका मानसिक आघातहरूले मलाई लेख्न प्रेरणा दिन्छन् ।

लेखन फुर्दा कुन विधामा लेख्ने भनेर कसरी निर्णय गर्नुहुन्छ ?

मलाई रचना गर्न नाटक र उपन्यास बाहेकका बिधा चयन गर्न कुनै हम्मे पर्दैन, जुन विधामा पनि रचना गर्न सकिने हुँदा सोझै रचना गर्न रुचाउँछु । अरु विधाचयनको समस्या छैन ।

अहिलेसम्म केकस्ता कृतिहरू प्रकाशित गर्नुभयो र भविष्यमा केही योजना छन् ?

मेरो मूल क्षेत्र भनेको सिर्जनामा निबन्ध, कथा र कविता हुन् । अनि समालोचना पनि हो । २०४२ सालमो कालीपोके (निबन्ध, साझा प्रकाशन) पहिलो, २०६२ को मर्माहत (कथा, जुही प्रकाशन) दोस्रो, २०६६ को प्रतिनीधि झापाली हास्यव्यङ्ग्यकारहरू (जुही प्रकाशन, समालोचना) तेस्रो र २०७१ को खुइलिएको तालु (निबन्ध, पाठ्यसामग्री प्रकाशन) चौथो मेरा प्रकाशित कृति यति नै हुन् । यसबाहेक संयुक्त लेखनबाट पनि एक समालोचनात्मक कृति प्रकाशित भएको छ । बाँकी आफ्नै कम्प्युटरमा थन्क्याएको छु । प्रकाशक पाइन्न । यसै छन् । तयार गरिएको कृतिहरू प्रकाशन गर्न सकिएला कि भन्ने भविष्यका योजना छन् । एक जना मित्रलाई मेरो एक पुस्तकको तयारी अवस्थाको कम्प्युटर गरेको सामग्री साङ्ग्रिलातिर वा कतै पेस गरिदिनु न भनेर दिएको थिएँ गल्ती पो भएछ कि जस्तो लागेको छ । थाहा सुद्धी केही छैन ।

फुर्सदमा केकस्ता कुराहरू गरेर दिन बिताउनुहुन्छ ?

कक्षा सकिएपछिको अहिलेको समय साहित्यको पठन पाठनमा र विद्यार्थीहरूको शोधनिर्देशनमा लगाउँछु । यता नेटको दुनियाँ छ । त्यसैमा लेखेर खेलेर अनि त्यसैमा साथीहरूसँग भलाकुसारी गरेर पनि पो समय बित्तै छ ।

अन्य साहित्यकारहरूसँग भेटघाटहरू गर्ने गर्नुहुन्छ कि ?

पायक पर्दा कुनै साहित्यकारहरू आए भने भेट्छु नत्र उनीहरूलाई धाएर भेट्न कुद्दिनँ ।

नेपाली भाषा र साहित्यका अहिलेका ठुला समस्याहरू के हुन् जस्तो लाग्छ तपाईंलाई ? र, त्यसको समाधान कसरी गर्न आवश्यक छ ?

नेपाली भाषामा केही समस्या छन् । भाषिक विकासका कार्यहरू सही रुपमा भएका छैनन् । भाषिक प्राज्ञहरूलाई हचुवाका भरमा भाषिक योजना बनाएर दुई वर्षसम्म काम गर भन्दैमा भाषाका कामहरू हुँदैनन् । गतिशील भाषाको स्वरुपलाई लेखनमा पनि परिवर्तन गरेर प्रयोग गरिरहन सकिन्न, मिल्दैन । अहिले नेपाली भाषाको लेखनमा भाँडभैलो छ । यसैले भाषाको लेखन रुपलाई सुस्थिर र एक बनाउन राज्यबाट लामो समय दिएर, खर्च लगाएर योजना तयार गरी भाषिक कार्यहरू गरिनु पर्छ । व्यक्तिपिच्छेका लेखनले नेपाली भाषा थलिन सक्ने समस्या छ । साहित्यको कुरा गर्दा नेपाली साहित्य जगत्मा आज स्तरीय पाठक र लेखकको समस्या नै छ । लेखक पाठक दुवैका लागि उच्च तहका सामग्रीको अध्ययन नै समाधानका उपाय हुन सक्छन् ।

इन्टर्नेट तथा मझेरी जस्ता साहित्यिक पृष्ठहरूको आवतले तपाईंको लेखलाई केकस्ता परिवर्तन गरेको छ, हामीसँग अनुभव बाँड््नुहुन्छ कि ?

मलाई मझेरीलगायतका साहित्यका पृष्ठहरूले निकै नै सहयोग पुर्याएका छन् । किनभने मैले यिनमा आफ्ना सामग्री छपाउन कसैको खुट्टा मल्नु पर्दैन । यहाँका रचनाहरूको स्तरमा भने मैले नढाँटी भन्नु पर्दा मेरो तहलाई सुहाँउने कमै छन् भन्नै पर्छ । क्षमा गर्नुहोला । अरु सिकारुहरूका लागि ता यी पृष्ठहरूले निकै नै सघाउ पुर्याएका छन् ।

फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरूले कसरी उपयोग गरिरहनुभएको छ ?

मेरा केही साहित्यकार मित्रहरू त्यतातिर पनि छन् । उनीहरूसँग साहित्यिक भलाकुसारी नै हुन्छ । तर हेर्नुहोस् मित्र ट्युटरका बारेमा भने मलाई उति भेउ छैन है । बरु यसको चालनी विधिका बारेमा साथीहरूसँग जानकारी माग्छु ।

अहिले अनलाइनमा साहित्यमा बाढी त आएको छ । तर भाषागत त्रुटी तथा गुणस्तर कम रचनाहरू अधिक देखिन्छन् । यसलाई कसरी हेर्नुहुन्छ ? किन यस्तो भइरहेछ ? के हामी आफ्नै भाषामा कमजोर भएको प्रमाण हो ?

बाढी मात्र आयो होइन मित्र बाढीमा केही बढी रोडा ढुङ् र लेदो पनि आएको छ । तर भित्रभित्रै कतै कतै यसै बाढीमा साथ मोतीका कण बा बुकिसुन पनि आइरहेका छन् । तर चालेर निफनेर लिन भने सक्नुपर्छ । भाषाको कुरा गर्दा ता बिजोकै लाग्छ । जोसुकैले सामग्री प्रकाशन गरिहाल्ने सुविधा भएको कारणले यसो भएको होला । अनलाइनमा पनि सम्पादन गरेर मात्र रचनाहरूलाई समावेश गरिने हो भने केही सुधार हुने थियो । यसो गरियो भने फेरि उनै लेखकहरूको गाली खान थालिन्छ मेरो किन प्रकाशित नगरेको भनेर । भाषाको लेखाइमा मात्र कमजोरी हो भाषामै कमजोरको प्रमाण यो होइन ।

राम्रो नेपाली लेख्न र बोल्न केकस्ता कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?

स्तरीय लेखन, पठन र कथन संस्कृतिको विकासतिर राष्ट्रले ध्यान दिनुपर्छ जस्तो लाग्छ ।

तपाईं गत डेढ वर्षदेखि नियमित मझेरीमा रूपमा लेख्दै र नजिकैबाट नियाल्दै आउनुभएको छ । यहाँका लेखक पाठकलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

लेखक पाठक भनेका भाषा साहित्यको बगैंचामा फुलेका फूलहरू हुन् । उनीहरूले सधैं त्यहाँ सुबास छर्न नै चाहन्छन् । बगैंचाका सबै फूल एकनासका नभएझैं यहाँ पनि तलमाथि राम्रा नराम्रा हुन सक्छन् अर्थात् सबै बराबरका नहुन सक्छन् । प्रयास गर्दै जाने हो । यहाँका लेखक सामग्री पर्याप्त दिइरहेका छन् पाठकले पनि लिइरहेका छन् तर पाठकहरूले यहाँबाट कस्तो स्वाद पाए त्यो कुरा भने दिँदा रहेनछन् । प्रतिक्रियारहित पाठक भनेको विषविनाको सर्प जस्तो हो पाठकरुपी सर्पले टोक्ला भनेर लेखकले लेख्ता तर्छिइरहनु परोस् तब न गतिलो सामग्री आउँछ । यहाँका लेखकले तर्छिनु वा सतर्क भएर लेख्नु पर्ने पाठक उति मैले देखिनँ । यसै कारण पनि कमजोर सामग्री यहाँ आएका हुनसक्छन् । लेखक पाठकका बारेमा मेरो यही मूल्याङ्कन छ ।

मझेरीमा अरू लेखकहरूको रचना कत्तिको पढ्नुहुन्छ रु विशेष गरी मन पर्ने लेखक छन् कि ?

म मझेरीको लगभग नियमित पाठक हुँ तपाईंले भनेको यतादेखि । फेसबुकमा जस्तो कुन सामग्रीलाई कसकसले पढे भन्ने सूची तयार हुने सफ्वेयरको प्रयोग गरेपछि पाठकहरू को को रहेछन् भन्ने थाहा होला नत्र ता मैले पनि पढें मैले पनि पढें भन्ने उत्तर पाइन्छ । हो तपाईंहरूको सामग्रीका पाठकको संख्या भने देखिन्छ । यतिले मात्र पुगेन । संख्याले मात्र पाठक बुझिएन । कुन पाठक नियमतिरहेछ भनेर बुझ्ने मेलो मिलाउनुहस् । बरु वर्षभरिमा सबैभन्दा बढी समाग्री पढेर प्रतिक्रिया दिने पाठकलाई उपहार पठाउनुहोस् । म ता नियमित नै पढ्छु । तर यहाँका सबै रचनाहरू म पनि पढ्न भ्याउँदिन । एकदेव भट्टराई जस्ता निकै स्तरीय केही रचनाकारहरू हुनुहुन्थ्यो आजभोलि यहाँबाट किन गायब हुनुभो थाहा भएन ।

मझेरीमा केकस्तो परिमार्जन गर्न आवश्यक देख्नुहुन्छ ?

मझेरीमा भुराभुरीले फोहोर कसिंगरहरू पार्ने सम्भावना हुन्छ । यसैले तपाईंले यसलाई आफ्नो नियन्त्रणमा लिएर अलिकति लोटाएर धोइपखाली गरेर वा सरसफाइ गरेर मात्र पाठकहरूलाई खाना पस्कनुहुन्छ क्यारे । यो राम्रै कुरा हो । यसो गर्नै पर्छ । यसो गरेर पनि मझेरीमा कहिले कहिले कसिंगर छुटेको हुन्छ, दाँतमा ढुङ्गो लाग्न सक्छ । यसो गर्ने काममा एक्लो प्रयास पर्याप्त नहोला । यसरी एक्लो मान्छेको सक्रिताबाट हुने ताजगीकरणको काममा बाधा पनि हुन सक्छ । यसैले यसलाई तत्काल ताजा गरिरहन तपाईंले प्रयत्न गर्नु पर्ला । मैले निकै जना साथीहरूलाई व्यक्तिगत रुपमा मझेरीतिर आकर्षित गरें तर अपडेट नै हुँदो रहेनछ सर भनेर मैमाथि गुनासो आयो । अनि म बोल्नै नसक्ने भएको छु । मेरो कुरा बुझ्नु भो होला नि । अर्को कुरा भन्नै पर्छ मझेरीलाई लोकप्रियता दिलाउन चर्चित लेखक साहित्यकारहरूको प्रवेश हुनुपर्छ । त्यसो भयो भने परिमार्जन ता आफैं हुँदै जान्छ ।

संसारभरि छरिएर रहनुभएका लेखकपाठकलाई के सन्देश दिन चाहनुहुन्छ ?

तपाईंहरू संसारको जुन कुनामा जहाँ बसे पनि अब तपाईंहामी टाढा छैनौं । यसैले तपार्इंहरूसँग सधैं भेटघाट हुन पाइरहोस्, तपाईंहरूको उन्नति होस्, नेपाली भाषा साहित्यका लागि केही दिइरहनुहोस्, दिनु मात्र होइन तपाईंहरू अरुकोबाट पनि केही लिइरहनुहोस्, नेपाल मात्र होइन संसारमा जहाँ बसेर भए पनि नेपाली भाषासाहित्यको उन्नतिमा लागिरहनुहोस् यही शुभेच्छा राखें ।


अन्त्यमा केही छ भने बताउनुहोला ।

मझेरीकै लेखकहरूलाई एउटा प्रतीकात्मक कुरा भन्नु छ । कत्तिको बुझ्नुहुँदो रहेछ हेर्छु । साथीहरू प्यारी लाग्ने सुक्सुकाउँदो लाग्ने र रुपवती सुन्दर युवतीलाई युवाहरूले लुकी लुकी हेर्छन् । तर ती युवतीहरू त्यसै त्यति राम्रा देखिएका हुँदैनन् । घन्टौं कोरीबाटी गरेर, आफूलाई परिमार्जन गरेर मात्र उनीहरू अघि आएका हुन्छन् । त्यसपछि मात्र उनीहरूको सुन्दरता आकर्षक भएको हुन्छ । सुन्दरी भएर पनि लतपरतकै रुपमा बाहिर देखिइन् भने तिनको सुन्दरताका प्रशंसक कम हुन्छन् । यसैले कुनै पनि वस्तुको सुन्दरताका पछि परिष्कारको खाँचो हुँदो रहेछ भन्ने जान्नुहोला । मेरो भनाइ अवश्यै बुझ्नुभयो होला । धन्यवाद ।

होम सुवेदीका रचनाहरू : यता
होम सुवेदीका रचनाहरू (संक्षिप्त अंशसहित): यता
होम सुवेदीको फेसबुक पेज : यता
होम सुवेदीको ट्विटर पेज : यता

10 thoughts on “मझेरी भलाकुसारी, अंक १८ (होम सुवेदी)”

  1. Gahakilo kurakani_hom sir sang
    Yasto gahakilo bhalakusarika lagi majheri family lai dhanyabad….

    Copy garer computerma rakhe pachhi aru kura lekhne bacha sahit…informationka lagi thanks to kumar sir &

    congratulation to hom sir for creative conversation….!

  2. तपाईं को कुरा चित्त बुझ्यो ।
    तपाईं को कुरा चित्त बुझ्यो । लेखहरु मझेरिमा पढी रहेको त हो व्यक्तित्व पनि जान्ने मौका मिल्यो । धन्यवाद ।

  3. मझेरीमा गरिने भलाकुसारीहरूबाट
    मझेरीमा गरिने भलाकुसारीहरूबाट लेखकहरूलाई नजिकबाट चिन्ने माैका पाइनु यो प्रत्येक लेखक तथा पाठकको साैभाग्य हो। यसका लागि दुवैपक्ष (मझेरी सञ्चालक तथा होम सुवेदी ज्यु) धन्यवादको पात्र हुनुहुन्छ। होमजीको बारेमा धेरै कुरा जान्ने मन थियो त्यो कुरा यो भलाकुसारीले पुरा गराइदियो। साथै होमजीले भन्नु भए जस्तै साहित्यिक रचनालाई परिष्कृत रूपमा प्रस्तुत गर्न मिहिनेतको खाँचो अवस्य हुन्छ। कोरीबाटी तथा मिहिनेत नगरेकै अवस्थामा प्रस्तुत गरिएका रचनाहरूमा देखिएका कमजोरीहरूलाई अाैँल्याइदिँदा त्यस्ता रचनाहरूले पनि सच्चिने माैका पाउँछन। म होमजीको नियमित पाठक हुँ नै, तर कहिलेकाँही अत्याधिक व्यस्तताले पिरोल्दो रहेछ। चाहँदा चाहँदै पनि पढ्न तथा प्रतिक्रिया लेख्न न भ्याइने रहेछ।

    फेरी पनि धन्यवाद कुमारजीलाइ तथा होमजीलाइ, यो बाैद्धिक खुराक पस्किनुभएकोमा।

    एकदेव अधिकारी

  4. धेरै कुरा सिक्ने बुझ्ने र मनन
    धेरै कुरा सिक्ने बुझ्ने र मनन गर्ने मौका पाए ,सर एब मझेरी भलाकुसारी बाट ,सुबेदी सर एब मझेरी परिवार मा हार्दिक धन्यबाद ,

  5. अन्तर्वार्तामा सामेल
    अन्तर्वार्तामा सामेल हुनुभएकोमा होमसरलाई धन्यवाद । पढिदिनेर प्रतिकृया दिने सबै पाठकहरूलाई पनि धन्यवाद छ । आशा छ होमसरबाट सबैलाई केही न केही सिक्ने र प्रेरणा लिने मौका पाउनुभयो होला ।

  6. मेरा विचारलाई पढेर केही
    मेरा विचारलाई पढेर केही प्रतिक्रिया समेत दिनुहुने तथा पढिमात्र पनि दिनुहुने सबैमा मेराे पनि धन्यवाद । अनि नववर्षकाे हार्दिक शुभकामना ।

  7. अन्तर्वार्तामा अभिव्यक्त मेरा
    अन्तर्वार्तामा अभिव्यक्त मेरा कतिपय खरा विचारहरुलाइ रुचाएकाेमा सबै पाठकहरुमा धन्यवाद ।

  8. Hello
    हाम्रो मझेरी को सम्पादकज्यू, यो अन्तवार्ता मलाई मन प¥यो, विशेषत होमजीको सहित्यतिरको घनिष्टता, स्पष्टता राम्रोसँग देखिएको छ । मेरो रुची साहित्यिक स्रष्टाहरुसँग भलाकुसारी गर्नु हो । यो भलाकुसारी मेरो लागि सिक्ने सिढी भएको छ । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *