Skip to content

फेसबुक च्याटिङमा श्रृङ्रगारकाण्ड – भाग २


उमेशले लामो सास फेर्यो अनि कथावाचनको क्रमलाई केही बेर बिसायो । मैले उसको यस काममा कुनै अवरोध गरिनँ । किनभने मेरो आज दुइटा कक्षा अफ थिए । मेरो अङ्ग्रेजी विषय पढाउने सरको घरमा कुनै काम परेको हुनाले बिदामा हुनुहुन्थ्यो । उहाँभन्दा पछिल्लो कक्षा ता त्यसै पनि लिजर नै थियो । उमेशका कुरा सुनेर सहयोग नै हुन सक्ने रहेछ भने किन सहयोग नगरुँ, मैले सोचेर उसलाई यसरी आज कलेजको गार्डेनमा लिएर आएको थिएँ । ऊ मेरो हितैषी मित्र थियो, यसैले उसको सुखदुःखमा मेरो पनि केही मात्र सुखदुःख जोडिएको थियो । वास्तवमा ऊ पनि मेरो सुखदुःखको साथी नै थियो ।

उमेशले अलिक ढिलो गरेकोले मैले नै आग्रह गरें– “कथालाई अघि लाने हैन यार ?!”

“सबैभन्दा पहिले बाचा गर्छौ भने मात्र म कुरा अघि बढाउँछु ।” उसले मलाई कबोल गराउन खोज्यो ।

“केको बाचा ?” मैले सोधें ।

“अब म जे कुरा गर्छु त्यसको कतै पनि सुइँको हुनुहुन्न । यसमा बाचा गर्ने हो ?” उसले फेरि मलाई खेरखार गरेझै गरी सोध्यो ।

“मलाई अलिक अप्ठेरो पर्यो नि त उमेश । यसै कुरै नबुझी कसरी बाचा हालूँ म । लौ तिमी नै भन त । पहिले कुरा बुझ्न पाए पो बाचा वा कसम खान मिल्छ । यहाँ ता कुरै नबुझी केको कसम खानु । एकातिर म कसम खाउँला अर्कातिर भरे हुनै नसकिने कुरा परेछ भने कसमको के तुक भयो ।” मैले भने ।

“तिमीलाई कुनै समस्या पर्दैन । तिमीले अब म मेरो कथाले जुन रुप लिएको त्यसको जो म बयान गर्छु त्यसलाई तिमीले कतै पनि र कहिल्यै पनि भन्नुहुन्न, यसै विषयमा हो कसम खुवाउन खोजेको, भन प्रमिस ?”

“लौ जा, प्रमिस ।” मैले पनि उसको बाँकी कथा नसुनिकनै कतै पनि र कसैलाई पनि नभन्ने सर्तमा वाचा गरिदिएँ । “लौ भन बाँकी कुरा ।” अनि फेरि कथालाई अघि बढाउन आग्रह गरें ।

“उसो भए लौ मलाई भन– यस मेरो कथामा लाज सरमको कुरा अवश्य नै आउँछ त्यसरी त्यो आयो भने पनि मलाई माफ गर्नु पर्छ । मेरो नालायकी सम्झेर मलाई माफ गर्नु पर्छ । हुन्छ ? यसबारे पनि तिमीले मलाई कसम खानु पर्छ ।” उसले अर्को पनि वाचा बाँध्न लगायो ।

मैले यसलाई पनि हिचकिचाउँदै स्वीकार गरें र भने– “हुन्छ हुन्छ । भन जे भन्छौ भन ।”

अनि उसले धाराबाहिक रुपमा भन्न थाल्यो ।

“पहिले ता आस्मासँग सामान्य बोलचाल र साधारण कुराहरू मात्र हुन्थे । तर केही दिन पछि ता हामीबिच निकै गहिरो रोमाञ्चक सम्बन्ध हुन थाल्यो । अरु कुरा सबै सोधेर पनि म विवाहित वा अविवाहित के हुँ भनेर एक पटक पनि उसले सोधिन । उसले जे भन्थी म त्यो मान्ने भइसकेको रहेछु । उसले एक दिन तिम्रा लागि र सिर्पm तिम्रा लागि भनेर लगभग सर्वाङ्ग नाङ्गो फोटो पठाई । मेरा म्यासेज बक्समा त्यो देखियो । मैले नियाली नियाली हेरें । ममा निकै उत्तेजना आयो । अनि अरु पनि पठाऊ न त, मलाई ता यो सारै मन पर्यो भनेर उसलाई आग्रह गरें । अब ता के चाहियो र ? उसले जे भन्यो त्यही पठाउन थाली । नग्न चित्रको खातका माथि खात आउन थाल्यो । मैले त्यो सब बडो रहस्यमय र चोरी चोरी हेर्न थालें । उसको म्यासेज आएको आयै हुन थाल्यो । ऊ जति बेला र जुनसुकै बेला पनि अनलाइन देखिन थाली । मलाई पनि उसको म्यासेजबक्समा म्यासेज नआएको अवस्थामा बडो नरमाइलो लाग्न थाल्यो । बडो खल्लो लाग्न थाल्यो । अनि एक दिन……”

“किन रोकिएको भन न । म सुनिरहेको छु । भन खुलस्तसँग भन । मलाई कुनै छेकबारका रुपमा नमानी खुरुखुरु तिमी सबै कुरा यथार्थ रुपमा भन ।” मैले उसको रोकाइपछि उसलाई अँझै सहजसँग भनोस् भनेर स्वाभाविक रुपमा लिइदिने चेष्टा गर्दै उसको कथाले म उत्सुक भएको देखिएझै गरी भनें । वास्तवमा म अलिकति उत्सुक पनि भएको थिएँ उसको कथा जान्न ।

“एक दिन उसले मलाई लु तिम्रो पनि नग्न फोटो पठाऊ भनेर आग्रह गरी ।”

“हँ, अनि पठायौ त ?”

“कहाँ पठाउनु ?”

“अनि ?”

“अनि ता के थियो ? जुन बेला पनि तिम्रो नाङ्गो तसवीर पठाऊ कि पठाऊ भनेर खुरुन्धारका खुरुन्धार हुन थाल्यो । अहिले पनि यसो फेसबुक खोल्नु हुन्न ‘खोइ त तिम्रो नुड फोटो ? मैले भने तिमीलाई जति भन्यो त्यति पठाएँ, तिमी भने के हो यस्तो ? पठाऊ । चाँडो पठाऊ । प्लिज पठाऊ मेरो राजा । तिम्रो सर्वाङ्ग हेरेर म त्यसको पान गर्न चाहन्छु । प्लिज । मलाई पठाएनौ भने मेरो हत्या गरेको पाप लाग्ला तिमीलाई ।” भनेर खुरुन्धार हुन थाल्यो । तारन्तार म्यासेज आउन थाले ।

“ए यस्तो पाप पुण्यका कुरो पनि हुन थालेछ, भनेपछि कुरा निकै माथि पुगेको बुझियो । अँ अरु उसले भने बमोजिको कुरा गर्यौ त ? तिमीले अवश्यै पठाएछौ क्यारे । पठायौ त ?” मैले सोधें ।
“मलाई त्यसरी पठाउन मनै थिएन । तर उसले यसरी यसो यसो गरेर पठाउन सकिन्छ भनेर पठाउने तरिका समेत लगातार लेखिरही र आफ्नो उत्तेजित फोटाहरू लगातार पठाइरही । यसैले मैले पनि एक दिन उसले भनेजस्तो गरेर मोबाइलबाट आफ्नो उसले भने अनुसारको फोटो पठाएँ ।”

“यो एक्काइसौं शताब्दी हो । अनि यसमा आजको यो युगमा के अनर्थ भयो त ! तिमीले पनि यसो गरेपछि ता सन्तोक मानी होली नि । कि मानिन ? कि त्यसरी पठाएपछि उसले अरु अरु कुराहरूको पनि माग गरी ? लौ भन न त । कथाले ता मलाई पनि पो चाख जगायो ।” मैले उसलाई एकैछिनको रोकाइपछि भनें । ऊ भन्दै गयो ।

“त्यसपछि उसले स्काइपमा मेरो आइडी जोडी र कल गरी । तर ऊ देखिनु ता परै जाओस् उसको बोली पनि सुनिएन । मेरो वेब क्याम बिग्रेको छ यसैले यसले काम गर्दैन भनेर उसले स्काइपमा सन्देश मात्र दिई । फेरि याहु मेसिन्जरबाट भीडियो कल गर्ने कुरा गरी । त्यहाँ पनि हामी साथी साथी भयौं । अनि मैले नै उलाई भीडियो कल गरें । तर उसले मलाई वेब क्याम पठा कि पठा भनेर हैरान गरी तर उसले आफू भने त्यहाँबाट पनि आफ्नो रुप देखाइन । बरु नयाँ नयाँ याहू आइडी बनाइमागेर मलाई हैरान गरी । मैले याहु आइडी बनाइदिएँ तर जति पटक मागे पनि उसले आफ्नो फोन नम्बर कहिल्यै पनि दिइनँ । यसबाट मलाई निकै नै शंका लागेर आयो ।”

उमेशको यो कुरा सुनेपछि मलाई पनि अलिकति शंका लाग्यो, सायद यो मान्छे कुनै बहुरुपियाबाट ठगिएछ क्यारे ।

अलिकतिको विश्रामपछि उसले अलिक लामो सास फेरेर भन्यो, “मित्र खास कुरा ता यसपछि पो छ त ।”

“अर्थात् ?”

“खास कुरा यसपछि नै छ । म काठमाडौं जानु थियो । कुरै कुरामा म काठमाडौं प्लेनमा चढेर जाँदैछु भनें । उसले मलाई बडो होसियारीका साथ जानु भनेर अराई । मैले तिमी मेरी को हौ र यत्रो सारो चासो लिन्छ्यौ भनेर भनेपछि उसले म तपाईंकी वाइफ वा पत्नी हुँ भनेर सोझै भनी । यसो भनेपछि मलाई ता खपिनसक्नुभयो । अनि मैले उसलाई भनें । देख्नु न जान्नु केको वाइफ, कसरी र कुन अर्थमा तिमी मेरी वाइफ ? नचाहिंदो कुरा नगर तिमी । मेरो साथीसम्म हौ, अरु केही होइन ।” मैले उसलाई भनें ।

“लौ मैले तिम्रो नाममा करवा चौथीको समेत व्रत राखेकी छु अनि तिम्री वाइफ नभए के त ? आज ता तिम्रो यात्रा शुभ होस् भनेर पानी पनि नखाई बसेकी छु । उसले भनेकी थिई । साँच्चै उसको भनाइमा म उसको पति भइसकेको थिएँ । बेला बेला च्याटिंगमा मलाई “मेरे पतिदेव कैसे हो ?” भनेर पनि सोध्थी ।

“लौ मारेछ । अनि के भो बाँकी कुरा ?”

“के हुनु ? म काठमाडौं नपुगिन्जेल उसले मेरो सकुशल यात्राका लागि प्रार्थना गरिरही अरे । पुगेपछि मैले पनि सकुशल आइपुगें भनेर मोबाइलबाट च्याट गरें । त्यसपछि मात्र उसले खाना खाएको कुरा गरेकी थिई ।

केही दिनपछि म काठमाडौंको काम सकेर घर फर्किएँ । अनि मलाई अँझ सारै उत्सुकता लाग्यो उसको वास्तविकता जान्ने । अनि उसबारे यथार्थ जानौं भनेर मेरा मनमा खैलाबैला जागेर आयो र उसलाई मेरोमा कल गर न भनेर आग्रह गरें र भनें, “आस्मा मलाई कल गर न । म तिम्रो आवाज सुन्न चाहन्छु ।” मैले लेखें । उसले यसको उत्तरमा लेखी –

“प्लिज मेरो भरोसा गर्नु होस् ।”

“मिस कल गर न । म नै यताबाट तिमीलाई कल गर्छु ।” मेरो यस आग्रहमा पनि उसको उत्तर उही अघिकै मात्र भयो । फेरि पनि आग्रह गरें । अनि पनि उनै शब्द लेखी । यसपछि मलाई अँझै बढी शंका लाग्न थाल्यो । यो कतै मलाई मूर्ख बनाइरहेकी ता छैन ? यो कतै मेरो इज्जतको खेलो फड्को ता गरिहेकी छैन ? के यो कुनै बहुरुपिया ता होइन ? के यो साँचिकै आइमाई मान्छे ता हो ? मेरा मनभरि प्रश्नहरू आउन थाले ।

वास्तवमा उसले मेरो आग्रहलाई भद्रअवज्ञा गरिहेको देखेपछि मेरा मन भरि उसमाथि प्रश्नहरूका खात खनिन थाले । के यो कुनै आइमाई मान्छे ता हो ? यो कुनै लोग्नेमान्छेले मलाई उल्लु बनाइरहेको ता छैन ? यो कुनै नपुंसक ता होइन ? आदि इत्यादि प्रश्नहरूले मलाई कोतर्न थाले । अनि मैले उसको भेद पत्ता लगाउने अनेकौं उपायहरू गरें । कहिले उसको घर, आमाबाबुको नाम, बसाइ, काम गर्ने ठाउँ र अन्य कुराहरूबाट उसको भेद पत्ता लागिहाल्ला कि भनेर प्रयत्न गरे । तर प्रयत्न निरर्थक भए । सबैको उत्तरमा मेरो विश्वास गर्नुहोस् । ममाथि भरोसा राख्नुहोस् । प्लिज शंका नगर्नुहोस् जस्ता लवज बाहेक केही पनि देखिएन । अलिकति उसको यथार्थताको जानकारीका लागि प्रयत्न गर्नासाथ उसको उत्तर कि त आई लभ यु आउँछ या मेरो भरोसा गर्नुहोस् आउँछ । यसभन्दा बाहेक अरु केही आउँदैन । मैले अनन्त कोसिस गरेर पनि उसको भेद पत्ता लगाउन सकिन । अनि आजित भएर लौ अब म तिमीसँग सम्बन्ध बिच्छेद गर्न चाहन्छु भने । अनि ता ऊ रिसाएर मेरा पुराना सारा नग्न फोटाहरू पो मेरा म्यासेज बक्समा खसाल्न थाली । लौ मरिएछ भन्ने लाग्यो मलाई । मैले पठाएका मेरा नांगा चित्रहरू सर्लक्कै जस्ताका तस्तै पो आउन थाले । मेरो ता तालुबाट पसिना छुटिहाल्यो नि । तिमी मेरा कुरा सुन्दै ता छौ ?” उसले मलाई बिचैमा सोध्यो ।

“सुन्दैछु । भन भन, सबै भन ।” मैले उसलाई भनें ।

“अनि अँझै तिम्रो याहु मेसिन्जरबाट आएको र स्काइपबाट तिमीले पठाएको नांगो भीडियो पनि मसँग छ पठाइदिऊँ, हेर्छौ भनेर पनि पो भनी । उसको यो करतुतबाट म ता पानी पानी भइसकेको थिएँ । हक्क न बक्क भइसकेको थिएँ ।

अनि फेरि उसको सन्देश आयो, मसँग तिम्रा सबै साथीभाइहरू, साथी सँगीहरू सबै इष्टमित्रहरू, तिम्रा आमाबाबु र तिम्री बहिनीको समेत ठेगाना छ । तिमी मसँग बडी निउँ नखोज । तिमीले निउँ खोज्ने नै हो भने तिम्रा सबै साथीहरूले देख्ने गरी तिम्रो यो भीडियो फेसबुकमा हालिदिन्छु । भन, मन्जुर ? म तिमीलाई पाँच दिनको भाका दिन्छु । सोचेर जवाफ दिनू । पतिदेव अहिलेलाई बाई । आइ लभ यु । म समय पर्खेर बस्छु ।”

उसको अन्तिम बाक्य यही थियो । आज ता उसको दिएको मितिको पनि तीन दिन बितिसकेका छन् । लौ अब के गर्ने तिमी नै भन । उमेश कथाको अन्तिममा आएर रोकियो र कथाको सफल अवतरणका लागि मलाई बडो आशाप्रद नजरले हेर्न थाल्यो ।

म भने यो आपतबाट साथीलाई कसरी बचाउने होला भनेर बिलखबन्दमा परिरहेको छु ।

(पाठक मित्र भाग एक निकै अघि यही‌ प्रकाशित भएको जस्तो लाग्छ । भाग एकलाई धेरै पाठहहरूले मन पराउनु भएको थियो । कार्यव्यस्तताले गर्दा भाग दुई ढिलो भएकोमा क्षमा माग्छु । – लेखक)

पहिलो भाग: https://www.majheri.com/node/16249

6 thoughts on “फेसबुक च्याटिङमा श्रृङ्रगारकाण्ड – भाग २”

  1. यस कथालाइ मैले मेराे ट्वीटरमा
    यस कथालाइ मैले मेराे ट्वीटरमा लिङ्क सेयर गरेकाे पाँच मिनेटमित्र १६ जनाले पढेकाे सूचना पाएँ । याे सही हाे कि हाेइन म बिलखबन्दमा परेकाे छु ।

    1. कहाँ छ भाग एक?
      यसको भाग एक चाइ कहाँ छ नि?

  2. पढेकै हो या होइन किटान गरेर
    पढेकै हो या होइन किटान गरेर भन्न त सकिन्न । केही मानिसले क्लिक गरेर आएका होलान् । र केही चाहिं इन्टरनेटका टुलहरूले सर्च इन्जिनमा राख्नको निमित्त अटोमेटिक रुपमा ‘हेरेका’ पनि हुन सक्छन् ।

  3. यसको भाग एक चाइ कता छ नि?
    यसको भाग एक चाइ कता छ नि?

  4. जमना अनुसारको बिसय बस्तुसग
    जमना अनुसारको बिसय बस्तुसग आदारित रहिछ पढ् दा केही आनन्द आयो,

Leave a Reply

Your email address will not be published. Required fields are marked *