Skip to content

जीवन एक सङ्घर्ष अनेक मोड


अमेरिकामा एकताका १६ पेजको कमन सेन्स नामक किताबले देशै हल्लाएको थियो । त्यही किताबका कारण अमेरिकीहरू बेलायतीहरूको उपनिवेशबाट सदासदाका लागि मुक्त भएका थिए । कुन चिज कतिखेर हिट हुन्छ ? अनि कुन चिज कतिखेर फ्लप हुन्छ ? त्यो यो संसारमा कसैले जान्दैन । भनिन्छ नि –वैद्यका छोराछोरी गलगाँड । अनि ज्योतिषीकी छोरी राँडी (?) हुन्छे भनेर ।

मलाई याद् आउँछ –राजा वीरेन्द्रको पारिवारिक रूपमै कत्लेयाम हुँदा शोकको बजारलाई क्यास गर्ने गरी लेखिएको कृष्ण अविरलको रक्तवीज नामक रिपोर्टपरक उपन्यास नेपाली उपन्यासका पाठकमाझमा भाइरल भएको थियो । त्यो पुस्तक बेचेरै उनले त्यसताका कपनमा घर किने रे भन्ने सुनिएको हो । यथार्थ के हो ? त्यो रामजाने ।

अलिक अगाडिको प्रसङ्गमा जाऊँ । जब २०४६ सालको जन आन्दोलन चल्दै थियो । हो, त्यही समयमा एउटा १२ पाने सामान्य न्यूज प्रिन्टमा निस्किएको भण्डाफोर नामक पुस्तिकाले नेपालीहरूको अन्तर ढुढढुकीलाई छाम्ने काम गरेको थियो । त्यहाँ राजपरिवारका अनेक खालका रोचक र विवादास्पद कथाहरू लेखिएका थिए । जसलाई त्यसबेलाको बन्द नेपाली समाजले रूचाएर पढेको थियो ।

यति प्रसङ्ग बाँधिसकेपछि मैले आज लेख्न खोजेको कुराको गुत्थीमा जाऊँ । मेरो हातमा अहिले विनोदकुमार श्रेष्ठ लिखित जीवन एक सङ्घर्ष अनेक मोड नामको आत्मालाप पुस्तक छ । पुस्तक धेरै लामो छैन । अनि लेखक नाम चलेका पनि होइनन् तर उनको स्वजीवनको भावनात्मक कथाको प्रस्तुति यति बेजोड छ कि त्यसलाई अध्ययन सुरू गर्ने जोकोही पाठकले त्यसको पूरापूर अध्ययन र रसस्वादन नगरी किताब छाड्दै छाड्दैन । मैले जीवनमा त्यति छिटो समयमा पढेको पुस्तक पनि यही हो । ९६ पृष्ठमा बाँधिएको सो सानो कलेवरको पुस्तकमा रामेछापका साहित्यकार माधव सयपत्री र विनोदले पढेका हाइस्कुलका प्राचार्य नीरबहादुर कार्कीज्यूले शुभकामना मन्तव्य मिठो भाषा शैलीमा लेखिदिनु भएको छ । सो पुस्तकको विमोचन भानु द्वशतवार्षिकी समारोह, रामेछापको कार्यक्रममा मन्थलीमा असार ७ गते, २०७१ सालमा भएको थियो । जतिखेर मलाई त्यो किताब पढ्न दिइएको थिएन । सायद् लेखकसँग पर्याप्य किताब उपलब्ध थिएनन् क्यार !

आज मैले मेरा साहित्यिक भाइ प्रकाश परिष्कारमार्फत् त्यो आत्मालापको किताब पढ्ने मौका पाएँ । किताब पढेर मैले सबैभन्दा पहिले विनोदकुमार श्रेष्ठ भाइलाई धन्यवाद् दिएँ जसले आफूलाई स्पाइनल कड इन्जुरी भएका बेलामा पनि त्यति राम्रोसँग किताब लेख्न सके । अनि दोस्रो धन्यवाद् किताबमा भएका केही गल्ती कमजोरी सच्याइदिनुहुने साहित्यकार माधव सयपत्रीलाइदिएँ । किताब चर्चा लेख्न मलाई जीवनमा सबैभन्दा झर्को लाग्ने काममध्ये एक हो तर मैले यो किताबको यति शीघ्रपठन गरेर लेख्न थालेँ कि मलाई नै थाहा भएन एउटा सद्भावपरक लेख तयार भैसकेको रहेछ ।

जीवनमा सबै मानिस आफू पनि राम्रो काम गर्न सक्दैनन् अनि अरूले पनि राम्रो काम गरेको देखी सहँदैनन् । किन हो किन यो प्रवृत्ति मलाई ननिको लाग्छ । मलाई अरूले गरेको कम पनि राम्रो छ भने सह्राना गर्न मन लाग्छ । अनि म त्यो कार्यको मुक्त कण्ठले प्रशंसा गर्न थाल्छु । मैले कति यस्ता झिनामसिना कामहरू गरेको छु जसबाट मलाई जीवनमै असिम आनन्दको सञ्चार भएको छ । यो काम पनि उपलब्धीका हिसाबले सानो हो तर म अत्यन्त खुसी छु ।

विनोद भाइको त्यो पुस्तकमा उनले आफू कसरी अपाङ्तगा भएको मानिसमा अनुवाद भए भन्ने कुराको इतिवृत्त खोलेका छन् । सायद् उनी अस्पताल बस्दाका बेलामा दैनिकी लेख्थे क्यार ! त्यो कुराको फेहरिस्त नलुकाई र नधकाइकन किताबमा भनेका छन् । आत्मालापको किताब भएकाले कतैकतै गजल र कविता पनि पस्कन भ्याएका छन् –उनले । साँचो लेख्न र बोल्न सक्ने मानिसको यो समाज र संसारमा कमि हुँदै गएको बेलामा मलाई उनको लेखनीले विछट्टको मोहनी लगाएको छ । मैले जीवनमा पढेका आकारगत रूपका झीना पुस्तकहरूमा माधव घिमिरेको गौरी, देवकोटाको मुनामदन, भूपिको घुम्ने मेचमाथि अन्धो मान्छे र रिमालको आमको सपना नै हो । अनि लीलबहादुर क्षेत्रीको बसाइँ र लैनसिँह बाङ्देलको माइतघर र लङ्गडाको साथी उपन्यास हुन् । मोटो र भीमकाय कृति नै रचना नै हुनुपर्छ भन्ने छैन । चुरो दह्रो भएको पुस्तक यदि जीवनवादी छ भने त्यसले दमदार काम गर्छ भन्ने दृष्टांश साहित्यकार सरुभक्तको चुली उपन्यास नै हो ।

अमृत र विष कति नै चाहिन्छ र ? बचाँउन अनि मार्नका लागि ।

विनोद भाइमा जति संवेदना छ त्यति नै मात्रामा त्यो पुस्तकको पुनर्लेखन र एउटा व्यावसायिक सम्पादकबाट सम्पादन हुन सकेको भए उनले त्यो पुस्तकबाट नाम र दाम खूब कमाउन सक्ने थिए । तर पहरामा फुलेको फूलको सान्दर्य यहाँ कसले पो देख्छ र ? सबै सहरमुखी छन् । भएजति सबै विज्ञापनवादी छन् । जीवनमा किताबै लेख्न नसक्नेहरूले पनि भाडामा थाकका थाक किताब लेखाएका छन् । यहाँ अहिलेको नेपालमा संवेदनाको कार्टेलिङ् गरी सिण्डीकेट मार्का साहित्य लेखिन थालिएको छ । यहाँ अहिले नेपालमा करौडौं कर छलेर अरबपति भएका व्यापारीहरू रातारात स्तरीय लेखक भएका छन् । डाडुपन्यौ हातमा हुने पत्रकारहरू समेत माहिरमाहिर आख्यानकार भएका छन् । तीन न तेह्रका साहित्य लेख्ने पानीमरुवाहरू चाहिँ फेसबुके साहित्यको भर्याङ् चढेर विश्वव्यापी गीतकार भनाएर आत्मरतिमा मख्ख छन् । ब्याङ् शैलीमा कराएर ट्यार्रट्यार्र………..।

एकजना मित्रले भने ‘अहिले नेपालमा भाँडा माझ्न विदेश जानेहरूको साहित्यले बजार तताएको छ ।’ मैले त्यसरी त भन्न सकेको छैन तर केसम्म अनुमान गरेको छु भने नेपाली साहित्यमा २०२० देखि २०४० सालसम्मको त्यो २ दसक बीचमा लेखिएकाजस्ता कालजयी र अजरअमर कृतिहरू साहित्यमा अहिले लेखिन सकेकोजस्तो लागेको छैन । जसले लेखेका छन् तिनका पनि व्यावहारिक जीवनमा इमान्दारिताका इँजार फुस्केका छन् । कथनी र करनीमा फरक छ ।

मानिस लेखेको व्यवहारमा उतार्दैन । व्यवहारमा प्रदर्शन गरेको लेखनमा उतार्ने सामर्थ्य गर्दैन । भनिन्छ, कडवा सच व्यक्त गर्न गाह्रो छ । विनोदले आफ्नो पुस्तकमा केही सानातिना नै सही कडवा सच ओकलेका छन् । यो एङ्गललाई म नमन गर्न रूचाउँछु । विनोदको लेखनधर्मितालाई म स्यालुट गर्दछु ।

सबैको प्रेम महान् हुन्छ तर यहाँ शाहजहाँ र मुमताजको मात्र प्रेमको व्याख्यान भएको छ । साहिर लुधियानवीले कतै भनेका छन् –इक शहन्शाह नै ताजमहल बनाएर, उडाहा है हम गरिबौंका प्यारका मजाक । बास्तवमा यो भनाइमा कति ठूलो विद्रोह छ ? त्यसको मापो गर्न हम्मेसी सकिँदैन ।

मैले विनोद भाइको किताबलाई पनि जीवन अमूल्य छ । यसलाई माया गरौं अनि सिर्जनात्मक कार्यमा लगाऔं भन्ने अर्थमा मात्र बुझेँ । यत्ति कोरेँ । फेरि पनि पुस्तक पढ्दा अरू कुरा बुझेँ भने अलि लामो समालोचना नै लेखौंला । कृति गागरमा सागर हो । नयाँ र लेख्न सिक्छु भन्नेहरू साथै पुरानाले पनि किताब एकफेर पढे दिमागका नयाँनयाँ तन्तु उघ्रिनेछन् । अहिलेलाई यति ।

पाठकहरू, विनोदसँग संवाद सम्पर्क गर्न चाहनुहुन्छ भने ९७४१०६४२८१मा कल गर्नुहोस् र अनुभूति सेयर गर्नुहोस् ।

।। समाप्त ।।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *