Skip to content

“वर्तमान सपना” मा आल्हादित हुँदा


सपना भन्नाले खासमा निद्रामा हंशले अनुभव गर्ने मनको तरङ्गमा सल्बलाउने सम्भव, असम्भव, हुँदा, नहुँदा कल्पनाहरूलाई पनि सपनामै जोडेर चर्चा, परिचर्चाहरू गर्ने गरिन्छ । एउटा काव्यकृतिको नाम पनि “सपना” समन्वित छ । यद्यपि यो सपना चैं भविष्यको सपना नभएर वर्तमानको सपना– “वर्तमान सपना” हो ।

नेपाली साहित्यको हिसाबले भन्नुपर्दा एउटा द्रष्टा र स्रष्टाले आजको नयाँ नेपाल प्रति साक्षात्कार एवं अनुभूत गरिरहेका विविध विसङ्गतिपूर्ण अवस्थाको समष्टिगत आकृति नै “वर्तमान सपना” हो भन्ने लाग्छ । विविध रस र लक्षण शक्तिले सजाइएको गद्यमय सुन्दर थुँङ्गाहरूको एउटा साहित्यिक उद्यान हो कवि श्यामकृष्ण डंगोल ‘‘प्रतिक्षा’’ले मेहनतपूर्वक सजाएर यसै वर्ष २०७२ सालमा पाठक समक्ष पस्किएको कविता सङ्ग्रह– “वर्तमान सपना” । राजधानी उपत्यकाको उत्तरभेगीय भूगोल, धर्म गर्ने विशेष थलो – धर्मस्थली । यहीका युवा कवि डंगोल माध्यामिक तहको विद्यार्थी जीवनमै सिर्जनातर्फ आकर्षित हुनु, हुँदै जानु र त्यस्मा सफलता पनि मिल्दै जानुको परिमाण पनि हो यो ।

मातृभाषा “नेपाल भाषा” भए पनि परिस्कृत नेपाली भाषामा उनको ख्याति उल्लेखनीय लाग्छ “वर्तमान सपना”मा डुबुल्किदै जाँदा । जबकी नेपाल एकिकरणको ऐतिहासिक कालखण्डका वीरताको वर्णनमा केन्द्रित रहेर काव्यधारा बहाउने चर्चित कविहरूमध्ये– शक्ति बल्लभ अर्याल, उदयानन्द अर्याल तथा यदुनाथ पोखरेलका समकालीन र चर्चित कवि हुन् पहिलो नेपाली कवि– सुवानन्द दास र ललितपुर ओकु बहालका सुन्दरानन्द बाँडाहरू । यसरी एकिकरण समयदेखि नेपाली साहित्यको आधुनिक वर्तमान समयसम्म आइपुग्दा कयौं यस्ता स्रष्टाहरूका सूचीमा अब कवि पनि समावेश भएकोमा गर्व लाग्छ ।

“वर्तमान सपना”मा सङ्ग्रहित कविताहरूमध्ये नेपाल भाषामा सिर्जित तीनवटा शीर्षकहरू– मांयागु मतिना, जिन्दगी र जिमि मचाम्ह नानीमध्ये “जिन्दगी”को परिभाषालाई दार्शनिक दृष्टिकोणले अर्थ्याइएको आभास हुन्छ ती कवितांशमा विचरण गर्दा–
मनु,
मनु बुल धाइ
तर, व
बुगु मखु
थ्व संसार छगु नाटकीय रङ्गमञ्च खः
धायां सायद सुनांनं थुगु मखु ।
………….
‘‘मान्छे जन्म्यो भन्छन्
तर ऊ
जन्मेको होइन
यो संसार एउटा नाटकीय रङ्गमञ्च हो भनेर कसैले बुझेको होइन ।’’
………………

हो संसार एकप्रकारको नाट्यशाला जस्तै त हो नि । आमाको गर्भबाट यस नाट्यशालामा अवतरित भएपछि विभिन्न अभिनय गर्दै नाटकका विविध पात्रहरू आ–आफ्ना नाटकीय भूमिकाहरू निर्वाहपश्चात अल्पिन्छन् । स्वःधाम, परमधाम नाम जे जे भए पनि । यी उदगारहरू कवि डंगोलका दार्शनिक अभिव्यक्तिका उदाहरण हुन भन्ने लाग्छ । भूमिकाकार, साहित्यकार– राम सञ्जेलका मन्तव्यतिर दृष्टिगोचर हुँदा अनुभूत हुन्छ– कविले निदाएको बेला, स्वप्निल संसारमा होइन विपनामै विविध उतार चढावबीच अनुभूत गरेका अत्याचार, दूराचार प्रतिको आम नेपालीको सपना पनि हो– “वर्तमान सपना ।’’

दुई बीस एक शीर्षकहरू मध्ये– ’’नेता’’, कस्ता नेता, लेखकको भण्डार, नारी, वर्तमान सपना, सहीद र प्रजातन्त्र, हाम्रो गाउँमा” यी शीर्षकमा व्यक्तिएका चोटिला, कतै व्यङ्ग्य र कतै करुण रसले निथ्रुक्क भिजेका काव्योद्गारहरू पनि श्यामकृष्ण डंगोल लगायत आम नेपालीकै “वर्तमान सपना हुन । जब कि तीनवटा “ब” बहत्तर, बैशाख, बाह« यताको चरम पीडाबाट ग्रसित र मुहान विश्वका विविध भूगोलमा भएपनि नेपालको दक्षिणतिरको छिमेकी भूगोलतिरको कुलो हुँदै नेपालतिर बग्नु पर्ने तेलको कुलो नै अबरुद्ध भएपछि थप पीडा भोग्न वाद्य नेपालीले देखिरहेका विविध उराठिला सपना जस्तै त हो नि यहाँ प्रासङ्गि काव्यकृति “वर्तमान सपना” । हेरुँ, चौंतिसौं शीर्षकमा व्यक्तिएका काव्योद्गारहरू … ”
‘‘खबरदार ! पानी बगिरहनुपर्छ
चलायमान तत्वलाई बग्न दिनुपर्छ ।”

शिक्षा आर्जन खातिर पाँचदशक उतैका पङ्क्तिकारका पनि गुरु वरिष्ठ कवि– भरतराज पन्तले चरम पीडायुक्त उत्तरार्धको जीवन नाति, नातिनाहरूको सहयोगमा जिइरहेका दिनहरूमा व्यक्तिएको करुणरसप्रधान काव्योदगारहरू पनि यहाँ सान्दर्भिक लाग्छन्–
‘‘स्वतन्त्र काल पर्खन्छु कतिहोला र जिन्दगी
बग्ने जीवनको जात जान्छ निश्चय नै बगी ।’’

हो, प्राकृतिक, अप्राकृतिक भौतिक जस्तो बगाइ भएपनि बग्नुपर्ने, बग्ने वस्तुलाई बग्न दिनै पर्छ । रोक्न खोजेरै पनि सकिन्न । कवि डङ्गोलका पानी र बहाव सम्वन्धी काव्योदगारहरू जस्तै प, प, प– परिस्थिति, परिवेश र प्रसङ्ग अनुसार भूत र भविष्यका सपनालाई पनि वर्तमान सपना कै दृष्टिकोणबाट नियालिनु उपयुक्त होला । जबकि आध्यात्मिक विषयका प्रवचनाकर्ताहरूका दार्शनिक अभिव्यक्ति अनुसार पनि त जे गर्नु छ भरसक आजै गरे हुने कार्यलाई भोलि गरौँला भनेर बस्नु हुँदैन । किनभने भोलिको भर छैन ।

अब कामना गरुँ स्रष्टा डंगोलले पनि वर्तमान सपना देखिरहून् ! । पाश्चात्य जगतका चर्चित कवि वर्डस्वर्थको काव्यिक दर्शन जस्तै प्रवल मनोवेगको स्वच्छन्द प्रवाहमा गद्य, पद्य दुवै प्रकृतिका रस र अलङ्कारले सुसज्जित कविताहरू पाठक समक्ष पस्किरहून ! ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *