Skip to content

आउँदा केही छैन, जाँदा भने रुवावासी

20151206_NandaLalAcharya_Lekh


श्रीमहावीर माध्यमिक विद्यालय, विषहरिया, सप्तरीमा २७ वर्ष सेवा गरी अनिवार्य अवकासमा परेका शिक्षकद्वय विन्दुप्रसाद साह र रामदेव रजकको बिदाइ समारोहमा सहभागीहरूले आँसु बर्साए ।

उद्घोषकको हैसियतले परिस्थितिलाई कार्यक्रमको गन्तव्यअनुकूल पारिराख्न मलाई हम्मेहम्मे पर्यो । लामो समयदेखि शिक्षणसिकाइ कार्यकलापमा सहकार्य गर्दै आएकी सुचिता कुमारी देवले यत्तिञ्जेलको गल्तीलाई माफ गरिदिनुस्भन्दा विशिष्ट अतिथिसमेत रहेका शिक्षक रामदेव रजक भक्कानिए । उनीहरूका बीच लामो समयसम्म सहकार्य गर्दा कहिलेकाहीँ तँछाडमछाड भएको हुनसक्छ । त्यो एकोहोरो नभई दोहोरो नै हुनसक्छ । अब ती दिन पुनः फर्कने सम्भावना विल्कुलै न्यून थियो । हुँदा केहीजस्तो नलाग्ने तर नहुँदा केके न बितेजस्तो हुने वातावरण थियो । सबैको मन मलिन थियो । कसैको जीवन नै गुमाउनु परेको जस्तो भान हुन्थ्यो ।

बिदाइ कार्यक्रमका सभाध्यक्ष समेत रहेका विद्यालयका प्रधानाध्यापक अशोककुमार यादवले तीता कुरा यही छाडी मीठा कुरा मात्र लिएर जानभन्दा रामदेव असमञ्जस्यमा परे । त्यस बेला उनलाई सबै कुरा प्रिय थिए । अप्रिय उनले महसुस नै गरेका थिएनन् । पन्ध्र वर्षसम्म प्रधानाध्यापक मानेरसँगै काम गरेको मित्र यादवका मुखरावृन्दबाट छाडेर जानभन्दा रामदेवलाई साह्रै खल्लो अनुभूति भइरह्यो । समारोहमा विशिष्ट अतिथि बनाई सम्मान गर्छन्, अघोषितरूपमा फेरि सहकार्य गर्न नपाइने वातावरण बन्छ, त्यसभन्दा त बढी सबैले विगतका दिन स्मरण गरी रुने बनाउँछन् भन्ठानी कसैलाई सुइको नदिई शिक्षक बिन्दुप्रसाद साह अन्यत्रै लागेको रहस्य पछि खुल्न गयो । यी सब कार्य प्रेम र अनुरागले नै भएको भन्ने निष्कर्ष निकाल्न कुनै कठिनाई थिएन ।

सहकार्यको सिलसिलालाई स्मरण गर्दै बाल्मीकिप्रसाद सिंह बोल्न अघि सरे– ‘विद्यालयमा आउने र जाने क्रम त निरन्तर चलिरहन्छ । आज रामदेव र बिन्दु सर जानुहुन्छ, त्यो दिन क्रमशः हाम्रो पनि आउँछ । यस घडीमा मलाई खल्लो अनुभूति भइरहेछ । उहाँहरू स्कुलभित्रको शिक्षकमित्र मात्र नभई मेरो यात्राका मित्र पनि हुनुहुन्थ्यो । हामी सँगसँगै विद्यालय आउने र जाने गर्थ्यौँ । यस बुढेसकालमा त्यो साथ टुटेको छ । एक जोडी प्रेमीप्रेमिकाको विछोडको दर्द जति र जस्तो हुन्छ, त्यसलाई बिर्साउने यादगारका क्षण उहाँसँग छन् ।’ यत्तिभन्दा नभन्दै उनी पनि सात वर्षे बालककाझैं आँसु वर्षाउन पुगे । तापनि सुकसुकाउँदै भए पनि आफ्नो कथनलाई विश्राम दिन विल्कुलै रुचाएनन् ।

उनले अगाडि थपे– यस श्रीमहावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरीमा रहेर मैले पनि लामो कार्यकाल बिताएँ । अब केही वर्षमै मैले पनि शिक्षण पेशाबाटै हात धुनुपर्ने छ । अर्थात् म पनि अनिवार्य अवकासमा पर्दै छु । म रहे पनि, नरहे पनि, बाँचे पनि, समाप्त भएर गए पनि यस विद्यालय परिसरमा सरस्वती माताको मन्दिर उभ्याउने सदीक्षाका साथ अघि बढिरहेको छु । विद्यालय परिवारको सहयोग र अभिभावकहरूको सद्भावले एक चौथाई कार्य सम्पन्न भइसकेको छ । अब यस कार्यलाई अघि बढाउन मेरा अभिन्न मित्र रामदेवजीको पनि पहिलाकोभन्दा बढी सक्रियता रहने आश गर्दछु । उहाँसँग हामी साथमा नै रहिरहने छौँ । यस श्रीमहावीर माध्यमिक विद्यालय, विषहरियालाई उहाँ पनि भुल्न सक्नुहुन्न । किनभने उहाँले तीन दशक समय यसमा लगानी गर्नुभएको छ । उहाँको प्रेमपूर्ण व्यवहार र शिक्षा पाएका हजारौँ विद्यार्थीहरू समेत यस घडीमा उपस्थित भएका भए किंकर्तव्यविमूढ नै हुन्थे होला ।’ यत्ति भन्दै बाल्मीकिप्रसाद सिंहले आफ्नो वक्तव्य छोट्याउँदै टुङ्ग्याए ।

अर्का उमेरले कलिला शिक्षक जनार्दन साहले भने शिक्षकद्वय विन्दुप्रसाद साह र रामदेव रजकलाई विद्यालय परिसरको आफ्नो अभिभावकका रूपमा स्मरण गरे । विद्यालय व्यवस्थापन अध्यक्ष हरिनारायण यादवले शिक्षकद्वय विन्दुप्रसाद साह र रामदेव रजक समाज परिवर्तनका सच्चा शिक्षक भएको बताए । साथै उहाँहरूका असल बानीव्यहोराको स्मरण सबैले गरिरहने र मार्गनिर्देश भेटिरहने अपेक्षा व्यक्त गरे । छोटै समयसम्म सहकार्य गरे पनि शिक्षक जीवछप्रसाद यादवले विर्सनै नसकिने शिक्षकको रूपमा रामदेव रजकको स्मरण गरे । त्यस अवसरमा विद्यालयमा कार्यरत रहेर त्यस दिन अनुपस्थित भएका वा अन्यत्र सरुवा भई जाने रेखा ठाकुर, रवीन्द्र यादव, ईश्वरी प्रसाद मण्डल र मणिन्द्र प्रसाद साहको समेत स्मरण वक्ताहरूले गरे । किनभने उनीहरूको भौतिक उपस्थिति कार्यक्रममा खट्केको थियो । उनीहरू समेत एक समयमा शिक्षकद्वय विन्दुप्रसाद साह र रामदेव रजकका सहकर्मी भई शिक्षण जीवन बिताएका थिए । सबैले एक क्षणसँगै बसी विगतका तीतामीठा क्षणहरू स्मरण गरेर तीतातटर्रा पाटा भुल्न र मीठा–गुलिया यादगारहरूलाई ताजै राख्न पाएको भए सुनमा सुगन्ध हुनेथियो भन्ने चाहना राखेको देखियो ।

सहकार्यमा लामै युग बिताएका वंशीलाल यादवले लामो समयसम्म सहकार्य गर्दा कहिलेकाहीँ मन मैलो भने भएकै हो तर त्यो मैलो विद्यालय परिशरभित्र मात्र सीमित भएको बाहिर जान नपाएकोले रामदेवजीसँग शिक्षकमित्रको मात्र नभई दाजुभाइको सम्बन्ध गाँसिएको कुरा अघि सारे । शिक्षक बिन्दु साह त घर परिवारकै सदस्यका रूपमा सधैं रहिरहेकै ठानी धेरै शब्द खर्च गरेनन् ।

उक्त अवसरमा कार्यालय सहयोगी विनोद यादवको कथनले सबैलाई आश्चर्य चकित तुल्यायो । उनले स्पष्ट शब्दमा भनेका थिए– अहाँसभ कथिला मन दुखल बात करैछी । ई बिदाइ समारोह त एक खुसके क्षण छै । कतेक गोडे विद्यालयसँ बिदाइ नही पावैछै । ओहिना भगवान्का प्यारा होइछै । हमर शिक्षकद्वय विन्दुप्रसाद साह र रामदेव रजक सर हमरा सामुने छै । हमरा साथमे छै । हमसभ सँगेसँग काज कर रहल छी आओर कर सकैछी । हम त एकरा खुशीयालीके अवसर मानैछी ।’

कृष्ण यादव र कक्षा–६का रुपेश यादवले समेत शिक्षकहरूसँग बिताएका दिनहरूको सम्झना गरेका थिए । त्यस कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य शिवनाथ चौधरीसहित आठ दर्जन शिक्षक, विद्यार्थी र अभिभावकहरूको जमघट थियो । उक्त अवसरमा प्रधानाध्यापक अशोककुमार यादव र विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिनारायण यादवले शिक्षकद्वयलाई संयुक्तरूपमा दोसला ओडाई उपहार प्रदान गरेका थिए ।
म भने सबैभन्दा नयाँ शिक्षक मित्र थिएँ । अरूले जस्तो गम्भीररूपमा मैले बिदाइ समारोहलाई लिएकै थिइन । कारण अनिवार्य अवकासप्राप्त सरहरूसँग जुनसुकै बेला पनि सहकार्य गर्न सकिन्थ्यो । उनीहरू विद्यालय नजिकैका निवासी थिए । विद्यालय परिवारका महत्वपूर्ण कार्यक्रम उनीहरूको उपस्थिति, सक्रियता र हैसियत पुरानैसरह हुने निश्चित थियो । अतः मैले दार्शनिक ओशोले भनेको एउटा कथा स्मरण गरी भनाइलाई विश्राम दिएँ ।
त्यो थियो– दश्मिकमा एकजना बादशाहले एउटा सपना देख्यो । सपना के देख्यो भने ऊ एउटा रूखतल घोडा नजिकै उभिएको छ र कुनै कालो छायाँ आएर उसको काँधमाथि हात राख्यो । फर्केर हेर्दा ऊ भयभित भयो । त्यो कालो छायाँले भन्यो, म मृत्यु हुँ, भोलि तयार भएर बस्नू र ठिक ठाउँमा पुग्नू, म तँलाई लिन आउँदै छु । उसको निद्रा भङ्ग भयो, सपना समाप्त भयो, ऊ डरायो । बिहानै उसले आफ्ना राज्यका ठूल्ठूला ज्योतिषीहरूलाई बोलायो । सपना बुझ्ने ठूल्ठूला विद्ववान्हरूलाई बोलायो र सोध्यो–यो सपनाको अर्थ के हो ? राती मैले कालो छायाँ देखेँ जसले मेरो काँधमाथि हात राखेर म तँलाई लिन आउँछु, म मृत्यु हुँ, तयार भएर बस्नू र ठिक ठाउँमा भेटिनू भन्यो ।
धेरै समय पनि थिएन, केवल भोलिसम्मको कुरो थियो र भोलि साँझ, घाम अस्ताउँदा–नअस्ताउँदै मृत्यु आउनेछ । ज्योतिषीहरूले भने, अब यतिखेर धेरै विचार गर्ने समय पनि छैन । तपाईंसँग छिटोभन्दा छिटो दौडने कुनै घोडा छ भने त्यसलाई लिएर भाग्ने प्रयास गर्नुस् । जति टाढा भाग्नुहुन्छ त्यति नै राम्रो ।

त्यसको अतिरिक्त अर्को कुनै उपाय सम्भव पनि थिएन । मनुष्यको बुद्धि, अरू के नै गर्न सक्थ्यो र ? यही एउटा उपाय हुन सक्थ्यो, त्यो महल, त्यो राजधानीबाट टाढाभन्दा टाढा भाग्नु । जोगिने अरू के नै उपाय हुन सक्थ्यो र ?
तपाईंसँग पनि कसैले सोधेको भए के गर्नुहुन्थ्यो ? मसँग पनि सोध्दा म के भन्थेँ र ? ती ज्योतिषीहरूले ठीकै भने । मनुष्यको बुद्धि धेरै टाढासम्म पुग्दैन पनि, खोज्न पनि सक्दैन । सीधा कुरो, हामी वेस्कन दौडौं, बचौं हामी मृत्युसँग ।

वेगवान् घोडाको त्यो राजासँग कुनै कमी थिएन । तीव्रभन्दा तीव्र घोडाहरू थिए । सबैभन्दा वेगवान् घोडालाई ल्याइयो । ऊ चढ्यो र भाग्न थाल्यो । घोडा असाध्यै तीव्र थियो, राजा बिस्तारै–बिस्तारै निश्चिन्त हुन थाल्यो, घोडाको तीव्र चाल देखेर । जोगिने भएँ, भागियो, टाढा हुने भएँ भन्ने आत्मविश्वास आउनु स्वभाविक थियो ।

बिस्तारै–बिस्तारै राजधानी टाढा हुन थाल्यो, राज्य टाढा हुन थाल्यो, नगर, गाउँ टाढा हुन थाले । घोडा दौडिरहेको थियो । त्यो दिन न त राजा रोकियो, न उसले खाना खायो, न पानी पियो । को रोकिन्थ्यो र, को खाना खान्थ्यो र, को पानी पिउँथ्यो र, जसको पछि मृत्यु लागेको छ । न त उसले घोडा रोक्यो, न त घोडाका लागि पानीको प्रबन्ध गर्यो । त्यो दिन त उसले टाढाभन्दा टाढा पुग्नु आवश्यक थियो ।

दिउँसो भयो । राजा धेरै टाढा पुगिसकेको थियो, ऊ धेरै प्रसन्न थियो । दिउँसोसम्म त ऊ उदास पनि थियो । दिउँसोपछि त ऊ गीत पनि गुनगुनाउन थाल्यो । धेरै टाढा आइसकेको छु भन्ने विचार आयो । साँझ पर्दा नपर्दै ऊ सयौं मिल टाढा पुगिसकेको थियो । अब घाम अस्ताउँदै थियो, उसले एउटा आँपको बगैँंचामा आफ्नो घोडा बाँध्यो र एउटा झाडीेमुनि उभियो । ऊ निश्चिन्त थियो । धेरै टाढा भाग्न सकेकोमा उसले परमात्मालाई धन्यवाद दिनै आँटेको थियो कि त्यही उसले राती देखेको पञ्जा, उसको काँधमाथि राखिएको उसले देख्यो । ऊ डरायो । उसले फर्केर हेर्यो, त्यही कालो छायाँ उभिएको थियो ।

त्यो कालो छायाँले भन्यो, म असाध्यै चिन्तित थिएँ, यति टाढा तँ आउन भ्याउँछस् कि भ्याउँदैनस् । किनकि यही त्यो ठाउँ हो, जहाँ तेरो मृत्यु निश्चित गरिएको छ । म त चिन्तित थिएँ, यति लामो दूरी पार गर्न तँ सक्छस् कि सक्दैनस्, यो कसरी सम्भव होला र ? तर घोडा साँच्चै नै वेगवान् रहेछ, तँ ठिक किसिमले दौडिस् र ठिक समयमा उपस्थित भइस् ।

हामी जसरी दौडौं….एकदिन यो हुन्छ नै । तपाईंले सपना देखे पनि वा नदेखे पनि त्यसले केही फरक पार्दैन । यो हुन्छ । एकदिन मृत्यु ठिक ठाउँमा भेटिन्छ, जहाँ उसले भेटिनुपर्ने हो ।

त, के हुन सक्छ भने हाम्रो भाग्ने दिशा भिन्नै होस्, हाम्रा घोडाका चाल भिन्नै होऊन् । त्यो हुन सक्छ । तर, अन्तिम कुरोमा धेरै फरक हुँदैन । कुनै झाडीमुनि, कुनै न कुनै दिन काँधमाथि हात राखिनेछ । त्यतिखेर तपाईं पाउनुहुन्छ, जेसँग तपाईं तर्किरहनुभएको थियो, त्योसँग जम्काभेट भएरै छोड्यो । र, त्यो दिन तपाईं डराउनुहुन्छ । जसबाट जोगिन तपाईं दौडिरहनु भएको थियो, वस्तुतः तपाईं त्यतातिर नै दौडिरहनु भएको थियो । मृत्युसँग जोगिने कुनै उपाय छैन ।

हामी जतासुकै भागौं, हामी मृत्युतिर नै भाग्छौं । भाग्नुले केवल मृत्युसम्म पुर्याउँछ । जो भाग्छ, ऊ मृत्युसम्म पुग्छ । त, के हुन सक्ला भने दरिद्र बिस्तारै–बिस्तारै दौडला । उससँग घोडा छैन, घोडाविना नै दौडला । समृद्ध ठूलो घोडामा दौडला, र राजाहरू असाध्यै तीव्र चाल भएका घोडामा दौडलान् । तर, अन्त्यमा घोडाविनाका मान्छेहरू पनि त्यहीँ पुग्छन् र घोडावालहरूपनि त्यहीँ नै पुग्छन् । उपाय के छ ? बाटो के हो ? के गर्ने ?

त्यसैले पहिलो कुरो जे म तपाईंलाई भन्न चाहन्छु– तपाईं जे गर्दै हुनुहुन्छ, त्यसले तपाईंलाई मृत्युसम्म पुर्याउनेछ । र, यो कुनै अनौठो कुरो होइन । आजभन्दा पहिला पनि जे गरिएको छ, त्यसले मृत्युसम्म पुर्याएको छ । थोरै व्यक्तिहरू मृत्युवाट जोगिएका छन्, र, उनीहरूले जे गरे त्यो तपाईं गरिरहनु भएको छैन । मनुष्य जातिको इतिहासमा थोरै व्यक्तिहरू मात्र मृत्युवाट जोगिएका छन् । र, उनीहरूले जे गरे त्यो तपाईं गरिरहनु भएको छैन । त्यसैले तपाईं जे–जस्तो तयारी गरिरहनु भएको छ, त्यो मृत्युको तयारी हो । त्यो प्रिय लागे पनि, अप्रिय लागे पनि तथ्य र सत्य के हो भने हामी सबैको तयारी मृत्युको तयारी हो ।

यी तीन दिनमा म तपाईंहरूसँग मृत्युको तयारीका कस्ता लक्षण हुन्छन् र जीवनको तयारी कसरी हुन सक्छ भन्ने निवेदन गर्न चाहन्छु । हुन सक्छ, तपाईंभित्र पनि जीवनलाई बुझ्ने र पाउने आकाङ्क्षा होला । वस्तुतः त्यस्तो कुनै मनुष्य छैन, जसभित्र जीवन पाउने आकाङ्क्षा नरहेको होस् । तर पनि कुनै पागलपन छ, कुनै ठूलो पागलपन छ, कुनै गहिरो पागलपन छ, जसबाट पूरै मनुष्य जाति ग्रसित छ । नयाँ बच्चाहरू आउँछन् र त्यही पागलपनबाट दीक्षित हुन्छन् । सम्भवतः यस्तो हुनु स्वभाविक पनि हो । यदि नयाँ वच्चा दीक्षित नहुने हो भने हामी पागलजस्ता लाग्नेछौं ।

नन्दलाल आचार्य

3 thoughts on “आउँदा केही छैन, जाँदा भने रुवावासी”

  1. ‘Rupaki Rani’ko apresan ma .. !
    ‘RUPAKI RANI’ KO APRESANMA AAFNA DHARANA RAKHI DINA ANURODHA CHHA KINAKI …2008 dekhi ma https://www.majheri.com herdai chhu.
    2010 ma ta jodieko nai rahechhu….

    “o

    Lok priya Rachama ‘Rupaki Rani’ aaekai aaei chha !
    Zz…aakhir yasma ke rahechha….
    MA EUTA ANUSANDHATMAK AARTICALE LEKHNE DHYAUNNAMA CHHU…!

  2. नन्दलालजी
    प्रतिकृयाको लागि

    नन्दलालजी

    प्रतिकृयाको लागि धन्यवाद । त्यो कथा सर्वाधिक लोकपृय हुनमा दुई कुरा छन् जस्तो लाग्छ – १) पहिलेदेखिकै प्रचार, २) गुगजलस्ता सर्च इन्जिनहरूबाट धेरै आउने । शीर्षकमा “यौन” भएर होला, युवापिढीको गुगल-खोजमा परेको – तपाईंलाई थाहै होला नेपाली रचनाहरू, लेखकहरू, बिधाहरू गुगलमा खोज्दा मझेरीका रचनाहरू अत्याधिक अगाडि देखापर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *