Skip to content

मझेरी भलाकुसारी, अंक १९ (चूडा निर्भीक)

ChudaNirveek-02


निर्भीकजी ! तपाईँलाई मझेरी भलाकुसारीमा स्वागत छ । शुरुमा, आफ्नो व्यक्तिगत र साहित्यिक परिचय पाउन सकिन्छ कि?

हस् धन्यवाद सम्पूर्ण साहित्यप्रेमी मझेरी डटकमका पाठक तथा साहित्यप्रेमी जनहरूमा मेरो नमस्कार तथा शुभ अभिवादन । यहाँको प्रतिष्ठित वेबपेजमा मलाई आमन्त्रित गर्नुभएकोमा । मेरो वास्तविक नाम भरतमणि मरहट्टा र जन्मस्थान आँपपिपल-७ गोरखा हो । म ५४ वर्षको भएँ र हाल म चन्द्रागिरी १५ सतुंगलमा बस्छु । मैले शिक्षाशास्त्रमा स्नातक गरेको छु भने प्रविणता प्रमाणपत्र फार्मेशी विषयमा गरेको हुँ ।

मैले सात कक्षामा अध्ययन गर्दा “मेरो नेपाल” भन्ने सामान्य कविता कोरेको थिएँ । तर उक्त कविता तयार गरेपछि सो लेखिएको पन्ना च्यातेर फालें । पछि लेख्दै च्यात्दै गर्न थालें । आधिकारिक रूपमा म महाराजगन्ज क्याम्पसको विद्यार्थी भएपछि २०३७ सालमा केही साथीहरूसँग मिली गोरेटो भित्ते पत्रिका प्रकाशन गरियो जसको भूमिका, एउटा युद्धवीरको कविता र फार्मेशी नामको कथा मैले लेखेको थिएँ । प्रगतिवादी पत्रिका क्यामपस प्रशासनको दबाबपछि र साथीभाइहरू डराएर पछि हटेपछि बन्द गरियो । गोरखाली भएको नाताले र प्रगतिवादी चिन्तनका कारण जे जति लेखियो प्रायशः पन्ना वा कपिमा सन्चित हुँदै गए र छिटफुट लेख, स्वास्थ्य सामाग्री, कविता प्रकाशन भए पनि अन्य रचनाहरू विद्रोहको भावका कारण प्रकाशन गर्ने गरिएन । पछि राजाको सक्रियता बढेपछि राजसंस्थाप्रति खरो भाव देखिने रचनाहरू नष्ट गराइए र लामो समय नलीखि बसियो । २०६३-६४ को समयपछि पुन लेखनमा सकृय हुन थालेको हुँ । एउटा कम्युनिष्ट विचार राख्ने व्यक्तिलाई अहिले कुनै नेता वा राजनीतिले समेट्न नसकेकाले सो बेलाको सोचाइ गलत रहेको जस्तो लाग्दैछ ।

“चूडा निर्भीक” – यो नाममा के प्रतिविम्बित छ, जसको कारणले लेखनमा वास्तविक नामको सट्टामा यो नाम प्रयोग गरिरहनुभएको ?

तात्कालीन समयमा कम्युनिष्ट नेताहरूले छद्म नाम राख्ने प्रचलन बमोजिम बैरागी कान्छा, सूर्य जस्ता नाम राखेर लेखिन्थ्यो पछि राजनीतिमा समाजवादी धारको स्खलन देखिएपछि न्वारानमा राखिएको नाम चूणामणिमा मणि झिकेर निर्भिक थपेर सोही नामबाट लेख्दैछु । मरहट्टा भन्ने थरले मानिसहरू झुकिने, विभिन्न अर्थ लगाउने र जनजीव्रोमा अलिक नबस्ने भएको र कहिलेकाहीं वास्तविक नामबाट विसंगतिलाई झटारो हान्दा अप्ठेरो पर्ने भएबाट पनि साहित्यमा यो नामलाई स्थापित गरेको हुँ ।

के कुराले लेखनमा आकर्षित गर्यो ?

म असाध्य भावुक मान्छे हुँ । मलाई सामाजिक उत्पीडन र विकृति विसगंतिले कलम समाउन लगाउँछ । तर मेरो कमजोरी लेख्दा लेख्दै मन परेन भनी त्यसलाई च्यातीदिन्छु । र केही समय चुप लागेर बस्छु अनि पुन अर्कोपटक अर्कै विषयवस्तुलाई उठाउँछु ।

मझेरीमा तपाईंका विशेष गरी छन्दकविता र लघुकथा पढ्न पाइन्छ, यी बिधामा लाग्नुको कारण के छ ?

मेरा लागि सबै विधा प्रिय छन् । तर पनि कविता नै सबैभन्दा बढी मन पर्छन् । म ४, ५ कक्षामा पढ्दै गर्दा तात्कालीन समयमा संस्कृतका विज्ञ मेरा पिताले राष्ट्रकवि माधव घिमिरेको गौरी खण्डकाव्य, रामायण र महाभारतका कविता पाठ गर्नुभएको मलाई सारै मन पर्थ्यो । र यस्ता हरफ म पनि लेख्न पाए हुने थियो भनेर कल्पना गर्थें । मेरा नेपालीका गुरू सुरेश वाग्ले, जो जनयुद्धका क्रममा मारिनुभयो, उहाँले नवौं कक्षामा गण र छन्दको व्याख्य गरेपछि श्लोकका मात्रा गणना गर्दै लेख्न थालें । तर शुरूमा छन्द बनाउन सकिन र लामो समय गद्य कविता लेखियो । हाल बढी छन्द कविता लेख्छु र यसैमा सन्तुष्टि भेट्छु । कथाका लागि भने विषयवस्तु भेटेपछि लेख्न मनलाग्छ र लेख्छु पनि । तर कथाका पाठक त्यति नहुने र कथालाई छोटो बनाएर लेख्दा कम शब्दमा सन्देश प्रवाह गर्न सजिलो र पाठकले पनि पढिदिने भएकाले लघुकथामा हात चलाएको हुँ । मेरो लागि अर्को लेखनको उपयुक्त विधा मुक्तक हो । गजलमा भने प्रेमको प्रयोग बढी सुहाउने र राष्ट्रियता कम लेखिने चलन भएकोले खास लेखिदैन र म राम्रो गजलकार हुन सम्भव देख्दिन ।

छन्दमा लेख्न कत्तिको गहारो कुरा हो? यो लेख्न के प्रशिक्षण आदिको जरुरी छ ?

छन्दमा लेख्नु पक्कै पनि बढी गहारो हुन्छ । तर हात बसेपछि र अभ्यासले यसलाई सरल तुल्याइदिन्छ । प्रशिक्षण वा संस्कृत पढेकालाई यो सरल हुन्छ भने नेपाली नपढी विज्ञान, चिकित्सा जस्ता विषय पढेकालाई यो अलिक अप्ठेरो हुन्छ । विवाह र अन्य समारोहमा चुट्का श्लोक बनाउने वा भट्याउने गाउँघरका व्यक्तिहरू अनपढ भएपनि सजिलै उहाँहरूका जीव्रामा बग्थे छन्दहरू अहिले गद्य कविता विधामा गहन शब्द प्रयोग गर्नुहुने कवि तथा रचनाकारहरू भावका हिसावले छन्दमा व्यक्त गर्न कठिन मान्ने र नयाँपुस्ता छन्द र पुरातन लोकसंस्कृतिभन्दा पश्चिमा र हिन्दी साहित्य, गीत संगीत र चलचित्रतर्फ ढल्केकाले पनि छन्दको लालित्यता पछाडि परेको भान हुन्छ । तर सिध्दहस्त कविहरू अहिले पनि सामाजिक सञ्जालहरूमा दैनिक वा दिनको ३,४ वटासम्म मिठा र उत्कृष्ट कविताहरू पस्किनुहुन्छ ।

अर्को कुरा, तपाईं सरल शब्दले गहिरो मर्म प्रस्तुत गर्नसक्नुहुन्छ । त्यो ईश्वरीय देन हो या लेखिसकेपछि केही काटीकुटी र सहयोग लिने आदि गर्नुहन्छ ?

म प्रायशः एकपटक लेख्छु र पछि छन्द भए केरकार र शब्दलाई यताउती मिलाउँछु तर सामाजिक सञ्जाल फेसबुकतिर भने सिधै लेखेर पनि राख्ने गरेको छु र यस्मा त्रुटीहरू विज्ञ साहित्यकारले समात्नुहुन्छ र सुधार्न प्रेरित गर्नुहुन्छ । कथा वा गद्य कविता सरर् लेखेपछि कस्तो भयो भनेर हेरिन्छ तर शुरूमा लेखिएको भाव बरावर सच्याउँदा झन नमिल्ने जस्तो लाग्छ र त्यतिकै छाडीदिन्छु ।

अनि यहाँको लेखन विषयको कुरा गर्दा, समाज, संस्कृति, र राष्ट्रबारेमा रचनाहरू पाइन्छ । के कारणले यिनै परिवेश रोज्नुभएको होला ?

मैले माथि नै भनिसकेँ म समाजवादी विचार वोक्छु र मेरो मनोभाव सोही बमोजिम निर्देशित छ । मलाई लाग्छ जीवनभन्दा राष्ट्रियता र समाज धेरै ठूला कुरा हुन् । संस्कृति र समाज हामीले विसंगतपूर्ण बनाएका छौं यसलाई परिमार्जन गर्नुपर्छ । दाइजो, छाउपडीप्रथा जस्ता विषयले महिला वर्ग आक्रान्त छन् भने किशोरकिशोरीमा प्रेमको गलत परिभाषाले स्थान पाएका छन्, समाज धनी र गरिबको चक्रव्युहमा फसिरहेछ, यस्तैयस्तै विषय हुन मेरा रचना स्रोतहरू । हामीले वारम्बार लेख्ने गर्दा यसमा सुधारका सम्भावनाहरू थपिंदै जान्छन् ।

भूकम्पभएपछि जन्मजिल्ला गोरखालाई उल्लेख गरेर “प्यारो छ रे गोरखा” भन्ने कविता लेख्नुभएको थियो । यस कवितामार्फत कस्तो सन्देश दिन चाहनुभएको थियो?

विभिन्न परिवेश र समस्याका कारण मैले मेरो जन्मथलोबाट केही टाढा हुन परेकाले झन बढी यसप्रति मेरो सद्भाव बढेको र यसको चिनारी कविताका माध्यमबाट अन्य स्थानका वासिन्दामा पनि पुगोस् भन्ने हेतुले लेखेको हुँ । यसको सन्देश भन्नु नै परापूर्वकाल देखिको जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी नै हो, जन्मदिने जननी र जन्मभूमि बरावर अरू केही हुन सक्दैन ।

नेपाली तथा अन्तर्राष्ट्रिय भाषाका साहित्यमा मनपर्ने र प्रेरणा पाएका लेखकहरूको नाम लिनुपर्दा कसलाई सम्झनुहुन्छ ?

भानुभक्त, मोतीराम, लक्ष्मीप्रसाद, लेखनाथ, माधव घिमिरे जस्ता साहित्यकारहरू मनपर्नुहुन्छ भने मलाई विदेशी उपन्यास आमा र त्यसका रसियन लेखक मैक्सिम गोर्की मन पर्छन् । मोदनाथ प्रश्रित, देवी नेपाल, पूर्णविराम, जीवन शर्माहरूका रचनाहरू पनि मलाई खुवै मन पर्छन् ।

फुर्सदमा के-कस्ता कुराहरू गरेर दिन बिताउनुहुन्छ ?

लेखन वाहेक मेरो रूचि वुध्दिचाल तर्फ पनि छ तर चेस खेलेर दिन बिताउन अब उमेरले अलिक दिंदैन । घुम्नु पनि मेरो शोख भित्र पर्छ । नेपालका करिव ५४,५५ जिल्ला पुगेको छु । कर्णाली र अन्य नपुगेका जिल्लातिर जान मन लागेको छ ।

म घरमा आमा, पत्नी र छोरछोरीहरूका लागि पनि समय दिनुपर्ने मानिस भएकाले जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । फुर्सदमा उपन्यासहरू पढिन्थे अहिले कम गरिएको छ कारण सामाजिक सञ्जाल पनि हो । मलाई अमर न्यौपानेका उपन्यासहरू मन परेका छन् । अमर भाइका पानीको घाम, सेतो धरती र करोडौं कस्तुरी पढेपछि मेरो मन चंगा भएका थिए ।

व्यक्तिगत, व्यवसायिक र साहित्यिक जीवनबीच कसरी तालमेल मिलाइरहनुभएको छ?

मलाई व्यक्तिगत जीवनमा मेरी जीवन संगिनीले सघाउने भएकाले सामान्यरूपमा अघि बढिरहेको छु । मैले सामान्य समय निकालेर रचना गर्ने हो । पैसाका अभावले पुस्तक प्रकाशनहरू गरिएको छैनन्, अब छोराछोरीहरूका सहयोगमा रचनालाई जम्मा पारी कविता संग्रह, कथा संग्रह र एउटा उपन्यास प्रकाशन गर्ने विचारमा छु ।

अन्य साहित्यकारहरूसँग भेटघाटहरू गर्ने गर्नुहुन्छ कि?

खासमा त्यस्तो समय त्यति जुर्दैन र म चर्चाका लागि नलेखेर आत्मसन्तुष्टिकै लागि लेखिरहेछु । व्यवशायिकतामा प्रवेश गर्न सकिरहेको छैन । यो मेरो ठूलो कमजोरी हो ।

इन्टर्नेट तथा मझेरी जस्ता साहित्यिक पृष्ठहरूको आवतले तपाईंको लेखलाई के-कस्ता परिवर्तन गरेको छ, हामीसँग अनुभव बाँढ्नुहुन्छ कि!

रचनाको प्रकाशन, संग्रह गरिदिएर पुस्तक प्रकाशन गर्न नसक्ने हामीजस्ता लेखकलाई मझेरीजस्ता इन्टरनेटले हाम्रा पाठकहरू समक्ष पुर्याएको छ । यसका लागि यहाँहरू जस्ता प्रकाशक सम्पादक धन्यवादका पात्र हुनुहुन्छ । अन्य विभिन्न साहित्यिक पेजहरूले हामीलाई अन्य रचानाकार, साहित्यकार तथा कविहरूसँग सम्पर्क बढाएका छन् भने पाठकलाई खुराँक उपलव्ध गराएका छन् । मलाई लाग्छ यहाँहरूले वेबपेज यसमा अग्रणी छ ।

फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरूमा तपाईंको उपस्थिति त्यति देखिँदैन, किन होला ?

समय नमिलेर र आँखाको समस्याले गर्दा हो । मेरो दृष्टिपट ज्यादै जोखिममा छ,धन्य अहिलेसम्म पूर्णरूपमा अन्धो भएको छैन ।

भविष्यमा केही साहित्यिक योजना छन् भने बताइदिनुस् न !

केही पुस्तकहरू छपाउने, धेरै लेखिरहने ने हो ।

तपाईं गत करीब तीन वर्षदेखि नियमित मझेरीमा रूपमा लेख्दै आउनुभएको छ । र करिब साठी रचना यहाँ प्रकाशित गरिसक्नुभएको छ । यी रचनाहरूलाई सामुहिक रुपमा संग्रह गरेर बाहिर ल्याउने बारे सोच्नुभएको छ कि?

एकदमै छ । साभार मझेरी गरेर र अन्य रचनाहरूलाई संलग्न गर्ने विचार छ ।

मझेरीमा अरू लेखकहरूको रचना कत्तिको पढ्नुहुन्छ ? विशेष गरी मन पर्ने लेखक छन् कि ?

पढ्छु । यहाँ धेरै राम्रा र गहकिला रचनाहरू भेटिन्छन् । लघुकथा,कविता, गजल र मुक्तकहरू मझेरीमा पढ्ने गर्छु । मलाई टीका मिलनका छन्दकविता, रवीन्द्र समीरका लघुकथा, होम सुवेदीका निवन्ध तथा कोमल भट्टका गजलहरू मझेरीमा पढ्न मन लाग्छन्, अन्य धेरै स्तरीय साहित्यकारहरू हुनुहुन्छ म उहाँहरूको अवमूल्यन गर्न चाहन्न ।

संसारभरि छरिएर रहनुभएका लेखक-पाठकलाई के सन्देश दिन चाहनुहुन्छ ।

लेखकहरूलाई हामी लेख्दै जाउँ हाम्रा रचनाले संसार वदल्न सहयोग गर्न सक्छन् भन्न चाहन्छु भने पाठक महोदयहरूलाई नेपाली साहित्यको मिठास पान गर्दै निरन्तर लेखक, रचनाकारका गल्ती पहिल्याई सुधारिने मौका दिनुहोस् । सबै लेखकका विचार एकै हुँदैनन् फरक स्वादबाट चौरासी व्यन्जन तयार गरेर सन्तुष्ट बन्नुहोस्, कवि पागल मात्र होइन पागलपनमा डुवेर अमृत निकाल्न प्रयास गर्ने सारथी हो भन्ने ठानिदिनुहोस् भन्ने सन्देश प्रवाह गर्न चाहन्छु ।

साहित्यकारका विचार र भावना परिष्रकृत बनी यो देशमा सुन्दर साहित्यिक वगैंचा निर्माण होस् । देशले छिट्टे निकास पाएर प्रगतिमा लम्केका यी आँखाले हेर्न पाइयोस् । यो देशका होनहार युवाहरू विदेश जनका लागि लाम नलागुन् बरू विदेशीहरू भोलि यो देशमा काम खोज्न आकर्षित बनून् । अस्तु ।

चूडा निर्भीकका रचनाहरू : यता
चूडा निर्भीकका रचनाहरू (संक्षिप्त अंशसहित): यता
चूडा निर्भीकको फेसबुक पेज : यता
चूडा निर्भीकको ट्विटर पेज : यता

7 thoughts on “मझेरी भलाकुसारी, अंक १९ (चूडा निर्भीक)”

  1. सरको कविता मजेरीमा पढ्दै
    सरको कविता मजेरीमा पढ्दै गरेको त हो आज नजिक बाट चिन्ने मौका मिल्यो । उन्नति को सुभकामना छ । धन्यवाद ।

  2. भलाकुसारी पढ्न पाउँदा मख्ख
    मझेरीमा भलाकुसारी पढ्न पाउँदा मख्ख छु । यसका लागि मझेरी सम्पादक/सञ्चालक कुमार सिंखडा र सर्जक निर्भिकको हामी पाठक ऋणी छौं । l like it—— but Kumar sir.. if you keep short voice here..that make it full of joy. लेखकहरूलाई हामी लेख्दै जाउँ हाम्रा रचनाले संसार वदल्न सहयोग गर्न सक्छन् भन्न चाहन्छु भने पाठक महोदयहरूलाई नेपाली साहित्यको मिठास पान गर्दै निरन्तर लेखक, रचनाकारका गल्ती पहिल्याई सुधारिने मौका दिनुहोस् । सबै लेखकका विचार एकै हुँदैनन् फरक स्वादबाट चौरासी व्यन्जन तयार गरेर सन्तुष्ट बन्नुहोस्, कवि पागल मात्र होइन पागलपनमा डुवेर अमृत निकाल्न प्रयास गर्ने सारथी हो भन्ने ठानिदिनुहोस् भन्ने सन्देश प्रवाह गर्न चाहन्छु ।

  3. चुडा निर्भिक सर छलफल राम्रो
    चुडा निर्भिक सर छलफल राम्रो लाग्यो । तपाई को कविताहरु नियमित पढ्ने गर्छु । राम्रा कविताहरु लेख्दै जानु होला
    Manju Pariyar

  4. चूडाजी चित्त बुझ्दो वार्ताको
    चूडाजी चित्त बुझ्दो वार्ताको प्रकरणका लागि धन्यवाद । राजनीतिक अास्था एकै र अास्था राखिएकाे राजनीतिकाे स्खलनमा हामी एकै विचार बाटाे र पाटोका रहेछौ‌ । यो पनि यसैबाट जान्न पाएँ । धन्य भएँ । धन्यवाद । हामी पारस्परिक पाठक रहेछौ यो पनि यही‌बाट थाहा पाएँ ।

  5. चूडा निर्भीकजीलाई समय मिलाएर
    चूडा निर्भीकजीलाई समय मिलाएर अन्तर्बार्ता दिनुभएकोमा धन्यवाद र प्रतिकृया दिनुहुनेहरूलाई पनि धन्यवाद । वहाँको साहित्यिक यात्रा अरू बढोस्, शुभकामना । मिठा मिठा रचनाहरू अरु पनि पढ्न पाइयोस् ।

  6. मझेरी भलाकुसारी
    मझेरी वेवपेज र यसका सन्चलक तथा प्रकाशकज्यूहरू तथा यसपेजमा मेरो भनाइ पढ्रने र प्रतिकृया व्यक्त गर्नु हुने महानुभावहरूमा हार्दिक धन्यवाद छ ।

  7. यो सुन्दर साहित्यिक भलाकुसारी
    यो सुन्दर साहित्यिक भलाकुसारीका निम्ति चुडा निर्भिकज्यू र मझेरीलाई धेरै धन्यवाद छ
    शरण आँसु

Leave a Reply

Your email address will not be published. Required fields are marked *