Skip to content

अग्रगामी परिवर्तनका लागि क्रान्तिको ‘शङ्खघोष’


‘शङ्खघोष’ नामक प्रस्तुत पुस्तक झाका नौवटा निबन्धहरूको बिटो हो । यसमा समेटिएका सबै निबन्धहरू निजात्मक, आत्मपरक र साहित्यिक पाराका छन् । प्रत्येक निबन्धहरू आ–आफ्नै किसिमले पत्रात्मक ढाँचामा लेखिएका छन् । कसैलाई सम्बोधन नगरी पत्र हुन्न । यसमा रहेका प्रत्येक निबन्धमा कसै न कसैलाई सम्बोधन गरिएकै छ । रचना सम्बोधनात्मक हुनाले जसलाई सम्बोधन गरिएको हुन्छ उसैलाई माध्यम बनाएर सबै कुराहरू भनिएको हुन्छ । यस प्रकारको प्रस्तुतिमा आत्मीयता, निकटता र विश्वसनीयता प्रकट हुन्छ । यी विशेषता प्रस्तुत सँगालामा समेत प्रशस्तै पाइन्छन् ।

‘यत्र नार्यस्तु पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताको वास हुन्छ’ भन्ने मान्यताले ओतप्रोत भई अखबारी र साहित्य लेखनमा सक्रिय सर्जक करूणा झाको सद्य निबन्ध कृति ‘शङखघोष’ प्रकाशमा आएको छ । यो विशेष गरी महिला मुक्तिका आवाजहरू घन्काइएको निबन्ध सङ्ग्रह हो । २०६२ सालदेखि अनवरतरूपमा साहित्य र सञ्चारसंसारमा जुटेकी झा ‘भगजोगिनी’ (२०६८) नामक कविता सङ्ग्रह साझा प्रकाशनबाट प्रकाशन गरेर मैथिली साहित्य संसारमा उदाएकी थिइन् । ‘शङ्खघोष’ नामक निबन्ध सङ्ग्रहमार्फत् भने पत्रात्मक शैलीका निबन्ध लेखनबाट नेपाली साहित्यकाशमा जगमगाउने दाउमा देखिन्छिन् । सुरिलो स्वरकी धनी झा सप्तरी जिल्लामा उम्दा संचारकर्मीको रूपमा समेत चिनिन्छिन् । ‘शङ्खघोष’ मार्फत महिला आवाज, युगसुहाउँदो शैक्षिक संस्कार, मातृभूमिप्रति श्रद्धा प्रकट, युवा सक्रियता÷नेतृत्वको आवश्यकता र सहकारीप्रतिको घतलाग्दो दृष्टिकोण व्यक्त भएको देखिन्छ ।

यसमा सँगालिएको पहिलो निबन्ध ‘आशीर्वादमा’मा पितामातालाई सम्बोधन गर्दै आफूमा भएको अहङ्कार त्याग गर्न चेतावनी दिने माध्यम पत्रलाई बनाएको कुरा देखाइएको छ । सखीलाई सम्बोधन गरिएको दोस्रो निबन्धमा मधुश्रावणी पर्व बारे जानकारी दिँदै संस्कृतिको नाममा धार्मिक हिंसा गर्न नहुने कुरा लयात्मक भाषामा व्यक्त गरिएको छ । तेस्रो निबन्ध समाज सुधारक अभियन्तालाई सम्बोधन गरी नारीलाई मानव नठान्ने प्रवृत्तिप्रति आक्रोश पोखिएको छ । चौँथो पत्र राजनैतिक वेथितिसम्बन्धी भएकाले मसिहाज्यूलाई सम्बोधित छ र यसमा नेताले आफ्नोपन र आफ्नो भूमिलाई आधार बनाएर काम गर्नुपर्ने कुरा दर्शाइएको छ । शिक्षा विषयको पाँचौं निबन्धमा गुरूलाई सम्बोधन गरी शिक्षा क्षेत्रमा शिक्षकको भूमिका गहकिलो नभएकोमा असन्तुष्टि व्यक्त गरिएको छ । अभिभावकज्यूलाई सम्बोधन गरेर लेखिएको छैठौं निबन्धमा आजका युवा वर्गलाई मुख्य विषय बनाइएको छ र युवालाई काम गर्न दिनुपर्ने आवाज घन्काइएको छ । शिक्षाविद्ज्यूप्रति उद्दिष्ट सातौं निबन्धमा शैक्षिक प्रशासन र शैक्षिक प्रणलीमा सुधार र परिमार्जन हुन ढिलो भइसकेको कुरा दर्शाइएको छ । सहकार्य हितैषी मित्रलाई सम्बोधन गरिएको आठौं निबन्धमा सहकारी बारे इतिवृत्ति प्रस्तुत गरिएको छ । यसमा विशेष गरी आर्थिक र सामाजिक विकासका लागि सहकारी वरदान सावित हुने कुरा उठाइएको छ । नवौं निबन्धमा राष्ट्रवादी महोदयलाई सम्बोधन गरी सामाजिक सद्भाव र एकताका कुरा उठाउने काम गरिएको छ ।

समग्रमा भन्नुपर्दा उपर्युक्त सबै निबन्धहरूमा निजात्मकताको गहिरो छाप छ । सबै निबन्धमा ‘म’को कथन भएकाले निजी अनुभूतिको अभिव्यक्ति प्रखररूपमा व्यक्त भएको छ । निजात्मकताका कारणले निबन्धहरूमा मौलिक चिन्तन मात्रै प्रकट भएको छ । निबन्धकारको निजी अनुभूतिले सबैमा भिन्नाभिन्नै स्वाद उत्पन्न भएको छ । मुलत: मैथिल समाजकी एक चेलीले हिन्दी भाषामा उच्च शिक्षा प्राप्त गरी र मैथिली भाषाकी संचारकर्मी रहँदै नेपाली भाषामा साहित्य लेख्नु र सङ्ग्रह प्रकाशन गर्न सक्नु महत्वपूर्ण सफलता हो भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

कृति : शङ्खघोष,
निबन्धकार : करुणा झा,
भाषा सम्पादन : नन्दलाल आचार्य,
संस्करण : २०७० पहिलो,
मूल्य : रु ५०।–,
प्रति : १०००,
कम्पोजिङ्ग : शम्भुप्रसाद चौधरी,
प्रकाशक : (अध्यक्ष, शैलेन्द्रमोहन झा) छिन्नमस्ता एजुकेशनल एकेडेमी प्रा.लि., राजविराज फोन नं. ०३१–५२२८३०

–नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *