खुल्ला नराख दिलमा कोही पस्न सक्छ
यति नजिक नआऊ माया बस्न सक्छ
बन्द गर ओँठ तिमी बन्द गर हाँसो
यो हाँसोमा अल्झिएर कति फस्न सक्छ
एकान्तले छुँदा खेरी एक्लै हुँदा खेरी
शुन्यतामा सम्झनाले मुटू डस्न सक्छ
इमान्दार हुन्नन् सबै हुन्न साधु जोगी
खरानी त जो कसैले पनि घस्न सक्छ
हृदयमा राख्ने गर्नु आफ्नो मान्छेलाई
आँखाबाट कुनै पनि बेला खस्न सक्छ