Skip to content

“अमेरिकामा आमा” उपन्यास एक दृष्टि

20160312_BasantaShrestha-Lekh


भारती गौतम नेपाली साहित्यिक आकाशमा कुनै नौलो नाम होइन । उनका “आकाश माथिको शहर” कविता संग्रह (ई.सं.२००७) र “स्मृतिमा भिमु” संस्मरणनात्मक निबन्ध संग्रह (ई.सं. २०१०) अत्यधिक चर्चामा आउन सफल पुस्तकहरू हुन् ।

उनको नविनतम कृति “अमेरिकामा आमा” लेखिकाको सौहार्द्तामा र साहित्यकार मित्र गोविन्द गिरी प्रेरणाको सौजन्यतामा पढ्ने अवसर प्राप्त गरें । करिब पाँच सय पेजको गहकिलो यो उपन्यास एकै बसाइमा पढ्न नसकिने भएता पनि उपन्यासको शैली, रोमान्चपूर्ण विवरण र मिठो उपमाहरूको मिश्रणले पुस्तक अत्यधिक रुचिका साथ् चाडो चाडो पढी सक्न कुनै पनि पाठकलाई आतुर पार्दछ । यो टिप्पणीकारले आफ्नो परिवारका साथ् अमेरिका प्रवासमा दुई दशकको अनुभव प्राप्त गरिसकेको कारणले यस उपन्यास भित्रका धेरै बर्णनहरू आफ्नै जस्तो लागेर पनि पुस्तकबारे यो टिप्पणी लेख्न उत्सुकता जागेको हुनसक्छ ।

यस उपन्यासका लेखिका भारती गौतमका पति डा. शिब गौतमले हार्भर्ड विश्वविद्यालयमा नियुक्ति प्राप्त गरेपछि उनको सम्मानमा सन् २००३मा एक “सम्मान तथा कवि गोष्ठी” कार्यक्रमको आयोजना भएको थियो । वाशिंगटन डिसी को माउन्ट एभरेस्ट रेस्टुरेन्टमा सम्पन्न सो विशेष कवि गोष्ठीको आयोजना वाशिंगटन डिसीस्थित “नेपाली कवि तथा लेखक साहित्य प्रतिष्ठान”ले गरेको थियो । डा. शिब गौतम स्वयं एक स्थापित तथा लोकप्रिय कवि हुन् । यो पुस्तक पढ्दै गर्दा त्यो जमघटको पनि सम्झना आयो र यहाँ उल्लेख गर्न सान्दर्भिक ठाने ।

“अमेरिकामा आमा” एक सस्मरणात्मक उपन्यास हो । यो उपन्यास लेखिकाको परिवारले अमेरिकामा तिस वर्ष बिताएको सुख दुख घटनाहरूको वृतान्त हो । लेखिकाको परिवारको प्रवासमा भएका घटनाहरूलाई सस्मरण लिपिबद्ध भए ता पनि यो पुस्तक भित्रका यथार्थ घटनाहरू प्रवासमा जीवन यापन गर्ने सम्पूर्ण परिवारको कथा हो भन्ने मलाई लाग्दछ । यो उपन्यासलाई दुई शब्दमा परिभाषित गर्ने हो भने सम्पूर्ण आमाहरूले आफ्नो परिवार प्रति गरेको त्याग, तपस्या, समर्पण र बलिदानको कथा हो यो पुस्तक । यो उपन्यासले सम्पूर्ण नारी जातिको महानताको ब्याख्या गरेको छ । अँझ बढेर भन्ने हो भने यो उपन्यास नारीवादी उपन्यास हो । जसमा एक नारीले आफ्नो परिवार र आफ्नो पतिको सुख र सफल भविष्यको लागि पटक पटक आफ्नो इच्छा, आकांक्षा, रहर, सपना र उज्ज्वल भविष्यलाई बलिदान गर्दछिन । पितृसत्तात्मक समाजमा पुरुषको सफलता, सुख शान्ति र उन्नतिको लागि महिलाले आफ्नो सम्पूर्ण जीवन न्योछावर गर्नु पर्ने बाध्यता र त्यसको कहरको सानो उदाहरण पनि मान्न सकिन्छ यो पुस्तकलाई । हामी प्रवासीको लागि हाम्रो यो सामाजिक संरचना एउटा ठुलो चुनौती हुन् पुगेको जस्तो मलाई लाग्दछ ।

प्रवासमा यस प्रकारको विभेद परिस्थिति र बाध्यताले जन्माएको हुन्छ भने उता हामीले छोडेर आएको घरगाउँमा यही स्थिति पुरातनवादी सोच र मान्यताको परम्पराको जड्ले प्रश्रय पाएको कारणले हुन्छ । अँझ पनि हाम्रो समाजमा यस्ता संकीर्ण भावना र संस्कार बिधमान छदैछ ।

यस अघि मैले कुनैपनि सस्मरणात्मक उपन्यास पढ्ने अवसर पाएको थिइन । यो कृतिलाई यथार्थपरक कृति होभन्दा केही फरक पर्दैन । उपन्यासभन्दा पनि यथार्थपरक सस्मरणात्मक ग्रन्थ भने पनि अन्यथा नहुने जस्तो लाग्दछ ।

भावी पिंढीको लागि यो कृति एक ऐतिहासिक दस्ताबेज हुनसक्छ भने भर्खर भर्खर प्रवासी बन्न आइपुगेका नेपालीको निम्ति ज्ञानको भण्डार हुनसक्छ ।

प्रत्येक अक्षर अक्षरमा उपमा मिसाएर लेख्न सक्ने लेखकीय शैली मैले अन्य कुनै पुस्तकमा पढेको छैन । प्रत्येक घटना परिघटनालाई सम्प्रेषणयुक्त र मिठास भर्नको लागि प्रयोग गरिएको उपमाले उपन्यास साच्चीनै घतलाग्दो लाग्दछ । यो पुस्तकलाई नेपाली शब्दको उपमाको भण्डारभन्दा पनि हुन्छ । यसबाट लेखकको ज्ञान, विद्वता र कौशलताको उजागर गर्दछ । त्यसैले पनि यो पुस्तक पठनीय, संग्रहनीय र विशिष्ट छभन्दा अत्युक्ति हुदैन ।

“अमेरिकामा आमा”को मुख्य मुद्दा नै आमाले परिवारको लालन पालन मै नतमस्तक बनेर आफ्नो सामर्थलाई बन्धक राख्दै परिवारको सुख, समृद्धि र प्रगतिको लागि आफ्नो सिप र ज्ञानलाई परिवार भित्रै सीमित राख्नु पर्ने बाध्यता नै मुख्य सार जस्तो लाग्छ । तर यो उपन्यास एउटी आमा र एउटा परिवारको मात्र नभएर सम्पूर्ण प्रवासीको परिवारको यथार्थता होभन्दा अत्युक्ति नहोला । यसमा सिर्फ नारिको विवशताको झल्को मात्र छैन उनको समर्पण, सामर्थता र तपस्याको देन र गरिमाको यथार्थता हिमाल झैं उच्चा गरेर उजागर गरेको तथ्य प्रकट हुन्छ ।

यो उपन्यासले अमेरिकाको सामाजिक र सास्कृतिक चांड पर्वहरूलाई हाम्रो आफ्नै सास्कृतिक परम्पराहरूसँग दाँजेर प्रस्तुत गरेर पटक पटक हामीलाई आफ्नै गाउँ ठाउँ सम्झन बाध्य पार्दछ । हाम्रो गाउँ घरमा प्रचलित उखान, कहावत र उपमाको प्रयोगद्वारा परिश्थितिलाई प्रष्ट्याउनु यो उपन्यासको अर्को बेजोड प्रस्तुति हो । यसले पाठकहरूलाई धेरै मनोरंजन गराउदछ ।

“अमेरिकामा आमा” को अर्को विशिष्टता हो सुरुवात र अन्तलाई एकै घटनाले सफलतापूर्वक जोड्न सक्नु । शुरु भएको घटनालाई नै उपन्यासको अन्तमा ल्याएर नाटकीय तवरले जोड्न सक्नु लेखकको ठुलो खुबी हो । यसले लेखकको लेखन प्रतिभालाई सबैको सामु छर्लंग पारेकोछ ।

उपन्यासले एउटा परिवारको रहन सहन बसाई सराईको विभिन्न मोडमा आएको घटनालाई मात्र समेटेको भएतापनि यसले अमेरिकाका विभिन्न सात वटा शहरहरूको सामाजिक, सांस्कृतिक, भौगोलिक बाताबरण र पर्यटकीयस्थलहरूको राम्रोसँग पाठकलाई जानकारी समेत गराएकोछ ।

करिब तिस वर्ष अघिका एक एक घटनालाई सिलसिलाबद्ध रुपमा प्रस्तुत गर्ने क्षमता अनि त्यसलाई इमान्दारी पूर्वक पाठक समक्ष प्रस्तुत समेत गर्नु कम साहसिक कुरा होइन । अँझ ती प्रत्येक घटनालाई गाउँघरका ठेट अनि प्रचलित उपमासँग जोडिदिएर उल्लेख गर्न सक्नु बास्तव मै एक उत्कृष्ठ र मिठासपूर्ण साहित्यिक रचनाको नमुना हो भन्ने मलाई लाग्दछ ।

यस उपन्यासको अर्को विशेषता हो अमेरिकाको सात वटा राज्यमा बसाई सराईको विवरण कथा यहाँ उल्लेख मात्र गरिएको नभै ती राज्यहरूका प्रमुख स्थान र सामाजिक पर्वहरूको बारेमा विस्तृत रुपमा जानकारी प्रदान गरेकोछ । लेखिकासँगै हामी पाठक पनि ती सातवटै राज्यको बासिन्दा हुन् पुग्छौ ।

“म्युजिक सिटी नै उपनाम भएको न्यासभिलमा पाइला हालेदेखि नै सङ्गित सम्झाउने केही न केही देख्दा सङ्गीतको स्टेजमा पसे जस्तो लाग्थ्यो । मेरी बहिनीले जन्म लिनु पर्ने शहर मेरो हृदयले भन्यो । बहिनीसँग भेट भए जस्तो लाग्यो ।” यस उपन्यास भित्र धेरै चर्चा गरिएकी र सम्झिएको पात्र हुन् लेखिकाको बहिनी । बहिनीसँगको सम्झनाको घटनाहरू धेरै पटक उल्लेख गरिए ता पनि बहिनीको अल्पायु मै कसरी अनन्त यात्राको तय भएको घटना कुशल लेखिकाले धेरै पछि नेपालको यात्राको बेलामा मात्र उल्लेख गरेकी छिन ।

आफ्नो प्यारी बहिनी आरतीको मृत्युको कारण र अवस्थाको बारेमा जान्न उत्सुक पाठकले सो जिज्ञासाको उत्तर धेरै पछि मात्र अनि थोरै जानकारीबाट मात्र प्राप्त गर्छन । तर पाठकलाई धेरै समयसम्म जिज्ञासु बनाउन लेखिका अत्यधिक सफल छिन ।

यस उपन्यासको अर्को महत्वपूर्ण पाटो बच्चाहरूको बाल मनोबैज्ञानिक असरको विश्लेषण । जागिरको सिलसिलामा अमेरिकाको थुप्रै राज्यमा सर्नु पर्ने बाध्यता र त्यसको परिणामस्वरूप छोरा छोरीले स्कुल परिवर्तन गर्नु पर्दाको असर । छोटो छोटो समयमा थुप्रै स्कुलको परिवर्तनले गर्दा संधै नौलो बन्नु पर्ने नियति अनि नयाँ साथी बन्न बन्न आटेको समयमा फेरि त्यो स्कुल छोडेर जानु पर्ने छोराछोरीको बाध्यता को पीडापूर्ण मानसिकताको उल्लेख गरिएकोछ । यसरी बाल मनोबैज्ञानिक असर को तितो यथार्थ को विश्लेषण समेत पाठकले पाउन सक्छन ।

“अमेरिकामा आमा” उपन्यास बारे आफ्ना केही व्यक्तिगत धारणाहरू पनि म उल्लेख नगरिरहन सक्तीन ।

उपन्यासमा आफ्नो परिवार बाहेक बहिनी आरतीको चर्चा पछि धेरै चर्चा र सम्झना गरिएको अर्को पात्र उनको बुबा । प्राय हरेक नयाँ घरमा बुबाले दिनु भएको पशुपतिको चाँदीको तस्वीर राखेर घर सजाउन मन पराउने लेखीकाले आफ्नो बुबाको विद्वताको बारेमा केही लेखेर पाठकलाई उहाँ बारे जानकारी गराउनु भए बेस हुन्थ्यो । किनकि वहांको बुबा प्राध्यापक स्व. हेमचन्द्र पोख्रेल पूर्वान्चल क्षेत्रको मात्र न भै नेपाल कै एक प्रतिभाशाली विशिष्ट विद्वान व्यक्तित्व थिए । उनका थुप्रै विशेषता मध्ये म यहाँ केही मात्र विशेषताहरू पाठकको जानकारीको लागि उल्लेख गर्ने द्दष्टता गर्दछु । द्दष्टता किनभने उनकै छोरीले यहाँ उल्लेख नगरेको कुरा मैले उल्लेख गर्दैछु । स्व. हेमचन्द्र पोख्रेल नौ विभिन्न भाषाका ज्ञाता मात्र थिएनन धाराप्रवाह बोल्न सक्दथे, औषधी विज्ञानको गहिरो ज्ञान उनमा थियो, प्रखर कवि र साहित्यकार थिए, महाकवि देवकोटाको लक्ष्मी निबन्ध संग्रहको हिन्दीमा रुपान्तरण गरेका थिए जुन प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पनि भएकोछ । यसको साथै शाकुन्तल महाकाव्यको जटिलतालाई हृदयङ्गम गरेर अर्थ र टिप्पणी सहितको पुस्तक “शाकुन्तल-शब्दार्थ संचय” लेखेका थिए । नेवारी भाषाका महाकवि चित्तधर हृदयको “सुगत सौरभ” महाकाव्यको बारेमा नेवारी भाषामा धाराप्रवाह प्रबचन काठमाण्डौमा दिएका थिए । हेमचन्द्र पोख्रेलले धेरै वर्षसम्म रेडियो नेपालमा नियमित रुपले धार्मिक प्रबचन समेत दिएका थिए ।

चार दशकभन्दा बढी धनकुटा बहुमुखी क्याम्पसको प्राध्यापक भै नेपालको क्षिक्षा क्षेत्रमा आफ्नो शिप, मिहिनेत र लगनशीलताको योगदान गरेका विद्वान प्रा. हेमचन्द्र पोख्रेलको बारेमा धेर थोर पाठकलाई जानकारी दिनु पर्ने थियो भन्ने मलाई यो पुस्तक पढ्न थाले देखि अन्तसम्म लागिरह्यो ।

अर्को यो उपन्यासमा रहेका थुप्रै घटना, चर्चा परिचर्चालाई छोट्याएर यस पुस्तकको गुणस्तरमा कम हुन् नदिई अलिक थोरै पृष्ठको बनाउन सकिन्थ्यो होला र त्यसो हुनु पर्थ्यो कि जस्तो पनि लाग्न पुग्यो ।

समग्रमा भन्नुपर्दा “अमेरिकामा आमा” नेपाली साहित्यको सस्मरणात्मक सिर्जना विधामा एउटा दरिलो र ससक्त उपश्थिति हो । यसले सम्पूर्ण पाठकको मन जित्न अवश्य सफल हुन्छ भन्ने मलाई लाग्दछ । यो उपन्यास पठनीय र संग्रहनीय पनि छ ।
अन्तमा यस कृतिका लेखिकाले नेपाली साहित्य आकासमा अँझै राम्रा र स्तरीय कृतिहरू ल्याउन सफल होउन यही नै मेरो कामना छ ।
धन्यवाद !

वसन्त श्रेष्ठ
भर्जिनिया, अमेरिका
०२/१७/१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *