Skip to content

सूर्य, पृथ्वी अनि दिन र रातलाई धन्यवाद

धन्य सूर्य, धन्य पृथ्वी, धन्य दिन, धन्य रात । यी सबैलाई किन धन्यवाद दिए ? साच्चै प्रश्न उठ्न सक्ने कुरो हो । यहाँ प्रश्न उठ्न सक्ने कुरो पनि छ । वास्तवमा सूर्य, पृथ्वी, दिन, रात सबैलाई धन्यवाद दिनै पर्छ । सृष्टिलाई निरन्तरता दिन यी सबैको भूमिका त्यति नै महत्वपूर्ण रहेको छ । चाहे त्यो बोट विरुवा होस् वा जीवजन्तु वा मानव नै । सूर्यको प्रकाशले उज्यालो दिन्छ र दिन हुन्छ । दिनमा मानवले आफूलाई आवश्यक पर्ने वस्तु जुटाउने, उत्पादन गर्ने भनौ आफ्ना आवश्यकताका पूर्तिका लागि उपभोग गर्दछ । त्यो कहाँ गर्दछ त ? भन्ने सम्बन्धमा त्यो काम गर्ने स्थान त वास्तवमै पृथ्वीमै गर्दछ । पृथ्वीले जन्माउछिन्, त्यहीको जल पिलाएर त्यही अनाज उत्पादन गराएर खुवाएकी हुन्छिन । हो, हामी पृथ्वीमै रहेको छौं । हामीले सम्पूर्ण आवश्यकता पृथ्वीबाट प्राप्त गरिरहेका छौं । वास्तवमा भन्नु पर्दा खाने हरेक वस्तुदेखि लिएर उड्न हवाइजहाजसम्म पनि पृथ्वीमै रहेको वस्तुबाट तयार भएको हुन्छ । त्यसमा कैयौं विद्वानहरूको बुद्धि लाग्यो त्यो पनि महत्वपूर्ण कुरा नै हो । तर त्यो बन्न आवश्यक सामग्री, त्यसलाई चाहिने इन्धन, सबै पृथ्वीबाटै प्राप्त भएको हुन्छ । तर यो पनि भन्नु होला सबै वस्तु पृथ्वीबाट मात्र प्राप्त हुँदैन । त्यस्ता अरु वस्तु पनि छन्, जुन पृथ्वीमा छैन । हो त्यो कुरा म स्वीकार्छु । के मैले त्यो नाम लिन बिर्सेको छु र ? हो, तपाईले त्यही कुरा उठाउनु हुन्छ भनेर त मैले धन्य सूर्य पनि भनेको छु नि ! वास्तवमा सूर्यबाट हामीलाई शक्ति प्राप्त हुन्छ । जसबाट विभिन्न मेसिन, गाडी चलाउन, बत्ती बाल्ने, सोलार हिटरदेखि प्रविधिका सामान समेत चलाउन सक्छौ । त्यो मात्र हैन सूर्यलाई त अति ठूलो धन्यवाद दिने ठाउँहरू छन् यहाँ । रुख विरुवालाई खाना बनाउन त सूर्यको प्रकाश नभई हुँदैन । हामी प्राणी हौँ र खाद्यान्न नखाई बाँच्न नसक्ने । बोटविरुवाबाट हामीले खाने अनाज प्राप्त हुन्छ । चाहे त्यो गहुँ होस् या धान, मकै होस् या कोदो, जौ होस या जई । ती सबै बोट विरुवामै फल्दछन् । त्यसको अलावा तागतिला फलपूmल नि बोट विरुवाले नै दिन्छन् । बोट विरुवाले हामीलाई जन्मेदेखि मृत्यूसम्मका हरेक क्षणको आवश्यक पूर्ति गर्न मद्दत पु¥याइरहेको हुन्छ । रुख विरुवाले अक्सिजन नदिने हो भने हामीले स्वास फेर्ने अक्सिजन कहाँबाट पाउने ? कि पानीमा भएको (ज्द्दइ) बाट हाइड्रोजन र अक्सिजन छुट्याएर हावा बनाउने टेक्नोलोजीको विकास गरेर । त्यो त भयो पृथ्वी र सूर्यको कुरो, त्यसलाई पनि धन्यवाद ! अर्को धन्यवादको पात्र दिन पनि हो । दिनमा उज्यालो हुन्छ । संसारका कुरा देख्न पाइन्छ । निर्धक्कले घुम्न फिर्न पाइन्छ । कसैले तर्साउन सक्दैन । उज्यालो सबैको हो । अध्यारो त डाँका, फटाहा अनि लुटेराहरूको हो । हत्याराहरूको हो । बलत्कारीहरूको हो । दिन भनेको सम्पूर्ण मानवहरूको जीवजीवात्माहरूको हो । त्यहाँ लाटेकोसेरो हुँदैन, बासमै चराहरूको हत्या मच्याउने । खोरमै कुखुरा चोर्ने स्यालहरूको राज हुँदैन । सम्साँझै बाख्रा तान्ने चितुवाहरू हुँदैन । तर यो चाँहि भन्न मिल्दैन । उज्यालोमा पटक्कै हत्या भएको छैन, बलात्कार भएको छैन, कोही लुटिएका छैनन् । निर्धक्कसँग सबै हिड्न सकेका छन् । तर पनि भन्नु पर्दा ‘दिन हाम्रो हो रात अरुको ’ भन्ने उक्ती अनुसार भनेको हो । तरपनि मैले भन्ने खोजेको दिन त उज्यालो हो । उज्यालो त रातमा बत्ति बल्दा पनि हुन्छ नि । के त्यसलाई पनि दिन भन्ने त भन्नु होला । मैले भन्ने खोजेको कुरा उज्यालो त्यो पनि हैन । तपाई हाम्रो चर्मचक्षुले देख्ने उज्यालो पटक्कै हैन । तपाईको भित्री आँखाले देख्ने उज्यालो यो चाहिँ अवश्य भन्नु हुन्छ होला । आँखा त दुइटा हुन्छन त्यो त मान्दछु तर भित्री र बाहिरी भनेको के हो नि ? आँखाको परेला (ढकनी) जति बाहिरी आँखाको गेडी चाँहिभित्री आँखा भनेको हो त । त्यो चाँहि पटक्कै हैन । मैले भनेको भित्री आँखा त ज्ञान हो । ज्ञानको उज्यालो न दिन न रात सधैँ चम्किरहन्छ । के कहिल्यै रात पर्दैन त । हो ज्ञानमा कहिल्यै रात पर्दैन अनि पर्नु पनि हुँदैन । तर बुद्धि भ्रष्ट भयो भन्छन नि, हो त्यो बेला रात पर्छ, अध्यारो हुन्छ । सबैतिर कालोले ढाक्छ । कतै केहीँ देख्दैन । अनि ठूलो खाडलमा पर्छ ।
यस्तो कालो अध्याँरो भन्दा भन्दै पनि किन रातलाई धन्यवाद भने होला भन्ने विषयमा पनि प्रश्न उठ्न सक्छ । वास्तवमै भन्नु पर्दा हामी उज्यालोमा दिनभरि काम गर्छैं । कामले थकान लाग्छ, थकान मेटाउने पनि एउटा निश्चित समय चाहियो नि ! त्यो पनि प्रकृतिले निश्चित गरकोछ, त्यो हो रात । दिनभरीको थकान अनि घरपरिवार छोराछोरीबाट बिछोडिएर कमाउन, काम विशेष बाहिरिएको हुन्छ । जब रात पर्छ आफ्नो घरतर्फ फर्कन्छ दिन भरि छुटेको परिवारसंग भेटघाट हुन्छ । बिहान सबेरै उठेर आ–आफ्नो काम विशेष, कोही जागिर, कोही खेतिपाती, बन्दव्यापार जान्छन् । कोही विद्यालय, कलेज गएपनि बेलुका त सबै एकै ठाउँमा जमघट हुन्छन् । यो त्यही रातले नै गराएको हो । त्यो भन्दापनि ठूलो कुरो त पतिपत्नीहरू मायापिरतीमा गाँसिन्छन् । दिनभरी बिछोडिएर पनि रातमा एकै ठाउँमा बिताउछन्, माया साटासाट गर्छन । भोलिपल्ट बिहानै छुटिएर टाढिनु परेपनि त्यो रातको समयमा त नजिक बन्दछन् । हो दिन जति महत्व छ रातपनि त्यतिनै महत्व छ ।
आज म सूर्य पृथ्वी, दिन रातलाई किन धन्यवाद दिँदैछु भने विषयतिर जाँदा म कहाँ छु भन्ने कुरा उल्लेख गर्नै पर्छ । म आफू जन्मेको भूमि नेपालभन्दा पश्चिम अर्थात अफ्रिका महादेशको पनि सुदुर पश्चिमी मुलुक सियरालियोनमा रहेको कुरा अवगत गराउँदछु । नेपाल र सियरालियोनको स्थानीय समय ५ घण्टा ४५ मिनेटको को फरक रहेको छ । त्यो भन्नु पर्दा पश्चिम र पूर्वका समय के कस्ता हुन्छ भूगोल सम्बन्धी ज्ञान भएकालाई त अवश्य थाहा छ । अरुले पनि अड्कल लगाउन सक्ने कुरा हो । सूर्य पूर्वबाट उदाउने हुँदा पूर्वतिर छिटो उज्यालो हुन्छ र पश्चिमतिर ढिला हुन्छ भन्ने कुरा प्रायः सबैलाई थाहा नै हुन्छ । यो भएपनि यहाँ मध्यदिन हुँदा नेपालमा रातपरिसकेको हुन्छ । यसरी नै हुने समयका फरकले एउटै समयमा एउटै पृथ्वीमा बस्ने मानवले पनि विभिन्न अवस्था भोगिरहेका हुन्छन् । यस अर्थमा पृथ्वीको एक भागमा दिन हुँदा अर्को भागमा रात परिरहेको हुन्छ । यस अर्थमा सूर्यको प्रकाश छेकिने तर्फ रात हुन्छ भने देखिनेतर्फ दिन ।
तर पनि मेरो तत्कालीन कार्य क्षेत्र सियरालियो र मेरो जन्मभूमि नेपालमा रहेका मेरो परिवार श्रीमती, छोरी, बाबु, दाजुभाइ रहेको ठाउँको यादले नै यो समय, सूर्य, पृथ्वी, दिन, रातको ख्याल आएको हो । घरपरिवार श्रीमतीसँग बिछोडिँदा मन घर तर्फनै हुन्छ । यसबेला मेरी श्रीमती के गर्दै होली, मलाई सम्झदैँ होली कि सपना पो देख्दैछे कि ? छोरी बाबा कहिले आउने भनेर ममीलाई सोध्दैछे कि ? अनेकका तर्कनाहरू तरङ्ग आइरहन्छ । मेरो नाडीको घडीमा स्थानीय समय रातको ११ बजिसकेको हुन्छ । बल्ल मेरो सुत्ने तरखर सुरु हुन्छ । उता घरमा आफ्नी पत्नी हत्तार–हत्तारले उठ्दै होली । कि पानी लिन धारा, कुवामा लाइन बस्न पुगिसकी । आफू उठ्ने बेलामा मध्ये दिनमा आफ्नो कार्य व्यस्तता मै हुन्छे । आफूले दिनको खाना खाने समयमा आफ्नी पत्नी छोरी र परिवारको बेलुकीको खाना खुवाउने तरखरमा व्यस्त हुन्छे । हो, एउटै पृथ्वीमा एकै समय सूर्यको उपस्थिति भनौ या पृथ्वीले गर्ने परिक्रमाले फरक परेको समयले मानिसलाई कार्य गर्ने तर्तीवमा फरक पार्दो रहेछ । एउटै समयको अवधिमा पनि कतै सुत्ने बेला, कतै उठ्ने बेला, कतै खाना खाने बेला, कतै हिड्ने । त्यही समयमा कतै दिन, कतै रात ।
जे भएपनि पृथ्वी, सूर्य, दिन, रात तिमीहरूलाई मुरी मुरी धन्यवाद । तिम्रो उपस्थिति सदा निरन्तर कतै कहिल्यै नरोकियोस् ! कसैले रोक्न पनि नसकोस् । सियरालियोनको मोयम्बा स्थित सैनिक क्याम्पको कोतगार्ड डिउटीले मध्य रात बाह्र बजेको घण्टी हान्यो । म आफ्नो कलमलाई बन्द गर्दै रात्रिको आराममा लागेँ । उता दिन भरी गर्नु पर्ने कामको चपेटाले आफ्नी प्यारीलाई झक्झकाइ रहेको हुनुपर्छ । अब त निरन्तर निरन्तर सूर्य, पृथ्वी, दिन अनि रातलाई धन्यवाद ।
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *