Skip to content


अर्काको घरमा भाँडा माझेर पढेको एउटा किशोर साँच्चै डाक्टर होला र बेरोकटोक पाँच दशक गाउँमा बसेर बिरामीलाई सेवा दिने प्रतिज्ञा पूरा गर्ला ? चिकित्सा र राजनीतिमा सावर्जनिक छवि बनाएका शंकरप्रसाद उप्रेतीको संस्मरण त्यही संघर्षको नालीबेली हो ।

प्रस्तुत पुस्तकमा घोत्लिँदा पाठकलाई यी कर्मयोगी डाक्टरको सिंगो जीवन फगत सपना लाग्छ । संस्मरणकार स्वयंलाई आफ्नो विगतप्रति विश्वास नलागेर सायद पुस्तकको नाम राखेका हुन्, जीवन एक सपना ।

खास गरी शिक्षाको उद्दाम भोकले रन्थनाइरहन्छ उनलाई । मेदिनीप्रसाद उप्रेतीका नौ सन्तानमध्ये पाँचौँ वरीयताका शंकर तेह्रथुमको चुहानडाँडाबाट जोगवनी पुग्छन् । तर, त्यहाँ भान्छेमा मात्र दरिन्छन् ।
यस्तो लाग्छ, जोगवनीमा उनले पढ्न नपाएका मात्र हुन् । खाना पकाउन सिक्छन्, लुगा धुन सिक्छन् । रेल, मोटर, मिल, मजदुर हडताल देख्छन् । हिन्दी र बंगालीमा सामान्य बोलचाल गर्न सक्छन् । उनको जीवनको प्रथम पाठशाला त्यही हुन्छ ।

राजधानीको दरबार हाइस्कुलमा २००३ सालतिर ७ कक्षाको प्रवेश परीक्षामा फेल भएपछि पश्चिम पहाड हुँदै कानपुर पुग्छन् । त्यहाँ आरएस (रामाशंकर) नारायणको घरमा काम गर्छन् । तिनै सज्जनले उनको जीवनको ढोका खोलिदिन्छन् । लखनउको डिएभी कलेजमा आईएस्सी पढ्छन् ।

सेकेन्ड डिभिजनमा पास भएको टेलिग्राम काठमाडौँमै आउँछ । तर, अन्तर्वार्ताको मितिसम्म मार्कसिट आइपुग्दैन । एक त सेकेन्ड डिभिजन ल्याएको, त्यसमाथि मार्कसिटबिनै कोलम्बो प्लानमा छानिएपछि शंकर संकल्प गर्छन्, ‘आज मैले नपाउने चीज पाएँ । म एमबीबिएसभन्दा ज्यादा पढ्दिनँ र ५० वर्ष गाउँमै सेवा गर्छु ।’

कति जोडबल गर्दा पनि शंकर एमडी या एमएसतिर लोभिँदैनन् । ०१८ सालमा उनी कैलाली अस्पताल खटिन्छन् । त्यहाँ डगौरा थारु जातिका ७० जनासम्म बस्ने संयुक्त परिवार भेट्छन् । पिसाब थैलीको पत्थरी निकालिदिन्छन् । खुँडेका ओठ सिलाइदिन्छन् । रेबिजको नि:शुल्क भ्याक्सिन दिन्छन् ।

त्यसरी ६ वर्ष बिताएपछि उनी पहिलो नम्बरमै सेकेन्ड क्लासमा बढुवा हुन्छन् । ०२३ सालमा उनलाई नयाँ स्वास्थ्यमन्त्री डा त्रिवेणी श्रेष्ठले हप्काउँछन्, ‘बिरामी किन भर्ना नगरेको ?’ ठाडै भनिदिन्छन्, ‘मन्त्री आउँछन् भनेर देखाउनकै लागि बिरामी नभएका मान्छेलाई भर्ना गर्ने त ?’ त्यही निहुँमा उनको हुम्ला सरुवा हुन्छ । तर, उनी गाउँ फर्कने मनसायले राजीनामा गर्छन् । जागिर नछोडोस् भन्ने बुबाको इच्छा अनुसार भोजपुर जान्छन् । राजीनामा दिइरहन्छन्, तालुकवाला विभागले सदर गरिदिँदैन । तैपनि, उनले आफ्नो प्रतीज्ञा बिर्संदैनन् । अन्तत: चैत ०२७ देखि असार ०६८सम्म निरन्तर झापाको शनिश्चरेस्थित आफ्नै घरमा बिरामीको उपचार गर्छन् ।

शंकरले शनिश्चरेमा मेडिकल प्राक्टिस गर्दा झापा जिल्लामै दुई डाक्टर रहेछन् । एक जना उनी आफैँ, अर्का भद्रपुर अस्पतालका ऋषिकेश डाक्टर । उनी कस्ता डाक्टर भने हुनेसँग लिने, नहुनेलाई सित्तैँमा उपचार गरिदिने । तीन रुपियाँबाट सुरु भएको उनको फि १० रुपियाँभन्दा बढी कहिल्यै भएन ।

झापामा उनको ख्याति ‘डेलिभरी डाक्टर’का रूपमा चुलिन्छ । कुनै कुनै परिवारका तीन पुस्ता सासू, बुहारी र नातिनीको प्रसूति गराएका छन् उनले । प्रसूतिको अवस्था कस्तो थियो भने व्यथा लागेकी महिलासँग ट्रकभरि मान्छे आउँथे । सेतो कपडासमेत लिएर ।

शंकरको जीवनको अर्को पाटो हो, नेपाली कांग्रेसको राजनीति । जयपुरमा एमबीबिएस पढ्दा नै बीपी कोइरालालाई भेटेर लागेको चस्काले उनलाई दुईपटक जेलसमेत पुर्‍याउँछ । ०५०मा पूर्वाञ्चल विकास क्षेत्रबाट राष्ट्रिय सभामा निर्विरोध चुनिएपछि शून्य समयमै उनले ‘दम्पतीको अनुरोधमा दुई महिनासम्मको गर्भपतन गराउँदै आएको’ बताउँदा हंगामा हुन्छ । उनले गर्भपतनसम्बन्धी कानून माग गरेपछि सांसद सुवासचन्द्र नेम्वाङले सोधेछन्, ‘तपाईंलाई गैरकानूनी काम गरेकामा कानून लाग्दैन ?’ उनी हाकाहाकी भन्छन्, ‘सत्य बोल्दा कानून लाग्छ भने लागोस् । म स्वीकार्छु ।’

पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले मन्त्री बनाइदिन्छुभन्दा पनि भ्रष्टाचारीमा नामदर्ता होला भनेर शंकर मान्दैनन् । ०५१ सालमा मध्यावधि चुनावमा जाने मनस्थितिमा रहेका गिरिजाप्रसादलाई उनी ठाडै भनिदिन्छन्, ‘केही साथीको आफ्नो क्षेत्रमा होल्ड छ । केही साथीको गोजीमा गोल्ड छ । होल्ड र गोल्डको सिट ६०, ७०भन्दा ज्यादा छैन । त्यसैले मध्यावधिको कुरै नगरौँ ।’

यी औतारी चिकित्सकले जीवनमा भनेनन् मात्र, गरेरै देखाए । छोरा हुन् वा छोरी, जहिल्यै दुई सन्तानका पक्षमा उभिए । त्यही सूत्रका कारण आफ्ना दाजु, भिनाजुको पनि आफैँले भ्यासेक्टोमी गरिदिए । अँझ उनका त एउटै सन्तान देखिन्छन् ।

शंकरको संस्मरणमा सबभन्दा मायालु पात्र हुन्, महेश्वरी । उनकी खजाञ्ची । एक दिन एक बिरारीले दबाईको १ सय ५० रुपियाँ तिर्न हजारको नोट दिन्छन् । उनी खुद्रा लिन भित्र जान्छिन् तर १५ मिनेटसम्म आउँदिनन् । शंकर भित्र गएर हेर्छन् त सेफ खुलेको छ, सय, ५०, २०, १०का नोट बाहिर छरपस्ट छन् तर तिनले हजारको खुद्रा निकाल्न सक्दिनन् । शंकर सोध्छन्, ‘के गरेको ?’ महेश्वरी आँखाभरि आँसु पारेर भन्छिन्, ‘डार्लिङ, अब यो काम मबाट हुन सक्दैन ।’

अल्जाइमर्सपीडित तिनै महेश्वरीको १० वर्ष सेवासुश्रुषा गर्छन् शंकर । जयपुरकी नेपाली रावत परिवारकी छोरी महेश्वरीको दुखान्तमा पाठक द्रविभूत भइहाल्छ । पुस्तकको विधागत परिचय संस्मरण भए पनि यो खासमा आत्मकथा हो । पुस्तकमा जे जति विषय वा प्रसंग टिपोट गरिएका छन्, तिनीहरू आद्योपान्त पठनीय छन् ।

यति रोचक सामग्रीलाई लेखकले संस्मरणमा सीमित गरिदिँदा थकथक लाग्छ । नहतारिईकन आत्मकथाको रूप दिन सकेको भए यसको महत्त्व अँझै बढ्थ्यो । बुढेसकालको कलमले कतिपय सन्दर्भमा व्याख्या, विस्तार गर्न सकेको छैन । कतिपय प्रसंग दोहोरीएका, तेहेरिएका छन् । तिनलाई सम्पादन गरेर छिमल्न सकिन्थ्यो ।

प्रकाशित: चैत्र २६, २०७२
http://nepal.ekantipur.com/news/2016-04-08/20160408183810.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *