Skip to content


हाम्रा लागि त्यो घर अपरिचित थिएन । हामी त्यो घरमा जान थालेको धेरै भइसकेको थियो । त्यो घरको चहलपहल बाहिरबाटै देखिन्थ्यो । त्यो घर–परिवारमा सबैको सक्रियता र व्यस्ततालाई घरभित्र र बाहिरको चहलपहलले पनि बताउँथ्यो ।

तर, त्यस दिन त्यहाँको वातावरण अलि बेग्लै थियो । बाहिर कुनै चहलपहल थिएन । सधैँ व्यस्त रहने घरका सदस्यहरू पनि घरबाहिर देखिएनन् । लगभग सुनसान अवस्था । हामीले सोच्यौँ, चाडबाडको बाहिरी व्यस्तताले होला ।

हामी घरको आँगनमा पुग्यौँ । घरको भुइँतला र माथ्लो तल्लाका ढोका खुलै थिए । झ्यालहरू पनि खुलै थिए । बाहिरतिर कोही नदेखिए पनि घरभित्र कोही छ भन्ने आभास हामीलाई भयो । केहीबेर हामी आँगनमै उभिएर यताउति नियाल्न थाल्यौँ । माथ्लो तलामा कसैले खोकेको आवाज आयो । हामी खोकीको आवाजलाई पछ्याउन थाल्यौँ ।
***
मित्र गोविन्द वर्तमान मूल्यांकनमा काम गर्थे, म एक्काइसौँ शताब्दीमा । कुनै बेला यी दुवै म्यागेजिन चर्चामा थिए । विशेष गरी वामपन्थी पाठकका लागि यी म्यागेजिन पाठ्यपुस्तक जस्तै थिए ।
यी दुवैको स्तर र बिक्री राम्रै मानिन्थ्यो । तर, अहिले यी दुवै बन्द भइसकेका छन् ।

दसैँअगाडि निस्कने पत्रपत्रिकाले दसैँको फुर्सदमा अध्ययनका लागि साहित्यिक रचनाहरू समावेश गर्ने प्रचलन पहिलेदेखि थियो । त्यही प्रचलन अनुसार मूल्यांकन र एक्काइसौँ शताब्दी दुवैले दसैँ अंकमा विशेष सामग्रीका रूपमा साहित्यिक रचनाहरू पनि समावेश गरेका थिए । संयोग नै भन्नुपर्छ, यी दुवै म्यागेजिनमा रमेश विकलका रचना प्रकाशित थिए ।

चाबहिलका हामी केही साथी ’३०को दशकदेखि नै पत्रकारितासँग जोडिएका थियौँ । यो यात्रा साहित्यिक पत्रकारिताबाट सुरु भएको थियो । पछि यो यात्रा विभिन्न साहित्यिक पत्रिका र खबर पत्रिकासँग पनि जोडियो । कुनै पनि साहित्यिक पत्रिकामा कथा विधाको रचना माग्नुपर्दा हामी रमेश विकललाई सम्झन्थ्यौँ । त्यति बेलादेखि नै हामी नयाँ सडकको गीतलाई मापदण्ड बनाएर नेपाली साहित्यका सर्वश्रेष्ठ कथाकार मान्थ्यौँ उहाँलाई । त्यसैले पनि हामी संलग्न रहेका कतिपय पत्रिकामा उहाँको रचना राख्नैपर्ने हठ हामी गर्थ्यौं ।

रमेश दाइलाई पत्रिका र पारिश्रमिक दिनु थियो । दसैँअगाडि नै पारिश्रमिक पाउँदा रमेश दाइ खुसी हुनुहोला भन्ने पनि लाग्यो । गोविन्द वर्तमान र मैले भोलिपल्ट बिहानै रमेश दाइकहाँ जाने सल्लाह गर्‍यौँ ।

सधैँ एक–डेढ घन्टाको मर्निङ वाक गर्ने गोविन्द वर्तमान त्यस दिन मर्निङ वाकमा गएनछन् । चाबहिलबाट हिँडेर आरुबारी जाने र हिँडेरै फर्किने विचारले उनले त्यस दिनको मर्निङवाकको गन्तव्य आरुबारीलाई बनाएका रहेछन् । हामी चाबहिल चोकबाट आरुबारीतिर लाग्यौँ । चाबहिल, चुच्चेपाटी, महांकाल, रामहिटी, तीनचुले हुँदै एक घन्टाभित्रै रमेश दाइको घरमा पुग्ने हाम्रो योजना थियो । हामी आफ्नो योजनामा सफल रह्यौँ । ५५ मिनेटमा हामी रमेश दाइको घरमा पुग्यौँ ।
***
‘दाइ नमस्कार !’ कोठाभित्र छिरेर हामी दुवै जनाले दुई हात जोड्दै भन्यौँ । तर, उहाँले नमस्कार फर्काउनु भएन । अरू कुनै प्रतिक्रिया पनि जनाउनु भएन । एक शब्द बोल्नु पनि भएन । उहाँलाई खोकी पनि लागिरहेको रहेछ । हामीले सोच्यौँ, सञ्चो नभएर होला ।
उहाँले हातले इसारा गरेर हामीलाई बस्न भन्नुभयो । उहाँको मुखमुद्रा नै बेग्लै थियो । उहाँको अनुहार क्रोधले भरिएको हो कि पीडाले, केही बुझ्न नसकिने खालको थियो । मलिन मात्र होइन, अलि अँध्यारो पनि ।

हामी डराइडराइ उहाँको अगाडि गएर बस्यौँ । उहाँको मुखबाट अँझै पनि कुनै शब्द व्यक्त भइरहेको थिएन । उहाँको अनुहारको भाव बुझ्न हामीलाई निकै गाह्रो परिरहेको थियो ।
“दाइलाई सञ्चो छैन जस्तो छ,” मैले भनेँ ।
“यस्तै त हो,” निराशाजनक पारामा उहाँ बोल्नुभयो ।
“दाइ निकै गल्नु भएछ,” गोविन्द वर्तमानले थपे ।
“अँ, गल्ने त बेलै हो,” फेरि पनि निराशाजनक भावमा उहाँ बोल्नुभयो ।

हरेक भेटमा ‘के छ ?’ ‘के गर्दैछौ ?’ भनेर सोध्ने रमेश दाइले त्यस दिन त्यस्ता कुनै प्रश्न गर्नु भएन । उहाँको प्रतिक्रियारहित मौनतामा हामी पनि केहीबेर मौन बस्यौँ । मौनतालाई तोड्दै विजय चालिसे आइपुग्नुभयो । छोटो कुराकानीपछि उहाँ निस्कनुभयो । त्यतिबेलासम्म पनि रमेश दाइको मौनता यथावत् नै थियो ।

हामीले एक/एक प्रति पत्रिका र पारिश्रमिक रमेश दाइलाई दियौँ । उहाँले पत्रिका र पैसा हातमा लिनुभयो । तैपनि, केही बोल्नुभएन । पत्रिका पल्टाएर हेर्ने जाँगर पनि उहाँले देखाउनुभएन । तैपनि, उहाँका आँखा हामीतिरै एकोहोरिएका थिए । हामी पनि केही अनौठो अनुभव गर्दै रमेश दाइको अनुहारतिर हेरिरहेका थियौँ । हेर्दाहेर्दै रमेश दाइका आँखा रसाए । फुस्रा आँखा एकैछिनमा रसिला देखिए । आँखामा आँसु भरिँदै गयो । हामी अलमलमा पर्‍यौँ । हामीले तत्कालै उहाँका आँखाको भाषा बुझ्ने प्रयत्न गर्‍यौँ तर सकेनौँ । मौनतामै उहाँको अनुहारतिर नियालिरह्यौँ ।
***
जुन बेला रमेश दाइ जागिरदार हुनुहुन्थ्यो, त्यतिबेला चाबहिल चोक उहाँको दैनिक विश्रामको ठाउँजस्तै थियो । अफिसबाट घर फर्कंदा उहाँ लगभग साँझसम्मको समय चाबहिलमै बिताउनुहुन्थ्यो । त्यो पनि धन दाइको होटल वा त्यसवरपर । कहिले आलु र जेरी खाँदै, कहिले चिया खाँदै । दैनिक एउटा–दुइटा पेडा वा बर्फी किन्नकै लागि पनि उहाँ धन दाइको होटलमा आइपुग्नु हुन्थ्यो ।

चाबहिल चोकमा रमेश दाइलाई देख्दा हामी हरेक दिन गौरवान्वित हुन्थ्यौँ । रमेश विकलजस्ता ठूला व्यक्तित्वका अगाडि आफूलाई उभ्याउन पाउँदा आफ्नो मान र सान दुवै बढेको अनुभव हामीलाई हुन्थ्यो । उहाँसँगको निरन्तरको भेटघाट र कुराकानीका लागि जोड्ने एउटा माध्यम उत्साह साहित्यिक त्रैमासिक पनि बनेको थियो । चाबहिलबाट प्रकाशित हुने यो त्रैमासिकमा सुरुमा उहाँ नै प्रधान सम्पादक हुनुहुन्थ्यो । पछिल्लो कालमा यसमा पारिजात, खगेन्द्र संग्रौला, आनन्ददेव भट्टलगायत धेरैको संलग्नता रह्यो । उत्साहकै नाममा नियमित साहित्यिक गोष्ठी पनि सञ्चालन भएको थियो । यसले पनि रमेश दाइसँग धेरैको आत्मीयता बढाएको थियो । कुनै दिन उहाँ चाबहिल चोकमा देखिनुभएन भने ‘आज रमेश दाइ कता जानु भएछ ?’ भनेर प्रश्न गर्नेहरू धेरै हुन्थे ।

जागिर छोडेपछि पनि उहाँ चाबहिल आइरहनु हुन्थ्यो । तर, पहिलेको जस्तो दैनिक होइन । विभिन्न कारण चाबहिल–आरुबारी आवतजावतको क्रम क्रमश: अनियमित बन्दै गयो । उहाँ यदाकदा, कुनै विशेष काममा मात्र चाबहिल आउन थाल्नुभयो । दोस्रो जनआन्दोलनपछिको अवस्थामा चाबहिलमा उहाँको उपस्थितिको अनुभव कसैले गर्नै पाएनन्भन्दा पनि हुन्छ । उहाँ उमेर र स्वास्थ्यका कारण धेरै हिँडडुल गर्न नसक्ने हुनुभयो । महिनौँपछि मात्र उहाँसँग भेट हुन थाल्यो । यसपटक पनि लामै समयपछि हामी उहाँको घरमा पुगेका थियौँ ।

रमेश दाइ आ–आफ्नो स्वार्थवश भेट्न आउनेहरूसँग दु:खी हुनुभएको थियो वा हामी पारिश्रमिक र पत्रिकासहित एकाबिहानै पुगेकामा खुसी हुनुभएको थियो ? उहाँका रसाएका आँखाको भाषा बुझ्न हामीलाई निकै गाह्रो पर्‍यो । उहाँको दु:खी अनुहार नियाल्दै हामी चुपचाप बसिरहेका थियौँ । उहाँका आँखा ओभानो बन्ने क्रममै थिए । २०/२५ मिनेटपछि बल्ल रमेश दाइ बोल्नुभयो, “आज कहाँबाट तिमीहरूले बाटो बिराएछौ, खुसी लाग्यो ।”

रमेश विकलले आफ्नो बिग्रँदै गएको स्वास्थ्यका बारेमा बताउनु भयो । त्यही सिलसिलामा उहाँले हामीप्रति व्यंग्य गर्दै भन्नुभयो, “म अशक्त भएर चाबहिलतिर आउन नसक्ने, तिमीहरू सशक्त भएर पनि आरुबारीतिर आउन नसक्ने । अब त भेटघाट भन्ने कुरा पनि त्यस्तै त्यस्तै होलाजस्तो छ । जे कुरा पनि आफू सक्रिय रहुन्जेलका लागि मात्रै त रहेछ !”

रमेश दाइ अस्वस्थ्यताका कारण बोल्न गाह्रो मानिरहनु भएको होइन रहेछ भन्ने अब स्पष्ट भयो । बिरामी अवस्थामा, डाक्टरले धेरै बोल्नुहुन्न भनेको बेलामा पनि उहाँ बोल्याबोल्यै गर्नुहुन्थ्यो । उहाँको यो बानीसँग हामी पहिले पनि जानकार थियौँ । एकपटक उहाँ रक्तचापका कारण निकै गम्भीर अवस्थामा शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना हुनुभएको थियो । उहाँलाई भेट्न हामी चार जना राजव, अग्निशिखा, गोविन्द वर्तमान र म अस्पताल पुगेका थियौँ । आइसीयूबाट क्याबिनमा सर्नुभएका रमेश दाइ हामीसँग बोल्याबोल्यै गरेको देखेर हामी त्यहाँबाट चाँडै हिँडेका थियौँ । यहाँसम्म कि बिदा भएर ढोकाबाट बाहिर आइसकेका राजवलाई फेरि बोलाएर रमेश दाइले साझा प्रकाशनका बारेमा सोधखोज गर्नुभएको थियो । त्यतिबेला राजब साझा प्रकाशनका निर्वाचित सञ्चालक भएकाले रमेश दाइले केही कुरामा चासो राख्नुभएको थियो । तर, यसपटक स्वास्थ्य ठीकै भए पनि उहाँमा कुनै उत्साह र जाँगर थिएन । उमेरको बोझसँगै रोगले थिचेर उहाँ झन्झन् कमजोर बन्दै जानुभएको कुरा स्पष्ट थाहा हुन्थ्यो । तैपनि, बोल्नै गाह्रो हुने अवस्थामा उहाँ हुनुहुन्नथ्यो ।

आधा घन्टापछि हामीले रमेश दाइको लेखन र दिनचर्याका बारेमा सोध्यौँ । उहाँले आफ्नो आत्मकथा लेखनका कुरा, रमेश विकल प्रतिष्ठानको निर्माण, पूरा हुन बाँकी केही लेख–रचनाका विषयमा सामान्य कुरा गर्नुभयो । त्यति धेरै खुलेर बोल्नुहुने रमेश विकल आज किन सामान्य जवाफ दिन पनि गाह्रो मानिरहनु भएको छ ? हामीले उहाँका आँखाको भाषा त बुझ्न सकिरहेका थिएनौँ भने मनको भाषा कसरी बुझ्ने ?

सामान्य कुराकानीमै डेढ घन्टा बित्यो । गोविन्द छटपटाउन थाले । चुरोटको तलतलले उनको धैर्य अघि नै टुटिसकेको थियो । म रमेश दाइका आँखाको भाषा बुझ्ने प्रयत्न गरिरहेको थिएँ । गोविन्द भने मेरो प्रयासलाई बेकार मानिरहेका थिए ।

“अब हामी जान्छौँ दाइ,” बसेको ठाउँबाट उठ्दै गोविन्दले भने । रमेश दाइले गोविन्दको अनुहारतिर हेर्दै निराश पारामै भन्नुभयो, “हुन्छ ।”

गोविन्द वर्तमान उठेर हिँड्ने तरखरमा लागिसकेकाले म पनि उठेँ । आफ्नो अनुहारको कान्ति र तेजलाई लुकाएर चुपचाप बसिरहनु भएका रमेश दाइले उठ्दै भन्नुभयो, “तिमीहरू गइहाल्छौ त ?”
“जति बसे पनि यस्तै हो । अब जाने दाइ ।” गोविन्दले त्यहाँबाट हिँड्ने कुरालाई जोड दिँदै जवाफ दिए ।
हामीसँगसँगै रमेश दाइ पनि बाहिर निस्कनुभयो । आँगनमा उभिएर हामीले बिदा माग्ने क्रममा उहाँको अनुहारतिर हेर्‍यौँ । उहाँका आँखा फेरि पनि रसाएका थिए । हामी फेरि पनि अलमलमा पर्‍यौँ । न रमेश दाइ केही बोल्नुभयो, न हामी नै केही बोल्न सक्यौँ । एकैछिन हामी सबै त्यत्तिकै उभियौँ ।

“जान्छौ त, ल जाओ है,” यति भनेर रमेश दाइ फरक्क फर्किनुभयो । उहाँका आँखामा छिनछिनमा देखिने आँसु खुसीको हो कि दु:खको ? फेरि पनि हामीले उहाँका आँखाको भाषा बुझ्न सकेनौँ । रमेश दाइ घरभित्र छिर्नुभयो । हामी आफ्नो बाटो लाग्यौँ ।

प्रकाशित: चैत्र ११, २०७२

http://nepal.ekantipur.com/news/2016-03-24/20160324124957.html

1 thought on “आँखाको भाषा”

  1. माझेरीले यस्ता रचनाहरुलाई सजिलै खोज गर्न सकिने एकद्वार सन्कलन गरेकोमा कुमारजीलाई धेरै धेरै आभार ! रमेश बिकल स्मारिका २०८० मा सभार गर्छु है, सार्दुल दाइसँग सोधेर !!
    संस्मरण: आँखाको भाषा: शार्दूल भट्टराई
    अनि नि , सोर्स सैट को उर्ल फेरिएछ है।
    https://nepalmag.com.np/literature/2016/03/24/20160324124957

Leave a Reply

Your email address will not be published. Required fields are marked *