Skip to content

सङ्गीतका ‘सगरमाथा’ अम्बर समाधितिर


वरिष्ठ सङ्गीतकार अम्बर गुरुङलाई सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ,”नेपाली गीत–सङ्गीतको क्षेत्रमा वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारको निर्णयअनुसार उहाँको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने छ।”

मन्त्रालयले उनको निधनले अपूरणीय क्षति पुगेको जनाउँदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

‘संगीतका सगरमाथा हुन् अम्बर’

‘नौ लाख तारा उदाए, धर्तीको आकाश हाँसेछ’, विसं २०१८मा कलकत्तामा रेकर्ड भएको यो गीत त्यसताका दार्जिलिङतिर निकै प्रसिद्ध थियो। साहित्यकार अगमसिंह गिरीद्वारा रचित यो गीतका सङ्गीतकार सो समयमा सङ्गित विधामा सङ्घर्ष गरिरहेका युवा अम्बर गुरुङ थिए।

यसअघि फाट्टफुट्ट केही गीतमा सङ्गित भर्ने गुरुङ आफैँले गाएको यो पहिलो गीत थियो। यो गीत दार्जिलिङमा यति ‘हिट’ भयो कि सबै पेसा र वर्गका मान्छेले गुनगुनाउन थाले। अन्ततः यो गीत अल इन्डिया रेडियोले प्रतिबन्ध लगायो। सो गीत भारतीय एकता विरोधी भन्दै प्रतिबन्ध लगाइएको थियो।

मंगलबार बिहान सबेरै निधन भएका वरिष्ठ सङ्गीतकार गुरुङ उही युवा अम्बर गुरुङ हुन्। उनको जन्म १९९४ फागुन १४ गते भारतको दार्जिलिङस्थित लालढिकीमा भएको थियो। ‘नौ लाख तारा उदाए’ गीत गाएपछि तत्कालीन राजा महेन्द्रले उहाँको प्रतिभाको कदर गर्दै नेपाल झिकाएको भनिन्छ। तर जेहोस्, उहाँ २०२४ सालमा नेपाल आउनुभएको भने सत्य हो।

राजा महेन्द्रकै चाहना बमोजिम गुरुङले २०२६ देखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा सङ्गित निर्देशकका रुपमा काम गरेका थिए। उनी २०२७ सालमा गोरखा दक्षिणबाहुले विभूषित भए। ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उहाँले सङ्गीतबद्ध गरेका थिए। त्यस्तै ‘फर्केर हेर्दा’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’ लगायतमा समेत उनले सङ्गित भरेका छन्।

सबैगरी उहाँले करिब एक हजार गीतमा सङ्गित भरेका थिए। थियो भने त्यसमध्ये छ–सात सय गीत उनकै स्वर र शव्दमा रहेका छन्। गीत–सङ्गीतका अध्येता प्रकाश सायमी भन्छन्,”उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा उत्तिकै पोख्त हुनुहुन्थ्यो।”

राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ तथा सैनिक गान ‘रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो’का सङ्गीतकार गुरुङ पछिल्लो समयमा ‘राष्ट्रगायक’को उपाधि पाउने चर्चामा थिए। गायिका कुन्ती मोक्तान गुरुङलाई नेपाली सङ्गित क्षेत्रकै सर्वाधिक उच्च व्यक्ति मान्छिन्। मोक्तानलाई यस्ता उच्च व्यक्तित्वसँग धेरै पटक भेट्ने मौका पाएपनिसँगै काम गर्न नपाएकोमा भने अलि थक्थक् लागेको छ। “उहाँसँगका खुसीका क्षण धेरै छन् ‘त्यतिबेला ‘राष्ट्रगान’मा उहाँसँग काम गर्ने मौका पाइनँ, अहिले उहाँ वित्नुभएपछि भने ठूलो कुरा गुमाएजस्तै लागिरहेको छ।”

गुरुङले संगीत गरेका नारायणगोपालले गाएका ‘पोखिएर घामको झुल्का भरि संघारमा’, तारादेवीले गाएका ‘हराए झैँ केही लाग्छ’, अरुणा लामाले गाएको ‘सबैले भन्थे’, ‘पोहोर साल खुसी फाट्दा’, आफ्नै आवाजको ‘किन किन तिम्रो तस्वीर (पुरानो)’, अरुणा लामा र रुक्मिणी गुरुङले गाएको ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न’ जस्ता कालजयी र अमर गीत छन्। गुरुङका दौँतरी उमेरका साहित्यकार बैरागी काइँला भन्छन्,”उहाँले राम्रा गीत लेखेर, गाएर र सङ्गित भरेर नेपाली सङ्गित क्षेत्रलाई नै विश्वस्तरको प्रतिस्पर्धामा लान सफल हुनुभयो।”

गुरुङले आफैँले सङ्गित गरेर गाएका गीतमा ‘जसै साँझ पर्यो’, ‘ए फूल वसन्त’, ‘मेरो जीवनलाई’, ‘क्षितिज आकासले’, ‘दिल त म’, ‘कहीँ आफ्नो भूमरीमा आफैँ पर्यौ कि’, ‘म अम्बर हुँ तिमी धर्ती’, ‘उकाली चढ्दा’, ‘सोधुँ सोधुँ लाग्छ’, ‘कैले लहर’ आदि लोकप्रिय छन्।

उपराष्ट्रपति नन्दबहादुर पुनले केही हप्ताअघि मात्र गुरुङलाई गरिएको एउटा सम्मान कार्यक्रममा भनेका थिए,”अम्बर गुरुङ नेपाली सङ्गीतको सगरमाथा हुनुहुन्छ।”

मङ्गलबार २५ जेष्ठ, २०७३
http://nagariknews.com/society/story/76629.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *