Skip to content

दाहाल बाबैको जडी ओखती


अघिल्लो रचनाहरूमा पनि मैले भनिसकेकै छु, मेरो बाल्यकालका खेल खेल्ने साथीहरू भनेका घोर्ली बाख्रोका पाठाहरू बाहेक कोही हुन्नथे । अरु मेरो समवयका साथीहरू ओरिपरि थिएनन् कोही सानै थिए, कोही अलि ठुला भइसकेका थिए । उनीहरूसँग खेल्न मिल्दैथ्यो ।

एक दिनको कुरा हो । घोर्ली बाख्रालाई घरमुनिको कोलडाँडामा चराउन लगेंछु कि भन्छु, अहिले खास कुराको बढै हेक्का छैन । हाम्रो बारीको पुछारमा कोलडाँडो भन्ने ठाउँमा बाख्राका पाठा सहित बाख्रो लिएर म पुगेको सम्झन्छु चउरमा । यो सायद दसदेखि बार वर्षको बेलाको कुरा हुनुपर्छ ।

अब एक जना मित्रले यति पुरानो कुरा पनि डिटेलमा सम्झन सकिन्छ र भन्नुभएको छ मलाई । जुन कुरा डिटेलमा सम्झना छ त्यसलाई जस्ताको तस्तै लेखिएकै हो तर जुन कुरा राम्रो गरी आउन्न सम्झनामा त्यसलाई उति हेक्का छैन भनेकै छु भनेर मैले उहाँलाई भनेको छु । चित्त बुझाउनु भएको छ उहाँले पनि ।

सबैभन्दा सानो कुन बेलाको कुरा हामी सझन्छौं भनेर पहाडमा हामी दाजु भाइका बीचमा आमा छँदै एक दिन कुरा उठेका थिए । मैले आमाका अघि साक्षी राखेर म चार वर्षको एक कुरा सम्झन्छु भनेको थिएँ ।

वास्तवमा म र कान्छो भाइको उमेरमा ठिक चार वर्ष तीन महिनाको अन्तर छ । भाइ जन्मेको दिनको कुरा म झलझली सम्झन्छु । “शिवरात्रिको दिन थियो । बेलुका चार बजेतिर हो जस्तो लाग्छ । पिताजी घरबाहिर आँगनमा घाम तापेर कसैको टिपन हेरिरहनु भएको थियो । पिताजी प्रसिद्ध जोतिषी हुनु भएको कुरा आई नै सकेको छ । त्यो दिन त्यो बेला घरका दाजुहरू कोही थिएनन् । अचानक घरभित्र सानो बच्चो रोएको आवाज सुनेपछि म घरभित्र दैलो खोलेर गएको थिएँ । आमालाई के भो ? को हो रुने आमा भनेर मैले सोधेको ता तेरो भाइ रोएको भन्नुभएको थियो । सधैं पिताजी सुत्ने गरेको भैं ओछिनको गुन्द्री उठाएर खाली भुइँको त्यो भैं ओछिनमा भाइलाई उहाँले जन्माउनु भएको रहेछ अहिले सम्झँदा । कहाँ सुँडेनी, कहाँ डाक्टर कहाँ के कहाँ के ? एकछिन पछि आफैं सरसफाइ गर्न लाग्नुभएको जस्तो लाग्छ । हो होइन लु भन्नुहोस् !” भनेर आमालाई सोधेको— “हो हो हो रिठ्ठो नबिराई ल्यायो यसले ता । हन कति सम्झदो रछ यो ता !” भन्नुभएको थियो । यसबाट म मेरो उमेका चार वर्षदेखिका केही कुरा पर्तङ्गेसँग सझन्छु अहिले पनि ।

अब फेरि उही बाख्रो चराउन गएको कुरातिर लागें म । वास्तवमा त्यो बेतमा सायद बाख्रोले एउटा मात्र पाठो पाएको थियो क्यारे । पाठी पाठो भने थाहा पाउन्न के थियो कुन्नि । त्यो खुब उफ्रन्थ्यो, बर्याक र बुरुक । सप्रिएको थियो । यही एक महिना जतिको मात्रै थियो होला भन्छु । जेठ असारको बेला हुनुपर्छ । जुठेल्नातिरको आरुबखडाको रुखमा लटरम्म आरुबखडा पाकेका थिए पँहेलपुर । अलि लुकेर खानु पर्थ्यो नत्र मासी पर्छ, मर्लास् नि भनेर सतर्क गराइएको थियो । यसै हुँदा अलिक लुकेर डराई डराई खानु पर्थ्यो ।
भैंमा झरेका केही आरुबखडा टोक्तै बाख्रो लिएर म झरें घरमुनि बारीको पुछारको किनारामा पर्ने चौरमा माउ र पाठो बाख्रो सहित ।

खेल्न थालियो पाठोसँग बर्याकबुरुक । ऊ उफ्रिए आफू पनि त्यसै गर्ने ऊ कुदे कुद्ने, ऊ घुमे घुम्ने, हाहाहा । बडो रमाइलो थियो ।

यसै बेला अलिक अप्ठेरो भित्तामा चढ्यो पाठो म पनि चढें कसै गरी । तर ऊ मजाले ओर्लियो म भने सकिन, भोगटे (खाने ज्यामिर जस्तो हैन, जङ्गली वनस्पति सानो बुथ्रो हुन्छ) को सानो बुटो थियो भित्तामा त्यसैलाई समातेर ओर्लूं भनेको ता लोथ्रोले थामेनछ, भाँचिएर छिनेछ म लडेंछु, खसेंछु । पाँच फिट जति तल । दाहिने घुँडामा ठोकिएछ साधारण, त्यसबाहेक त्यस लडाइबाट मेरो देब्रे हात भाँचिएछ । जहाँ हामी देब्रे हातमा घडी बाँध्छौं हो त्यही ठाउँमा भाँचिएछ । दुखेको नदुखेको मलाई अहिले केही थाहा छैन । देब्रे हात भाँचिएकोले घरमा मलाई उति थाहा भइहाल्ने कुरा पनि भएन । दाहिने भाँचिएको भए थाहा पाउँथे होला सायद ।

यो कुरा कसैलाई भनिनँ । भनियो भने झन् सारो ठुलो गोधाइ खाने कुरा पक्कै थियो । बरु नभन्यो बस्यो नि ! अलिक सानै भएकोले यस्तो बाख्रोहरू हेर्ने चराउनेबाहेक ठुला काम गरिहाल्नु परेको थिएन । त्यसैले थाहा पाएनन् ।

कसैले पनि थाहा पाएनन् मेरो हात भाँचिएको कुरा पाँच दिनसम्म । एक पटक सोधेको थिएँ माताजीसँग— “उहाँ भन्नुहुन्थ्यो मैले लुगा लगाइदिने बेलामा तेरो हात ड्याम्म सुन्निएको देखेर भाँचिएको थाहा पाएकी थिएँ !” होला, यो कुरा । तर त्यसपछिको केरकारको ताँती नै आयो । कसरी भाँचियो, कहाँ लडिस्, कसले भाँच्यो, के गर्दा भाँचियो, कुन ठाउँमा लडिस्, कि कसैले कुटेर भाँचिदियो आदिका केरकारले म थिलथिलो भएको भने अलेलि सम्झन्छु । नभने उल्टै कुटाइ खाइने भएपछि मैले मुख फोरेको थिएँ बाख्रोको पाठोसँग खेल्दा लडेर भाँचिएको हो ।

अब कुटाइ खाइएन । चिन्ता भएछ । हात भाँचिएकोमा माताश्री र पिताजीलाई चिन्ता भएछ । अनि भोलिपल्ट बिहानै मलाई लिएर जानु भो पिताजीले गोपेटारनिर नागीतिरबाट कुर्लुम्मा भन्ने ठाउँमा दाहालको घरमा । बूढा दाहालले यसरी भाँचिएका हात खुट्टा निको पार्छन् भन्ने प्रसिद्धी पाएको रहेछन् क्यारे । यसैले हामी बिहानै पुग्यौं ।

बुढा मान्छे निकै बुढा थिए क्यारे । फुलेका, पटुका बाँधेका, दौरा सुरुवाल लगाएका, फेटा गुथेका बडो सौम्य लाग्ने जस्तो लाग्छ, अहिले सम्झदा । नस सारै हालिरहनु पर्ने नाकमा । मेरो पिताजीभन्दा पनि धेरै उमेरका । उनले मेरो हात रामरी हेरेको जस्तो लाग्छ । केकेके हो उनले तयार पारे । बाँसका भाटा पनि तयार पारे । अनि म नछट्पटाऊँ भनेर पिताजीको काखमा राख्न लगाए, सायद पिताजीको काखमा बसेको यति नै होला भन्छु जीवना । मेरो सारा जिउ नै अँचेटेर समाइराख्न पिताजीलाई लगाए । अनि मेरो भाँचिएको हात उनले ओर्काइफर्र्काइ हेरे कसरी हो पयट लगाएर ताने । त्यो मेरा लागि सह्य थिएन । अति दुखाइले म हदभन्दा पनि बढी रोएको सम्झन्छु तर फेरि बिस्तारै बेहोसै भएँ अरे भन्नुहुन्थ्यो पिताजी । साथै अलल्लिएर हरियो भएँ पनि भन्नुहुन्थ्यो ।

दाहाल बाको उपचारको काम थियो त्यो । मेरो होस आउँदा मेरो देब्रे हातमा काम्रो बाँधिएको थियो । अहिले पनि दुखेर थामिसक्नु थिएन । रोएको छ रोएको छ । रालसिँगान, आँसु आएको छ । धसिंगरे भएको छु । अनुहारभरि आँसु बगेर कत्ला परेका छन् । कहाली लाग्दो डाको छोडेर रोएको छु रोएको छु, रोएको छु । अरु बालबच्चाहरू ता रुँदा मरे नि आमा भन्थे मेरा लाति ता मरे नि आमा भन्न पनि हुन्नथ्यो । आमाको माया पाएको भए पो मरे नि आमा भन्नु । आमाको नाम त्यसरी लिने अवस्था पनि छैन । ह्वाँह्वाँ गरेर डाको छोडेर रुइरहेँ । काम्रो बाँधियो भाडाहरू तेर्छिए हातभरि । काब्राको पाटको सानो डोरी लगाएर त्यस डोरीले हात झुन्ड्याएर अनि घाँटीलाई किलो जस्तो पारेर डोरीमा हात झुन्ड्याइयो । सायद हात नचलाओस् भनेर झुन्ड्याइको हुनुपर्थ्यो भन्ने लाग्छ ।
रुवाइ अलि बिदो भएपछि पिताजीले मलाई हिँडाएरै लिएर आउनु भएको थियो घरमा । यसपछि केही सायद महिनादिनतिर दाहालबाबै हाम्रो घरमै आएर मेरो हातको काम्रो खोल्नुभएको थियो र हात निको भएको कुरा उहाँले भनेको जस्तो लाग्छ ।

आज हो भने कता एक्सरे, कता दबाइ, कता डाक्टर, कता औषधी, कता एन्टिबायोटिक, कता धनुष्टंकारको सुइको खाँचो पर्दो हो । तर ऊ बेला यी सबै कुरा केही चाहिएनन् । मेरो हात दाहालबाको औषधीमुलोले ठिक भयो । लु अहिले त्यही हात यी अक्षरमा मजासँग किबोर्डमा नाचिरहेको छ, चलिरहेको छ । कसैले पनि यो हात भाँचिएको भनेर लख पनि काट्दैन ।

अब मलाई दुःख केमा लाग्छ भने ती दाहाल बाबैसँग कस्तो औषधी थियो जसले त्यो बेलामा पनि त्यति मजासँग भाँचिएको हात निको पार्ने सक्यो । पछि पछिे हात खुट्टा भाँचिएका मानिस मात्र नभई गाई वस्तु पनि उनी निको पार्थे अरे भन्ने सुनिएको हो ।

बीचरा बाबैका साथै उनको औषधी विद्या पनि सकिएर गयो । उनको कुनै उत्तराधिकारीले यो कुरा सिकेन र त्यस्तो जान्नेहरू सिकाउन पनि चाहन्नथे । सिकाइयो भने आफ्नो विद्याको दुरुपयोग गरिन्छ भन्ने डर हुन्थ्यो क्यारे । सायद त्यसैले कसैलाई उनले सिकाएनन् । यसबाट हामीसँग भएको सारा ज्ञान लोप भइरहेको छ भन्ने बुझे पनि हुन्छ भन्ने अहिले मेरो अठोट छ ।

2016-06-12 05:53:29 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *