Skip to content

पेशल सरको ‘किस्ताको कम्प्युटर’ पठनीय बालकथा


सुनसरी जन्मथलो भई रामेछापलाई कर्मथलो बनाएर बसेका साहित्यकार पेशल आचार्य बालसाहित्यमा एउटा परिचित नाम हो । एउटा साधु तपस्यामा लीन भएझैँ पेशल पनि दुई दशकदेखि साहित्यमा तपस्यारत छन् । नेपाली साहित्य अध्ययनमा राम्रो दख्खल भएका उनी मोफसलीय साहित्यलाई नेपाली साहित्यको मूलधारमा प्रवेश गराउन यात्रारत छन् ।

पेशलले २०६० बैशाखमा बालबालिकालाई कविताको माध्यमबाट व्याकरण सिकाउने खालको कवितासङ्ग्रह प्रकाशन गरेका थिए –‘कमिलाको ताँती ।’ त्यसपछि भर्खरै उनको अर्को अब्बल कृति निस्कियो –‘विद्यालयस्तरीय निबन्धहरू ।’ निबन्धसङ्ग्रहचाहिँ साहित्यिकभन्दा पनि सिकाइक्रियाकलाप र पाठ्यपुस्तकसँग सम्बन्धित छ ।

यो पटक पेशल बालबालिकाहरूलाई विलकुलै नौलो कोसेली लिएर देखा परेका छन् –बालकथासङ्ग्रह ‘किस्ताको कम्प्युटर ।’ विवेकसिर्जनशील प्रकाशनले प्रकाशन गरेको बालकथासङ्ग्रह ‘किस्ताको कम्प्युटर’ राम्रा बालकथाकारले लेखेकोभन्दा कुनै दृष्टिकोणले पनि कमजोर देखिँदैन । विवेकसिर्जनशीलले नै प्रकाशन गरेको अघिल्लो निबन्धसङ्ग्रह ‘विद्यालयस्तरीय निबन्धहरू’ शैली, शिल्प र वस्तुतत्वको हिसाबले सहित्यिक भएपनि व्यापारिक दृष्टिकोणले पाठ्यपुस्तकीय ढाँचामा प्रकाशन भएको थियो ।

यहाँ समीक्ष्य कृति ‘किस्ताको कम्प्युटर’ हो । यस सङ्ग्रहमा सङ्ग्रहित कथाहरू फरकफरक स्वादका छन् । कथाहरूमा क्षेत्रीयता वा आञ्चलिकता प्रसस्त भेटिन्छ । वर्णात्मक शैलीमा आत्मपरक प्रस्तुति भएका सबै कथाहरू रेखीय बनोटमा लेखिएका छन् । कति कथाहरू त उनको बाल्य जीवनकै कथाहरू हुन् । धेरै विषयमा ज्ञान दिने कथाहरू लोकसाहित्यदेखि विज्ञान प्रविधिसम्मका पछिल्ला प्रयोगलाई कथाबाट पेशलले विद्यार्थीहरूलाई जानकारी दिने कोशिस गरेका छन् । समग्रमा पेशलको प्रयास साह्रै सह्राहनीय छ । यो पंक्तिकारले पनि बालकथा साहित्यमा निक्कै कलम चलाइसकेको छ । पेशलका कथाहरू हेर्दा पेशलले मलाई उछिनेजस्तो लाग्यो ।

कथाहरूमा दुर्वल पक्ष छैनन् नै भन्न त सकिन्न । केही शब्दहरू जटिल छन् । वाक्य गठन लामा पनि छन् कतै । कथाहरू पनि केही लामा छन् –आयामको हिसाबले ।

यहाँ, ‘किस्ताको कम्प्युटर’का कथाहरूको छोटो समीक्षा क्रमागत रूपमा गर्ने प्रयास गरिएको छ । सङ्ग्रहमा दसओटा कथाहरू छन् । पुस्तकको बाह्य बनोट आर्कषक छ । कागजमा कञ्जुस्याइँ गरिएको छैन । आवरणचित्र निकै मिहेनत गरी बनाइएको छ ।

पहिलो कथा, ‘थप्पड रोग’ लामखुट्टे पात्रको माध्यमबाट सहरी जीवनको ऐना देखाएका छन् । फोहोर र प्रदूषणको कथा छ । कथा बहुआयामिक छ । केही जटिल शब्दहरूले भने बालबालिकाहरूलाई शब्दकोश पल्टाउनु पर्ने वाध्यता छ । गाउँका विद्यार्थीहरूलाई सहरको जानकारी दिन्छ ‘थप्पड रोग’ कथाले । दोस्रो कथा, ‘किस्ताको कम्प्युटर’ले कम्प्युटर किस्तामा किनेको भएपनि त्यसले राम्रो प्रतिफल दिएको छ । कम्प्युटर सम्बन्धी ज्ञान, वचत गर्ने बानी सिकाउने कथा हो –यो । यो शीर्षक कथा पनि हो । तेस्रो कथा, ‘मनेलाई सम्झदा’मा बालबोली र जनबोली मिसिएको जनावरको कथा हो, यो । दसैँमा पेटारेलाई काटिएको दुखद् कथा घरपालुवा जनावर मानिसकै परिवार हुन्, तिनलाई माया गर्नु पर्छ भन्ने सन्देश छ । चौथो कथा, ‘डुसी बाछी र भाइटीका’मा पशुप्रति अगाध स्नेह हुँदाहुँदै पनि पशुलाई आफ्नो स्वार्थमा, उपभोग गर्ने उपभोक्तावादी संस्कृतिको झलक देखिन्छ । पाँचौं कथा, ‘खलेखोप्रीमा धान रुङ्दा’मा कथाभित्र उपकथा हाली तराईतिर खलेखोप्रीमा राती धान रुङ्ने चलनको वर्णन छ । भूत, प्रेतप्रति विश्वास नगर्न आग्रह गर्छ –यो कथाले ।

छैँटौं कथा, ‘होर्राहोर्री’ले स्थानीयताको राम्रो झल्को दिन्छ । लहानका पर्वहरूको जानकारी पहाडका केटाकेटीहरूलाई दिन्छ । स्थानीय भाषाको सम्वाद थोरै भएपनि राखिएको छ । सातौँ कथा, ‘छुट्टीमा बस्तीपुर’ निबन्धजस्तो संस्मरण कथा हो । फलफूलका गनुबैगुन, बस्तीपुरमा मनाएको छुट्टीको संस्मरण हो –यो कथा । आठौँ कथा, ‘लिम्बुको बगैँचा’मा लेखक आफैँ उपस्थित भएर कथा भन्छन् । यो नयाँ ढाँचाको संस्मरण कथा हो । नवौँ कथा, ‘आँखामा जुको’ केही छोटो छ । यो लेखकको आफ्नै कथाजस्तो लाग्छ । बालसखाहरू उपस्थित भएका छन् । यसलाई क्षेत्रीय (भेगीय) कथा भन्न सुहाउँछ । जातभित्रका थरहरूको जानकारी दिन्छ । पौडी खेल्दा आफ्नो आँखामा जुका टाँसिएको, बालसखाहरूसँग पौडी खेलेको रोचक कथा छ –यसमा । यो पनि संस्मरणकथा भित्रै पर्छ । अन्तिम अर्थात् दसौँ कथा, ‘पूजा गर्ने छाउरो’ एउटा दुखान्त कथा हो । ‘जनावरसित मानिसको गाढा सम्बन्ध हुन्छ’ यै कुरा कथानकमा आएको छ ।

कथाकार पेशलको ‘किस्ताको कम्प्युटर’ पढ्दा पुस्तक छोडेर अन्यत्र मनै जादैन । यी सबै (प्रायः) दन्त्यकथा शैलीका आधुनिक बालकथा हुन् । कतै त खगेन्द्र सङ्ग्रौलाको आत्मसंस्मरण पढेजस्तो लाग्छ –अत्यन्तै रोचक । विषय प्रसङ्गमा हालिएका उखानहरूले कथामा मीठो अचारको काम गरेको छ ।

कथाकार पेशल आचार्य एक कुशल शब्द शिल्पी हुन् । उनमा सिर्जनशीलताको उनन्त उभारको शृङ्खला छ । त्यो शृङ्खला विशृङ्खलित नहोस् । अँझ राम्रा कथाहरू आऊन् । उनको कलमले आराम नगरोस् । यही शुभकामना दिन सकिन्छ ।

बालकथासङ्ग्रह ‘किस्ताको कम्प्युटर’ अब्बल दर्जाको बालकथा हो । बाल साहित्यमा नयाँ प्रयोग पनि हो । सबै भाइबैनीहरूले मात्र हैन, शिक्षकहरूले र अभिभावहरूले पनि पढ्नै पर्ने खालको सङ्ग्रह हो ‘किस्ताको कम्प्युटर’ पुस्तकको गुणस्तरीयतालाई हेर्दा पुस्तक महङ्गो पनि छैन । चालीस रुपियाँ मात्र छ यसको मूल्य । किस्ता मै भएपनि कथाकार पेशल आचार्यको कथासङ्ग्रह ‘किस्ताको कम्प्युटर’ पढौं र पढ्न दिऔँ ।
यति राम्रो कथासङ्ग्रह प्रकाशन गरेर विवेकसिर्जनशील प्रकाशनले आफ्नो असली ‘विवेक’ देखाएको छ । प्रकाशनलाई पनि धन्यवाद ।

माधव सयपत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *