Skip to content

सिक्नु एउटा सुरुवात


मेघ नलागेको दिन झुर्लुक्क घाम झुल्केपछि सफा पोखरी वा तलाउमा हेर्दा पानीभित्र सूर्यको कोमल फूल फुलेको देखिन्छ । लाग्छ, सूर्यको त्यो आभा मानिसको मुहारमा पोखियोस् । सूर्यको त्यो मुस्कान मानिसको ओठमा टाँसियोस् । अनि भरियोस् सधैंसधैं जिन्दगीमा त्यस्तै अनन्त ऊर्जा ! त्यस्तै अपार जोश र जाँगर !!

लागिरहन्छ, सधैंसधैं दिनको सुरुवात यसरी होस् जसरी मन्दमन्द हावामा सिमलका हलुङ्गा भुवाहरू सुस्तसुस्त उड्न सुरू गर्छन् । अनि त्यो मनमोहक र चित्ताकर्षक लहर शब्द बनेर फुर्न थालोस् आफूभित्रबाट शनैःशनैः । शब्दहरू मिलेर नवीन शैली बनोस् । आफ्नो छुट्टै विचार प्रस्तुत होस् । र, सुललित कला प्रस्फुटन होस् ।

तर बिडम्बना ! शब्दहरू मेरा पेवा हुदैनन् । शैली मेरो आफ्नो छुट्टै हुँदैन । विचार पनि मेरा पूरै मौलिक हुन सक्दैसक्दैनन् । कला पनि अरू कसैको हुन्छ । तर, म लेखक हुने सुनौलो सपना देख्छु । लेख्छु, केर्छु, फेरि लेख्छु, च्यातिदिन्छु, फेरि पनि लेख्छु । लेखनको लगामले मलाई घोडालाई झैँ तानिरहन्छ । म भन्न सक्दिनँ, लेख्न यतिसारो मन किन लागेको होला ? अरूले लेखेकै छन् नि लाखौँ पुस्तकहरू । सबै पढेर आनन्द लिन सके भै’हाल्यो नि । किन लेख्ने टन्टा गर्ने ? यो अनित्य संसारमा लेखेरभन्दा नलेखेर बढी खुसी हुन सकिन्छ भने किन म नदुखेको टाउको डोरी लाएर दुखाऊँ ?

कोही भन्छन्– ‘स्वान्त सुखाय’ अर्थात् आफू खुसी हुनका लागि लेख्छु । कोही भन्छन्– ‘बहुजन हिताय च’ अर्थात् समाज र मानिसको हितका लागि लेख्छु । कोही उस्तैगरी भन्छन्–बाचुन्जेल आफू हुनुको अस्तित्त्वका लागि अनि मरेपछि पनि कसैले आफूलाई सम्झने यश र कीर्तिको लोभ लाग्छ र लेख्छु । कोही अलि फरक तालले भन्छन् –आफ्नो पृथक् विचारको आत्मप्रकाशनका लागि लेख्छु । कोही भावनाको लयालु शब्दमा थोरै भन्छन्– कला र अभिव्यक्तिको नवीन प्रस्तुति मेरो ओजश्वी प्रतिभा हो त्यसैले त म लेख्छु ।

मेरो मोटो जवाफ पनि तीमध्ये कुनै एक हुन सक्छ । अथवा, तीमध्ये छ्यास्मिस् अर्थात् गोलमोटल शैलीमा सबै मिसिएजस्तो लाग्ने संयुक्त हुन सक्छ । अथवा, तीमध्ये कुनै जवाफ नहुन पनि सक्छन् –मेरा ।

यदि ती जवाफहरू मेरा हुँदैनन् भने मैले भन्नैपर्छ –आखिर म किन लेख्छु ?

त्यसपछि, म आफ्नो झिनो र निम्छरो तर्क यसरी पेश गर्छु –मैलेजस्तै गरी मैले लेख्ने कुरो यो संसारमा मबाहेक अरू कसैले लेख्न सक्दैन । मैले भोगेको समय मैलेजस्तै गरी यो संसारमा अरू कसैले अनुभूत गर्न सक्दैन । मैले दिने विचार मैलेजस्तै गरी अरू कसैले दिन सक्दैन । मैले भर्ने कला मैलेजस्तै गरी अरू कसैले भर्न सक्दैन । यसै कारण हुनुपर्छ, म लेख्छु ।

म जन्मेको कोख, म जन्मेर उभिएको माटो, मैले फेरेको सास र मैले जिएको जीवन यो संसारका अरू कोही कसैसँग मिल्दैमिल्दैन । मैले पढेका पुस्तकहरू, ती पुस्तकहरूबाट ममा परेको प्रभाव र ती पुस्तकहरूबाट मैले लिएको ज्ञान मैलेजस्तै गरी अरू कसैले लिन सक्दैन भन्ने मेरो ठम्याइ छ ।

सिक्ने र ग्रहण गर्ने तरिका पनि व्यक्तिपिच्छे फरकफरक हुन्छ । कोही यसरी बुझ्छ । कोही अर्कैगरी बुझ्छ । कोही शीतझैँ ग्रहण गर्छ । कोही आगोझैँ ग्रहण गर्छ । एव म रितले म आफूलाई अरूभन्दा सर्वथा भिन्न मान्छु । मेरो सम्पूर्ण कुरा कसैसँग सम्पूर्ण मिल्दैन । त्यसैले, म आफ्नो पृथक् अस्तित्वलाई इन्कार गर्न सक्दैसक्दिनँ । यसै कारण, म लेख्छु ।

म लेख्छु अर्थात् म साधना गर्छु । म लेखिरहन्छु अर्थात् म साधना गरिरहन्छु । मलाई लाग्दछ, जीवनको यात्रा नै साधना हो । साधना गर्नु नै जीवनको कटु भूमिका हो ।

शास्त्रले भनेको छ– ‘कर्म गर, फलको आशा नगर ।’

म शास्त्रले भनेकै जस्तो हुबहु त भन्दिनँ तर साधना गर्छु, गरिरहन्छु । अनि आफ्नो अमिट साधनाबाट कालान्तरमा पक्कै फल लाग्नेछ भन्ने आशा गर्दछु र खुसी हुन्छु । फल हात लागे ठिकै छ, नलागेपनि केही फरक पर्दैन । फलका लागि मात्र साधना गर्ने होइन क्यारे ! म त जीवनका लागि साधना गर्ने मान्छे हूँ । यही अभिप्रेरणाले उत्प्रेरित भएर म लेख्छु ।

म हुर्केको समाज र त्यस समाजलाई हेर्ने मेरो दृष्टि मेरोजस्तै अरू कसैको हुन सक्दैन । उक्त दृष्टि खोपिएको मेरो अनुहार अरू सबैकोभन्दा सर्वथा फरक छ । उक्त अनुहार उभिएको मेरो सम्पूर्ण शरीर, विचार र अभिव्यक्ति अरूकोभन्दा फरक नै छ । शरीर र विचारभन्दा प…र भावना बोकेको मेरो हृदय र त्यस हृदयमा विद्यमान ‘सृजन–शक्ति’ आफ्नै छुट्टै छ । यसैले त म लेख्छु ।

मेरो लेखाइमा मैले खिँच्ने शब्दहरू आफ्नो पृथक् हृदयाकाशमा उन्मुक्त कावा खाने चराहरूजस्तै हुन् । तिनीहरूको जीवन्त अस्तित्वलाई म कसैगरी पनि स्वीकार गर्न अभिशप्त छु । र त, म आफूप्रति नै असंवेदनशील बन्न सक्दिनँ । अँझै भन्छु, म ढुङ्गो होइन, मान्छे हूँ । यसर्थ, म लेख्छु ।

मलाई लाग्दछ –केही जान्न खोज्ने, केही बुझ्न खोज्ने, केही सिक्न र सिकाउँन खोज्ने हरेक व्यक्तिले आफूलाई लेख्नुपर्छ । नत्र, उसले भोगेको समय, उसले जानेको जीवनको ज्ञान, उसले देखेको समाज र उसको पृथक् दृष्टिकोण सारा कुराहरू उसँगै बिलाएर जानेछन् ।

म एक कदम अगाडि बढेर भन्दछु –मसँग अरूले देखेभन्दा केही फरक तरिकाले देख्ने, भन्ने, सोच्ने र लेख्ने तरिका छ । यसै कारण, म लेख्छु ।

अन्त्यमा, मलाई लाग्दछ, निरन्तर सिकाइको अनन्त सिलसिला हो –लेखाइ । म त सबैभन्दा बढी सिक्नकै लागि लेख्दोरहेछु । जस्तो कि –आफू खुसी हुन सिक्नु, समाज र देशका लागि केही नदिन होइन दिन सिक्नु, आफू हुनुको अस्मिता जोगाउँन सिक्नु, अरूको झिनो आवाजलाई मुखरित गर्न सिक्नु, आफूलाई लागेको विचारको आत्मप्रकाशन गर्न सिक्नु, कलाको नयाँ स्वाद् पस्किन सिक्नु….आदिआदि ।

रमेश घिमिरे
चिसापानी, रामेछाप
हालः अमृत साइन्स कलेज, काठमाडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *