Skip to content


‘सपना त ती हुन् जसले मानिसलाई निदाउँन दिँदैनन्’ – एपिजे अब्दुल कलाम

जुन दिन मैले भारतीय पूर्वराष्ट्रपति स्व.एपिजे अब्दुल कलामका प्रेरक भनाइहरूको सूचीमा उक्त भनाइ देखेँ, त्यसले मलाई नराम्ररी छोयो । झिलिक्क बिजुली चम्केजस्तो भयो मेरो सम्पूर्ण चेतना । मुटु ढक्क फुल्यो । ठूलै नयाँ चीज पाएँजस्तो लाग्यो । धेरैबेर ती शब्दहरू र शब्दहरूले दिएका मिहिन भाव र अन्तर्यबारे टोलाई बसेँ ।

त्यसपछि आफूलाई ठानेँ, म त अधकल्चो रहेछु । आधा काँचो, आधा पाकेजस्तो । म मात्र होइन यहाँ धेरै मानिसहरू अधकल्चा नै रहेछन् जो आफूले धेरै जानेको, बुझेको फुइँ लाउँछन् ।

हामी बिहान आएको अखबार पढेर आफ्नो धारणा बनाउँदा रहेछौँ र दिनको सुरुवात गर्दा रहेछौँ । अखबारले आज भनेको सत्य कुरा जब दस दिनपछि झुट्टो ठहर्छ तब हामी खङ्रङ्ग पछौँ । अनि, दस दिन अगाडि आफूले बनाएको धारणा छेपारोले रङ फेरेजस्तै फेर्न बाध्य हुन्छौँ । फेरि अर्को दस दिनपछि पहिलेकै कुरा सहिरहेछ भनेर जब अखबारले लेखिदिन्छ तब हामीपश्चातापले जल्न थाल्छौँ ।

यसरी हाम्रो धारणा फेरिइरहन्छ । विचार पेन्डुलम बन्छ । कहिले एउटा, कहिले अर्कै । हिजो वर्गीय मुक्तिका लागि जीवन समर्पित गरेको मान्छे आज जातीय, क्षेत्रीय पृथकतावादी बन्छ । हिजो लोकतान्त्रिक समाजवादको पाठ घोकाउँने नेता आज समाजवादको नामै सुन्न चाहँदैन । हिजोका गणतन्त्रवादीहरू आज कट्टर राजावादी बन्छन् । हिजोका राष्ट्रघातीहरू आज दूधले धोएका गाई बन्दछन् । हिजोको दानव आज देवता बन्छ र पुजिन्छ । त्यही देवता भोलि दानव र पर्सी फेरि देवता बनिदिन्छ । कुन कुरा सही र कुन गलत भन्ने किन थाहा हुनु पर्यो र ? जे भनेपनि मानिसहरू पत्याइदिइहाल्छन् ।

किनकि, नदीको सतहमै पौडिन क्या मज्जा छ । गहिराईमा पुग्ने कस्ले दुःख बेसाओस् ? यहाँ सबैलाई हतारैहतारै छ । कुदाकुद् छ । लुछालुछ छ । मारामार छ । सब सबथोक बिन्दास छ । सब सबथोक झकास छ ।

यही मेसोमा धेरै मानिसहरू धेरैतिर भौंतारिएका छन् । ती भौतारिनेहरूमध्ये मजस्ता युवाहरू अँझ धेरै छन् । रातभर ननिदाएका आँखा मिच्दै भौंतारिनु हाम्रो विवशता हो । भविष्यको चिन्ताले रातभर निदाउँन दिँदैन । आज कत्ति धेरै श्रम, समय र पैसा खर्च गरेर पढ्यो । भोलि भोकै मर्नुपर्ने नियति छ । पहिलेपहिले यस्तै लाग्ने गर्थ्यो । सोही कारण रातरातभर ननिदाएर सपनाहरूको हत्या गरेको अपराधबोध हुन्थ्यो । तर, अचेल कलामको त्यो उक्तिले मलाई फेरिदिएको छ । म खुसी भएको छु । सन्तुष्ट भई निदाएको छु ।

——-

म त भन्छु, सपना हरेकले देख्नुपर्छ । सपनाले नै जीवनलाई सही गोरेटोमा हिँडाउँछ । लक्ष्ययुक्त बनाउँछ । जीवनमा एकएक सेकेण्डको महत्व सपना बोकेको मानिसले मात्र बुझेको हुन्छ । सपना नभएकाहरू सोझो बाटोलाई बाङ्गो देख्छन् । सुन्दर जीवनलाई कुरूप देख्छन् । अमूल्य समयलाई मोज, मस्ती र सुखसयलहरूमा व्यतित गर्छन् । कुलतमा फस्छन् । रक्सीको झोलमा डुबेर जीवन सक्छन् ।

त्यसैले खबरदार, सपना देख्न छोड्नु हुँदैन । सपना देख्ने मानिस नै सच्चा मानिस हो किनभने ऊसँग सपना हुन्छ । सपना छ भने आफैँमा जोश हुन्छ । केही गरौँ भन्ने तुफानी जाँगर हुन्छ । चट्टानी अठोट हुन्छ । लक्ष्य भेट्ने उत्कण्ठा हुन्छ । यी सबै कुरा विद्यमान हुँदा जीवन जीवन हुन्छ । मान्छेको साँचो जीवन त यो हो ।

सपना नभएकाहरू हरेक चीजलाई नराम्रो देख्छन् । हरेक कामलाई नराम्रो कोणबाट हेर्छन् । युवकहरूलाई प्रोत्साहित गर्दैनन् । अरूलाई हतोत्साहित गरेर आफ्नो कुण्ठा पोख्छन् । उनीहरूसँग जिन्दगीको परिभाषा हुँदैन । जीवनको कुनै भिजन र मिसन हुँदैन । उनीहरू खोक्रो जीवन घिसारिरहन्छन् । र, यसै यसै अह म र तुषको पोखरीमा चुर्लुम्म डुबेर अमूल्य जीवनलाई बिसर्जन गर्छन् ।

बाँच्नु मात्र त पशु पनि बाँच्छ । तर, मानिस भएर पशुजसरी जीवन घिच्याईघिच्याई बाँच्नु कति जायज हो ? सपना नभएकाहरू बाचुन्जेल बाँच्ने हो भन्छन् । तर, उनीहरू भित्रभित्रै असन्तुष्ट र असहिष्णु हुन्छन् । बाहिर त्यसलाई पोख्न आक्रोश र घृणाका दिग्मिग् दिग्मिग् लाग्ने रागहरू अलाप्छन् । त्यस्तै मानिसहरूको हातमा आज देशको राजनीति छ, कुटनीति छ, प्रशासनतन्त्र छ, सत्ता छ, शक्ति छ, शासन छ, प्राधिकार छ, सबथोक छ देशको तालाचाबी ।

त्यसैले त हामी माथि उठ्न सकिरहेका छैनऊँ । जहाँतहीँ ढिलासुस्ती छ । भ्रष्टाचार र अनियमितता व्याप्त छ । हैरानी, हताशा र निराशा व्याप्त छ । सपना नभएका मानिसहरूको राज्यशक्तिमा हालीमुहाली भएकै कारण यो देश जहिल्यै अस्थिर बनिरहेको हो । त्यसैले अब स्वप्न–द्रष्टाहरू जाग्नुपर्ने बेला आएको छ । सपना नै नभएकाहरूलाई पहुँच र पैसाको आधारमा लाभको पद दिने परिपाटी बन्द गर्नैपर्ने भएको छ । नत्र, हामी माथि उठ्न अँझै पचासौँ वर्ष पर्खिनुपर्ने छ, जतिखेरसम्म हामी मरिसकेका हुनेछौँ । त्यसैले अब हाम्रो आफ्नै जीवनमा देशको जीवनमा सकारात्मक परिवर्तन ल्याउँन जोरजुलुम र हातेमालो गर्नैपर्ने भएको छ । आजै अहिल्यै तुरुन्तै झट्टै आफ्नो काम थालिहालौँ । किनभने, देशको मुहार फेर्न हाम्रो पनि अह म भूमिका छ ।

सपना नदेख्ने हीनहरू भन्ने गर्छन्– ‘पूरा नहुने सपना र महत्वाकांक्षा बोकेर अन्तिममा निराश, दुःखी र हतोत्साही बन्नुभन्दा त सपनै नदेख्नु राम्रो हो । जीवन यसै पनि चलेको छ, उसै पनि चलेकै छ । किन महत्वाकांक्षी सपना देखेर अन्तिममा आत्महत्या गर्ने परिस्थिति उत्पन्न गर्ने बित्थामा ?’

तर म त्यस्तो कदापि भन्दिनँ । म सपना नदेख्ने हीनहरूको बकम्फुसे कुरामा विश्वास गर्दै गर्दिनँ । म त भन्छु, सपना देख्ने हो । आफ्नो काम गर्ने हो । अठोट र लक्ष्य लिने हो । पूरा नभएपनि सपना देख्न नछोड्ने हो । लागिरहने हो आफ्नो लक्ष्य प्राप्तिमा आखिरी साससम्म । हाँसिरहने हो प्रत्येक पाइलामा खुसी हुँदै । यो नै मानव जीवनको अमिट सौन्दर्यशास्त्र हो । यो नै जीवनको उज्यालो अनुभूति हो अगाडि बढ्ने र प्रगतिथमा लम्किने ।

सपना नदेख्ने र सपना पूरा नभएर विरक्त भएकाहरू भन्ने गर्छन्– ‘सिसिफसको नियति किन बाँच्ने ?’ तर, म त भन्छु, मानिसले हाँसीखुसी सिसिफसको नियति बाँच्नैपर्छ । सिसिफसले ढुङ्गा बोकेर पहाड उक्लने जुन लक्ष्य लिएको थियो, त्यो आजसम्म पनि मरेको छैन । सदासदा चीर नूतनकालसम्म त्यो मर्ने छैन । सिसिफसलाई देखाएर मानिसको अजरअमर सपनालाई पच्पची गाली गर्नेहरू कहिल्यै सुखी र खुसी हुन सक्दैनन् ।

सिसिफसलाई त घृणा होइन, श्रद्धा गर्नुपर्छ र उसलाई सम्झेर जीवन जिउनुपर्छ । हरेक असफलताहरूबाट निराशा होइन ऊर्जा लिएर अगाडि बढ्नुपर्छ । सिसिफसले जति संघर्ष र जीवनको पाठ कसैले सिकाउँन सक्दैन । उसले हामीलाई सपनाहरू देख्न र पूरा गर्न घच्घच्याइरहेको छ ।

कवि गोपालप्रसाद रिमालले भनेका छन् –‘विपनाको पखेँटा नै सपना हो ।‘ त्यस्तो पखेँटा जसबाट उडेर हामी अनन्त आकासमा कावा खान सक्छौँ । सृृष्टिको सरस आनन्द अनुभूत गर्न सक्छौँ । जीवनका इन्द्रेणी रङहरू सपनाबाटै हामी चिन्दछौँ । सपना नदेखेसम्म केही केही प्राप्त हुँदैन । तर, जब सपना देखिन्छ, केही न केही पाएरै छोडिन्छ । जसरी भोको व्यक्तिलाई खानाले डोर्याइरहेको हुन्छ, त्यसै गरी समर्थ व्यक्तिलाई अठोट र लक्ष्य बोकेको उसको महान् सपनाले डोर्याइरहेको हुन्छ । यसैले त हामीलाई तमाम पीडा, अभाव र उल्झनहरूमा पनि मर्न कसैगरी मन लाग्दैन, बाँच्न मन लाग्छ, बाँचिरहन मन लाग्छ ।

सपना कसैले देखाइरहनु पर्दैन । अरूले देखाएको सपना त उसको स्वार्थको लागि हुन्छ । जसरी दसवर्षे सशस्त्र युद्धमा माओवादीले सोझासाझा जनतालाई गुलिया सपना देखायो । आज आएर हेर्दा त्यो सब प्रचण्ड र बाबुरामलगायत केही सीमित व्यक्तिलाई सत्तामा पुर्याउँने भर्याङ बन्यो । जनताको जीवनमा आशातित परिवर्तन आउँन सकेन । भलै, त्यसले जनताको चेतनाको स्तर केही माथि भने अवश्य उठायो ।

त्यसैले सपना अरूले देखाएर होइन हामी आफैँले देख्नुपर्छ । हामी प्रत्येक व्यक्ति स्वतन्त्र र सार्वभौम छौँ, सपना देख्न र उद्देश्य बोक्न । देवकोटाले उद्देश्य के लिनु उडी छुनु चन्द्र एक त्यसै भनेका होइनन् । त्यहाँ उनले मानिसको जीवनको लागि दुबोजस्तो हरियो र जीवन्त ज्ञान दिन खोजेका छन् । यथास्थितिमै रुमल्लिरहने हो भने परिवर्तन र विकास सम्भव छैन । अग्रगामी सोच र सपना बोकेर मात्र हामी सफल हुन सक्छौँ । अरूलाई गाली मात्र गर्ने र आफू पनि केही गर्न नसक्ने प्रवृत्तिले हामीलाई गिराइरहेको छ त..ल तल भासमा ।

म त भन्छु, मानिसले उद्देश्य ठूलो नै लिनुपर्छ ताकि सानोसम्म भए पनि उपलब्धी होस् । तर, उद्देश्य नै लिएन र सपना नै देखेन भने त सानो उपलब्धी पनि हुँदैन । उद्देश्य बोकेको यात्रा मात्र फलदायी हुन्छ र त्यस्तो यात्राले मात्र जीवनमा सकारात्मक मोड दिन सक्छ । उद्देश्य नभएको यात्रा त कालो सुरुङ भित्रको निसास्सिँदो यात्रा हो, जसबाट कहिल्यै गन्तव्य भेट्न सकिँदैन ।

आफ्नो ज्यानभन्दा ठूलो भारी बोकेर नाक ठोक्किने उकालो चढिरहेको कुनै भरियाले पहाडजत्रै सपना बोकेको हुन्छ । ऊ आफ्नी स्वास्नी र छोराछोरीको खाना, छाना, नाना, शिक्षा, स्वास्थ्य र सुरक्षाको कति मीठो सपना बोकेर पहाड उक्लिरहेको हुन्छ । दिनभर भारी बोक्छ । थोरै ज्याला पाउँछ । तर पनि उस्तो गुनासो सुनिदैन उसको । मुटुभरी पीडा त बोकेको होला, तर जहिल्यै हँसिलो मुख बनाउँछ र ङिच्च हाँसिरहन्छ । उसलाई अँझ बाँचौँ बाँचौँ लाएर आउँछ किनभने उसले जति जीवनको मूल्य कस्ले बुझाउन सक्छ र ? बरू उसको पाइतालाले टेक्दाटेक्दा पहाड होचो होला तर उसको सपना कहिल्यै होचो हुँदैन, उल्टै अग्लिरहन्छ आकाश छुन ।

म चराहरूलाई हेर्छु, जतिसुकै ठूलो हुन्डरी, बतास, आँधी, मुसलधारे पानी र शत्रु जीव आओस् र तिनीहरूको गुँड भत्काओस् । तर तिनीहरू गुँड बनाउँन कहिल्यै छोड्दैनन् । किनभने तिनीहरू हर्दम सपना देखिरहन्छन्, पानी, घाम र शत्रुहरूबाट बच्न भरपर्दो गुँड बनाउँने, बचेराहरू जन्माउँने, तिनीहरूलाई चारो खुवाउँदै हुर्काउँने र नयाँ गुँड र गृहस्थी बनाउँने अवस्थामा तिनीहरूलाई पुर्याइदिने । यो सिलसिला कहिल्यै टुङ्गिदैन । चाहे तिनीहरू कहिल्यै आकास छुन नसकून् । तर, हरेक रात भोलि आकास छुने सपना देखेर मात्र निदाउँछन् । सपना पूरा नभएकोमा कहिल्यै तनाव लिदैनन् र कोहीसँग पनि दुःख मनाउ गर्दैनन् । बरू सिकारीबाट आफू मारिन तयार हुन्छन् तर तिनीहरूको स्वाभीमान् कहिल्यै डग्मगाउँदैन । किनभने, तिनीहरू अजरअमर सपना देख्छन् ।

त्यसको बदला झम्झ म झरी परिरहेको बखत ट्वार्र..ट्वार्र कराइरहेको कुनै छेपारो देख्नुपर्छ । त्यसले चिसोमा लुगलुग काम्दै भोलि घर बनाउँने सपना त देख्छ । तर, त्यो क्षणिक हुन्छ । भोलिपल्ट झलमल्ल घाम लागेपछि हिजो देखेको सपना चटक्क भूलिहाल्छ । फेरि कुनै दिन झरी पर्छ, ऊ फेरि घर बनाउँने सपना देख्छ । फेरि भोलिपल्ट घाम लाग्छ, ऊ सपना भूलिहाल्छ । आखिर उसले कहिल्यै घर बनाउँदैन किनकि ऊसँग दृढ सपना हुँदैन । त्यसैले, हामीले देखेको सपनासँग आफ्नो दिगो लगाव, आस्था र विश्वास जोडिएको हुनुपर्छ । यदि त्यस्तो नभएमा त आफ्नै सपनाले आफूलाई तनाव दिन्छ र डिप्रेसनको रोगी बनाउँछ ।

कवि रिमालले फेरि भनेका छन्– ‘विपनाको हराएको मणि नै सपना हो ।’ त्यस्तो मणि जसको उज्यालो प्रकाशले जिन्दगीलाई सही दिशानिर्देश गर्छ । विपनामा त्यो मणि हराएको अवश्य छ । र त, जीवन खोक्रो र क्रुर देख्छन् सपना नदेख्नेहरू । भनिरहनुपर्दैन, सपना नदेख्नेहरूले कहिल्यै त्यो अज्रस मणि भेट्न सक्दैसक्दैनन् । त्यो भेट्ने त सपना देख्नेले मात्र हो । किनकि, राति निदाएपछि देख्ने सपना त क्रुर विपनाका लाचार साक्षी मात्र हुन् । सच्चा सपना त ती हुन् जसले मानिसलाई कहिल्यै निदाउँन दिँदैनन् । यसको मतलब यो होइन कि राति नसुती नसुती छट्पटिनुपर्छ र लक्ष्य भेट्नुपर्छ । यसको अर्थ यो हो कि हामीले अजरअमर सपना देख्नुपर्छ त्यो सपना आफूभित्र कहिल्यै ननिदाओस्, आफू मस्मसी राति निदाउँदा पनि । आफू मर्दा पनि शरीर मरोस् तर आफ्नो सपना कहिल्यै नमरोस् अजरअमर आत्माझैँ ।

रमेश घिमिरे
चिसापानी, रामेछाप
हालः अमृत साइन्स कलेज, काठमाडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *