Skip to content


अन्धकार कालो रातले सताउनसम्म सतायो । केही देख्न-सुन्न, कतै हिँड्न र केही बोल्न पाउने कुरै भएन । यस्तो औँसीको सघन रातलाई दिनमा बदल्नु चानचुने कुरा थिएन । उज्यालो दिन ल्याउन त सूर्य झुल्काउनु पर्थ्यो ।

प्राणाहूति भएकै हो । सौभाग्यवतीका सिउँदाहरू खसेकै हुन् । काखहरू रित्तिएकै हुन्, चिसिएकै हुन् । अबोध नानीहरू टुहुरा भएकै हुन् । वार्धक्य जीवनका लौराहरू भाँचिएकै हुन् । जसको परिणाम ः आशाका दियोहरू पनि बलेकै हुन् ।

एउटै आमाका तीनभाइ अग्ला छोराहरू अर्थात् जेठो, माइलो र कान्छो । यिनकै अगुवाइमा पछुवा केही छिमेकी होचाहरू । बस अर्थात् गाडी तयार छ-इटहरीमा । शुभारम्भ गर्नु छ महायात्रा । अर्थात् रात ढालेर दिन ठड्याउने भयङ्कर यात्रा । जसका लागि घाम त ल्याउनै पर्यो । हो, त्यही घाम ल्याउने यात्रा ।

‘जाउँ पूर्व’-भन्छ जेठो । पश्चिमतिर इसारा गर्छ माइलो । कान्छो ताक्छ-उत्तरको धरान । अरू पछुवाहरू, कोही दक्षिणको विराटनगर देखाउँछन् त कोही चार दिशामा गोलमालपाराले पक्ष र विपक्षमा विभाजित हुन्छन् । मत-मतान्तर भयो निशानामा, गन्तव्यमा ।

समय धेरै बितेर गयो । निरन्तर छ दोहोरो दन्तबम्झान र पाखुरा सुर्कासुर्की । इटहरीको बसपार्कमा चुपचाप बसिरहेछ बस, सुनिरहेछ कर्कश मानव-ध्वनि र हेरिरहेछ निःशुल्क तान्डवनृत्य ।

नजिकै, नेपथ्यमा पुरानै स्वर उरालिरहेछ लाटोकोसेरो-कुलुलु…….. कुलुलु………… !

इन्द्रपुर-१, मोरङ

मधुपर्क २०६८ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *