Skip to content

सुखको सूर्य जन्माउने पत्नीलाई पत्र


प्यारी जानकी,
सप्रेम सम्झना !

तिमी मेरो जीवनमा नआउँदा म फगत एक्लो थिएँ । जिम्मेवारीबाट पूरै अलग थिएँ । पैतृक सम्पत्ति र संरक्षणमा जीवन हिँडाइरहेको थिएँ । चिन्तामुक्त मनोदशामा सिर्फ लेखपढमा चित्त लगाउँथेँ । थरीथरीका शैक्षिक र वैयक्तिक अनुभव भएका शिक्षकहरू थिए । उनीहरूको छत्रछायाँले दिनहुँ मेरो ज्ञानको जग बलियो हुँदै गइरहेको थियो । विज्ञानको विद्यार्थी हुनाले खोजयात्रामा सरिक हुने अवसर समेत मिलिरहन्थ्यो ।

आफूले पत्ता लगाएका समस्याहरूको समाधान स्वय म गर्थें । सम्भव नभएका कतिपय शिक्षककहाँ राख्थेँ । त्यहाँ पनि सबै किसिमका प्रश्नले उत्तर भेट्दैनथे । बेलाबेलामा म अनुत्तरित प्रश्नको वरपर घुमिरहन्थेँ । पटकपटकको प्रयत्नले तीमध्ये केहीको समाधान पत्ता लाग्दथ्यो । केही भने अँझै जस्ताको तस्तै रहन्थे । यसो गरिरहँदा मेरो सिकाइ र बुझाइ मजबुत हुँदै जान्थ्यो ।

शिक्षकले भनेका र किताबी कुरालाई सूचनाको रूपमा लिने गर्थेँ । तिनमा आफ्नो मत मिसाउँदा कतिपय सैद्धान्तिक पाटाले बेग्लै रूप लिन्थे । सूचनाका अतिरिक्त मौलिक कुरा पनि लेख्ने हुँदा परीक्षामा कम अङ्क ल्याउँथेँ । त्यसले पिताजीको मनमा वितृष्णा जन्मेछ । आफ्नो लगानीले उचित प्रतिफल प्राप्त गर्न नसकेको भनेर उहाँले कडा रोष व्यक्त गर्नुभयो । म दिनानुदिन विज्ञान जगत्मा सशक्त हुँदै गएको परिप्रेक्ष्यमा पिताजीको असन्तोष मेरा लागि घातक सिद्ध भयो । घोरिँदै र खोज्दै जाँदा परीक्षामा अङ्क ल्याउने एउटै बाटो भेटियो– रटन्ते शिक्षा । फलस्वरूप पिताजीका लागि किताब–गाइड रट्न शुरु गरेँ ।

रट्दा रट्दै दिन सकिन्थ्यो । रात आधा हुन्थ्यो । हुँदाहुँदै अपेक्षा विपरीतको फल हात लाग्यो– चन्द्रधारी मिथिला विज्ञान महाविद्यालय, दरभङ्गाबाट विज्ञान सङ्कायको सन् १९९५ को स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम उपाधि । त्यो आफ्नो सोचसमझ बाहिरको बोक्नै नसक्ने उपाधि थियो । त्यसै दिनदेखि मेरा दुःखका दिन उदाए । उपाधि रक्षाका लागि आफूमा भएको स्वच्छन्दतालाई भित्रभित्रै दबाएर भद्र व्यक्तिमा रूपान्तरण हुने प्रयासमा लाग्दो भएँ ।

उपाधिको महत्त्व जोगाउनु मेरो लागि फलामका च्युरा चपाउनु नै थियो । आशा र अपेक्षा गरेभन्दा उत्तम दर्जाको फल पाउनु पनि घातक नै हुँदो रहेछ । मेरो चयनको श्वास बन्द भयो । चञ्चलता, जागरुकता र जिज्ञासु मन हराएर गयो । कसो गरेर अरूभन्दा उत्तम भइरहने, के गरेर उपाधिको सम्मान बचाइराख्ने ? मेरो तनमन त्यसैमा केन्द्रित भइरह्यो ।

पलपल विरसिला दिनहरू उदाउन थाले । थरिथरीका सपनाहरू जन्मेर अगाडि उभिन्थे । तिनलाई निरीक्षण गर्न मात्र सक्थेँ । सुम्सुम्याएर पहिचान गरी आफूमा समाहित गर्न सक्तिनथेँ । तिनलाई व्यवहारिक तुलोमा तौलन खोज्थेँ । असफल होऊँला कि भन्ने डरले सपनाहरू तुहाउन वाध्य हुन्थेँ ।

सामान्य विद्यार्थी छँदा स्वतन्त्र थिएँ । जहाँसुकै विहार गर्दा पनि हुन्थ्यो । जसरी आफ्नो मन बहलिन्छ, त्यसै गर्दा पनि इज्जत अगाडि उभिन आउँदैनथ्यो । अब त पाइलैपिच्छे उपाधि वाधक भई खडा हुन थाल्थ्यो । यहाँसम्म कि आमाबाबुसँग पनि मन खोल्न बाधा पर्न थाल्यो । र, उपाधिको आडम्बर–त्यागसँगै दुःखका दिन अस्ताए ।

अब सुखको सूर्य जन्माउने अभिभारा तिम्रै काँधमा छ । किनभने तिम्रा काखमा हाम्रा दुई छोरी छन् । म भने जीविकोपार्जनको आधार जुटाउन तिमीहरूका साथबाट टाढिएको छु । तसर्थ म छोरीहरूको परीधीय मित्र मात्र हुँ । तिमी त केन्द्रीय संगी नै हौ ।

हेर, म सानैदेखि देशबाहिरै बढेँ, पढेँ र त्यहीँको कुरा मात्र जानेँ । एउटा उच्च दर्जाको उपाधिसहित पुर्खौली मुलुक फर्किएँ । मैले भोग्नुपरेका भाषिक, सांस्कृतिक, सामाजिक, भौगोलिक र शैक्षिक समस्या र जटिलताहरूको कहिरन उल्लेख गरी साध्य छैन । यसखाले समस्या छोरीहरूको जीवनमा नआओस् भन्नका लागि मभन्दा तिमीले नै असल माली बन्नु जरुरी छ । त्यही चिन्ता र चासोलाई बुझ्दै मैले आफ्नो अन्तर्हृदयका आवाज तल लिपिबद्ध गरेको छु । बुझेर छोरीहरूलाई उचित वातावरण दिने छ्यौ भन्ने ठानेको छु ।

हाम्रा छोरीहरूले विद्यालयीय शिक्षा आफ्नै देशमा आर्जन गर्ने छन् । आफ्नो भूगोल जान्ने छन् । मेची–महाकाली, तराई–हिमाल पर्गेल्ने छन् । भाषा–भेष र व्यवहारका धनी हुने छन् । पारिवारिक संस्कृति र चालचलनको फेद–टुप्पो चिन्ने छन् । नेपालीय संस्कृति र सांस्कृतिक पक्षको जानकारी राखी श्रद्धा गर्न सिक्ने छन् । आफ्नोपनमा गर्वबोध गर्न सके आफन्तबाटै डरपोक बन्नुपदैन । उकाली चढ्न आत्तिनु पर्दैन । ओराली झर्न पाउँदा आनन्द मान्नु पर्दैन । जुन भूमिले शरीरभरि रगत चढाइदिएको छ, बास र गास दिलाएको छ, त्यसकै समुन्नतिमा आफूले पनि पसिना बगाउनु पर्ने मूलमन्त्र सम्झने छन् । त्यसको निर्माणमा आफ्ना पुर्खाहरूको खुन–पसिना लगानी भएको सम्झने छन् । साँच्चैका नेपाली चेली बनेर नव नेपालका भृकुटी हुने छन् ।

यसखाले मेरो सदीक्षा पूरा गर्न होस् दिलाउने छोरीहरूकी चौबिसे घण्टे चौकिंदार तिमी नै हौ । तिमीले पिलाउने दुधमै त्यो रङ मिसाउन जरुरी छ । तिमीले नै अमिल्दो पक्ष मिलाएर पारिवारिक वातावरण अनुकूल बनाउनुपर्छ । एकलकाँटे विचार राखेर घृणाको संस्कार दिलाई निहित स्वार्थको पृष्ठपोषणमा मलजल पुर्याउनु भनेको जडसंस्कार सिकाउनु हो । जडताले कहिल्यै कसैको भलो गरेको छैन । सर्वप्रथम आफ्नो हृदय सगरमाथाझैँ स्वच्छ र विशाल बनाऊ । अनि, छोरीहरूलाई सोही मार्ग देखाउने र हिँड्न सिकाउने पुरा दायित्व आफ्नै काँधमा आएको सम्झ । त्यसलाई पूरा गराउन वचनबद्ध बन ।

हाम्रा छोरीहरूलाई स्वतन्त्र मासिकतामा स्वतन्त्र व्यवहार प्रदर्शन गर्न दिन तिमी स्वतन्त्र हुनुपर्छ । तिमीले नै घरभित्र र बाहिरका काममा हात हाल्नुपर्छ । के गर्दा र कुन विधि–प्रविधि अपनाउँदा उत्पादनात्मक प्रतिफल प्राप्त हुन्छ, त्यसको हिसावकिताव गरेर अघि बढ्नुपर्छ ।

छोरीहरू स–साना कुरामा झगडा गर्लान्, रोलान्, चिच्याउलान्, लड्लान्, पछारिएलान् । जे गर्छन्, केही समय गर्न दिनुपर्छ । बिगार गरे गर्न दिनुपर्छ । मनपर्दी गर्न पाउँदा उनीहरूको मासिकता खुल्छ । खुलेको मानसिकताले चेतनाको ढोका उघार्न मद्दत गर्दछ । मात्र शारीरिक र मानसिकरूपले खतरामुक्त बनाउन तिमीले सचेत नजर लगाउनुपर्छ ।

उनीहरूको रुवाइ बन्द गर्नु छ भने ‘नरोऊ नानी’ भनेर चेपारो घस्नुको सट्टा आफैँ रोएको अभिनय गर्नुपर्छ । यसो गरे उनीहरू आफ्नो रुवाइ बन्द गर्न पुग्छन् । र, रुनुको कारण बुझ्न खोज्दै सोध्ने छन्– “मम्मी ! कथिला कानै छी ?” उत्तर नदिई रोइरहे नरुन आग्रह गर्दै भन्ने छन्– “मम्मी नई कान । हमु नई कानवे ।” त्यस पछि भने अभिनय बन्द गर्नु जरुरी छ । वातावरण शान्त भएपछि ‘तिमीहरू रोएका कारणले दुःख लाग्यो र रोएकी हुँ’ भनेर जवाफ फर्काएमा उनीहरूको कलिलो मानसिकतामा अरूको दुःखमा दुःखी हुने र सुखमा खुशी हुने भावना पैदा हुन्छ ।

जानकी ! छोरीहरूलाई खाना खुवाउन मुस्किल पर्छ । त्यस बेला पुरातन मन्त्र अपनाइने गरिएको छ । अर्कालाई देखाउँदै ‘को खाई, को खाई ?’ भन्दै अर्काको लागि लम्काएको हात ‘मेरै नानी खाई’ भनेर खुवाउने चलन छ । यस किसिमको इष्र्यालु भावना व्यक्त गर्ने क्रियाकलाप अविलम्ब बन्द गर्नुपर्छ ।

आफ्नो भाग अरूलाई बाँड्नुहुन्न, सबै आफैँले मात्र पाउनुपर्छ भन्ने जस्ता असामाजिक भावनाले बालमस्तिष्कमा गहिरो छाप पार्न सक्छ । बरू ‘नानीले पनि खाने, दिदी–दाजुले पनि खाने, सबैले सँगसँगै खाने’ भन्दै अरूलाई पनि दिँदै नानीहरूलाई खुवाउन सके, त्यसको सकारात्मक असर पर्दछ । असल गुण विकासमा मद्दत पुग्छ ।

प्यारी जानकी ! आफ्ना नानी–बाबुको चौतर्फी विकासमा हामी आमाबाबुले पाइलैपिच्छे अनुशरण गर्नैपर्ने र कार्यान्वयन नगरी नहुने पर्याप्त अनुभूति मनमा गुम्सिकै छन् । आवश्यक परेमा म अघि सर्ने नै छु । तिमीले पनि प्रत्यक्ष भन्न नसकेका, नभ्याएका र नमिलेका कुराहरू पत्रकै माध्यमबाट अवगत गराउन सक्छ्यौ । आजलाई भने पत्रान्त गर्दै छु ।

–नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
मो. नं. ९८४२८२९२०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *