पीडाहरू मेरा सबै मनको कुनामा राखिरहें
आफ्ना इच्छाहरू सारा आफैले नै मारिरहें
सोध्ने मात्रै कति हो कति, कति आए पनि
के भा’छ भनी सोधे, बोल्दै नबोली टारिरहें
सक्दो गरियो, खुशी भने उतातिरै पारीदिएँ
साँच्चै उनको दु:ख, आफ्नै भागमा सारिरहें
रोक्दा रोक्दै नि सबथोक छाडेर ऊ पर भई
संझदै निष्ठुरीलाई चुपचाप आँसु झारिरहें
चिरा परेको मन, हिम्मत गरी गरी टालियो
दु:खी भएपनि, अरूलाई चै खुशी बाँडिरहें
नसोचेको नि होइन, जीवनै आफै सिद्याउन
पक्कै मेरो पनि त दिन फिर्छ भन्दै बाँचिरहें