उसले बूढापाकाले भनेको सम्झ्यो – “जाडो भगाउन रूई, दुई र फुई चाहिन्छ ।”
रूई किन्न पैसा पुगेन, दुईको लागि उसको जोडी थिएन । त्यसैले दिनभर झिक्राझाक्री दाउरा र घसमल जोरजाम गर्यो ।
रात परेपछि जाडो छिप्पिदैं गयो । उसले फुई जोर्यो र त्यसैको तातोमा सेकिएर कैयौं दिनदेखि नपुगेको निद्रा निदायो ।
केहीबेरपछाडि त्यहाँ हल्लीखल्ली भयो र ऊ ब्यूँझियो ।
उसको झुपडीमा आगो दन्किरहेको थियो ।