Skip to content

एक्लो व्यग्रता

गोविन्दबहादुर मल्ल गोठालेले पल्लो घरको झ्याललाई लिएर उपन्यासै लेख्ने सामग्री पाए भने मलाई भने यदाकदा सानातिना कथा र निबन्धका लागि चाहिनेसम्मको सामग्रंीहरू मात्र पल्लो घरको झ्यालले दिने गर्छ । यसपटक पनि पल्लो घरको झ्यालले यस्तै केही सामग्री दिएको छ । त्यो दिएको सामगंी काम लाग्दो छ छैन वा त्यस झ्यालले मलाई कस्तो सामगं्री दियो त ! कथाकै रूपमा पाठकहरूलाई सुनाऊँ कि ! अनुमति पाएँ भने सुनाऊँछु । उसो भए अब सुरु गरूँ है त ! सुरु हुन्छ अब कथा— पल्लोघरको झ्यालले ल्याएको परिणाम एक्लो व्यग्रता ।
“हन आज कता मरेछन् यी केटीहरू ?’” खँड्का बूढाको फतफत अब झन् चर्कियो । मानौ उनी अधीर भएका छन् । आफ्नो फतफत कसैले सुन्ला भन्नेमा उनलाई कुनै डर त्रासै छैन, उनले सतर्क हुनु पनि छैन । उनको घरमा उनी फत्फताएको सुन्ने अरु कोही पनि ता छैन । सुने पल्ला घरे छिमेकीले सुन्लान् । सुने सुनून् । अरु कसले सुन्छ ? आ बित्थामा ! उनलाई अब अनि केको सतर्क हुनु छ त ? तबैतारे । यसैले उनलाई जे भने पनि जे गरे पनि उनको घरमा खुला छ । उनको घरमा उनकै खुसी । उनलाई कसैले के भन्ला भन्ने डर नै छैन । कसैले सुनिहाल्यो भने के नै बिग्रिन्छ त । बढी भए बूढो भयो गन्गनाउँछ भन्छन् आफैं चू्प लाग्छन् नि । आखिर उनी आफ्नो घरमा जे पनि गर्न खुला छन्, जे पनि भन्न खुला छन् । कसका बाबुको घर हो र ? खँड्का बा घरका राजा, आफू एक्लो भए पनि । खँड्का बा आफ्नै घरको राजा झोपडी नै भए पनि । हो त नि ।
“साँझ परेको अहिले होइन । के हो यस्तो ! कता गए हँ तिनीहरू ? होइन के हो यस्तो छाडा चाल ! रातबिरात केटी मान्छेहरू यसरी घरबाहिर बस्नुहुन्छ ? यतिका बेलासम्म पनि कोठामा आउँदैनन् ए ! लौ हेर त कस्ता हुस्सू हुन् ? तिनका आमाबाबुले के सिकाएका हुन् कोनि !” अझै फत्फताए ।
आफ्नो घरसँगै जोडिएको छिमेकीको घरमा केही महिनादेखि भाडामा बसेका दुई ओटी केटीहरूको कोठाको बत्ती अहिलेसम्म पनि नबलेकोमा बूढालाई निकै खुल्दुरी प¥यो । ती केटीहरूको निगरानी गर्ने मान्छेका रूपमा खँड्काले आफूलाई आफैं मानेका छन् । बूढालाई यी केटीहरू को हुन्, कहाँका र कसका छोरी हुन् थोरै मात्र थाहा छ । बाँकी केही थाहा छैन । न ती केटीहरूले नै यी बूढालाई वास्ता गरेका छन् । तिनलाई त के चासो पनि थियो र ? न बाबु पर्थे न बाजे पर्थे । अस्ति बूढाले कमेजको बटन लगाउनुपर्दा सियोमा धागो हाल्न सकेनन् । त्यसै बेला सियोमा धागो उन्न नसक्ता उनिदिएका न हुन् । त्यसै बेला तिनीहरूको सानो परिचय उनले पाएका न हुन् । त्यसबाहेक तिनको यी बूढाका साथ न नाता न गोता !
बूढाले आफ्नै कोठाबाट फेरि केटीहरूको कोठा नियालिहेरे । केटीहरू आएको कुरामा अझ पनि तिनलाई विश्वास भएन । किनभने अझै पनि केटीहरूको कोठामा बत्ती बलेको थिएन ।
“कस्ता हुस्सू हुन् हँ ! बत्ती ता बाल्नु पर्ने नि ! ठूलो साँझ भइसक्यो । रात परेको कुरा पनि बुझ्दैनन् कि क्या हो यिनले ! होइन अघि नै सुतिसकेछन् कि क्या हो ?” फेरि आफैंसँग प्रश्न गरे । घरमा भित्र यता र उता गर्दैमा उनको त्यो साँझ बित्यो, उनकै घरसँग जोडिएको पल्लो घरमा डेरा गरी बस्ने केटीहरूको कोठाको बत्ती कतिखेर बल्ला भनेर हेर्दैमा बित्यो ।
घरमा खाजा खान भनेर ल्याएको पाउरोटीलाई तताएर बेलुकाको खानाकै रूपमा काम चलाए उनले । “बूढो भइयो । अब भात पकाउन र भाँडा माझ्न पनि सकिन्न क्यारे । यही पाउरोटी र चिउरा खान्छु । दूध छँदै छ आधा किलो । कसले भात पकाउने झन्झट गरोस् !” उनलको मुख चुप लाग्नै सकेको छैन । केके हो गनगनाइरहन्छ । आँखा पनि कम देख्न थालेका छन् । यसै बेला सोचे—“ए हो त साँच्ची ता मेरा आँखा पनि कमजोर छन् । तिनीहरूको कोठामा बत्ती बलेको मेरा आँखाले नठम्याएको पो हो कि ? तै अझै नियालेर पो हेर्नुप¥यो ।”
सोचेको जस्तै काम पनि गरे । निकै नियालेर हेर्दा पनि कोठामा प्रकाश देखिएन । उनको कथन जारी रह्यो । “आँखा तेति कमजोरै ता कहाँ भा हुन् र बत्ती नै बलेको छैन अनि के देखुन् त आँखाले…..”
“अहँ, बत्ती बलेको छैन । कि बल्ब फ्युज पो भयो कि । हेरिदिने नै को छ होला र । बिचराहरूको ! त्यो मोरो घरभेटी भनाउँदो मुलेले पनि यसो विचार पु¥याउनु पर्छ नि । कि बिजुली बिग्रियो कि ?” कोठामा बत्ती नबलेकोमा बूढाका मनमा नानाभाँतीका शङ्काहरू उब्जिए । छिमेकीलाई नै गाली गरे ।
“हन परीक्षा छ भन्थे यस्तो बेलामा पनि कहाँ जानु परेको हो यिनले ?” यस्तै केके सोच्दासोच्दै बूढाले पाउरोटी दूध चिउरा खाएर बेलुकाको छाक टारे । छाक ता टारे तर उनको मनबाट पल्लो घरको कोठालाई टार्न सकेनन् । उनका मनमा पल्लो घरको कोठो आइरह्यो आइरह्यो । अनि बूढाको शङ्का अझै अर्कातिर मोडियो ।
“कोनि है । यस्ता जवान केटीहरूको ता चालामाला राम्रो हुन्न पो…..। कतै लागे कि बजारतिर पैसा कमाउन !” यस सोचाइका साथ भने बूढाले अलिकति अप्ठेरो अनुभव गरे ।
रात निकै बित्यो । बूढाको निद्रा यसै कम हुन्छ । त्यसमाथि आज ता झन् निद्रा नै छैन । पटकपटक पल्लो घरको झ्याल चियाइरहेका छन् । बत्ती बल्ला कि भनेर उनी प्रतीक्षारत छन् । तर कसै गर्दा पनि बत्ती बलेन । बूढा निरास भएर ओछ्यानमा पल्टिएर एक्लै भुत्भुताउन थाले ।
“आ मोरामोरीहरू न मेरा छोरी पर्छन् न नातिनी पर्छन् न स्वास्नी नै पर्छन् । कति चासो परेको मलाई पनि, कस्तो हो म मुले बूढो पनि छि !” आफैंलाई गाली गरे ।
फेरि उनका मनमा एउटा शङ्का पलायो—“कतै सहरमा केटीहरू घटनादुर्घटनामा पो परे कि ! खराब छ जमाना ! ट्राफिकको व्यवस्था पनि ठिन छैन । गाडी मोटरसाइकल जथाभावी चलाउँछन् मोराहरू । फुटपाथबाटै हिंड्न ता जानेका होलान् नि ! फुटपाथ चैं फेरि सुरक्षित हुन्छ भन्ने कहाँ छ र ?” सोच्तासोच्तै रत्नपार्कनिर फुटपाथमा गाडी उक्लिएको र फुटपाथमा हिंड्दै गरेका मान्छेहरूलाई थिलपित्तिली पारेको पुरानो कुरा उनलाई सम्झना भयो । उनी अझै डराए ।
टेलिभिजन पो हेर्नुप¥यो कतै त्यस्तै घटनाहरूमा ता परेनन् ! उनले सोचे र टेलिभिजन खोले । कुनै च्यानलबाट पनि त्यस्तो खबर लेखेको वा पढेको नपाएपछि उनी अलिक ढुक्क भए ।
घर पो गए कि ? उनका मनमा अर्काे विचार खेल्यो ।
परीक्षा छाडेर पनि घर जानुहुन्छ ? कस्ता भुँदु केटीहरू हुन् ! परीक्षा आइसक्यो । तयारी गर्नु पर्ने कुरालाई त्यत्तिकै पो छोड्छन् ए ! यस्तो बेलामा परीक्षा छोडेर घर ता नजानु पर्ने हो ! खै बा बुझिएन ।
खाटमा पल्टिएर यस्तै तरङ्गका साथ तरङ्गित हुँदाहुँदै उनी भुसुक्कै भएछन् । सपनामा पनि उनको त्यही बारबार कुरा आइरह्यो । कतै अनिष्ट ता परेन ?
एक्कासी बूढा बिउँझिए, रातको भर्खर ११ पो बज्दै रहेछ । बूढाका आँखा अँधेरैमा भए पनि ब्युँझनासाथ केटीहरूको कोठामा परे । अहिले त्यस कोठामा बिजुली बत्ती झलल बलिरहेको थियो । सिसाका झ्यालमा पर्दा लगाएकोले भित्रको दृश्य नदेखिए पनि उज्यालोबाट भित्र केटीहरू थिए भन्ने कुरा स्पष्ट थियो ।
यता बूढा कराए—“रातबिरात कहाँ जानु प¥या हो कोनि ! आफू भने विद्यार्थी अरे । परीक्षा अगाडि आइसक्यो । विद्यार्थी भएपछि जथाभावी हिंड्नुहुन्छ पढ्न छाडेर ? अचेलको समय तिमीहरूले के बुझेका छौ । भोलिदेखि पनि यस्तै ढिलो गर न तिमीहरूलाई जान्या छ…… !”
बूढा निकै बेर एक्लै भुत्भुताए, सहरको मध्यरातमा बूढा भुत्भुताएको कुरा उनका घरओरपर सजिलै सुनिए पनि कतैबाट प्रतिक्रिया भने भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *