Skip to content

हलेदो नकोट्याऊँ


अड्डाका कर्मचारीहरुको वनभोजका दिन । अफिसका सबैजसो कर्मचारीहरू बनभोजमा गएका । दिउसोभरिको खानपानमा तिनीहरू व्यस्त । कोको केकेमा व्यस्त भए थाहै भएन । धेरै साथीहरू यस्तोमा केकेमा व्यस्त हुन्छन् त्यो सबैलाई थाहा भएकै हुन्छ हलेदो जानेपछि के कोट्याउने ।

दिउसो भरि तिनीहरुमध्ये केहीको धन्दा भनेको तास र दारुतिर गयो । कसले बनाए, खुवाए, खाए, त्यो सब कुरा यो धेरैले केही थाहा पाएनन् । आखिर उनीहरू व्यस्त हुन्छन् त उनीहरुलाई के थाहा होस् ?

साँझ पर्न लागेपछि खाल उठ्यो मारहार भयो कुटाकुट भएन, यही राम्रो पक्ष भयो ।

दिउसोभरि खेलतमासा, मनोरञ्जन, खानपान र नाचगानमा मस्त भएका विमलराजले यस्तो साधारण कुरा पचाएका छन् । लागेन उनलाई सारै । मासु नखाई वा यसो खाएजस्तो गरेर कसले आफ्नो भाग तेतिकै छाड्छ त्यो जुठो पुरो जमा गरेर मोटर साइकलको डिकीमा हाल्ने काम मात्र भो उनको । घरमा मासु मात्र खाने दुईदुई कुकुर पालेका छन् उनले । कसो जुठो खाइहाल्छन् यस्तो जुठो मासु खाँदैनौ भनेका छैनन् कुकुरले नत्र उनलाई समस्यै पर्ने थियो । पोलिथिनको झोलामा हालेर लगिदिए भने कुकुरको भोजन भइहाल्छ भन्ने ठानेर जमा गर्न थालेको निकै जमा भएछ, त्यसलाई सुरक्षित रुपमा डिकीमा हालेका थिए, यो पिकनिक सकिनु अलिक अघिको कुरा थियो ।

बेलुका बल्ल थाहा पाए, मोटर साइकलको चाबी ता हराएछ । यो हराउनेमध्एको एक थान हो मान्छेहरुको । कसैको काइँयो, कसैको रुमाल कसैको कलम त कसैको चस्मा हराउँछ । नभनौं यी कुरा । उनी पनि यही मार्काको मान्छे न हुन् । सारा गोजी छामछामछुमछुम गरेर खोजे कतै फेला परेन । अरु सबै बाटो लागिसके उनलाई फसादै पर्ने भो ।

अलिकति उज्यालै भएकोले उनले आफूले बसेको सबैतिर खानतलास गरे चाबी भेटेनन् । अब के गरेर जाने त । उनी सोचमा परेकै बेला उनको ध्यान आफूले दिउसो खाना खाएर फ्याँकेका जुठा टपरीहरुतिर पुग्यो । कतै त्यतै पो ख्यस्यो कि भनेर तेतैतिर जान लाग्दै थिए त्यहाँ ता तिनजना केटाकेटीको झगडा पो परिरहेको रहेछ ।

‘मैले भेटेको म खान्छु’ भन्दो रहेछ एउटा ।

‘बाँडेर खाऊँ न’ भन्दो रहेछ अर्को ।

‘जसले भेट्छ उसैले खान्छ नि’ भन्दो रहेछ तेस्रो ।

एकैछिनमा अर्को पनि थपियो त्यसले अघि दिउसो भोज खाएकाहरुले फालेको रहलपहल खानाहरू मासुका टुक्राटाक्रीहरू जमा पारेर ल्याउँदै रहेछ । कुकुरहरुले दुःख दिइरहेका रहेछन्, खेद्दै पनिरहेछ ।

यता अर्को अलिक फोहोरी जस्तो केटो अघि दिउसो आफूहरुले रक्सी बियर खाएका रित्ता बोतल बटुल्दै गरेको देखे । त्यो केटा एकैछिनमा बडो खुसी हुँदै अरुहरुका साथ कुद्दै आयो र भन्यो— ‘हेर एक बोतल नखोलेकै भेटियो । सबै मिलेर खाऊँ’ भन्दै दाँतले टोकेर बोतलको बिर्को खोल्न थाल्यो ।

‘ए जगते दाँतले नखोल् भाँचिन्छ दाँत । यताले बरु मसँग छ बदल खोल्ने कुरा ।’ अर्कोले भन्यो ।

एकैछिनपछि अर्को धुस्रो केटाले बोतल लिएर खोल्न थाल्यो । अनि पो उनले झ्यास्स देखे बोतल ता उनैको मोटर साइकलको चाबीले पो खोल्दै रहेछ ।

‘ए भाइ लौ त्यो ता मेरो मोटर साइकलको चाबी पो त । भाँचिएला है, नभाँची खोलेर मलाई देऊ ।’

‘हुन्छ अंकल’ भन्दै उनीहरले बोतल खोली चाबी दिए ।

अनि उनले यसो हेरे । सबै केटाकेटी एकै झुरुम्म बसेर पालैपालो बोतल तन्काउन थाले । मासुका हाडहरू पनि चुस्न थाले । उनलाई दया लाग्यो । बिचरा दयालु छन् विमलराज, अनि आफूले दिउसोभरि कुकुरलाई दिन भनेर तयार पारिराखेको मासुको पोलिथिन र लुकाइराखेको एक बोतल पनि तिनैलाई दिएर मोटर साइकल स्टार्ट गरे । विचाराहरुलाई यसो सितनसहित एक बोतल पनि दिन पाएकोमा उनलाई भित्रैदेखि आनन्द आयो । कम दयालु छन् र विमलराज ।

‘आज कुकुरलाई केही मासु नकिनी भएन’ बेकारमा दिइएछ केठाहरुलाई भन्दै मासु दोकानतिर लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *