Skip to content


यौटा गीत सुनाउँछु तिमी चाहीँ नरुनु ।
विरह व्यथा वताउँछु दुखीचाँही नहुनु ।।

कहाँ पाक्छ भान्छाभित्र माछा मासु भात ।
गरीब हुँ खाने गर्छु ढिँडो गुन्द्रुक साथ ।।
फाँटेको छ लुगा मेरो धुजाधुजा बन्दै ।
हेप्ने गर्छन् सबैजना तँ होस् खाते भन्दै ।।

यौटा गीत सुनाउँछु तिमी चाहीँ नरुनु ।
विरह व्यथा वताउँछु दुखी चाहीँ नहुनु ।।

भारी वोक्छु भरिया म खेत जोत्ने हली ।
मेरो कमाई खाने गर्छन् करहरु छली ।।
पसिनाको धारा बगाई मैले काम गर्छु ।
मीठो चोखो सामन्तमा म त छक्क पर्छु ।।

यौटा गीत सुनाउँछु तिमी चाहीँ नरुनु ।
विरह व्यथा वताउँछु दुखी चाहीँ नहुनु ।।

विरामी भै थला पर्दा उपचार पाउन्न ।
नेता खोजी ज्यू हजुरी गरि कतै धाउन्न ।।
स्वाभीमान वोकी हिँड्छु कमाउनु छैन ।
मरेपछि कालो धन लान पाउने होईन ।।

यौटा गीत सुनाउँछु तिमी चाहीँ नरुनु ।
विरह व्यथा वताउँछु दुखी चाहीँ नहुनु ।।

मालिकको पाऊ मोली मलाई खानु छैन ।
बिना काम बसीबसी खान पाईंदैन ।।
कटेरामा धम्क्याउँछन् ठूलाठालु आई ।
धनीहरु हेप्ने गर्छन् हामी गरीबलाई ।।

यौटा गीत सुनाउँछु तिमी चाहीँ नरुनु ।
विरह व्यथा वताउँछु दुखी चाहीँ नहुनु ।।

हाम्रो कमाई हाम्रै हुने कैले हुन्छ खोई ।
भनिकन बसेका छौं हामी गरीब रोई ।।
मेरो हाड घोटिएर साहु ठूला बन्छन् ।
हामी भरेङ भएपछि नेता हामी भन्छन् ।।

यौटा गीत सुनाउँछु तिमी चाहीँ नरुनु ।
विरह व्यथा वताउँछु दुखी चाहीँ नहुनु ।।

चूडा निर्भीक
आँपपिपल गोरखा
हालः चन्द्रागिरी नगरपालिका काठमाण्डौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *