Skip to content


यहाँ स्थिर छैन मौसम
घरीघरी उत्तरको कडा बेमौसमी
चिसो हावा छिर्छ, वस्तीमा
र थरथरि कपाएर जान्छ सबैलाई ।
अनि छिमेकमै पूरै अडेस लगाएका
हामीहरू मझेरीमै सुत्छौ,
मझेरीमै मुत्छौ ।
वर्षामा वर्षा बोकेर आउने
मौसमी मनसुन मात्र होइन,
बाह्रैमास आँधी बोकेर आउने
दक्षिणकै हावाले,
हाम्रो पूरै बस्तीमा
लू लाएर जान्छ
अनि सङ्घार नाघ्ने
हैसियत नभएका हामीहरू
ओछ्यानलाई रछ्यान बनाउँछौ
त्यसैले स्थिर छैन मौसम ।
उत्तरको बेगले दक्षिण पुर्याउँदा पनि
दक्षिणको बेगले पश्चिम पुर्याउँदा पनि
हामीहरू
धागो अर्कैले समातेको चङ्गा जस्तै
आकाशमै उडिरहन्छौ
कहिले यता कहिले उता !
लट्टाइ समाउनेले
आकाशमै चङ्गा जुधाउदा
एक अर्कालाई चिथोर्दै कोपर्दै
क्षतबिक्षत हुँदा पनि
त्यसैमा रमाउँछौ हामी
तिनैको पुच्छर समाउछौ हामी
कहिले पश्चिमको तूफान आउछ
र वस्ती छिरलेर जान्छ,
वर्षौंसम्म पिरोलेर जान्छ,
जताबाट जस्तो आँधी आए पनि
बलियो साँध नहुँदा, छिनछिनमा मेलिन्छ यताध्र
छेक्न सक्ने बाँध नहुँदा,भत्काएर वस्ती ठेलिन्छ यता ।
हावैहावामा हल्लाइएका हामीहरू
हल्लिरहन्छौ,
खल्बलिइरहन्छौ,
ढल्मलिइरहन्छौ,
मूल बाटो छोडेर गोरेटोमा
अल्मलिइरहन्छौ ।।

– मोहराज शर्मा
बाग्लुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *