Skip to content


मैले नौ महिना गर्भमा पालेको
मेरो रगतको एक अंश
जसको पहिलो स्पर्शमा
म आफ्ना पीडा भुलेर
अल्हादित भएकी थिएँ
जसको पहिलो रुवाईमा
म आमा बनेको खुसीले रोएथें
जसलाई तातेताते गराउँदा
मैले हिँड्न सिकेथें
जसको पापा मामा शब्दले
म पुलकित भएथें
जसले खाँदा म अघाएथें
जसले निदाएसी निदाएथें
त्यही छोरो तिमी
आज भन्दैछौ
अंश चाहियो आमा म छुट्टिन्छु ।

बाबु किन चाहियो अंश ?
यो सबै तिम्रै त हो
लैजाऊ पुरै लैजाऊ ।

यो आँगन लैजाऊ
यो मझेरी लैजाऊ
जहाँ तिमी खेल्ने गर्थेउ
र म खेलिदिन्थेँ,
तिम्रा लागि बच्चा बनिदिन्थेँ
त्यो बालापन लैजाऊ ।
तिम्रै खुसीमा लुटाएथें मैले जो
त्यो यौवन लैजाऊ
लैजाऊ सबैथोक लैजाऊ
बस् मलाई नलैजाऊ

किन माग्छौ अंश बाबु
लैजाऊ पुरै लैजाऊ ।

तिमीलाई बाह्रखरी लेख्न सिकाएथें
आँगन बाहिर टेक्न सिकाएथें
तिम्रा कलिला दाँत दुख्लान् भनी
चपाएर खुवाएथें
तिमीले आकाश छुने जिद गर्दा
मैले टाउकोमा बसाएथें
घाम लाग्दा छाता बनेथें
पानी पर्दा ओत बनेथें ।

बाबु सम्झना छ कि छैन ?
मेरो काख तिमीलाई
विशाल संसार हुन्थ्यो
विशाल रंगमन्च हुन्थ्यो
तिमी खेलेर थाक्दैनथ्यौ
निदाउँथ्यौ र लात्तिले हान्थ्यौ
छातीमै मेरो
म असह्य पीडा पनि बिर्सन्थें
र चुमिदिन्थें तिम्रा कलिला पाउ
अनि माडिदिन्थे दुख्यो कि भनी
मेरो छातीमा हान्दा ।

तिमीलाई लोरी सुनाएका
ती साँझ लैजाऊ
आमा, म ठुलो भएसि पाल्छु भन्थ्यौ नि
अनि म आँखा टिल्पिलाउँदै मुस्कुराउथें
ती सबै याद लैजाऊ ।

मात्र छाडी देऊ मलाई
तिम्रो सहारा बनी बिताएको
मेरो एकल र उधारो जवानी ।

मलाई याद छ त्यो सुनौलो बिहान
जुन दिन तिमी गर्भमा बसेको थाहा पाएर
म पेट मुसारी मुसारी रोएथें ।
तिम्रो जन्ममाथि शंका गर्दै
तिम्रो कालो रंगमा कटाक्ष गर्दै
तिम्रा बाबु तिमी जन्मेकै दोस्रो दिन हिँडेथे
त्यसपछि कहिल्यै आएनन्
घरको हेला र समाजको तिरस्कार सहें
घाम पानी र पसिना सहें
बेश्या बनें
बोक्सी बनें
अलक्षिनी बनें
जे जे म थिइन ती सबै बनें
ती सबै मलाई छाडिदेऊ ।
लैजाऊ तिम्रो स्वाभिमान लैजाऊ
लैजाऊ तिम्रो अभिमान लैजाऊ
तिमी पेटमा हुँदा तिम्रै खातिर सम्झने
मेरा प्रिय भगवान लैजाऊ ।

तिम्ले टेक्ने अलग्गै धर्ती छ भने लैजाऊ
सास फेर्ने अलग्गै बतास लैजाऊ
तिम्लाई चाहिएला यो आकास लैजाऊ ।

मलाई बाँच्न एक मुठ्ठी सास भए पुग्छ
बाँकी सबै तिमी लैजाऊ
किन माग्छौ अंश छोरा
यो सबै तिम्रो हो सबै लैजाऊ
जो म तिम्री हुन सकिन
मलाई मसँगै छाड
बाँकी तिम्रै हो सबै लैजाऊ ।

क्षेत्री अजित
स्याङ्जा,
हाल:युएई

1 thought on “अंश”

  1. मन छुने कविता
    अहो कति मार्मिक कविता !! आँसु आयो आँखामा । कविज्यूलाई धन्यवाद सुन्दर कविताको लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *