Skip to content

देशप्रेमी तिमी


अनुदानको नून खान्छौ
अनुदानकै औषधीले बाँच्छौ
आयातित चुल्हो किन्छौ
आयातित ग्याँस बाल्छौ
आयातित तेल हाल्छौ
बिदेशी ब्रुसमा बिदेशी मन्जन
ङिच्च हाँस्छौ पिच्च थुक्छौ
र कुल्ला गर्छौ
बिदेशी मसालाले पेट दुख्छ
र मुख बिगार्छौ
तैपनि साथी धन्नै हौ तिमी
देश प्रेमी हुँ त भन्छौ
एकदिन पक्कै महान बन्छौ ।

आयातित ब्रान्डकै जुत्ता
आयातित नै टाइसुट लाउँछौ
आयातित मदिरा आयातित फेसन
आयातित भेलेन्टाइन
आयातित प्रेम आयातित चुम्बन
आयातित सामान आयातित नाम
मदनबाट माइकल
हरीबाट ह्यारी
बाबाबाट ड्याडी
प्यारीबाट डार्लिङ्
परिवर्तनको अर्को नाम
तैपनि धन्नै हौ साथी तिमी
देशप्रेमी हुँ त भन्छौ
एकदिन पक्कै महान बन्छौ ।

आयातित चामल आयातित तेल
आयातित साबुन आयातित जेल
बिदेशी नोकरी बिदेशी पेन्सन
बिदेशी कपडा स्वदेशी झन्डा
बिदेशी बोइलर बिदेशी अन्डा
स्वदेशी पत्नी बिदेशी चुरा
बिदेशी फिलिम बिदेशी कुरा
हरायो पूराण हरायो गीता
मोबाईल भरी सनी लियोनीको रमिता
तैपनि धन्नै हौ साथी तिमी
देशप्रेमी हुँ त भन्छौ
एकदिन पक्कै महान बन्छौ ।

बिदेशी टट्टु बिदेशी कट्टु
बिदेशी कण्डोम बिदेशी सुई
बिदेशी लिला स्वदेशी ढिला
चालिस कटेसी ताईं न तुईँ
भारतको पेन्सन स्वदेशको टेन्सन
बिदेशी धर्म बिदेशी संस्कार
बिदेशी दाना स्वदेशी सरकार
बिदेशी बाईबल बिदेशी कुरान
बिर्सियौ धर्म र शास्त्र ज्ञान
गर्दैछौ कामशास्त्र रटान
बिदेशी मोबाईल बिदेशी किस
बिदेशी गाली फक र वीच
बिदेशलाई रगत बिदेशलाई पसिना
स्वदेशलाई रोग र लासको ठिकाना
तैपनि धन्नै हौ साथी तिमी
देश प्रेमी हुँ त भन्छौ
एकदिन पक्कै महान बन्छौ ।

बिदेशी गीत बिदेशी संगीत
बेच्यौ आफ्नै धर्म र रीत
स्वदेशी भेट्दा बिजी छु बाई
बिदेशी देखे हेल्लो र हाई
गाउँकी कान्छीलाई पाखे र ठिस
गोरेनी पाए फिलामा किस्
बिदेशी बाइबल बिदेशी कुरान
कतै तिमी जिउनु पनि
केवल एक सपना त होइन?
तैपनि धन्नै हौ साथी तिमी
देशप्रेमी हुँ त भन्छौ
एकदिन पक्कै महान बन्छौ ।

क्षेत्री अजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *