Skip to content

डाक्टर अङ्कल (लघुकथा)


सरकारी अस्पतालमा फेरि हड्ताल शुरू भयो।

सरकारले ल्याउन लागेको बिधेयक चिकित्सकहरूको हक-हित अनुकुल नभएको भनेर अत्यावश्यक तथा आकस्मिक कक्ष बाहेक अन्य सरकारी सेवामा डाक्टरहरूको मुख देख्न पाइएको थिएन।

निजी अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको थियो। डाक्टरको कक्ष अगाडि बिरामीहरूको लस्कर लम्बिँदै गएको थियो। त्यस्तै एक लस्करमा एउटा अठार-बीस बर्षे ठिटो सरासर आयो, र बिरामीहरूको लस्करको अन्त्यमा बस्यो।

उसको अगाडिबाट प्रत्येक चार-पाँच मिनेट एकजना बिरामी हातमा एउटा चिर्कटो लिएर कि त औषधी पसल तर्फ लाग्थ्यो कि भने ल्याब तर्फ चिर्कटो लिएर जान्थ्यो। त्यस्तै एक-डेढ घण्टा कुरेपछि उसको पालो आयो। ऊ भित्र पसेर डाक्टरको अघिल्तिर उभियो।

“डाक्टर अङ्कल नमस्ते।” उसले हात जोडेर अभिवादन गऱ्यो।

यसो टाउको उठाएर उसलाई हेरेजस्तो गरी डाक्टरले उसलाई अगाडिको कुर्चीमा बस्न सङ्केत गऱ्यो र प्रेस्क्रिप्सन लेख्ने मुठो तानेर अन्तरवार्ता शुरू गऱ्यो-

“बाबुको नाम?”

“दिपेन घिमिरे।”

“उमेर?”

“२० वर्ष… तर अङ्कल…”

कागजमा केही लेख्दै गरेको डाक्टरले कलम रोकेर घडि तिर हेर्दै भन्यो – “बाबु मेरो अबको पन्ध्र मिनेटमा सरकारी हस्पीटलमा धर्ना शुरू हुँदैछ तिमी मेरो आजको अन्तिम प्यासेन्ट भएकोले तिमीलाई हेरेर मात्र जान्छु। जे-जे भन्नु छ छिटो भन।”

“अङ्कल म उपचार गराउन आएको होइन …”

डाक्टरका कन्सिरी ताते – “त्यसो भए मेरो समय बरबाद गर्न आएको त?” झोक्किँदै ऊतर्फ हेर्दै डाक्टरले हकारे।

“अङ्कल म त हजुरको सहपाठी राजन घिमिरेको छोरो दिपेन घिमिरे – मेडिकलको प्रवेश परीक्षा तयारी गर्न केही दिनमा काठमाडौँ जाँदैछु। बुबाले जानुभन्दा अगाडि हजुरसँग एकपल्ट भेटेर जानु भन्नु भएको थियो त्यसैले हजुरसँग भेट्न आएको।” – डाक्टर अङ्कलको यो रूप देखेर उसले एकसासमा सबै कुरा भनेर भ्यायो।

“अघि नै भन्नु पर्दैन त?” डाक्टरले अघि नाम लेखेको कागजको चिर्कटो च्यात्दै नरम भएर भन्न थाले – “अनि मैले कसरी चिन्नु त?”

“माफ गर्नुहोला अङ्कल गल्ति मेरै थियो – मैले हजुरसँग पहिले नै चिनजान गर्नु पर्ने आज बल्ल हजुरलाई राम्रोसँग चिन्ने मौका पाइयो। अहिले हजुरलाई हतार रहेछ- बेलुका हजुरको फुर्सद भयो भने बुबासँग आएर हजुरसँग भेटौँला। यति भन्दै ऊ फटाफट निक्लेर बाहिरियो।”

रत्ननगर – १, सौराहाद्वार, चितवन
२०७४ असोज ११ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *