Skip to content


बिदेशी भूमिमा पहिलोपटक एक्लै भएको छु र अबका केही दिनहरू एक्लै बिताउँदै छु । समर भ्याकेसन, युनिभर्सिटी बन्द भएकाले साथीहरू नेपाल गए । साउथ वेस्ट मिनेसोटा स्टेट युनिभर्सिटीमा पूर्ण छात्रवृत्तिमा ब्याचलर इन सोसिओलोजी पहिलो वर्षमा अध्ययन गर्दै गरेको म यतै सेटल हुने विचार गर्दैछु । बुवा आमा पनि सहमत हुनुहुन्छ मेरो कुरामा । बिहानको ६ बजिसकेको छ । आज चहलपहल अलिक कम छ । नेपाली विद्यार्थीहरूको बाहुल्यता भएको यो मिनेसोटा अमेरिका आउने नेपाली विद्यार्थीहरुका लागि राजधानी जस्तै भएको छ ।

बिदाको मौका छोपेर वर्षभरिलाई पुग्ने खर्च जुटाउन अस्तिदेखि न्युयोर्क, क्यालिफोर्निया तथा अन्य स्टेटमा जानेहरूको लहर चलेको छ । सुनसान जस्तै भएको छ मिनेसोटा अहिले अनि सुनसान फ्लाटमा म एक्लै । कफी बनाएर झ्यालकै छेउमा बसेर बाहिरी दृश्य नियाल्दै पिउँदै छु कफी । सुस्तरी हावाको बेगमा एकआपसमा ठोक्किएर ताली बजाइरहेका रुखका पातहरुले मेरो एक्लोपनलाई गिज्याइरहेको आभास गर्दैछु । होस गुमाएजस्तै गरी टोलाइरहेको म एक्कासि मोबाइलको घण्टीले होस ठेगानमा ल्याइदिन्छ । कृष्णले फोन गरेको रहेछ सबैजना सकुशल अवतरण भएछन् भर्खर मात्रै ।

अनिल आजै पर्वत जाने रे, कृष्ण र राजु एक दुई दिन राजधानीमा नै बस्ने भएछन् । क्षणिककै लागि भए पनि सँगै भएजस्तो आभास बनाएको फोनले फेरि एकाएक टाढा बनाएको छ, मन भारी बनाएको छ । विजयी उत्सव मनाएजस्तै आवाजमा सबैजनाले बाइ भन्दै सकियो फोनमा कुरा ।

फोनमा बोल्दा कफी त खानै बिर्सेछु, चिसो भएछ । झ्यालकै छेउमा रहेको टेबलबाट ल्यापटप झिक्छु अनि खोल्छु फेसबुक । सधैं च्याट अफ गरेर चलाउने फेसबुकमा आज च्याट अन गरेको छु । च्याटको माथि नै दीपक अनलाइन देखियो । मेरो कलेज पढ्दाको मिल्ने साथी हो दीपक । एउटा लेखक अनि पत्रकार हो ऊ । भाषाशैलीमा अब्बल ऊ नेपाली समुदायको एक लोकप्रिय पत्रकारको रुपमा चिनिएको छ । मैले म्यासेज पठाउन के लागेको थिएँ उसलेनै पठाइहाल्यो, “के छ लेखक हालखबर, अमेरिका पुगेर साथीलाई पनि बिर्सिस है?”

मैले रिप्लाईमा उसको प्रश्नको जवाफ नदिइ एउटै कुराको प्रतिवाद गर्न खोजेँ र लेख्दैछु, “मलाई लेखक नभन दीपक लेखक त म हिजो हुन खोजेको थिएँ सकिन, आज म लेखक होइन न त भोलि हुनेछु ।”

“फेरि लेख्न सुरु गरेको छु भन्दै थिइस त काठमाडौंमा हामीसँगै बस्दाको त्यो राति । कि रक्सीले मातेर भनेको थिइस् र?” दीपकले प्रश्न गर्‍यो ।

“जुन कुराको सुरुवातले नराम्रो संकेत गर्छ त्यो कुरा जीवनमा नदोहोर्‍याउनु नै राम्रो हुँदोरहेछ । त्यही कुरा दोहोर्‍याएँ फेरि आफ्नै मनलाई रुहाएँ र थाहा पाएँ मेरो हातमा कलम चलेको भगवानलाई मन पर्दैन” म जवाफ दिन्छु ।

हिन्दू दार्शनिकले जस्तो कुरा गरिस त भन्दै फेरि प्रश्न गर्दैछ दीपक – दैनिकी पनि लेख्न छोडिस ? मै जवाफ दिन्छु “यहाँ त्यस्तो लेख्नै पर्ने दैनिकी के नै छ र ? कलेज गयो आयो, दैनिक चार घन्टा काम गर्‍यो शनिबार, आइतबार कोठामा नै बिताइरहेको छु । सधैंको दैनिकी उस्तै छ आजको दिनसम्म पनि ।”

“के छ तेरी प्रेमिकाको हालखबर ?” फेरि सोध्छ उसले ।

“मलाई निर्दोष बनाएर गई,” मैले भनेँ ।

“के भन्दै छस् तँ ? मैले बुझिन,” दीपकले रिप्लाई गर्छ ।

आउने बेला भेट्न नपाएकाले र यता आएपछि खसै कुरा नभएकाले मेरा यी कुराहरूमा जानकार थिएन ऊ । सबै कुरा उसलाई बताउन थाल्छु स्क्याइपमा कल गरेर । भन्दै छ तैँले लेख्ननै पर्छ अब । यता बिहान हुँदा उता राति हुन्छ । दिनभरिको दौडधुपले थाकेको छ रे यता बिहानको एघार बजे नै उसले गुड नाइट भन्दै फोन राख्यो ।

साँझको छ बजिसकेको छ । मस्तिष्कमा उसका प्रत्येक क्रियाकलापका चित्रहरू आइरहेछन् । मेरो मन मस्तिष्कमा अड्डा जमाएकी ऊ बिस्तारै हराउँदै थिई यादहरूबाट, दीपकले बल्झाएको छ फेरि अतित आज । साँच्चै दीपकका कुराहरुले मेरो मनलाई दबाब दिरहेछन, घोचिरहेछन् मुटुमा र त उसका यादहरू दिमागतिर दौडिँदै छन् मुटुबाट । मस्तिष्कबाट छचल्किएर पोखिन खोज्दै छन् कलमको सहारामा मसी बनेर पानाहरूमा । । नेपाल हुँदा दैनिकी लेख्ने नोट बुक मसँगै छ । आज हेर्न मन लाग्यो त्यो नोटबुक उसकै बारेमा लेखिएको अध्यायबाट । जीवनमा एकपटक भएपनी ऊसँग साक्षातकार गर्ने झिनो आशामा दीपकको आग्रह भनौ या दबाबलाई स्वीकार्दै फेरि फर्कँदै छु लेखनमा मसँग जोडिएको उसकै कथाबाट ।

प्लस टुको परीक्षापछि काठमाडौं गइयो दीपक र म । विद्यार्थी भिसामा बिदेश जान पटक्कै मन थिएन । दीपकले बिदेश गएर पढे पनि लेख्ने कामलाई निरन्तरता दिन त सकिन्छ भन्यो । अनि बा-आमाको इच्छा पनि त्यही थियो । चार महिनाको तयारीपश्चात् आइल्टेस्ट र स्याटको परीक्षा दिएर फर्किएँ घर फेरि ।

स्कुल पढ्दा कथा, कविता, गजल अनि लेखहरू लेख्नेमा औधी रुचि राख्ने म प्लस टु पढ्दा लगभग पेसा जस्तै हुन थालिसकेको थियो मेरो । बुटवल गोलपार्कमा एक मुस्लिम परिवारमा जन्मिएको म, मेरा बा आमालाई पटक्कै मन परेको थिएन मैले रोजेको बाटो । घर फर्केपछि एउटा किताब लेख्ने सोँच आयो । मैले रोजें मिथिला चित्रकला । मिथिला चित्रकलाका बारेमा किताब लेख्न खोज्दा बा-आमाले ठाडै अस्वीकार गर्नुभयो । मलाई लग्थ्यो कि उहाँहरू हिन्दू दर्शनका बिरोधी हुनुहुन्थ्यो । किनकि मैले लेख्न लागेका प्रत्येक हिन्दू धर्म थोरै भएपनी जोडिएका लेख रचनाहरुमा रिसको भावना देखाइहाल्नु हुन्थ्यो । घरमा बसेर लेख्न सम्भव नभएकाले म विस्तृत अध्ययनका लागि जनकपुर जाने निर्णय गरे । मेरा बाआमाको एउटै मात्र सन्तान म, अलिक बढी जिद्दी गरेपछि बाध्य भएर राजी हुनुहुन्थ्यो मेरा प्रत्येक कुरामा । बा आमाको मनमा नैराश्यताका बिजहरू छरेर गए जनकपुरको धनुषा ।

भताभुङग भए मेरा सपना, रोकियो मेरो विस्तृत अध्ययन मिथिला चित्रकलाको । मधेश आन्दोलन र नाकाबन्दीको प्रभाव मेरो लेखकीमा मात्र होइन मेरो जीवनमा नै पर्यो । आन्दोलनकारीको खोल ओढेकाको थिए उनीहरू मैले नजर अन्दाज गर्न सकिन । मुख पुरै कालो कपडाले छोपेर आँखा मात्रै देखाएका उनीहरुले एकाएक एक सुरक्षाकर्मी माथि हातपात गर्न लागे । जीवन रक्षाको लागि भिख मागिरहेका उनलाई बचाउन गएको म आक्रमणकारी समहुको एक सदस्य जस्तै भएँ । पत्रकार हरुले टाढैबाट फोटो खिचिरहेका थिए । राष्ट्रिय पत्रीका हरुमा मेरो तस्वीर उनीहरुकै समूहमा छापिएछ तर म को हुँ केही खुलाइएको थिएन । प्रहरीहरुले मलाई सोधपुछका लागि लगे मैले सबै वास्तविकता बताएपछि मलाई छोडियो तर यो कुरा लेख्ने कोही भएनन् । यी कुराहरू मेरो दैनिकी लेख्ने नोटबुकमा लेखेको दिनदेखि छोडेँ खाली पाना अनि मसिसँगको प्रेम ।

मेरो जीवनमा आएको बज्रापात देखि अत्यन्तै दुखी भएका मेरा बा आमा मैले लेख्न छोडेपछि साह्रै खुसी हुनुभएको थियो । दीपक पनि बेला बखत फोन गरेर सम्झाउथ्यो अनि बा आमा पनि । मैले लेख्न छाडेको कुरा दीपकलाई पनि थाहा थियो तर उसले कत्ति कर गरेन फेरि लेख्नलाई । आमाले पटक पटक आग्रह गर्दा पनि घर जानै मन लागेन । कक्षा चारमा पढ्ने घरबेटीको छोरा भूमिश्वर मेरो साथी बनेर अतीतलाई बिस्तारै भुलाउदै थियो । भूमिश्वर अनि अत्यन्तै माया गर्ने घरबेटीको आडभरोसामा बिताए दुई महिना कोठाभित्रै ।

जनजीवन सामान्य भैसकेको थियो । चोक बजारमा चहलपहल बढ्दो थियो । घरबेटीको बाहिर पनि डुल्नु पर्छको आग्रहलाई स्वीकार्दै एक बिहान एक्लै बाहिर निस्केको थिएँ । म बस्ने घरको पचास मीटर अगाडि चोकमा मिस्ठान्न भोजनालयहरू प्रसस्तै देखिन्थे । भोजनालयहरू देख्दा चियाको प्यास लागेर आयो । सबै भोजनालयमा मान्छेहरू खचाखच देखिन्थे । मान्छेको भीडसँग मेरो मनको सम्बन्ध बिग्रेकाले भनौ कतै पस्न मन लागेन । अचानक मेरो नजर एक भोजनालयमा गयो “पहाडिया भोजनालय” । मान्छे दुई तीन जना मात्रै देखिन्थे, म पनि त्यतै पसेँ । अन्दाजी तीस पैतिस जस्ता देखिने गोरो वर्णका मान्छे साहुजिरहेछन् । परिचय नभएपनी मिस्ठान्न भोजनालयको नाम र उनको मुहारबाट प्रष्ट हुन्थ्यो कि उनी पहाडी मुलका मान्छे हुन् । म भित्र पस्दा नित्यकर्म गर्न लागेका उनले हेरिरहे एक्छिन मलाई चिनेजस्तरी । हिन्दू धर्ममा आस्था राख्दा रहेछन,उनको नित्यकर्मले यही संकेत गर्दै थियो । टेबुलमा बसेँ, नम्र बोलीमा सोधे के खानुहुन्छ भनेर । दूध चिया, चिनी अलिक बढी रख्नुहोला मैले जवाफ दिएँ । चिया पिएर पैसा तिरी फेरि फर्किएँ कोठामा ।

चियाको प्यासी म, मोहनी नै लगाए पहाडी मुलका ती दाइले । फेरि भोलिपल्ट पनि गएँ उनैकोमा चिया पिउन । भित्र पस्न मात्र के पाएको थिएँ नजर ठोकियो एउटी स्त्रीसँग । अत्यन्तै राम्री, गोरै बर्णन कि ऊ लाग्यो कुनै परिसँग साक्षातकारमा छु म । एकटक हेरिरहेँ सायदै पहिलो पटक एकचित्त भएर हेर्दै थिएँ कुनै नारीलाई । नारी जाती भित्रको सुन्दरता वास्तवमै पहिलोपटक मन देखि नियाल्दै थिएँ म । एक शब्द पनि नबोली डरको भाव देखाउदै किचन भित्र पसी ।

दारी पालेको म, सायद उसलाई मन परेन होला । यत्ति मात्रै अड्कल काट्न सकेँ मैले । मनमनै सोचे कतै पहाडीया दाइकी श्रीमतीमाथि नजर लगाउदै पो छु कि? अह होइन ऊ त अविवाहित छे । विवाहित हिन्दू नारीको सिउँदोमा सिन्दुर गलामा पोते अनि हातमा चुरा हुन्छ यो सब उसमा थिएन ।

एकछिनमा साहुजी निस्किए किचनबाट अनि सोधे उही नम्र बोलीमा, “के खानुहुन्छ?”

जवाफ दिएँ मैले, “चिया हिजोको जस्तै स्वादमा ।”

“बहिनी एक गिलास दूध चिया बनाऊ,” म बसेको टेबल छेउबाटै उनले भने ।

मेरो अड्कल सही ठाउँमा परेछ, श्रीमती नभएर बहिनी रैछे ऊ । अत्यन्तै मिठास बोलीमा हवस दाइ भन्दै चिया तयार गरी । भित्रैबाट दाइलाई चिया तयार भएको कुरा जनाएपछि दाइ गएर चिया लिएर टेवलमा राखिदिए । उसकै हातबाट दिन्छे कि भन्ने आश आशामा मात्रै सीमित भयो । अघिल्लो दिनकोभन्दा पनि मिठ्ठो स्वादमा चिया पिएर फर्किएँ फेरि कोठामै ।

जब कोठामा पुगेँ मन मस्तिष्कमा उसैका प्रत्येक क्रियाकलापका तस्विरहरू सरसर्ती आउन थाले । साँच्चै उसलाई देखेपछि मेरो दैनिकी फेरि सामान्य भएजस्तो आभास भयो । मनलाई एउटै प्रश्न गरेँ ऊ को हो ? किन उसलाई यत्ति धेरै प्रेम भावले हेर्दै छु म ? जीवनमा देखेको कुरा साँच्चै यो भाग्यमा लेखिएला त ? असम्भव भन्ने कुरा के नै छ र ? उसको नाम के होला ? घर कहाँ होला ? यावत कुराहरू मनमा खेलिरहे । दुई महिनादेखि दराजमा थान्की राखेको नोटबुक झिकेँ अनि फेरि लेख्न सुरु गरेँ दैनिकी, शब्दहरुमा ऊ प्रतिको प्रेमको मसला मिसाएर । प्रेम गर्ने मान्छेहरू देख्दा रङगमन्चमा नाटक प्रस्तुत गर्ने नाट्यकर्मी जस्तै लाग्ने मेरो मनमा किन दिगो प्रेमको न्यानो अनुभूति भएको होला ? आफ्नै मनसँग कुरा गर्दै थिएँ म पागल झैँ ।

उसलाई एकोहोरो प्रेम गरिरहेको मनले तनलाई धकेल्दै थियो विहान मात्र होइन साझमा पनि उतैतिर । दाह्री पालेका मान्छेहरू उसले पटक्कै मन पराउँदिन मनले यही भन्दै थियो । उसको आकर्षणको केन्द्रविन्दु बन्नकै निमित्त दाह्री फालेर साँझमा पनि गएँ त्यतै । चिया पिउनु त बहाना मात्रै थियो, चाहना त केवल उसलाई मैले गर्ने अदभूत प्रेमको अनुभूति गराउनु थियो । साँच्चै दाह्री फालेपछिको मेरो रुप उसले मन पराएकी थिई । एकै छिन हेरेर मुस्कुराउदै किचन भित्र पसी । हरेक साँझ बिहान उसलाई देख्नकै निमित्त धाउन थाले उतै । ऊ प्रतिको एकोहोरो प्रेमको घनिष्टता दिन प्रतिदिन बढ्दो थियो । मैले उसको पिछा गरेको हो कि उसले मेरो केही मेसोमेलो पाउन सकेको थिइन म । कहिले चोकमा भेटिन्थी कहिले पुस्तकालयमा । मुखको मन्द मुस्कानमा झुलाएर नजरको बाँणले हानेर हिँडिहाल्थी । हरेक बेलुकी आफ्नै मनसँग कुरा गर्दै लेख्थेँ दैनिकी र आफैसँग प्रश्न गर्थे – चियावाली यो मुटु भन्ने चिज पनि कति जिद्दी हुँदोहो, तिमी अपरिचित छौ बोल्ने हिम्मत गर्दैन तर पनि किन एकोहोरो माया गरिरहन्छ?

एक दिन बिहानको खाना खाएर आरम गर्दै थिएँ । दीपकले फोन गर्यो र हालखबर सोध्यो । सबै कुशल मंगल भएको जवाफ दिए । कक्षा बाह्रको नतिजा आउँदाको दिन फोन गरेपछि सम्पर्क भएको थिएन हाम्रो ।

“बधाइ छ, चौरहत्तर प्रतिशत आएछ तेरो,” भन्दै थियो । उसको पचहत्तर प्रतिशत आएको थियो । आज ठ्याक्कै एक महिनामा कुरा भयो हाम्रो । उसले भन्यो, “आज साँझको बसमा काठमाडौ आइज न ।”

मैले प्रश्न गरें, “अचानक किन यस्तो कुरा गर्दै छस तँ ? किन आउने केही कारण त होला नि ?”

“सरप्राइज् म्यान,” उसले जवाफ दियो ।

“कि मलाई थाहा नै नदिई अमेरिकाको भिसा अप्लाई गरेको थिइस र? भिसा लाग्यो ?” मैले प्रश्न गरेँ ।

“होइन त्यस्तो त, तँ जसरी भए पनि आउनुपर्छ,” उसले भन्यो ।

उसको आग्रह मैले कहिल्यै अस्वीकार गरेको थिइन, हुन्छ भने । हिँड्ने बेला फोन गर्नु भन्दै फोन राख्यो दीपकले । हतार हतार बसपार्क गएँ टिकट लिनलाई । साँझ साढे पाँच बजेको बसको टिकट लिएँ । केही लुगाफाटाहरू पनि किनेँ । बसपार्क, सपिङ्ग सेन्टर हर ठाउँ पुग्दा तन मात्रै पुगेको थियो । मनलाई उसैले मुठ्ठीमा कसेर राखेकी थिई सायद, उसलाई छोडेर जान पटक्कै मन थिएन । जानेबेला उसलाई अघाउन्जेल हेर्न मन थियो । सपिङ्ग गरिसकेपछि उसैकोमा गए । दाइ मात्रै रहेछन् । बहिनी खोइ ? हिम्मत गरेर सोध्न मन थियो अहँ सकिन । उनले सोधे बरु आज “कता पुगेर आउनु भयो भाइ ?”

सधैं आउने बाटोभन्दा विपरित दिशाबाट आउदा प्रश्न गर्नु स्वभाविक थियो अनि हातमा झोला पनि समातेको थिएँ ।

“बसपार्क गएको थिएँ दाइ काठमाडौं जाने टिकट लिनलाई,” मैले जवाफ दिएँ । उसलाई नदेखेपछि चिया पनि पटक्कै पिउन मन लागेन तैपनि टेबलमा बसिसकेपछि अर्डर त गर्नु नै पर्यो । एक गिलास चिया मात्रै पिएर गएँ कोठामा ।

दीपकलाई फोन गरेर साढे पाँच बजेको बसमा आउदै छु भने । बीच बीचमा सम्पर्कमा रहिरहनु, काठमाडौं आइपुग्ने बेला फोन गर्नु म लिन आउँछु भन्दै फोन राख्यो दीपकले । साँझको चार बज्नै लागेको थियो । खाजा खाने बहानामा भए पनि उसैकोमा जाने सोँचेर छिट्टै तयार भएँ । घरबेटी काकीलाई काठमाडौं जान लागेको कुरा बताएँ । चार पाँच दिनमा फर्कन्छु भन्दै निस्किएँ । फेरि जाँदा पनि दाइ मात्रै थिए त्यहाँ । समोसा तरकारीको अर्डर गरेँ । खान भने पटक्कै मन लागेन । बिस्तारै खाँदै समय बर्वाद गर्दै थिएँ उसको पर्खाइमा । अहँ ऊ आइन क्यारे । मुटुको धड्कन बढ्थ्यो अनि लामो श्वाससँगै रोकिन्थ्यो एकैछिन । दाइले हेरिरहेका रहेछन् मलाई र भने भाइलाई समोसा तरकारी मन परेन जस्तो छ नि? मैले भने तातो भएर बिस्तारै खाएको दाइ । बल्लतल्ल सकेर पैसा तिरेर निस्किएँ त्यहाँबाट । मनमा अनेक कुराहरू खेलाउँदै गएँ बसपार्क अनि चढेँ काठमाडौंको बस ।

बस आफ्नै गतिमा अगाडि बढ्दै थियो तर मेरो मन भने पछाडितिर । एकछिन आँखा चिम्लन्थेँ अनि देख्थेँ उसलाई । टाढाबाट हातले इसारा गरेर बोलाउँथी अनि बस रोकेर ओर्लन्थेँ र पुग्थे कल्पनाको देशमा । बीच बीचमा बसले ब्रेक लगाएर भताभुङग पारिदिन्थ्यो कल्पनामा ऊसँगको सामिप्यता । बसमा त्यति धेरै मान्छे हुँदा हुँदै पनि म एक्लो यात्री जस्तै भएको थिएँ । एउटै सिटमा बसेकाहरू खुब गफिएका थिए तर मसँग गफिने मेरो छेउमा कोही थिएन ।

खलासीलाई सोधेँ, “मेरो सिट छेउको मान्छे खोइ भाइ ?”

उसले जवाफ दियो, “टिकट बुक गरेर पछि क्यान्सिल गर्यो दाइ ।”

खाना खाजा केही हेर्न मन लागेन मात्रै उसको याद मनमा ओहोरदोहोर गरिरहेको थियो । बसको सिटमा पनि एक्लै बसेको म जिन्दगीको यात्रामा एक्लै भएजस्तो आभास भएको थियो । बिहानको छ बजे सकुशल काठमाडौं पुगेँ । दीपकलाई फोन गरे उठाएन उसले । एकछिनमा उसैले फोन गर्यो र भन्यो, “म बहिर निस्कनु पर्ने काम पर्यो, मसँग बस्ने साथी दिनेश छ उसलाई रिसिभ गर्न भनिदिन्छु । बेलुका भेटौँला,” भन्दै फोन राख्यो ।

लगभग सात बजेतिर दिनेश आयो । मैले उसलाई नचिने पनि उसले चिनेको रहेछ मलाई । दीपकले तिम्रो खुब कुरा गर्छ पनि भन्दै थियो । बानेश्वर बस्दा रहेछन् । बानेश्वरको बस चढ्यौ । कुरा गर्नमा माहिर रहेछ ऊ एकैछिनमा घनिष्ठ जस्तै भयौँ हामी । पहाडको घर बागलुङ रहेछ उसको तर अहिले सपरिवार चितवन बसाइँ सराइ गरेका रहेछन् । गफिँदै बानेश्वर चोक पुगेको पत्तै भएन । दुवैजना ओर्लियौ चोकमा र गयौँ कोठामा । रातभरिको अनिद्राको असरले रक्सीले मातेको जस्तै भएको थिएँ म, बिस्तारामा पल्टिहालेँ । दिनेश खाना बनाउने तर्खरमा लाग्यो । बेहोसीजस्तै भएर निदाएको रहेछु म । खाना तयार भएको रहेछ, उठायो उसले मलाई खाना खानको लागि । म उठ्दा सर्ट पाइन्ट र कोटमा सजिएको ऊ घाँटीमा टाइ भिरेको थियो । सोध्ने चेस्टा गरिहालें मैले “कताको साइत ?”

उसले जवाफ दियो, “क्याम्पस जान लागे म त छिट्टै खाना खाऔँ ।”

नेपाल ल क्याम्पसमा कानून विषयमा स्नातक प्रथम वर्षमा अध्यनरत रहेछ ऊ । दीपकले पनि पढ्दै छ ? सोध्न मन लागेको थियो तर सोधिन लाग्यो उसले मलाई दिन खोजेको सरप्राइज यही पो थियो कि । खाना खायौँ दुवैजना त्यसपछि दिनेश क्याम्पस गयो, म भने एक्लै कोठामा ।

दिनेश कोठाबाट निस्किएपछि निदाउन धेरै कोसिस गरे । निद्रा पटक्कै परेन । आँखा चिम्लदा मन जनकपुर पुग्थ्यो खोल्दा त्यही सुनसान लाग्ने कोठामा एक्लो शरीर । पुग्थेँ कल्पनाको शहर जनकपुर, जान्थेँ उही पहाडिया भोजनालय, बोल्थेँ ऊसँग, पिउथेँ चिया अनि फर्कन्थेँ कोठामा । एकैछिनमा साँझ पर्थ्यो नोटबुक झिक्थेँ र लेख्थेँ दैनिकी । दुई-चार दिन केवल दुई चार मिनेटमा नै बितिसक्थे । नत यो सपना थियो न त बिपना नै । थियो त केवल कल्पनामा ऊसँगको गहिरो प्रेम भाव अनि मेरा चाहनाहरू । ऊसँगका भावी योजनाहरू बनाइरहेको थियो मेरो मनले । ऊसँगको भेट, प्रेम, विवाह, अनि पारिवारिक योजनासम्मका कुराहरू । वर्षौँको समय घन्टामा रुपान्तरण भएको थियो । कतिबेला काठमाडौ आउँदाका कुराहरू मनमा आउँथे । आउने बेला उसलाई नदेख्दाको त्यो पलले मनलाई चसक्क घोच्थ्यो । एकाएक भङ्ग हुन्थे ऊसँगका मेरा सुन्दर काल्पनिक यात्राहरू । खोलिन्थे आँखा अनि पल्टिरहेको हुन्थे सुनसान कोठाभित्रको बिस्तारामा एक्लै ।

ढोका ढकढक्याएको आवाज आयो । कोठा पुरै अँध्यारो थियो । सिरानीको छेउमै राखेको मोबाईल झिकेँ । साँझको छ बजिसकेको रहेछ । ढोका खोलेँ, दीपक र दिनेश आएका रहेछन् । बाहिर सिमसिम पानी परिरहेको थियो । हल्का भिजेका थिए उनीहरू । दीपकले चिसै शरीरले मलाई अङगालो मार्यो र भन्यो, “सरी यार तँलाई बसपार्क लिन जान पाइन म ।”

“यसमा मलाई कुनै गुनासो छैन दीपक,” मैले जवाफ दिएँ ।

शरीर अँझै ह्याङ थियो बाथरुम गएर फ्रेस भएँ । कोठामा छिर्दा एकछिन अचम्म परेँ म । दुई बोतल भोड्का टेबलमा राखेका थिए अनि स्न्याक्समा के के हो के के । सलादमा गाँजर, मुला र काँक्रो थियो । चिकन फ्राइ र पर्क सेकुवा छुट्टाछुट्टै प्लेटमा ।

“कति छिटो तयार गर्न सक्यौ यत्तिका भेराइटिज ?” मैले प्रश्न गरेँ ।

“सबै बहिरबाट लिएको हो । हामीलाई कहाँ जाँगर चल्छ र यत्तिका परिकार बनाउनलाई !” दीपकले जवाफ दियो ।

“यही हो आजको हाम्रो खाना?” फेरि सोधेँ मैले ।

दिनेशले मजाक गर्दै भन्यो, “नपुगे म पकाइदिउँला नि !”

हाँस्यौ तीनैजना एकछिन ।

मेरो अगाडि अप्रत्याशित सरप्राइजका बोतल र सितन राखेर केटाहरू बाथरुम गए फ्रेस हुनलाई । मनमा लागेको थियो यो ट्रेलर हो कथा बाँकी होला दीपकेको सरप्राइजको । आतुर थिएँ म दीपकको सरप्राइज जान्नलाई । मुटुले दबाब दिरहेको थियो, कौतुहलता रक्तसञ्चार प्रणालीबाट मस्तिष्कमा पुगेर जोडतोडले हानिरहेको थियो दिमागका नसा नसामा । मात्र एउटै कुराको बेग्र प्रतीक्षा उही दीपकको सरप्राइज । मन आखिर एउटै हुन्छ तर सोँच्छ किन हजारौं कुराहरू एकैपटक ? बेकार दिमागलाई भारी बनाउँछ अनि परिस्थिति अनुरुप आनन्द पनि आफै महसुस गर्छ अनि पीडा पनि । बिचरा दिमागलाई लोक्रो न बोक्रो । दीपकको सरप्राइज जान्नमा आतुर भएको मेरो मनले चियावालीलाई मिस गर्न पनि पटक्कै बिर्सिएको थिएन । कहाँ हराएकी होली ? कुन परिस्थितिसँग सामना गरेर बसेकी होली ? मन चिन्तित थियो, याकुल ब्याकुल थियो । मेरो बेकारको छटपटी सायद भोड्काका बोतल र सितन हरुले पनि महसुस गरेका हुँदो हुन जब कि निर्जीव नै किन नहुन । भनिरहेका हुँदो हुन आफ्नै मौन इसारा अनि भाषामा तेरो छटपटीको औषधी हामी हौँ भनेर ।

दीपक र दिनेश फ्रेस भएर आए । उफ्फ उफ्फ जाडो भन्दै दिनेशले तीनवटा सिसाका गिलास निकाल्न भ्याइहाल्यो । तीन पेक भोड्का हालिहाल्यो । ल सुरु गरौँ साथी भन्दै गिलास उठाइहल्यो । म एक्छिन अवाक भएँ ।

“के भयो ?” दीपकले सोध्यो ।

“सरप्राइज पहिला कि रक्सी ?” मैले भनेँ ।

“एक पेक लगाई, अनि भनौला,” दीपकले भन्यो ।

“पानी मिसाउने होइन र ?” मैले सोधें ।

“केमा मिसाउने पानी ?” दिनेशले सोध्यो ।

“रक्सीमा !” मैले जवाफ दिए ।

उडाउनमा खप्पिस रैछ केटो, भनिहाल्यो, “साठी प्रतिशतभन्दा बढी पानी यसमै छ त । रक्सी खाने हो कि पानी ?”

दीपकले पानी ल्यायो दुई जनाले पानी मिसायौ दिनेशले चेर्स गर्न गतिलो नभ्याउँदै नेट स्वाट्टै पार्यो । मैले सोधेँ दीपकलाई, “अब त सरप्राइजको पालो होला नि है ?”

“एउटा सरप्राइजको पार्टी हो यो । अर्को सरप्राइज अँझैँ बाँकी छ,” दीपकले जवाफ दियो ।

“ह्या भन्दिहाल न एउटा त, कति तड्पाउँछस यार !” दिनेशले भन्यो ।

“अब म अमेरिका नजाने भएँ,” दीपकले भन्यो ।

उसले एक नामचलेको पत्रिकामा सम्पादकको जागिर पाएछ । नेपाल ल क्याम्पस पनि भर्ना भएको रहेछ । म बिदेश जान मन नभएकोलाई बिदेशको भुत चढाएर आफू भने नेपालमै बस्ने भएछ ।

“म पनि जाँदिन होला । के गरुँ गरुँ भाको छ,” मैले जवाफ दिएँ ।

रातिको साढे दश भैसकेको थियो । बाहिर बेस्सरी पानी दर्केको थियो । लाग्दै थियो यसले कतै न कतै पक्कै अनिस्ट गर्ने छ । रक्सीकै तालमा खुब गफिदै थियौँ ।

“दिनचर्या कसरी बित्दै छ तेरो ?” दीपकले सोधिहाल्यो ।

सारा बेलीबिस्तार सुनाउन भ्याएँ उसैका चियावालीका । जो अपरिचित थिई र पनि आफ्नै लाग्थी । वर्षौँदेखिको चिनजान जस्तै ।

“भनेपछि दैनिकी पनि लेख्न सुरु गरिस होला है ?” दीपकले प्रश्न गरिहाल्यो ।

“उम्म्,” मैले जवाफ दिएँ ।

“अब प्रपोज गरिहाल साथी नत्र अर्कैले उडाइदेला,” दिनेशले भन्यो ।

“नाम पनि थाहा नभएको मान्छेलाई एक्कासि प्रपोज ?” यति भन्न के पाएको थिएँ दिनेश उठेर बाथरुम कुदिहाल्यो ।

रक्सी बढी भएछ क्यारे आन्द्रा भुँडी नै निस्केला जस्तो गरी भमिट गर्यो । दीपक पनि बेहोसि जस्ती गरी बिस्तारामा पल्टियो । दिनेश पनि कोठामा आएर एक शब्द नबोली दीपककै छेउमा पल्टिहाल्यो । म भने केही हदसम्म होसमा नै थिएँ । मेरो ज्यानले पनि अब थप रक्सी लिने ध्याउन्नमा पटक्कै थिएन । सयाद रातीको एघार बजेको हुँदो हो । बल्लतल्ल बत्तीको स्विच बन्द गरेर म पनि अर्को बेडमा पल्टिएँ ।

ढकढक ढोका हानेको आवाज आयो । उठ्न खोजे सकिन । बेस्सरी जोडले हानियो ढोकामा । जबर्जस्तीको दबाबले ढोका खुल्यो । बिस्ताराबाट उठेँ । एक्कासि कोठामा क्याण्डल लाइटहरू बले । कोठाभरि रङगीबिरङगी बेलुन झुन्ड्याइएको थियो । एक्कासि बर्थडे स्प्रेहरू अचानक छरिए कोठाभित्र स्यार स्यारको आवाजमा । बेडको अगाडि टेबलमा बेर्थडे केक थियो अत्यन्तै आकर्षक पानको पातको आकारमा । लेखिएको थियो – हेप्पी बर्थडे माइ डिएर अमिर । दीपक र दिनेश पनि थिएनन् कोठामा । कोठा पुरै सजिसजाऊ थियो । लाग्दै थियो कि स्वर्ग नै हो यो ।

एकैछिनमा हेप्पी बर्थडे टु यु गीत बज्न थाल्यो । यताउती हेरेँ कताबाट बजेको हो पत्तै भएन । अचानक फिल्मी स्टाइलमा ढोकाबाट परिको आगमन भयो । निलो सारिमा सजिएकी उसको हातमा आकर्षक गिफ्ट थियो । सिसाको फ्रेममा सजिएको गिफ्टभित्र एक प्रेमजोडी अङकमाल गरिरहेका थिए । सिसाको फ्रेमको एकपट्टि एउटा कार्ड टाँसिएको थियो । जसमा लेखिएका अक्षरहरू प्रष्टै देखिन्थे “हेप्पी बर्थडे अमिर” । कोठामा बर्थेडे केक र सजिसजाऊ देखेर सर्प्राइज भएको म झन सरप्राइज भएँ । ऊ अरु कोही नभएर चियावाली थिई । हेप्पी बर्थडे गीतमा क्याटवाकमा मुस्कुराउँदै अगाडि बढी ढोकाबाट । मुटुको धड्कन बढिरहेको थियो मेरो । के गरुँ र कसो गरुँ भएको थिएँ म । ऊ अगाडि बढ्दै थिई, म उसैलाई हेर्दै थिएँ एकोहोरो । अचानक ऊ लडी, हातमा भएको गिफ्ट खस्यो । भित्र भएका युगल जोडी एकआपसमा छुट्टिए । सिसाका टुक्राहरू यत्रतत्र भए । चियावालीको खुट्टामा गहिरो चोट पर्यो । एकैछिनमा भुँइ रक्ताम्य भयो । सायद मलाई गुहार माग्दै थिई, आँखाको भावले त्यही बोल्दै थियो, मुख बोलेको थिएन । किन हो खै म भने लाचार भएर हेरिरहेको थिए । मुखबाट कुनै शब्द निस्कन सकेनन् । कुन साइनोले बोलाउँ अलमल्ल परेँ । उसलाई बोलाउनलाई मसँग उसको नाम थिएन न त पहिचान नै थियो । चियावाली अहँ पटक्कै भन्न सकिन । म उठ्नै लाग्दा टेबलको केक भुईंमा खस्यो । बत्तीहरू एकाएकएक निभे । गीत अचानक बन्द भयो । म रुमालिएँ अन्धकारमा । यताउती छामछुम गर्दै रन्थनिए, छटपटिएँ पनि । एक्कासि जुरुक्क उठेँ ।

ती सबै घटनाहरू वास्तविक नभएर सपना थियो । ब्युझिँदा शरीर पुरै पसिनाले भिजेको थियो । बाहिर भने चर्को हावासँगै पानी खुब जोडले दर्किरहेको थियो । सिरानीकै छेउमा भएको मोबाइल झिकेँ । रातिको बाह्र बजेर दस मिनेट मात्रै गएको थियो मोबाइलमा । बिजुलीको स्विच अन गरेँ । टेवल माथिरहेको फिल्टरबाट एक गिलास पानी झिकेर खाएँ । अचानक मेसेज आयो । हेप्पी बर्थडे मेरो भाइ लेखेर । साँच्चै मेरो जन्मदिन थियो तर मलाई होसै थिएन । दीपक र दिनेश पनि सायद मलाई सरप्राइज बर्थडे विस गर्ने सोँचमा थिए होलान । रक्सीको नसामा लठ्ठिएर पल्टिएका थिए । हिरा दाइले मेसेज पठाएका रहेछन् । त्यसताका उनी मेरै घरमा डेरामा बस्थे । घर बागलुङको देवीस्थान भएका उनी निकै घनिष्ट थिए मसँग । एउटा मेडिकल चलाएर बसेका थिए बुटवल गोलपार्कमै । थ्यान्क्यु दाइ लेखेर रिप्लाई गरिदिएँ हिरा दाइलाई ।

निद्रा पटक्कै परेन । सपनामा देखिएका सबै घटना वास्तविक जस्तै लाग्दै थियो । निद्राबाट ब्युझेर कोठामा आँखाले देखेको त्यो दृश्य मस्तिष्कले विश्वास गर्न एक रत्ती पनि सकेको थिएन । साँच्चै त्यो सपना मेरो दिमागमा यसरी बस्यो कि त्यो घटना पार गरेर म अर्कै संसारमा छटपटिएको छु जस्तै गरी । रात धकेल्न एउटै आधार थियो फेसबुक । फेसबुक खोलेँ । फेसबुकका बाल भरी चर्को हावहुरीसँगैको पानीले देशभरिको जनजीवन प्रभावित लेखिएको थियो । तराई क्षेत्रमा बाढीका कारण टहराहरू डुबान, जनजीवन अस्तव्यस्तको समाचार देखेपछि झन मन आत्तियो । अचानक बत्ती गयो । एकैछिनमा मोबाइलको नेटवर्क पनि गयो । सपना झन झलझली आँखाअगाडि आउन थाल्यो । झन वास्तविक लाग्न थाल्यो । लाग्यो देश साँच्चिकैकै नै संकटमा परेको छ । जनताले बिपतको सामना गरिरहेका छन् । तर तनाब एउटै कुराको थियो ऊ के गर्दै होली ? साँच्चै सकुसल नै होलि त ? मन भयभीत थियो अनि दिमाग तनावग्रस्त ।

सिसाको झ्यालबाट भित्र उज्यालो छिर्यो । चिम्लिएका आँखाले सजिलै महसुस गरे । आँखा खुले तर निद्राबाट खुलेका थिएनन, केवल चिम्लिएको मात्रै थिएँ आँखा मैले । पानी पूर्ण रुपमा रोकिएको थियो । आकाश रत्तिभर खुल्ने संकेत थिएन । बिहानको छ बजिसकेको थियो । अँझै पनि मोबाइलमा नेटवर्क थिएन न त बत्ती नै आएको थियो । मोबाइलमा रेडियो अन गरेँ । प्रत्येक एफ एमले फुकिरहेका थिए रातभरिको हावाहुरी सँगैको पानीले विशेष गरी तराई क्षेत्रको जनजीवन प्रभावित भनेर । मन त्यसै अतालिएको थियो । घरमा र घरबेटीलाई फोन गरौँ भने नेटवोर्क थिएन ।

दीपक र दिनेशलाई उठाएँ । सायद साढे सात भएको हुँदो हो त्यतिखेर । “कलेज, अफिस जानू पर्दैन ? यतिखेरसम्म सुत्छौ ?”

दिनेशले आङ तन्काउँदै उठ्दै भन्यो, “आज शनिबार हो ।”

दीपक पनि जर्याकजुरुक उठ्दै भन्यो, “हेप्पी बर्थडे ब्रो,” फेरि भन्यो, “हिजो तेरो सरप्राइज बर्थ डे विस गर्ने योजना सबै रक्सीको ओभर डोजले चौपट पारेछ ।”

उसको कुरा सुनेर म खिस्स हाँसे केवल बनावटी हाँसो, मनमा छटपटी कायमै थियो । किचन र्याक भित्र मलाई सरप्राइज दिन राखेको केक झिकेर मनाइदिए मेरो जन्मदिन बिस्तारामै केटाहरुले ।

खाना खाएर आरम गर्दै गर्दा झन्डै दिउँसो बाह्र बजेतिर मोबाइलको नेटवोर्क आयो । घरमा आमालाई फोन गरें । सबै ठिकठाक रहेछ । काठमाडौं पुगेर फोन नगरेकोमा बिलौना गर्नुभो बरु । “आज तेरो जन्मदिन सधैं हासी-खुसी रहनु,” भन्दै आशीर्वाद पनि दिनु भयो ।

दीपकले काठमाडौं बोलाएको कुरा आमालाई भनेको थिएँ । उहाँले नै बैंक खातामा पैसा हालिदिएपछि हतार हतार बसपार्क गएको थिएँ काठमाडौंको बसको टिकट लिनलाई । घरबेटी काकीलाई फोन गरेँ । धनुषामा बाढीसँगैको हावाहुरिले तहसनहस पारेको कुरा उहाँकै मुखबाट सुने मैले । साँच्चै यो कुराले मेरो मन नै तहसनहस भयो । चियावालीको याद्ले झन सताउन थल्यो । मन अतालियो । काकीले भन्नुभयो तिम्रो कोठाको झ्यालको सिसा फुटेको छ ।

“पहाडिया भोजनालय ठिक छ काकी ?” झन्डै फुस्केन मुखबाट । उहाँले नै भन्नु भयो, “चोकका मिस्ठान्न भोजनालयका छाप्राहरू एउटा पनि हेर्न लाएक छौनन । हाम्रो घरमा भने खसै असर परेको छैन ।”

दिमागमा बाह्र बज्यो । छटपटी बढ्यो । हातगोडा काँपे, लुला भए । सास रोकिए जस्तो भएँ । साँच्चै म सालिक जस्तै भएँ तर सालिन हुन सकिन । रातिको त्यो सपना झन झलझली दिमागमा आइरह्यो । दीपक र दिनेशलाई भन्न खोजेँ तर सकिन ।

दीपकले कत्ति कर गर्दा पनि काठमाडौ बस्नै मन लागेन । अनेक बाहना बनाएँ । घरबेटीले तुरुन्तै आउन आदेश दिएको झुट उसलाई सुनाएँ । मेरो जिद्दीको अगाडि उसको केही लागेन । झण्दै दिउँसोको चार बज्नै लागेको हुँदो हो । मौसम सामान्य भएको थियो । गाडीहरुको चाप पनि बढ्दो थियो काठमाडौमा । लामो दूरीका सवारी साधन पनि चलिरहेका थिए । दीपक र दिनेश बसपार्कसम्म छोड्न आए । पाँचबजेको बसको टिकट लिएँ । फेरि फर्किए मेरो एकतर्फी प्रेमको नगरी जनकपुरको धनुषा ।

बीचबीचमा बाटो बिग्रिएकाले दिउँसो एक बजे मात्रै म धनुषा पुगेँ । सरासर कोठातिर गएँ । जाँदै गर्दा पहाडिया भोजनालय हेरेँ । साच्चै हेर्न लाएक थिएन । बाढी भित्र पसेको थियो । आँखा रसाए केवल उसैका याद्मा । कहाँ गएकी होली ? हतार हतार कोठामा गएँ । कोठाको झ्यालको सिसा फुटेको रहेछ । सिसाका केही टुक्राहरू थिए कोठामा सफा गरेँ । टेबलमा राखेको डायरी र कलम हावाले होला भुइँमा खसेका थिए । अरु भने ठिकठाकै थियो ।

हरेक दिन चोकमा पुग्थेँ । बाढी पसेको त्यही सटर देख्थेँ । मन बहकिन्थ्यो । आँखाबाट आँसु झर्न खोज्थ्यो सम्हाल्थेँ बल्लतल्ल । मान्छेको चहलपहल अधिक हुने चोक सुनसान थियो । तर मेरो मनमा भने उसको याद्को छटपहाटको आवतजावत सम्हाल्नै नसकिने गरी बढेको थियो । हिउँदमा सुकेको खहरे खोला वर्षायाममा बौलाएसरी । खहरेको भेल घाम लागेपछि, आकाशबाट पानी झर्न छोडेपछि शान्त हुन्छ तर मेरो मन शान्त हुने वाला पटक्कै थिएन ।

काठमाडौबाट फर्केको चार दिन भएको थियो । उसलाई नदेखेको छ दिन । वर्षौँदेखि ऊ मबाट हराएजस्तो आभास भएको थियो । म आफैलाई लाग्दै थियो उसको यादको छटपटाहट छ दिनको हुँदै होइन वर्षौँ देखिको हो । बिहान झन्डै आठ बज्न लागेको हुँदो हो । बिस्तारामा पल्टेदेखी निद्रा परेको थिएन बिहानसम्म पनि । नोटबुक भुइँमै थियो । झिकेँ र लेखेँ ।

“चियावाली तिमीबिना म अधुरो छु,
हुलबाट छुटेको माल्चरी जस्तै भएको छु
मलाई एक्लै नबनाऊ
उजाड मेरो जिन्दगीमा रङ भर्न छिट्टै आऊ ।
तिम्रो अमिर”

ढोका ढकढक्याएको आवाज आयो ।

“को हो ?” म भित्रैबाट बोलेँ ।

“अमिर दाइ, म हो क्या !” भूमिश्वरको आवाज थियो ।

नोटबुक बन्द गरेँ र ढोका खोलेँ । हजुरको चिट्ठी भन्दै उसले हातमा थम्याइदियो । कस्ले दियो? मैले सोधेँ । हुलाकी दाइले भन्दै हाँस्दै गयो । पठाउनेमा कसैको नाम नै थिएन । पाउनेमा मेरो नाम, ठेगाना र घर नम्बर थियो । ढोका बन्द गरेँ र चिट्ठी खोलेर पढ्न थालेँ ।

प्रिय अमिर,
पत्रको खाममा पठाउनेको नाम नदेख्दा यतिबेला तिमी अचम्ममा परिरहेका छौ होला । पत्र पढ्दा तिमी मलाई सजिलै चिन्छौ । जिन्दगी कसैको पनि सोँचेजस्तो हुँदैन । देखेको सबैकुरा पाइन्छ भन्ने पनि छैन र पाएका सबैकुरा देखिएका नहुन पनि सक्छन । कति कुरा आँखाले देखेका, कानले सुनेका पनि सत्य नहुँदा रैछन । तिमी त्यही कुराको उदाहरण बनेका छौ । तिम्रो पहिलो हेराइमै तिम्रा आँखामा मप्रतिको प्रेम झल्केको मैले महसुस गरेकी थिएँ । तर मेरो नजरमा भने तिमी घृणाका पात्र थियौ । जिन्दगीमा कहिल्यै लागेको थिएन तिमीसँग मेरो प्रेम होला भनेर । तिमी जहाँ जान्थ्यौ म त्यहीँ पुग्थे । तिमीलाई पनि लागेको हुँदो हो तिमीप्रतिको मेरो चिहोचर्चो । सच्चा प्रेम गर्नेहरू सहजै बोलीबाट प्रेम प्रकट गर्न सक्दैनन् भन्ने कुरा धेरै सुनेकी थिएँ । तिमीले त्यो कुराको महसुस गरायौ र त कहिल्यै भन्न सकेनौ मनको कुरा । तिम्रा प्रत्येक क्रियाकलापले दिन-प्रतिदिन मेरो मनमा तिमीप्रतिको प्रेमको टुसा निस्कियो र हुर्कँदै गयो । सायद त्यतिबेला तिमीले बोलीबाट प्रेम प्रकट गरेको भए कति मन दुखाइदिन्थेँ होला तिम्रो? साँच्चै प्रेम अन्धो हुँदोरैछ । न यस्ले जात हेर्दोरैछ, न धर्म न त औकात नै । सायद तिमीले मलाई चिनेको भए मलाई प्रेमभावले हेर्ने थिएनौ होला?

मलाई मेरो हिन्दू समाजले विधवा, अलच्छिनी, बिहे गरेको एक महिनामै पोइ खाएको उपमा दिएकी आईमाई हुँ । यति थाहा पाउँदा पाउँदै पनि तिमीले मलाई प्रेम गर्थ्यौ र? फरक यत्ति हो तिमी मलाई मेरो वास्तविकता थाहा नपाएर प्रेम गर्यौ मैले तिम्रो वास्तविकता थाहा पाएर प्रेम गरेँ । तिमी मेरो वास्तविकता थाहा पाएको भए प्रेम गर्दैनथ्यौ अनि मैले तिम्रो वास्तविकता थाहा नपाएको भए ।

हाम्रो भेट हुनुभन्दा दुई महिना अगाडिदेखि तिम्रो तस्वीर मेरो मनस्पटलमा घुमिरहन्थ्यो । जब तिमीलाई दाइको भोजनालयमा देखेँ म झसँग भएँ, डराए, अतालिएँ र किचन भित्र पसेँ । मैले बारम्बार देखेको तस्विर दुरुस्त मेरो अगाडि थियो ।

मधेश आन्दोलन, नाकाबन्दी, खुलेआम हत्या त्यस्तो विषम परिस्थितिमा लोग्ने गुमाएकी नारी कमजोर थिई । न्यायका निमित्त न्यायालय जाने तागतसम्म थिएन उसमा । गए पनि उसका कुरा सुन्ने को? खुलेआम श्रीमानको निर्मम हत्या हुँदा पनि चुपचाप सहेर बसेकी थिई ऊ । हरेक दिन हेर्थि पत्रीकामा मुख छोपेकाहरू बीचमा एउटा मुख देखाएको अपराधी । त्यो नारी म थिएँ र अपराधी तिमी ।
श्रीमान गुमाएको दुई महिना भएको थियो । म माइतीमा थिएँ । बिहान साढे सात बजेतिर दाइले फोन गर्नुभयो । ज्वाइको हत्यारा मेरै पसलमा चिया खाना आएको छ । मैले भनेँ उसलाई पिछा गर्नुस म आजै आउँछु । त्यही बिहान पहाडबाट झरेँ तराइ जनकपुरको धनुषा तिमीसँग बदला लिन । बदलामा पाएँ तिम्रो माया अमिर ।

जब म धनुषा आएँ हत्तपत्त तिमीमा रिस पोख्ने साहस गर्न सकिन मैले । बरु तिम्रा प्रत्येक क्रियाकलापको प्रत्येक्षदर्शी बनेर अबलोकन गरिरहेँ । साँच्चै तिमी भद्र लाग्न थालेऊ । तिमी अपराधी हौ भन्ने मलाई पटक्कै लागेन । तर पनि सोँचे जस्तो देखिन्छ मान्छे त्यस्तो नहुन पनि त सक्छ नि? तिमीलाई नियालिरहेँ दिनहुँ । कहिले तिमीले थाहा नपाउने गरी तिम्रो कोठाको बहिरसम्म पुगेँ कहिले तिमीले थाहा पाउने गरी पुस्तकालयसम्म । म कत्ति काएर भएर तिमीलाई नियालेँ तिम्रो नामसम्म थाहा भएन मलाई ।

म ज्वरो आएर सुतिरहेकी थिएँ । दाइले बेलुका भन्नु भयो त्यो केटा काठमाडौ गयो आज । मनमा एक किसिमको छट्पटी भयो । चिन्न नपाउँदै गयो । त्यही राति पानी पर्यो । पानी ठुलै पर्ने संकेत देखिए पनि त्यत्ति ठूलो परिसकेको भने थिएन । हावा भने जोडले लागेको थियो । भोजनालय भएका लाइनका सबै मान्छेहरू बाढीको डरले सामान व्यवस्थापन गर्न लागिरहेका थिए । दाइ पनि त्यतै ब्यस्त हुनुभयो । बिरामी भएको शरीरमा साहस बोकेर गएँ त्यही राति तिम्रो कोठामा । झ्यालको सिसा फोरेर भित्र छिरेँ तिम्रो व्यक्तिगत विवरण पाउने आशामा । दराजमा राखिएका सबै कागजपत्र हेरेर जस्ताको तस्तै राखिदिएँ । निस्कनै लाग्दा टेवलमा राखिएको तिम्रो नोटबुक देखेँ र हेरेँ । नोटबुक सुरुदेखि अन्त्यसम्म हेरेँ । तिम्रो नाम, जन्म मिति, घरको ठेगाना र तिम्रा दैनिकी । एक सुरक्षाकर्मीमाथि भएको हातपात देख्न नसकेर बँचाउन जाँदा आक्रमणकारी समूहको एक सदस्य जस्तै भएको कुरा तिम्रो नोटबुकबाटै थाहा पाए । जसलाई तिमी बँचाउन गयौ उहाँ मेरो श्रीमान हुनुहुन्थ्यो ।

बाहिर पानी दर्कने क्रम बढ्दो थियो भने हावाहुरी घट्दो थियो । बाहिर हतार हतार निस्कन लाग्दा झ्याल्को बहिरपट्टि खसेको सिसाको टुक्राले गहिरो चोट पर्यो खुट्टामा । बल्लतल्ल आफूलाई सम्हालेर पानी पानीमा कोठामा गएँ । मेरो हालत देखेर दाइ अतालिनु भयो । हतार हतार मलाई हस्पिटल लैजानु भयो । हस्पिटल पुगेपछि ज्वोरो झन बढ्न थाल्यो । खुट्टाको घाउको पीँडा झन ज्यादा थियो । रातभरिको बाढिले मान्छेहरू याकुल्ब्याकुल थिए । भोलिपल्ट बिहान थाहा भयो बाढिले चोकका मान्छेहरुको उठिवास लागेछ । हाम्रो पनि लाग्यो । तिम्रो वास्तविकता सबै दाइलाई पनि सुनाए तर तिमीप्रति पलाएको मेरो प्रेम भनिन र कालान्तरमा कसैलाई भन्ने पनि छैन ।

सयौ जुनि तिमीसँगै जिउन मन थियो । मैले गर्ने प्रेमको पनि तिमीलाई अनुभूति गराउन मन थियो । म नचाहेर पनि कत्ति छुच्ची भैदिएँ है ? मेरो नामसम्म पनि दिइन न नत घर ठेगाना नै दिएँ । नोटबुकमा मेरा बारेमा लेखिएका दैनिकी पढ्दा महसुस गरेँ कि तिमी पहिला त मेरो परिचय जान्न आतुर थियौ । तर मेरो बाध्यता थिए सबै । म कमजोर भएँ । मेरो समाजसँग डराए । त्यसैले नामसम्म पनि तिमीलाई दिने साहस गर्न सकिन । तिमी मलाई खोज्दै आउँछौ कि डर लाग्यो । मायाले केही कुराको मतलब त राख्दैन तर समाजको डरले म स्वार्थी भैदिएँ । मैले तिमीलाई बुझेपनी मेरो समाजले कहिल्यै बुझ्दैन । निदाएको बाहाना गरेको समाजलाई ब्यूँझाउने तागत मसँग छैन । तिमीसँगको सम्बन्धले मेरो समाजले भन्ने छ मलाई आफ्नै श्रीमानको हत्यारा, एउटा मुसलमानकी रखौटी । यो सबै सहन पचाउन सक्दिन म । साँच्चै म कायर हुँ ।

तिमीले यो पत्र पाउने बेलासम्म म यो शहरबाट हराइसकेकी हुनेछु । मेरो बाध्यतालाई बुझेर आफ्नो मनलाई सम्हाल । मलाई लाग्छ तिमी म जस्तो काएर छैनौ । पुरातनवादी समाजसँग लड्ने तागत छ तिमीमा । लड्छौ होला पनि । तर समाजले काँचुली फेर्ने बेलासम्म हामीरहन्छौ या रँहदैनौ? भगवानसँग प्रार्थना गर्छु अर्को जुनिमा तिम्रै बनेर जन्मन पाउँ ।

अमिर मेरो समाज, आफन्तले तिमीलाई कुन रुपले हेर्छन मलाई थाहा छैन तर मेरो नजरमा तिमी अपराधी होइन निर्दोष छौ । हो अमिर तिमी निर्दोष भयौ मेरो नजरबाट ।
उहीँ तिमीले मलाई दिएको प्रिय नाम
चियावाली ।

जुन दिनदेखि ऊ मबाट अपत्यारिलो पारामा हराई, त्यसपछि जनकपुर बस्नै मन लागेन । सुनसान लाग्यो जनकपुर । घर गएँ । हुँदा हुँदा मलाई घर पनि सुनसान लाग्न थाल्यो । समाज, साथीभाइ आफन्त कसैसँग निजिक हुन मन लागेन । मलाई आफ्नै देश विरानो लाग्न थाल्यो । एकाएक नजरबाट हाराएकी ऊ शहरबाट पनि हराई । त्यही वियोगमा म देशबाटै हराइदिएँ । र आएँ सबथोक बिर्सेर सपनाविहीन देश अमेरिकाको मिनेसोटा ।

जीवनकै पहिलो लेखनयात्रा उसकै कथाबाट सुरु गरेँ मैले औपचारिक रुपमा । उसको पत्र पाएकै दिनदेखि दैनिकी लेख्न भने छोडेँ । कथा लेख्न सुरु गरेको एक हप्तामा पूरा गरेँ ।

बिहानको नौ बजेको छ अहिले । मोबाइलको घन्टी बज्छ । अनिलले फोन गरेको रहेछ, ” ह्याप्पी बर्थडे पार्टनर ।”

यसपाली पनि मलाई होस थिएन मेरो जन्मदिन ।

“थ्यान्क यु पार्टनर,” म जवाफ दिन्छु ।

“कहिले आउने ?”

“अँझ एक महिना पछि आउँछु,” उसले जवाफ दिन्छ ।

“राजु र कृष्ण पनिसँगै आउँछन् ?”

“मभन्दा दुई-चार दिनपछि आउछन् सायद,” उसले जवाफ दिन्छ ।

सकियो फोनमा कुरा । के काममा हो अलिक ब्यस्त छ रे ऊ । मलाई बर्थडे विस गर्न मात्रै फोन गरेको रहेछ । फेसबुकमा विस गरेका रहेछन् सबैले । दीपक, दिनेश, कृष्ण, राजु, हिरा दाइ अरु थुप्रै साथीहरुले पनि । केही दिन अगाडि मात्रै फेसबुकमा साथी बनेको घरबेटी काकीको छोरा भूमिश्वोरले पनि विस गरेको रहेछ हेप्पी बर्थडे दाइ लेखेर । घरबाट बा-आमाले पनि उतैबाट फोन गरेर शुभकामना दिनुभयो आज जन्मदिनको ।

साँझको छ बजेको छ अहिले । दिमागमा खास कुराहरू भने केही छैनन् । उसको कथा लेखेर सकेपछि भने मन हल्का भएको छ । लेख्दा मन हल्का हुन्छ भन्ने कुरा सुनेको थिएँ आज आफैले महसुस गरेँ । आज भने दैनिकी लेख्न मन लाग्यो । त्यही पुरानो नोटबुक जहाँ मेरो जिन्दगीका तिता मिठा घटना शब्द बनेर बसेका छन् । जम्मा अन्तिम दुई पाना मात्रै बाँकी रैछन् । बर्थडे विस गर्ने सबैको नाम लेखिहालेँ । कसैलाई नभनेको अघिल्लो बर्थडेको रातिको सपना पनि नोटबुकमै लेखेँ मैले । अन्तिम पानाको अन्तिम पेजमा पोहोरकै बर्थडेमा लेखिएको रहेछ, “हेप्पी बर्थडे अमिर – उहीँ तिमीले मलाई दिएको प्रिय नाम चियावाली ।”

उसले बर्थडे विस गर्न नपाएको सपना अधुरो भए पनि अब वर्षौसम्म नोटबुकमा लेखिएका उसका शब्द हरुले भन्ने छन्, “हेप्पि बर्थडे अमिर- उहीँ तिमीले मलाई दिएको प्रिय नाम चियवाली ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *