Skip to content


लेखेको कुरा खै के छ, के छ ? देखेको कुरा त माकुराको जालो जस्तो छ । भोगेको कुरा चाहिं त्यही जालोभित्र कैद भएको अभागी झिंगाको जस्तो छ । मेरो जीवनमा पापी माकुरोले कुन बेलादेखि जालो बुन्न शुरु गर्यो र कहिले बुनिसक्यो मैले सुइँकोसम्म पाईंन । मैले चाल पाएको बेला म जालोभित्र छटपटाउँदै थिएँ । माकुरो भने स्वतन्त्र भैसकेको थियो । जालोबाट मुक्ति पाउन गरिएका हरेक प्रयत्न विफल यस अर्थमा भए कि, जालो कुनै चानचुने माकुरोले बुनेको थिएन । समयरुपि कालो माकुरोले बडो मिहिनेतकासाथ रेशमी मुटुहरू पगालेर रेशाहरू पैदा गर्यो । तान भने पहिले नै तयार थियो । रेशाहरू क्रमश: बुनिंदै गए । आयतन बढ़दै गयो । म र डोमा त यो दुर्घटनाका निमित्त नायक-नायिका मात्र थियौं । डोमा र मेरो मिलन एउटा संयोग मात्र थियो ।

ठट्टा-ठट्टामा जिन्दगी लट्टा पर्दोरहेछ । जम्काभेटबाट बामे सरेको साइनोले घुमाउरो बाटोमा फन्को मार्न थालेपछि मात्र सम्बन्ध जटिल बन्न गएको हो । एउटा साथीको घरबाट रात्रीभोज खाएर फर्कंदा मैले डोमालाई उसको घरसम्म पुर्याइदिनु परेको थियो । नशिली डोमा जिद्दीवाल थिई । उसको घरभित्र गएर कफी पिउन मलाई बाध्य पारी । म करीब दुई घण्टा जति उसको कोठामा बसें । यो अवधिभरि एउटा फुच्चे नोकर बाहेक डोमाको घरमा मैले अरुलाई देखिनँ । चोरझैं चालहरू नियन्त्रण गरेर म बाहिरिएँ । किनकि कफीपछि, डोमाले अरु जे-जे दिई मैले लाजै पचाएर थपी-थपी खाएको थिएँ ।

गोसाईंकुण्ड जाने मेरो ठूलो धोको थियो । डोमाको जन्मथलो पनि गोसाईंकुण्डको काखमा नै भएकोले एकदिन उसले भनी- ” विवश, सात दिनको लागि छुट्टी मिलाऊ । म तिमीलाई गोसाईंकुण्ड लैजान्छु ।”

मेरो लागि यो एउटा खुशीको समाचार थियो । मिति तोकियो । झोलाहरू कसिए । यात्राको श्रीगणेश भयो । धुन्चेमा एउटा रोमान्चकारी रात काटेपछि सखारैबाट गन्तव्यतिर प्रस्थान गरियो । जति-जति ऊचाई बढ्यो उति-उति हाम्रो क्षितिज साँगुरियो । मैले चौतर्फी आँखा दौडाएर हराएको शांग्रि-ला खोजें । आँखाले नदेखेको शांग्रि-ला त मुटुभित्र पो धड्किन्दै थियो ।

लौरीविनायकबाट उँभो चढ्दा सिमसिमे पानी पर्दै थियो । उचाई बढ्दै जाँदा पानी भुवादार हिउँमा बदलियो । पैदलमार्गमा हिउँ बाक्लियो । डोमाले रत्तिभर पनि मेरो हात छोडिन । उज्यालोलाई अँधेरोले खर्लप्प निल्यो । करीब चौधहज्जार फीटको उचाईमा सर्बत्र सन्नाटा छायो । त्यो शुन्यतामा दुई मुटुहरू साउती गरेको प्रष्टसित सुनिन्थ्यो । गोसाईंकुण्डको परिसरमा हिमपातको कारण त्यो दिन एउटा मात्र छाप्रे लज खुलेकोले थियो । धन्न एउटा कोठा मिल्यो । लजमा पिउने कुरा बाहेक अरु केहि पनि थिएन । चौंरीगाईको घीउमा जिम्बुले झानेर उमालेको एकमाना रक्सी पिइसक्दा पनि मलाई छोएन । डोमाको जिब्रो भने लटपटिईसकेको थियो – “बिवश, खै मेरा कान? तिम्ले सितन त बनाएनौ, यार!”

गोसाईंकुण्डबाट झरेपछि स्याप्रुबेसीमा नै एकदिन बस्यौं । हिंड्ने आँट गरेको भए रसुवागढी (टिम्बुरे) नै पुगिन्थ्यो । लाङटाङखोलाको किनारमा तातोपानीको दह छ । सालमा एकपल्ट लाग्ने मेलाको मौका समेत परेकोले डोमा मेला भर्न जान उत्साहित भई । त्यहाँको तातोपानीमा नुहाएपछि निरोगी भइन्छ भन्ने जनविश्वास रहेछ । खासगरी चर्म-रोगहरूको दोहोलो हुने गरेको जिउँदा प्रमाणहरू पनि भेटिए । हिउँका ढिक्काहरू पगाल्दै झरेको लाङटाङखोलाको छेउको तातोपानीमा मयल माडीमुडी पार्दै नुहाउन पाउँदा हामीले अनौठो प्रकृतिलाई धन्यबाद नदिइरहन सकेनौं । डोमाले पिठिउँ माडिदिन आग्रह गरी ।

म हिच्किचाएको चाल पाएपछि मेरो हिम्मत बढाउन डोमाले यसो भनेकी थिई – “यहाँ आएर खैरे-खैरेनीहरू छाडा जस्तै भएर नुहाउने र घाम ताप्ने गर्छन । यस्ता जाबो दृश्यहरू त यहाँका बासिन्दाहरूले मज्जाले पचाउन्छन् ।”

गन्धक पानीमा धेरैबेर खेलेपछि डोमाले मेरो लागि जोसिलो चुम्बन दिई । खुशीले मात्तिएको बेला अक्सर ऊ उत्ताउली बन्थी । तर, त्यो पालिको ‘सल्फर किस’ भने तीन घण्टासम्म ठुस्स गन्हाइरह्यो ।

स्याप्रुबेसीबाट टिम्बुरेतिर लाग्दै गर्दा डोमाले मलाई प्वाक्क सोधेकी थिई – “तिमी मलाई अपनाउन सक्छौ?”

डोमाका आँखाहरूले मेरा ओठहरू ढकढकाउँदै थिए । मेरो ओठमा भने भित्रैबाट भोटेताल्चा लागेको थियो । मुनि केरुङखोला सुसाउँदै थियो । माथि धुपीसल्ला गाउँदै थिए । ढुंगे ओढारमा डोमा भने पोल्टोभित्र मलाई लुकाउने कसरत गर्दै थिई । ढाक्रेहरू आएर ढाकर नबिसाएका भए हामी अझै बरालिने थियौं । केरुङको भेडीगोठबाट ऊनको खेलोफट्को गर्न झरेका ती थाक्सेहरूको त्यहि ओढारमा बासबस्ने मनसाय बुझेपछि हामीले बाटो ततायौं । रसुवागढ़ी पुग्न अझै दुईकोसको बाटो बाँकी थियो । लाङटाङ हिमालको पश्चिमी मोहोडामा गोधुली आफ्नो सन्ध्याकालीन चोली फेर्दै थिइन् । गणेश हिमालको पूर्बी मोहोडाबाट माथि-माथि तन्किएर चाँदीको भकुण्डो दृश्यपान गर्दै थियो । चाँदनी रातमा मेरी डोमा पनि कम सुन्दर देखिन्न थिई ।

मैले कहिल्यै पनि डोमाको बिगत कोट्याउँन चाहिन । बर्तमानसित बढी झ्याम्मिने मध्येमा पर्छु म पनि । डोमा मेरो बर्तमान थिई । मैले नखोतले पनि बेला-बेलामा बरु ऊ स्वयं नै बक्थी । मलाई भेट्नु अगाडि नै डोमा एउटा अमेरिकी युवकसित ठोक्किइ सकेकी रहिछ । डोमा ट्राभल एजेन्सीमा काम गर्थी । नेपाल दर्शनमा आएको युवक डोमाको भमरो बन्यो । मलाई जस्तै माईकललाई पनि त्यो चुम्बकले तान्यो होला । डोमासित नेपालमा बिताएको हरेक पललाई पोको पारेर माइकलले सनफ्रान्सिस्कोसम्म नै पुर्यायो । र, नेपालमा छुटेकी ‘एसियन पुतली’ लाई पत्राचार गर्दै रह्यो । उसका हरेक पत्रको जवाफ फर्काएर डोमाले माइकलको हौसल्ला अझ बढाइदिई ।

मेरो बाहुलीमा बेरिएर डोमाले माइकलको खुब याद गरी – “ऊ धेरै सोझो र ईमान्दार छ । ऊ मलाई हृदयदेखि नै चाहन्छ । आगामी शरद ऋतुमा ऊ मलाई लिन नेपाल आउँदै छ । र, क्रिसमस अगाडि नै हामीले विवाह गरिसकेका हुनेछौं ।”

मेरो अँगालो अनायास खुकुलियो । त्यतिबेला हामी नेपाल-चीन सीमाको मितेरी साँगुको मध्यभागमा थियौं । भोटेकोसीमा बाढी आइरहेको थियो । आँसुका केही थोपाहरू धमिलो पानीमा सुटुक्क मिसाएर मैले केरुङ हिमालतिर फर्केर मुस्कुराएको अभिनय गरें ।

सिमाना काटेर तिब्बतको नांगा पठारमा यात्रा सामान्यरुपले अगाडि बढिनै रह्यो । केरुङ बजारसम्म त हामी बिनारोकटोक नै पुग्यौं । हुन त सीमा रक्षक सैनिकहरूले सामान्य पुछ्तास नगरेका हैनन् । डोमा तिब्बती मूलकी भएकीले उसलाई नाईके बनाएर पैदल यात्रा गर्दा कुनै अप्ठेरो झेल्नु परेन । कठांग्रिने जाडो थियो । थकाइको तोडलाई भोका आन्द्राहरूले ओझेलमा पारिदिएका थिए । लज मालिकनीले तातो रक्सी र सुकुटी टक्राईन । हुन त भोको पेटको धर्म भनेको अगाडिको भाग खपाखप खानु नै हो । फेरि पनि मनले नमानेर मैले डोमालाई कोट्याएँ ।

“खाऊ, खाऊ सहरमा यो खान पाईन्न । याकको सुकुटी हो यो ।”

डोमाले सुकुटीको बुझो कोचेर घट्ट चलाउन थाली । पेट दुखेको स्वाङ पारेपछि मेरोलागि एक रिकापी तारेको कुरिलो आयो । डोमा र साहुनी तिब्बतीमा गफ चुट्दै थिए । बेला-बेलामा साहुनी मेरो मुखमा हेरेर हाँस्थी । म खिस्स-खिस्स यन्त्रपूर्ण मुस्कान छोडी दिन्थें । डोमाले उनीहरूको बार्तालाप मेरोलागि संक्षेपमा उल्था गरिदिई – “तिमी र मेरो नाता के हो भनेर साहुनीले सोधिन ।”

“अनि, तिमीले के भनिदियौ त?” मैले जिज्ञासा राखें ।”

के भन्नु नि, तिमी मेरो बुढो भन्दियें नि!” डोमाले खित्का छोडेको देखेर साहुनीले पनि सुनले मोडेको दाँत चम्काई । तेहि मौकामा मैले पनि मेरो कृत्रिम हाँसो मिसाइदिएँ ।

स्याप्रुबेसीमा पुन: फर्किएपछि डोमाले मलाई तिब्बती शरणार्थी शिविरमा लगी । त्यहाँ डोमाको फुपू पर्नेसित भेट भयो । बिहानको नास्ता भयो । नुनिलो चिया र जौको रोटी थपिथपी खाएको देखेर सबैजना मसँग खुसी भए । फुपू फरासिली रहिछिन । मेरो बयान गर्न पनि भ्याईन – ” भाइको आनुहार त जुगल हिमालजस्तै राइछा पो!”

फुपूले कुरै-कुरामा डोमालाई सोधिन – “तिम्रो छोरी पानि आबु त चार-पाँच सालकी भाइना र?”

भित्तामा टांगिएको दलाइ लामाको तस्वीरतिर चोरऔंला तेर्साएर डोमाले कुरो बटारी – “फुपू, मललाई पानि एउटा यस्तै फोटो चाहिएको थियो ।

धुन्चेको निम्न-माध्यमिक बिद्ध्यालयमा कक्षा सातमा पढ्दा डोमा करीब सोह्रसालकी थिई । एउटा जर्मन पदयात्रीले डोमाको बाउलाई छोरीको पठनपाठनकोलागि खर्च भरिदिने बचन दिएपछि डोमालाई पाठशाला जाने अवसर मिलेको थियो । केही बर्षसम्म त उसले खर्च खेप्यो पनि । पछि ऊ सम्पर्कबिहिन भयो । डोमाको अध्ययनमा रोकावट भएन । उक्त बिद्ध्यालयमा सबैभन्दा टाठीबाठी र हिसी परेकी डोमा नै थिई । त्यतिबेला धुन्चेदेखि गणेश हिमालको तल्लो आधार शिविरसम्म बाटो निर्माण गर्न सैनिक जवानहरू तल्लिन थिए । ‘आर्मी’ भनेपछि हुरुक्क हुने थुप्रै स्थानीय ठोसेतरुनीहरू फौजीहरूको मोहनीजालमा सजिलै फस्ने गर्थे । एउटा खाइलाग्दो मेजर साबको गिद्धे नजरमा डोमा पनि परी । दुईचार पटक भेट भयो । गोसाईथानको फेरो मारेर सुटुक्क बिहे भयो । चन्दनबारीमा सुहागरात बित्यो । र, डोमा दोजिया भएको सुइँको पाउनासाथ घरबिदामा गएका मेजर साब फेरि शिविरमा फर्केनन् । सत्रबर्षे डोमाले छोरी जन्माई । न्यायको तराजु त्रिशुलीले बगाइदियो । डोमाको घरमा पहिलोचोटि प्रवेश गर्दा एउटी मैली सिँगाने फुच्चीलाई मुसार्दै ‘दिदीको छोरी’ भनेर चिनाएकी थिई । सायद, हिलोले जन्माइदिएको त्यहि सुन्दर कुमुदिनीलाई डोमाको दिदीले हुर्काइदिएकी थिइन् । परिबन्द र धोकाबाजीको सिकार बनेकी डोमाको त्रासद आत्मकथा सुनेपछि मेरो मायाको भकारी अझ झुसियो ।

समयले बाँकटे हान्दै थियो । अरु दिनभन्दा पनि डोमा अमेरिका उड्ने दिन अलि छिट्टै नै आयो जस्तो मलाई लागेको थियो । बिमानस्थलमा दुई वटा खादा लिएर म ठिङ्ग उभिएको थिएँ । हुन त म भाग्यमाथि भरोसा नगर्ने मान्छे, डोमासित माइकललाई देख्दा उसलाई भाग्यमानी ठाँने । डोमाको गलामा खादा पहिराउँदा डोमाले गालामा अन्तिम पटक चुमेकी थिई । त्यो बिशेष चुम्बनले भूतपूर्ब सबै चुम्बाहरूलाई निकम्बा साबित गरिदियो । माइकलको लागि भने त्यो क्षण एउटा औपचारिक प्रक्रिया मात्रै थियो । डोमाले माइकललाई मेरो परिचय दिंदै भनेकी थिइन् – “My friend’s husband.”

ती शब्दहरूले आजसम्म पनि मलाई गिज्याइरहेका छन् ।

एक महिना पनि नबित्दै अमेरिकाबाट डोमाको लामो पत्र आयो । पत्रको थालनी नयाँ अनुभवहरूबाट भए पनि त्यसको मुटुदेखि पैतालासम्मका भागहरू पुराना यादहरूले भिजेका थिए । समय बिगत बनेपछि बिकराल झैं लाग्दो रहेछ । जीवन धीत मरुन्जेल पिउन त बर्तमानलाई बन्दी बनाएर राख्न सक्नु पर्ने रहेछ । जाबो कागजका पानाहरू पनि जाँतोसरी गह्रुँगा लागे । शब्दहरू पग्लिंदै जाँदा छातीको गर्भमा लाभासरी डामे । डोमाले पत्रको बीट यसरी मारेकी थिई – “प्यारो विवश, नेपालमै छँदा रोकिएको महिनावारी अझैसम्म नखुलेकोले तिमीले अमेरिकामा नयाँ अवतार लिनुपर्ने भएको छ । तिम्रो पुनर्जन्म माइकलको लागि सुन्दर उपहार र मेरो लागि हाम्रो अमर प्रेमको नासो हुनेछ ।”

//समाप्त//

प्रथम पटक प्रकाशित – 2012-11-30 05:36:02 +0545

5 thoughts on “अवतार”

  1. अवतार(प्रवीण सिन्धुलीय)
    साह्रै सुन्दर भावना । र त्योभन्दा सशक्त छ प्रस्तुति !

    1. धन्यबाद!
      त्यो भन्दा पनि सुन्दर छ तपाईंको प्रतिक्रिया। धन्यबाद!

  2. प्रविण जी,
    कथा अतिनै

    प्रविण जी,
    कथा अतिनै राम्रो छ, यस्तै यस्तै राम्रा रचनाहरू सधैं पढ्न पाइयोस | सफलताको लागि शुभकामना ! धन्यवाद !!!!!!!

  3. पढु पढु लाग्ने
    अति सरल भाषा मा अत्येन्त सुन्दर रचना पढ्न पाइयो ..कैले नघुमेका ति ठाउँ हरु नि आफै सरसर्ती घुमेझै अनुभूत भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *