Skip to content

पोख्न नपाएको पीडा नारी वेदना


आमा जब म तपाईंको गर्भमा आएँ
तपाईंहरुको युगल देखेर अलिअलि लजाउँदै मुस्कुराएँ
आफ्नो सानो शरिर यताउता तन्काउँदै पौडन थालें
पौडदा पौडदै थाक्थें अनि फेरि आराम गर्थें

तपाईंको गर्भमा म आएको जब थाहा भयो
सम्पूर्ण परिवारमा कानेखुशि र उमंग भरियो
जब म २ महिनाको भएँ, त्यही उमंग बीचमा म रमाएँ
हो आमा हो बुबा म त्यही उमंगमा रमाएँ

म साह्रै खुशी थिएँ, रम्दै, पौडदै थिएँ
बुबाको न्यानो अंगालोको अनुभव गर्दै थिएँ
अनि तपाईंको सुम्सुम्याईको अनुभूति बटुल्दै थिएँ
म अँझै राम्ररी पौडदै, खेल्दै अलि ठुलो हुँदै थिएँ

आज त म चार महिनाको पुगिसकेको थिएँ
मेरो आँखा बन्द नै छन् तर प्रकाशको आभास पाएँ
आहा मलाई धेरै खुशी लागेको छ
किनकि म सृष्टिकर्ता छोरी थिएँ

अब त मेरा साना साना हात खुट्टा थिए
यसैको सहारामा म यताउता खेल्दै गएँ
आमा खै तपाईंलाई कसरी देखाउँ यो खुशी
जुन मैले तपाईंको पेटमा खेल्दा खेल्दै बटुलेको थिएँ

किनकिन आज मलाई धेरै डर लागिरहेको छ
आमा आमा भनेर चिच्याउन मन लागिरहेको छ
बुबा बुबा भनेर गुहार माग्न मन लागिरहेको छ
बल्ल थाहा भयो तपाईं अस्पतालको शैयामा हुनुहुन्छ

ऐया ! आमा मैले एउटा खुट्टा चलाउन सकिनँ
फेरि किन अर्को हात चलाउन सकिनँ
आमा मलाई अप्ठ्यारो भयो म चल्मलाउनै सकिनँ
तपाईंको अश्रुको अनुभूति गरें तर केही गर्नै सकिनँ

अब त म टुक्रा टुक्रा भइसकेको थिएँ
तपाईंको पेटभित्र हुनुपर्ने तर म निर्जीव भाँडोमा थिएँ
तपाईंहरुको आँखाले गरेको थोपाथोपा आँसुको सिचाईको सहाराले
मेरो टुक्रा भएको तनहरू शीतल पार्दै थिएँ

मेरो प्यारो आमा म किन यसरी टुक्रिएँ
किन मैले यो संसारमा पाईला टेक्न पाइनँ
मेरो प्यारो बुबा अहिले पो थाहा पाएँ
किन म यो धर्तीमा आउन पाइनँ

यहाँ त नजन्मदै हर किसिमका लान्छ्वना लगाइदो रहेछ
जन्मेर अलि खेल्न थाल्ने बितिकै बलात्कृत हुनुपर्ने रहेछ
वेश्या, बोक्सी जस्ता नामहरुले पुकारिदो रहेछ
हर क्षेत्रमा अपहेलना र तिरस्कार खप्नुपर्ने रहेछ

त्यसैले आमाबुबा मैले यो संसार हेर्न नपाएकोमा कुनै गुनासो छैन
मन थियो तपाईंहरुलाई दुई हात फैलाएर अंगालो मार्न
कुदृष्टि र कुभावबाट बचाउनु भयो पाएँ यति धेरै माया
छिटै चेतनशील बनोस दुनिया अनि फेरि
तपाईंहरुकै छोरी बनेर जन्मन चाहन्छु यो धर्तीमा ।

-कोमिन्ताल थामी

https://sunpati.blogspot.com/2018/05/blog-post.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *