Skip to content


मौका आउँछ छेउछाउ त्यसमा चासो बढाएपछि
इच्छा साहस त्याग योग सबले आकार पाएपछि
आफ्नै शक्ति बुता र बाहुबलले ढोका खुलाएपछि
तृष्णा त्यो परितृप्त बन्दछ बिण्डो आफैं समाएपछि ।।

मौका आउँछ फेरि भाग्दछ स्वयं चासो हटायो भने
फुल्छन् उन्नतिका अनेक सपना उत्साह आयो भने
के होला अब देशमा युवकले उत्साह मारेपछि
लाग्नैपर्दछ कर्मका समरमा के हुन्छ हारेपछि ।।

हाम्रो भाग्य रहेछ हार्नु अहिले हारेर आयौं यता
के फिर्ने अब देशमा कदम यो तत्काल सार्यौं यता
के अड्लान् फल वृक्षमा मनुजले हानेर झारेपछि
सोझिन्छन् तब वृक्षबाट फलका हाँगा निखारेपछि ।।

आफ्नो भाग्य स्वदेशबाट सबले आफैं बढारेपछि
भत्कन्छन् सब योगका पलहरू आफैं बिगारेपछि
हाम्रा पूर्वजका अनन्त सपना आफैं निखारेपछि
के होला र विवाह त्यो वर बिना ब्यौली सिँगारेपछि ।।

फर्की जान र देशमा अब कुनै उद्योग खोल्ने भए
भन्ने उत्कट सोच बोकी अहिले लौ देशमा फर्किए
सासै फेर्न समेतका करहरू लाएर मारेपछि
त्यस्तो उत्सव गर्नु के जब कुनै सङ्ग्राम हारेपछि ।।

यस्ता लाखन लाख भाव र व्यथा पढ्दैछु सञ्जालमा
सोच्ता लाग्छ रहेछ देश अहिले सड्कीर्णको खालमा
हत्याका अपराधका मुटु सधैं घोच्ने कथा सुन्छु म
टाढाबाट विरक्त बन्नु छ त्यसै के हुन्छु के हुन्छु म ।।

नारी माथि अनेकका कहर छन् हत्या बलात्कार छन्
चेलीमाथि जघन्य घातहरुका हज्जार चित्कार छन्
आत्मालाप छ गर्नु मात्र अरु ता के गर्न नै सक्छु म
यो मेरो अनुमान यद्यपि झुटो होस् भन्छु हे दैव म ।।

आगोकै रूपभित्र राक्षस कुनै नाचेछ नाचेछ कि
मान्छेको क्षमता समस्त उसले जाँचेछ जाँचेछ कि
केही छैन चिसो चिसो सब उतै ताने कि शैलेशले
तातो राप र बाफ यो भूवनमा झारे कि व्योमेशले ।।

तातो वायु डढाउँदै छ अहिले ज्वालामुखी झैं बनी
वायु मण्डल नै सुकेर अहिले बल्दैछ यो दन्दनी
बाँच्नैमा अब हुन्छ मुस्किल यहाँ व्यर्थै गयो जीवनी
ठण्डाको छ अकाल यो बखत त्यो मानिन्छ सञ्जीवनी ।।

तातोका विपरीतको गुण यहाँ पाएर के गर्नु र
तातोले अब भुत्भुते छरिसक्यो तातो कता छर्नु र
आफैं बिग्रनु बन्नुका चलनले लागें म भित्तो अब
छाडें स्वर्ग र आज यो हुन गयो मेरै उछित्तो अब ।।

व्यर्थै छन् अब शान्तिका गफहरू झन् देश आक्रान्त छ
थोत्रा चप्पल लाउने नर हिजो त्यो आज सम्भ्रान्त छ
हत्याको अपराधको दिनदिनै बढ्दै गयो शृङ्खला
जस्ले खोज्दछ न्याय त्यो मुलुकमा काटिन्छ उस्कै गला ।

खोजेका झलमल्ल दृश्य नजिकै छाया बनी आउँछन्
मेरो यो मनमा तितो बिरहले सन्त्रास मच्चाउँछन्
गोठाला भिरमा पुगेर मनका भाकाहरू गाउँछन्
यो सारा स्मृतिमा प्रबाहित हुँदै आनन्द बर्साउँछन् ।।

हामी वस्तु चराउँदा दिनदिनै फुर्केर रानी वन
जान्थ्यौं हाँच लिएर गोठभरका मिल्थ्यो सबैको मन
सम्झूँ सम्झन शक्तिहीन म भएँ झन् बिर्सने के गरी
यो खाडीतिर माथि तप्त पथमा के बाँचुलाँ हे हरि ।।

मिल्लान् उन्नतिका उपाय सजिला सम्झेर आयौं यता
अर्काका रसिला कुरासँग भुली साट्यौं थियो सञ्चिता
मानौं स्वप्न रहेछ त्यो सब कुरा सन्त्रासमा छौं यता
सासै फेर्न सकिन्न यो मुलुकमा बाँच्ने कता हो कता ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *