Skip to content


हजुरबाले ठूलो काठको पिरामा
फुरुरु परेको धुलो माटो फिजाउन लाएको था’छ
सीमालीको छेस्कोले ढ्याब्रे अक्षरमा
अ, आ र क, कासम्म,
एक, दुई र दुनिअङ्क पनि
हजुरआमाले प्रत्येक बिहानीमा
पाञ्चायन पुज्दा भन्ने मन्त्र
रामायण, स्वस्थानी पढ्न लाएको था’छ
म आमाबाबालाई रामायण सुनाइरहँदा
सायद, मलाई टिचर बन्ने बाटो देखायो
म प्रमाणमय खोस्टाको सौखिन्
सधैँ दोस्रो स्तरको मान्छे
म बाढीमय नदीको फड्केमा धरखराउँदै पुल तर्ने आँटी
तर, काएर परजीवी, हजुर्याइँमा जागिरको भिख मगन्ता
म आफन्तका ओहोदा ख्याल राख्दै निरासिएको
बडेमान गौरवका चित्र बुनेर
प्रमाणका खोस्टामा काम र दाम खोज्ने
मामको जोरजाममा तालु ठोक्ने
चप्पल लाएर धुलो, हिलो सहरमा
खलासीसँग भाडा दलाली गर्दै
मन नफाटेको मान्छे
तन घिसारेको मान्छे
घर, समाज तोडेर केवल हात जोडेको मान्छे ।

म टिचर,
पढ्छु तर पढिसकेँ भन्न सक्दिन
बेफुर्सदिलो
एउटा मास्टर….
श्रीमतीले सोध्छिन्, के हाम्रो हक छैन ?
छोरी भन्छिन्, बाबाको फुर्सद हुँदैन
आफन्त भन्छन्, तँलाई भनेर शनिबार भेट्ने भनेको
दिनभर व्यस्त, काममा मस्त
कोठाको दैलो खोल्दै
श्रीमती खाजा टक््रयाउँछिन्
तर,
तर मलाई प्रश्न बनाउनुछ, कपि जाँच्नुछ
अहो ! म पढुन्जेल पढ्नुपर्छ सुत्न भ्याइन
अहिले, पढाउन पढ्नुछ सुत्न भ्याइन
जीवनमा कान्छी निद्राको स्वाद थाहा छैन
म पढन्दास अज्ञानी मान्छे
सरकारको नजरमा अयोग्य
उत्पादको पोकोमा फेरि योग्य
किनकि
मेरो प्रमाणपत्रको मेसिनमा पैसा र बुद्धि मिसिएन
बुद्धि र मिहिनेत मिसियो ।

आमाको फोन अनायास बज्छ, तँ व्यस्त होलास्
रातोदिन म घोटिइरहन्छु
मेरा मगजका ससाना तन्तुहरू गल्लान् तर
केही लेखिटोपल्नुछ
समाज बोल्नुछ
हरेक प्रभातमा छापाका पाना चियाएर
जीवनमा दाउ, झेल अनि नाताको पासा
म अनगिन्ती भीडहरूमा च्यापिएको मान्छे
भविष्य, दुनियालाई सिकाउने
आफ्नै भविष्य बिर्साउने
गन्तव्यका पहाडमा ब्लास्टिङको बारुदै छैन
म अपमानको आधारसँग पोलिन्छु
खादा र दम्भको मूल्यभित्र चुकेको गन्तव्य ।

अहो ! जीवन सग्ला हातखुट्टा र शरीरको स्वस्थतासम्म छ
म बाँच्छु यो आवाज रहेसम्म,
कर्ममा मेरा आवाज
उही कोठामा उही समुदायलाई गाली थोपर्दै
मस्तिष्क रट्छु, भविष्य पढ्छु ।
पानाका चित्र रङ्गिन छन्
तर म गाढा छु
म महिनादिनको तलब बुझ्छु
म टिचर, पेट युगको तमासामा छु
म बाँच्छु उही उस्तै भरोसामा छु
कहिले लाचार कहिले आभार
पसिना र भाग्यको मिलनमा
म अनायास डुबेको मान्छे
कर्म, धर्म र सर्मको मर्ममा उभिएको मान्छे ।

रमेश भट्टराई ‘सहृदयी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *