Skip to content

खोर्साने बूढाको कर्तुत



“क्लक् , क्लक् , क्लक् … ।”

झण्डै एक लोटा पानी घुट्क्याए उनले । अनि पुर्पुरोमा हात राखेर लामो सास फेरे ।

उदयपुरको पोखरेमा बीस रोपनी जग्गामा अकबरे खुर्सानी लगाएर अगुवा कृषकमा दरिएका टंकबहादुर राउत उर्फ खोर्साने बूढा त्यहाँका जल्दाबल्दा व्यक्ति थिए । पञ्चायत जितेपछि उनको रवाफ दिन दोगुना रात चौगुणा बढ्न थालेको थियोे । पुर्ख्यौली सम्पत्ति छँदै थियोे , त्यहाँमाथि निकै चल अचल सम्पत्ति थपे उनले । साँध सिमानामा परेको झगडा होस् कि लोग्नेस्वास्नीबीचको झगडा होस् ! मिलाउने जिम्मा उनकै थियोे । कुलो पैनी , लेनदेन जेसुकै होस् ! निसाफ गरेकोे भाग लिएरै छाड्थे उनी । त्यो , घरको दामी करूवादेखि नामी झर्काको थाल वा तामाको खड्कुलो पनि हुनसक्थ्यो । टंकरामका कैयौं (न) राम्रा पक्ष पनि थिए , जसको गुणगान गाएर गाउँलेहरू कहिल्यै थाक्दैनथे । थाके भने टाउकामाथि धारिलो तरबार झुण्डियो भनेर जाने हुन्थ्यो । कसैलाई आपत् विपत् पर्दा दिल खोलेर सहयोग गर्थे उनी । भलै ५००/- लिएको छ भने एउटा शून्य थपेर ५०००/- बनाउने उनमा विशिष्ट कला थियोे । त्यो त बेग्लै कुरा हो ।

टंकरामको अर्को एउटा सोख थियोे , जुन सोख पूरा गर्न उनी जे गर्न पनि पछि पर्दैनथे । गाउँका अधिकांश लोग्नेमान्छेहरू ज्याला मजदुरी गर्न सिलोङ , कालिम्पोङ , दार्जिलिङ , टिष्टा र गान्तोकतिर जान्थे । गाउँमै बस्दा माओवादीमा हिँड्नुपर्छ भन्ने डरले युवाहरू गाउँघर छोडिरहेका थिए । उनको घर तलतिर दलितहरूको ठूलै बस्ती थियोे । त्यहाँका हरेक घर उसका लागि आफ्नै घर सरह थिए भन्ने कुरा गाँइयागुँइया चल्न थालेको थियोे ।

“हजुर हामी त सानो जातको मान्छे , पाप लाग्छ नछुनुस् न !” एउटा जोगिने निरर्थक उपाय ।

“हजुरजस्तो ठूलो मान्छेले यस्तो गर्न सुहाउँदैन , छोडिदिनुस् बिन्ती छ ।” अनुनय विनय ।

तर त्यस्ता उपायहरू सबका सब व्यर्थ हुन्थे ।

“मान्छे सबै एकै हुन् , ठूलो सानो जातको कुरा नगर ।” बोलीमा उसको समानता झल्कन्थ्यो ; तर त्यति भनिनसक्दै ऊ झम्टिसकेको हुन्थ्यो सिनोमा गिद्ध झम्टे झैँ । बिचरीहरू त्यो सब अत्याचार सहेर ज्यान छोडिदिन्थे । ख्यालख्यालैमा इज्जत माटामा मिलिसक्थ्यो । सोच्दै नसोचेको घटना हुन्थ्यो । तर टंकराम आफ्नो प्यास मेटाउन योजनाबद्ध रूपमा बेलाबखत आइरहन्थ्यो । यस्ता एकाध घर बाँकी थिए जुन घरका बाउ , छोरा वा छोरी जनयुद्धमा लागेका थिए । त्यस्ता घरमा ऊ जाँदैनथ्यो । त्यस्ता घरका महिलाहरूसँग बिच्किसकेको थियोे ऊ ।

जति लुकाए पनि सधैंको अत्याचार कति दिन लुक्थ्यो र ! तर टंकरामलाई बाह्र हातको टाँगाले छुँदैनथ्यो । उसको बोली नै कानून र उसको निर्णय नै अन्तिम फैसला जस्तो थियोे । सहनेहरू उल्टै अपमानित हुन्थे । बेइज्जती पछि २३ घर दलितहरू कोही बोक्से कोही मुर्कुच्ची त कोही धाप्लुङतिर सरेका थिए आफ्नो थातथलो चटक्कै छोडेर । गल्ती टंकरामको थियोे र त्यसको सजाय भोगिरहेका थिए तिनै पीडितहरू ।

मान्छेको जीवन ! विधिको विधान !!एकदिन दिउँसो , टंकरामको छोरो खाना खाएर सुतेकै ठाउँमा हुलुक्क छादेर मरेपछि पाप धूरीबाट करायो भनेर भने धेरैले । त्यसको वर्षदिन नबित्दै लाउँलाउँ खाउँखाउँ उमेरकी बुहारीमाथि गिद्धे नजर लाउन थाल्यो उसले । बेलाबेलामा सहानुभूति राखे जसरी अनावश्यक स्पर्श र तारिफ गर्थ्यो ऊ छोरी समानकी बुहारीलाई ।

“तिमीलाई सञ्चो छैन कि क्या हो ? खै खै !” ऊ निधार छाम्न पुग्थ्यो बेलाबेला ।

“अहिले कस्तो छ ?” भन्दै मध्यरातमा पनि बुहारी सुतेको ठाउँमा जान्थ्यो कहिलेकाहीँ ।
“धेरै पीर नगर , पीरले यस्तो राम्रो ज्यान सुक्छ ।” भनेर सम्झाइरहन्थ्यो ऊ । दिनमा कम्तीमा एकदुई पटक यसरी बुहारीप्रति चासो देखाउनु आफ्नो परम कर्तव्य ठान्थ्यो टंकराम ।

उनी पनि बाउ समान ठानेर व्यवहार गर्थिन् ससुराबालाई । विश्वास पनि उस्तै । तर त्यो सब हावामा उड्यो , जुनदिन एक्लै भएको बेला उनीमाथि हातपातको प्रयास गर्यो बाउरूपी दानवले ।

उसका यस्ता कर्तुतहरूबाट जनअदालत बेखबर हुने कुरै भएन । गोप्य छलफलहरू भए । धम्की , जनकारबाहीका कुराहरू आए । माथिल्लो तहसम्म कुरो पुग्यो । त्यसपछि जनसत्तालाई मासिक पच्चीस हजार चन्दा बुझाउने शर्तमा ऊ बच्यो । अनि उसले गाउँ छोड्यो । गाइघाट गयो र धोजुर दनुवारको घरमा डेरा जमायो । जाँडरक्सी भनेपछि मरिहत्ते गर्ने दनुवारलाई प्रत्येक रात रक्सी खुवाउँथ्यो ऊ । सित्तैमा अघाउँजी रक्सी धोक्न पाएपछि धोजुर टंकरामको जयगान गाउन थालिसकेको थियो । खाइलाग्दो र मनकारी टंकरामदेखि उसकी स्वास्नी पनि सारो प्रभावित हुन थालेकी थिई । धोजुरभित्र टंकराम खोज्थी ऊ , तर अहँ छेउटुप्पै भेट्दिनथी । रहँदा बस्दा गुलाम बनिसकेको धोजुरकी श्रीमतीसँग मोजमस्ती गर्न थालिसकेको थियोे उसले । त्यति मात्रै हो र ! कुरो लामै र घतलाग्दो पनि छ ।

“तिमी रानी म राजा है ?” दनुवार्नीको कानमा फुसफुसाउँथ्यो टंकराम , ओछ्यानमै सुस्ताउँदै ।

“खै कसरी हुने हो र राजारानी !” फरियाले काला तिघ्रा छोप्दै भन्थी ऊ पनि ।

उता अर्को कोठामा मातेर घुरिरहेको हुन्थ्यो धोजुर ।

“उपाय धेरै छन् प्यारी ! तिमी हुन्छ मात्रै भन न” आफूतिर कस्दै महबोली बोल्थ्यो टंकराम ।

टंकरामसँगको साथ र रातले लतक्कै गलिसकेकी उसले आफ्नो लोग्नेलाई सम्झाइबुझाइ गरेर तीनतले घर आफ्नो नाममा ल्याई । त्यसमा टंकरामको पनि ठूलै हात थियोे । योजनाचाँहि अदृश्य नै थियोे ।
पछि त्यो घर आफ्नै बनाएपछि भने उदांगो नै भयो । त्यो समय देशको आकाशमा शान्ति सम्झौताको बादल मडारिइरहेको थियोे ।

शान्ति छाएपछि भारतमा सम्पर्क भएका बंगलादेशी लागूपदार्थ कारोबार गर्ने व्यक्तिसँग उसको उठबस बाक्लियो । पहिले खुर्सानी खेती गरेको ठाउँमा खनजोत गर्न लगाएर अनौठो खेती गर्न थालेको थियोे ऊ। त्यसका बारेमा मान्छेपिच्छेका कुरा थिए । पाँच जना कामदार पनि उतैबाट ल्याएको थियोे । तिनीहरू राम्रोसँग नेपाली बुझ्दैनथे । बंगलादेशी हुन् भन्नेसम्म हल्का जानकारी गाउँलेहरूले पाएका थिए । उनीहरू बिहान झिसमिसे उज्यालो भएदेखि कलिलो घाम छउन्जेल त्यहाँ काम गर्थे र घाम चर्केपछि काम छोडेर आराम गर्थे । फेरि घाम ढल्केपछि आँखा देखुञ्जेल स्यहारसुसार गर्थे तिनै बिरुवाहरूको । चैत बैशाखको सुक्खा र उराठलाग्दो समयमा पनि पुरै हरियाली देखिन्थ्यो त्यो ठाउँ । सकेसम्म कसैले नदेख्ने गरि बार लगाइएको थियोे तर निकै ठूलो क्षेत्रमा फैलिएकाले वारिपारिबाट समेत स्पष्ट देखिन्थ्यो त्यो हरित दृश्य ।

बुहारीका भाइ हिक्मत प्रहरीमा थिए । एकदिन दिदी भेट्न जाँदा बारबेर गरेर महत्वसाथ गरिएको अनौठो खेती देखेपछि उनको मनमा कौतुहलता जन्मियो । धेरैको जिज्ञासालाई ; कसैलाई ग्याष्ट्रिकको अौषधी , कसैलाई केके भनेर झारा टार्ने गर्दथे टंकराम । उनलाई पनि ग्याष्ट्रिकको ओखती नै भनी टोपले । हिक्मतले मलाई पनि ग्याष्ट्रिक छ भनेर खान खोज्दा बूढा झस्किए ।

“यसको खाने खास समय छ बाबू , अहिले बेला पनि भएको छैन ।” टार्नै खोज्यो ।

अम्बकका दानाजस्ता पाँच छ दाना लिएर गए उनी । उता टंकराम तनावमा पर्यो । हिक्मतले ल्याएको अनौठो फल साथीहरूले पनि देखे । केही बेर विचार गरेपछि एकजनाले प्वाक्क भने , “यो त अफिम हो ।”
त्यसपछि त्यो फलमाथि गहिरो गरेर अनुसन्धान गरियो । अनुसन्धानका प्रहरी साथीहरूले अफिम नै हो भनेर पक्का गरेपछि उनीहरूले टंकरामलाई पक्राउ गर्ने र अफिम खेती नष्ट गर्ने योजना बनाए । गिरफ्तारीका लागि छ जना प्रहरी उनको घरमा गए । पैसा दिएपछि पुलिसबाट पनि उम्कन सकिन्छ भन्ने ठानेर जनही लाखका दरले पैसा दिएर उम्कन खोज्ने प्रयास नगरेको होइन उसले । तर कर्तव्यनिष्ठ प्रहरीका कारण ७६ वर्षे उमेरमा जेल बस्न बाध्य भयो । यतिबेला ऊ आफ्नो विगत सम्झेर पछुताइरहेको छ । “आहा ! कस्ता थिए ? स्वतन्त्रताका ती स्वर्णिम दिनहरू ! तर मैले समयको सदुपयोग गर्न जानिनँ ” , सोच्दै छ ।

टंकराम जेल चलान र छोराको असमयमै मृत्यु भएकाले घर छिन्नभिन्न जस्तै भएको थियोे । तथापि पुरानो धङधङी भने बाँकी नै थियोे । बुहारीको काँधमा घरको जिम्मेवारी आएको थियोे । नातिनी मोतीगाडा क्याम्पस पढ्न जान्थी । बाउको असामयिक देहावसान र हजुरबा जेलमा भएकाले एक किसिमले ऊ फुकिदाँई भएकी थिई । स्वच्छन्द वातावरणमा हुर्केकी उसलाई केहीको रोकठोक थिएन । केटा खेलाउँदै फेर्दै हिड्थीं । हजुरबाउको सम्पत्तिमा रजाइँ गर्न पाएकी थिई ।

कर्म अनुसारको फल ! शास्त्रमा लेखिएको कुरा के मिथ्या हुन्थ्यो र ! बेलैमा सचेत नहुँदाको परिणाम ऊ दोजिया भई । कुमारी अवस्थामा छोरीको त्यस्तो हाल देख्दा आमा आत्तिई । सानैदेखि अल्छे छोरी झन् अहिले त कामै नगर्ने भएकी थिई । तनाव थपिएको थियोे । खेतीपाती चलाउन र घर धान्न मुस्किल हुँदै गइरहेको थियोे ।

सामुदायिक वनमा दाउरा खुलेको थियोे । आमाले दाउरा ल्याउन अह्राएपछि मन नलाई नलाई कोपिला दाउरा काट्न गई । जंगलको सौन्दर्य बडो विचित्रको थियोे । कतै हरियो घाँसे मैदान त कतै अग्लाहोचा रूखले डम्म ढाकिएको मनोरम दृश्य ! तर यस्ता दृश्य परिदृश्यले आकर्षित गर्न मन शान्त र तनावरहित हुनुपर्दो रहेछ क्यारे ! पहरामा फुलेका लालीगुराँस र रङ्गीविरङ्गी सुनाखरीले पनि उसको हृदय तान्न सकेन । कसैले काटेर थुपारेको दाउरा देखेपछि यतउता यसो मान्छे हेरी र चालचुल नदेखेपछि भारी हाल्न थाली ।

लिलामाया सार्कीले , आफूले दु:ख गरेर काटेका दाउरा अर्कैले भारी हालेर लैजान आँटेको देखेपछि सहन सकिनन् र मुख छोडिन् । त्यहीँ निँहुले उग्र रूप लियो । लिलामायालाई आमाछोरी मिलेर हातपात गर्न खोजे र उल्टै लिलामायाले मट्टीतेल छर्केर छोरीलाई आगो लगाउन खोजी भनेर आरोप लगाए । घरभित्रबाट मट्टीतेल ल्याएर हतारहतार छोरीको जिउमा मट्टीतेल खन्याई र एकैछिनपछि हारगुहार गर्दै कोकोहोलो गरी । कंकलाशब्द सुनेर छिमेकी र गाउँलेहरू दौडेर त्यहाँ आए ।

समाजको मत हुनेखानेकै पक्षमा थियोे । लिलामाया त बिचरी उनीहरूका लागि मान्छे जस्तै लाग्दैनथी । सबैले कोपिलाका आमाछोरीलाई उक्साउनसम्म उक्साए । त्यसपछि लिलामाया विरुद्ध ज्यान मार्ने अभियोगमा जिल्ला अदालतमा मुद्दा चलाइयो । त्यसको केही दिनमा घरको दु:खद वृतान्त सुनेर लिलामायाका श्रीमान् शेरबहादुर सिलोङबाट घर फर्कने भए । जनयुद्धका बेला पाँच वर्ष बन्दुक बोकेका उनी हक्की स्वभावका थिए । स्कूल पढ्दापढ्दै वन पसेको उनको छोरोले युद्धमा शहादत प्राप्त गरेपछि उसको सपना साकार पार्न र गाउँमा हुनेखानेहरूको ज्यादती सहन नसकेर लालसेनामा भर्ती भएका उनले सोलु , भोजपुर र रुम्जाटार लगायतका मोर्चामा शाही सेनाविरुद्ध लडेका थिए । शान्ति सम्झौता भएपछि उनी अयोग्य लडाकु घोषित भएपछि सिलोङ पसेका थिए । उता थोपाथोपा पसिनासँग साटेर पठाएको पैसाले जेनतेन घरधन्दा धानिरहेकी थिईन् लिलामायाले । हतारहतार गरेर घर आइपुग्दा लिलामायालाई प्रहरीले हिरासतमा लिइसकेको थियोे । भेट्न गाइघाट पुगे । त्यहाँ एक किसिमको सन्नाटा छाएको देखिन्थ्यो तर भित्रभित्रै आक्रोशको ज्वला दन्किरहेको जस्तो लाग्थ्यो ।

लिलामायातर्फका साक्षी बसेकाहरू पैसामा किनिएको हल्ला चल्न थाल्यो गाउँमा । पाँचजनामध्ये चारजना त साक्षी बक्न जानै मानेनन् । गएको एकजनाले पनि जिब्रो चपाएर बोलिदियो । त्यही भएर पनि होला , मुद्दाको सुनुवाइ हुने दिन जोइपोइमा थोरैमात्र उत्साह बाँकी थियोे । छ महिनासम्म मुद्दा लड्दा शेरबहादुरको श्रीसम्पत्ति स्वाहा भइसकेको थियोे भने मात्रै भगवान भरोसा बाँकी थियोे । कानूनका नौं सिङ हुन्छ भन्छन् , उनीहरूले सायद भेउ पाएनन् कि , बिना गल्ती समेत मुद्दा हारे । घरबारी बन्धकी राखेर केही पैसा जम्मा गरे शेरबहादुरले । धरौटीमा लिलामायालाई छुटाएर पुनरावेदन गर्न ओखलढुंगा जाने सल्लाह भयो र भाइकोषको पैसा बाटो खर्च लिएर घुर्मी हुँदै मानेभञ्ज्याङ चढ्दै गर्दा उनीहरूले मनमा अनेक कुरा खेलाए । लिलामाया सोच्दै थिइन् कि , बिना अपराध त के जेल बस्नु पर्ला र !

उता शेरबहादुर भने जनयुद्ध कालका केही अविस्मरणीय घटना र फेरि भूमिगत हुनेबारे मनमा कुरा खेलाउँदै गर्दा भुसुक्क निदाए । निद्रामै उनले शोषकहरूलाई एके फोर्टी सेभेनले भुटेको सपना देखिरहेका थिए । अचानक , साँघुरो बाटोमा विपरीत दिशाबाट आइरहेको ट्रकलाई साइड दिन खोज्दा उनीहरू चढेको बस झण्डै नगुल्टिएको ! शेरबहादुर ब्युँझदाँ सबैका अनुहार साँच्चिकै त्रस्त देखिएका थिए । तल सुनकोशी र दुधकोशी एकोहोरो सुसाइरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *