Skip to content


एकछिन गेम खेल्ने हो जे-जे हुन्छ होस्
आज बाको मोबाइल हुन्छ खोसाखोस्

हिसाब गर्छु भनेर दाइले तान्नुभो
फेसबुक खोल्न काकीले कैले जान्नुभो
`वर्ल्ड कपमा कल्ले गोल् कति खाएछ ?´
फुट्बल हेर्न काकालाई मन लाएछ

`रेडियोले के भन्छ ? यसमै सुन्छु म
नयाँ खबर सुनेर ढुक्क हुन्छु म´
हजुरबाले माग्नुभो कस्को के लायो ?
तर मोबाइल खोसेर भाइले खेलायो

`फिलि म यस्मै हेरिन्छ हलमा जान्नँ म
म‍‍‍ोबाइल छुन नदिए भातै खान्नँ म´
यसो भन्दै दिदीले घुर्की लाउनु भो
`फोटा हेरम्´ भनेर बज्यै आउनु भो

गीत सुन्न मन् छ रे कानमा लाएर
बहिनी मोबाइल माग्दैछे रुँदै आएर
`कति बज्यो ?´ भनेर टाइम सोध्नुभो
झोक चलेछ आमालाई मोबाइल खोज्नु भो

`बेट्री त्यसै नसिध्याऊ सेल्फी खिचेर
फोन गर्ने हो यसको काम अङ्क थिचेर´
बाले यसो भन्नुभो चुप्प लाइयो
आखिर बाको मोबाइल बालाई बुझाइयो

बिग्रे पनि अब त हुन्न हाम्रो दोष्
आज बाको मोबाइल भयो खोसाखोस् ।

रमेशचन्द्र घिमिरे
(२०७५/०३/१०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *