Skip to content


हाँगा माथि बसेर फेद रूखकाे काट्नेहरू हाे सुन
कालाे हाे अथवा सफेद कुन हाे चिन्नै नचिन्ने सुन।
हाम्राे न्याय सुटुक्क बेखबर भाे खाेजे सबै ती कुना
लुट्छाै मात्र कि देश याे दिनदिनै या छन् कुनै याेजना?।।१।।

आमाकाे फरिया थुतेर बलले बेच्नेहरू हाे सुन
तिम्राे नैतिकता कहाँ बिलय भाे उच्चा थिए गर्जन।
माटाे हुन् जननी र पाेषण दिई याे ज्यान बाँच्ने भर
बैरीकै गुणगानमा दिन बिते याे देश भुल्छाै तर।।२।।

आफ्नाे राष्ट्र भुलेर दूर घर त्याे राेज्नेहरू हाे सुन
अर्काकाे परिबन्दमा मुलुक याे छाेड्नेहरू हाे सुन।
आफ्नै सुन्दर देश भित्र पनि छन् आभा दिने मञ्जिल
आऊ फर्क र देशमै इलमकाे बाढी चलाऊ अब।।३।।

आधा पेट बसेर जीवन सधैं धान्नेहरू हाे सुन
नाङ्गाे देह भएर शीत लहरी भाेग्नेहरू हाे सुन।
निर्धाे भै अथवा बनेर नबसाैं साेझाे भनी हेप्दछन्
आफ्नाे ताकत चिन्नुपर्छ जन हाे भुक्ने सबै भाग्दछन्।।४।।

आफ्ना धर्म,कला र संस्कृति यहाँ मास्नेहरू हाे सुन
पुर्खाकाे बलिदान मेट्न लतमा पर्नेहरू हाे सुन।
साझा याे सबकाे अखण्ड जननी टुक्रा बनायाै किन?
तिम्रा कर्तुत देखि वाक्क जन छन् के याे गरेकाे भन।।५।।

यादव दुलाल गाउले

छन्द:-शार्दूलबिक्रीडित
शीर्षक:-के याे गरेकाे भन

Leave a Reply

Your email address will not be published. Required fields are marked *