Skip to content

हे ईश तिम्रो रचना अपार
देखी उठ्यो एक नयाँ विचार
यो प्रश्न गर्दैछु म बार बार
मैमाथि मात्रै किन भो प्रहार ?

के सिद्धिको थोर उपाय छैन
जे गर्छु त्यो पूर्ण कतै हुँदैन
जानी नजानी हुन गो बिगार
मैमाथि मात्रै किन भो प्रहार ?

जानेर कैल्यै पनि जानिएन
राम्रो नराम्रो पनि छानिएन
संसार तिम्रो रचना अपार
मैमाथि मात्रै किन भो प्रहार ?

छोडेर अन्यत्र कता म जाऊँ
अर्को कुनै लक्ष्य कता म पाऊँ
बिग्रेछ संसार सबै सपार
यो ठाउँमा नै किन हो प्रहार ?

माया र सद्भाव कि निख्रिएछन्
मान्छे सबै खै किन बिग्रिएछन्
के तर्न सक्थें म त यो जँघार
मैमाथि मात्रै किन भो प्रहार ?

के देख्नु मैले सपना हुँदैन
के भित्र मेरो मन यो रुँदैन
खुम्च्याउने हो कति यो निधार
मैमाथि मात्रै किन भो प्रहार ?

टन्टासँगै झन् अझ बढ्छ लन्ठा
मैमाथि पर्ने किन धेर टन्टा
के हुन्न मेरो हँसिलो मुहार
मैमाथि मात्रै किन भो प्रहार ?

मेरो यहाँ झुक्तछ नित्य माथ
सक्छौ भने ईश्वर प्रेम साथ
मिल्काइदेऊ मनका विकार
मैमाथि मात्रै किन भो प्रहार ?

तृष्णा तिमी हौ जगदीश मेरो
सुक्ला कि जस्तो छ यहाँ पनेरो
संसारको पाप सबै निखार
डुब्ने भयो भक्त जँघार तार ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *