Skip to content


‘‘यो संगीतको आभास कवितासङ्ग्रह स्वच्छन्दता वादी काव्यशिल्पको उपयोग गरिएको अप्रवासी स्वरमा प्रकृतिको चित्रण गरिएको काव्य हो’’–होमनाथ सुवेदी ।

म भन्छु साहित्य मेरो मुटुहो । मुटुको प्रत्येक स्पन्दन मेरा कविता हुन् । यसैको परिपूर्णता नै मेरो साहित्यको तीर्खा मेटाउने माध्यम हो– गंगा लिगल

यस कृतिको लेखकीयमा गंगाजीले लेख्नुहुन्छ –‘‘जीवन रंगिन्छ केवल साहित्यले, राम्रा कपडाले होइन’’ वास्तवमा साहित्यले मानवलाई अमरत्व प्रदान गर्छ । कपडाको सिङ्गारले क्षणिक आवरणको सुन्दरता मात्र हो । जीवनलाई रंगीन पार्न त साहित्य नै आवश्यक पर्दछ । साहित्यप्रति गंगाजीको कति गहिरो मनन् चिन्तन छ भन्ने कुरा उहाँका अभिव्यक्तिबाटै प्रष्ट हुन्छ । गंगाजी भन्नुहुन्छ –‘‘दिनमा एउटा मात्र भए पनि कविता नलेखी सुत्न नसक्ने बानीले म भन्छु, ‘‘कविता मेरी संगिनी हुन् ।’’

गंगा लिगलको कविता मोहलाई हामीले फेस बुकमा नियालो भने पनि यी भनाइको पुष्टि हुन्छ किनकि फेसबुकमा उहाँका दिनहुँ नयाँ नयाँ कविता पोष्ट भएको पाइन्छ । यो देखेर म त भन्छु ‘कविता लेखेर कहिल्यै नथाक्ने व्यक्तित्व हुन् गंगा लिगल । न त कविता लेख्ने समय चाहिन्छ न त शीर्षक नै, उनमा कविता कोर्ने यति उच्च शक्ति छ कि जुनसुकै समयमा जुनसुकै विषयमा पनि कविता लेख्न सक्छिन् । यस कविता सङ्ग्रहमा पनि गंगाजीले ‘साहित्य जगत्’ शीर्षकमा कविता लेख्नुभएको छ । हेरौं यस कवितामा साहित्यप्रति उहाँको धारणा कस्तो छ –

साहित्य जगतको गगन घुम्न पाए
आफूलाइृ विहंग भै उडेको ठान्छु
साहित्यको उच्च शिखर चुम्न पाए
आफूले आफैलाई अमीर ठान्छु
(साहित्यजगत्, पृष्ठ ६९)

गंगाजीका यी माथिका श्लोकले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुना मदनका दुई पङ्क्तिलाई याद गरायो –

हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दि मनले

वास्तवमा साहित्यरूपी धनले मानवलाई सधैं अमीर बनाउँछ र अमरत्व दिलाउँछ । धन त हातको मैला हो र यो साधन हो साध्य होइन । गंगाजीले भन्नुहुन्छ –

साहित्यको मीठो रस स्वादनले
जीवन अति धन्य बन्छ
यस्को रहस्यरूपी अमृत पानले
बसुधैव कुटुम्बकम्लाई जगाउँछ ।
(साहित्यजगत्, पृष्ठ ६९)

साहित्य ज्योत्स्ना शीर्षकमा कवयित्रीले भन्छिन् –

‘साहित्य नै हो दियो देशको,
यो जग हो प्रकाश पुञ्जको
जति बल्यो उति प्रवल हुने
सबमा आनन्दको ज्योत्स्ना हो ।’

साहित्य राष्ट्रको पोषण हो, देशको विशाल भण्डार हो, अमूल्य निधि हो, यसमा गरिमामय संसार छ, भविष्यको ओजपूर्ण र राष्ट्रको सत्यताको आधार हो जस्ता गहन धारणाहरू आएका छन् । साहित्य सम्बन्धित ‘कविताको महल’मा कविताको महल बनाइदेऊ भन्ने धारणा राखिएको छ । उनका कविता कस्ता छन् त, उनकै भावनामा हेरौं–

मेरा कविता सानो छ
तर मानव मात्रको
गीत गाउँछ
(कविताको प्रवाह, पृष्ठ ६३)

कविता साहित्यकै एक विधा हो । मानवीय जीवनका विविध कर्मलाई यसले समाएको हुन्छ र मानवकै गीत गाएको हुन्छ । यस्ले प्रकृतिको सौन्दर्यतालाई खिच्छ, क्रान्तिको लहरसँगै शान्तिलाई तान्छ, यो अनुभूतिको प्रवाह हो, नदीको तरंग हो, मानव हृदयको मुहानबाट सलल बग्दछ, प्रगतिको बाटो लिन्छ, सभ्यताको धुनमा हिड्छ, पहाडको झर्ना भएर बग्छ, कविता मानव मस्तिकको संयोग हो, विश्वकै मेरुदण्ड हो, यसले अमरगाथालाई इतिहास बनाएर राख्दछ । कवयित्रीको कविताप्रतिको धारणा उच्च छ । जहाँ नपुगे रवि, त्यहाँ पुगे कवि भन्ने यथार्थतालाई गंगाजीले पस्कनु भएको छ आफ्नो साहित्य मार्फत व्यवहारमा उतार्नुभएको छ ।

राष्ट्रभाव र गंगा लिगल– साहित्यको व्याख्या गरेर कहिल्यै नथाक्ने गंगाजीको अर्को गहन धारणा हो राष्ट्र, मातृभूमि र आमाको माया । उनका हरेक कृतिमा यी धारणाले अति गहिरो स्थान लिएका छन् । उनका मुटुबाट प्रवाहित हुने रगतको कण कणमा राष्ट्रियता बगेको हुन्छ । त्यसैले भूमिकामा होमनाथ सुवेदीजीले लेख्नुहुन्छ –‘राष्ट्रियताको बखान गर्नु गंगाजीको पानी हो र यो बानी हो ।’ यस कृतिको पहिलो कविता सगरमाथाको गौरव हो यस कवितामा उच्च सगरमाथाको गौरव गाथा सँगालौ भनिएको छ, यस देशको निष्कलङ्कित इतिहास कोर्न, प्रकृति बचाउन, सुरम्य सौन्दर्यलाई सिंगार्न, नेपालीहरू मिलेर, धरतीको शान र बसुधैवकुटुम्बकम्को अतिमान राख्दै निष्कलंक र निष्कंटक भएर नेपाली आमालाई हंसाउँ, सगरमाथाको गौरवलाई उच्च राख्दै विश्वमा प्रसिद्धि बनाऔ जस्ता धारणा राखिएका छन् । उनी भन्छिन् –

धर्म र संस्कृतिको अनगिन्ती वैभव हाम्रो
ज्ञान मार्गको बाटो पहिल्याउन सक्ने राम्रो
चन्द्र सूर्य अंकित गौरवमय झण्डा हाम्रो
त्यसमाथि उच्च सगरमाथा अत्यान्त राम्रो
(सगरमाथाको गौरव, पृष्ठ १)

माटो छ रातो– यो देशको पवित्र माटो नबगाउन धेरै रगत बगिसकेकोले अब सबै नेपाली प्रेमले जिउन पर्छ भन्ने सन्देश दिइएको छ ।

सुन्दर शान्त विशाल– ‘सुन्दर नेपालको आकृति अटल ’ नेपालको सुन्दर शान्त विशाल प्रकृतिको वर्णन गर्दै यस भूमिलाई कवयित्रीले यसरी वर्णन गरेकी छन् –

ऋषिहरूको पवित्र तपस्थल
प्रसिद्ध नदीको कञ्चन जल
शौर्य गाम्भिर्य र सौम्य स्थल
विशाल यसको रहस्य महल
(पृष्ठ १२)

नेपाली माटो –
रसिलो यो माटालाई भरिलो बनाऔं
विषमताको बाढीलाई अब हटाऔं
(पृष्ठ २१)

यस कवितामा पनि नेपालको झण्डालाई, र सगरमाथाको शिर उच्च राखौं भन्दै नेपाल र नेपालको प्राकृतिक सौन्दर्यको उच्च वर्णन गरिएको छ ।

चाहिन्छ यहाँ – देशलाई कस्तो मानिसको आवश्यक्ता हुन्छ भन्ने उनको धारणामा–

यहाँ सग्लो मान्छे चाहिन्छ
जस्को मुटुमा ढुकढुकी होस्
यहाँ पवित्र हृदय चाहिन्छ
जस्मा देशप्रतिको समर्पण होस्
(पृष्ठ ३०)

यस कवितामा कवयित्रीले राष्ट्रप्रति समर्पित लगायत पूर्णताको खोजी गरेकीछन् जस्तै मान्छे भएपछि मानवता चाहिन्छ र फूल भएपछि सुवास चाहिन्छ । मानवमा मानवता र फूलमा सुवास भएन भने कुनै सार्थकता रहँदैन ।

जन्मभूमिको माटो –यस कवितामा पनि विदेशमा गए तापनि यस देशको पवित्र माटोप्रति अगाद्ध श्रद्धा राख्दै शिरमा लगाई जन्मभूमि भनेको स्वर्ग हो । यो स्वर्गलाई चरितार्थ गर्नु पर्दछ भन्ने धारणा आएको छ ।

गौरवमय इतिहास– सगरमाथाको गौरवमय इतिहास, नेपालीको शिर, नेपालीको शानलाई कहिल्यै झुक्न दिन हुँदैन भन्ने धारणा आएको छ ।

हिमाली गौरव –सगरमाथाको उच्च हिमाली गौरव जहाँ नेपाल हाँसेको छमा राष्ट्रिय गौरवलाई उच्चाइमा पुर्याउँदै, स्थाइत्व प्रदान गर्दै बाँच्न चाहेको धारणा आएको छ ।

देशको माटो – यस कवितामा पनि कवयित्रीले देशको माटो बचाउनु पर्छ, स्वतन्त्र भएर बाँच्न पाउनु पर्छ, माटोमा मलिनता छाउन दिन हुन्न आमाको मुहारलाई निनाउरो पार्न हुँदैन सबै मिलेर नेपालको अस्तित्त्व र युगौयुगको नेपाली संस्कृतिलाई बचाउनु पर्छ भन्ने धारणा आएको छ ।

आमाको माया– र्गंगाजीको हरेक कृतिमा हामीले ममतामयी आमा र मातृभूमिप्रति अगाद्ध श्रद्धाभाव पोखेको पाउँछौं । यस कवितामा पनि आमाको माया अत्यान्त चोखो हुन्छ र अमृतले भरेको हुन्छ । आमाको मायामा स्वर्गीय आनन्द मिल्दछ र हामी विदेशमा बसेकालाई आमाको माया र काखले बोलाइरहेको छ भन्दै कवयित्री भन्छिन् –

स्वर्ग नै खोज्न पर्दैन अनि हामीले आमाको मायामा
स्वर्गीय आनन्द छिपेको छ आमाको छायामा
(पृष्ठ ७७)

रमणिय धरती–यस कवितामा नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्दै कवयित्रीले लेख्नुहुन्छ –

चेतनाको स्वच्छ प्रतिमूर्ति
उज्ज्वल प्रकाशले दिन्छ स्फूर्ति
स्व–प्रयत्नबाट रहेको कीर्ति
स्वर्गसरिको नेपाली छ धरती
(पृष्ठ ७८)

राष्ट्रिय ध्वजा –कवयित्रीले राष्ट्रिय ध्वजा अटल रहोस् र यो वीरताको प्रतिक हो को धारणा यसरी राखेकी छन् –

वीरताको प्रतिक नै प्रफूल्ल ध्वजा यो
वीर वीराङ्गनाले संगालेको कथा यो
(पृष्ठ८५)

चिन्तन– यस कवितामा पनि सबमा पवित्र र सम दृष्टि राखेर राष्ट्रको उन्नतिको चिन्तन राख्न आग्रह गरिएको छ ।

गरिमामय शान– यस कवितामा पनि प्राकृतिक सौन्दर्यको वर्णन गर्दै यस धर्तीमा जन्मेका हामी नेपालीले नेपाल आमाको मर्यदा राख्दै प्रत्येक युगको सुरम्य इतिहास कोरौं भन्ने धारणा राखिएको छ ।

प्रकृतिक वर्णन र कवयित्री–गंगाजीको अति गहकिलो कवित्वप्रवाह प्रकृतिको वर्णन पनि हो । शब्द शब्दमा प्रकृतिसँग रमाउनु, लालीगुराँस र लालुपातेले कवितालाई सिङ्गार्नु, डाँफे, मुनाल र मयुरका जोडीसँग मितेरी लाउनु, झर्नानाको सङ्गीतलाई श्रवण गर्दै रमाउनु जस्ता अनगिन्ती रमणिय प्राकृतिक सौन्दर्यलाई आत्मसात गर्न सक्नु गंगाजीको खुवी हो । त्यसो हुँदा उनको प्रकृतिप्रतिको मोहलाई उच्च मूल्याङ्कन गर्दै भूमिकामा होमनाथ सुवेदीजी लेख्नुहुन्छ –‘प्रकृतिको मुस्कान’ शहरी बस्तु भएर पनि आस्टिन टेक्शासको यहाँ प्रकृति वर्णन छ । यहाँ व्यथितको प्रकृतिवाद पढे जस्तै छ ’ । ‘नटिप’ कवितामा फूलहरूको सौन्दर्यलाई टिप्न हुँदैन फुल्न दिनु पर्छ भन्ने कवयित्रीको धारणा छ –

वसन्तको घुम्टो खोली
चियाई हेर्ने वेला
कोपिलामै नटिप है
फूल फुल्ने वेला
(पृष्ठ ३)

वसन्त ऋतुप्रतिको धारणा–
वसन्त ऋतुको सुभागमन
हरियालीले सुशोभित वन
हर्षविभोर छ कोकिल मन
मयुर नाच्छ रमाई झन
(रमणिय धरती, पृष्ठ ७८)

प्रकृतिमा परिपूर्णता–
के छैन यस प्रकृतिमा
शैव्य गाम्भीर्य माधुर्य
अनि सौन्दर्यले
परिपूर्णता पाएको
(प्रकृतिको मुसकान, पृष्ठ १०२)

शिङ्गारको रूपमा फूलहरू–
कौशीभरि नै सेताम्मे फुलेका
हरिया बोट माथि अति खिलेका
हेर्दै रहर लाग्दा टिपौं कि जस्ता
सुन्दर इन्द्र कमल फूल जस्ता
(सारथी, पृष्ठ ११०)

यस कृतिमा धेरैजसो कवितामा कवयित्रीले प्रकृतिको सुन्दर्तालाई जोडेकी छन् । वसन्तको आभास, वसन्तको पदचाप, वसन्तको स्पर्श, आई देऊ आदि कवितालाई उदाहरणको रूपमा लिन सकिन्छ ।

अमेरिकाको वर्णन गरिएका कविताहरू–नेपालका युवा युवती विदेश पलायन भएका छन् । कोही रोजगारीको लागि त कोही अध्ययनको लागि । अरव र मलेसिया गएका त फर्केका छन् तर युरोप, अमेरिका, युके, अष्ट्रेलिया आदि देशमा गएकाहरू डायस्पोरिक जीवन बिताइरहेका छन्। जुन देशमा गएर बसिन्छ निश्चय नै त्यस देशप्रतिको आदरभाव झल्किनु स्वभाविक हुन आउँछ । कवयित्रीको अमेरिका बसाईका क्रममा लेखिएका यी कविताहरू अमेरिकी परिवेशमा लेखिएका छन् । यहाँको परिवेश – यो कविता अमेरिकाको परिवेशमा लेखिएको छ । अमेरिकालाई पृथ्वीको स्वर्ग भन्छन्, यहाँ मानिसभन्दा गाडी धेरै छन् । यस कवितामा अमेरिकामा गएपछि नेपालीहरूले नेपालको पहिरन वेशभुषा, भााषा, आदिलाई भुलेका छन् । यस्तो किन भयोभन्दा यहाँको परिवेश यस्तै छ भन्छन् ।यस कवितामा जुनदेशमा गए पनि आफ्नो नेपालको परिवेशलाई नेपाली भाषा संस्कृति र पहिरन आदिलाई छाड्न हुँदैन भन्ने् धारणा आएको छ । भर्जिनिया हाँसेकी छन् र भर्जिनिया बृद्ध भए छ दुई शीर्षकका कविता हुन् तर यी दुवै कवितामा एकतिर हिउँले ढाकेको सौन्दर्यतालाई हाँसेको रूपमा प्रस्तुत गरिएको छ भने अर्कोतिर त्यही हिमछादित अवस्थालाई बृद्धतामा लगेर जोडिएको छ । कविको प्रस्तुतिकलाले मानिसले हेर्ने दृष्टिकोण फरक फरक हुन्छ भन्ने धारणा आएको छ ।

भर्जिनिया हाँसेकी छन्मा – भर्जिनिया बृद्ध भए छ
वरिपरि हिउँले ढाकेर हिजोको यौवन
के भो त आजै सेताम्मे भएर
टन्न चौर भर्जिनिया फूलेछ
सेतो टेवलपोसले आजै सेताम्मे भएर
सिँगारिएकोछ भर्जिनिया वृद्ध भएछ

कति सुन्दर प्रस्तुति छ कवितामा । बृद्ध हुनु र हाँस्नुको कारणा एउटै छ त्यो हो हिउँ पर्नु । चाँदीको छाता, छाया परेछ, फटिक जस्तो, सारथी, जन्मदिन, प्रकाशमय कविताहरूमा हिउँको प्रभावलाई समेटिएको छ । यी कवितामा हिउँको प्रभावलाई प्रकृतिको रम्यतामा सजाएर स्वच्छन्द प्रवृत्तिमा प्रस्तुत गरिएको छ । एउटा उदाहरणलाई हेरौं कवयित्रीको प्रस्तुतिकला कति सक्षम र रहर लाग्दो छ–

वरफ भनी न होच्याउ यसलाई
यो त चन्दै्रमाको एक
अभिन्न अंग हो
हेर त यसमा
मृदुमुस्कान छ्
अनि पो प्रकाशमय
पनि छ
(पृष्ठ ११३, प्रकाशमय)

त्यसो नभन – यस कवितामा पनि अमेरिकालाई क्षणिक रूपमा मात्र हेर्न नहुने यहाँ गम्भिर्य, माधुर्य, सौन्दर्य छ हो शिशिर आएर आफ्नो पौरख देखाए पनि वसन्त आएपछि यसको यौवनतामा सुन्दरता थपिने छ जस्ता धारणा सहित कवयित्रीले अमेरिकाको महक कसरी फैलिन्छ भन्ने वर्णन यसरी गरेकी छन् –

चारैतिर मनोरम महलहरूमा
प्रत्येक सुन्दर खम्बाहरूमा
सुनौलो रंगले सजाइ दिने छु
अनि यसको महक फैलाइदिने छु
(पृष्ठ १२३)

आह्वान गरिएकका कविताहरू– प्रतीक्षा, तिम्रो खाँचोछ, ज्ञान मार्ग, परिज्ञानको मार्ग, आई देऊ जस्ता कवितामा कतै प्रतिक्षा गरिएको छ, कतै खाँचोको महसुस गरिएकोछ कतै आउनको लागि आग्रह गरिएको छ । मैले आग्रह भने पनि उपदेश प्रधान कविताको रूपमा पनि यी कविताहरूलाई लिन सकिन्छ । कवयित्रीले आफ्ना भावना उपदेशात्मक रूपमा पनि धेरै कवितामा प्रस्तुत गरेकी छन् । सुन्दर सपना विपना बनाउने माधुर्यको राग बनेर आऊ भन्ने आग्रहलाई यहाँ हेरौं –

उल्लासमय जीवनको गीत बनेर
प्रतीक्षासँगै सुवास छरेर
पवनसरी आऊ तिमी
यस धरतीमा
नविर्सने संगीतको
धून बनेर ।
(प्रतीक्षा पृष्ठ ५)

मातृत्व र जन्म भूमिको रक्षा गर्ने सपुतको खाँचो भएकोले यस्ताो सपुतले जन्म लिएर आएर मातृत्वमा मुस्कान थप्न आवश्यक छ भनिएको छ ।

ज्ञान मार्ग –ज्ञानरूपी मार्गद्वारा अन्धकार हटाउने आग्रह गरिएकोछ । यसमा आध्यात्मिक मार्गदर्शनको लागि कवयित्री भन्छिन् –

इन्द्रीय मन र मष्तिस्कलाई
आध्यात्मिक मार्गदर्शन गराई
अंग प्रत्यंगलाई प्रफुल्ल गराई
सुरम्य बन्छ उच्च ज्ञान पाई
( ज्ञान मार्ग पृष्ठ ६१)

परिज्ञानको मार्ग – यस कविताममा कवयित्रीले आध्यात्मिकता र बौद्धिकतामा लगाऊ मन भनी आग्रह गरिएको छ –

बनाऊ ज्ञान चच्छुलाई परिमार्गी
बन ईश्वरीय सुखानु भूतिको भागी
दिव्य ज्ञानको ईप्साले बन गौरवशाली
अनि शुभ कामनाले बन भाग्यशाली
(परिज्ञानको मार्ग, पृष्ठ ८२)

आई देऊ–शिशिरको चिसोले अमेरिकामा पारेको प्रभावलाई वर्णन गर्दै वसन्तलाई आउनको लागि आग्रह गरिएको छ –

आई देऊ वसन्त
घुम्टो खोलीदेऊ
वासिङ्गटन डि.सी.मा
प्रफुल्लता भरिदेऊ
(आई देऊ, पृष्ठ १२४)

नवप्रभात –नवप्रभातले जसरी रजनीलाई चिरेर रोशनी फैल्याउँछ र बसुन्धरालाई प्रकाशमय बनाउँछ, त्यसरी नै नव शिशुको आगमनले वसुन्धरा मुस्कुराउने, धर्ती सारा रमाउने, विश्व नै जगमगाउने, ध्रुव तारा उदाउने, प्रफुल्लता भर्ने, स्वर्गीय आनन्द दिलाउने जस्ता रमणिय धारणा र भावनाले नवप्रभातलाई एउटा नव शिशुसँग तुलना गरिएकोछ र यसभित्र प्रकृतिक सौन्दर्यले शृङ्गारिएको छ ।

शुभको प्रतिक – लेखनको लागि मौसम सुहाना चाहिन्छ, त्यो मौसम जललाई मोतीको दानाको रूपमा रूपान्तरित गरिएर वर्षिदा प्राप्त भएको धारणा राख्दै कवयित्रीले प्राकृतिक सौन्दर्यतालाई यसरी वर्णन गरेकी छन् –

यो त अत्यान्त शुभको प्रतिक
उज्यालै उज्यालो देखिन्छ चौतर्फ
नयाँ दुलहीको सुन्दर घुम्टो जस्तो
प्रकृतिको हेर त खेल कस्तो ।
(शुभको प्रतीक, पृष्ठ ११५)

हिउँको सुन्दरतालाई कवयित्रीले कति मीठो प्रस्तुति गरेकी छन् ।

सेतै हिउँ छ
पृथ्वीको माझ
चारैतिर नै रमाइलो छ आज
भन्छु म वाह ! वाह! आज यस्तो
(पृष्ठ ११६, वाह ! वाह! आज यस्तो)

संगीतको आभास– यसै कविताबाट यस कृतिको शीर्षक राखिएको छ । यस शीर्षकको सार्थकता बारेमा भूमिकाकार होमनाथ सुवेदीले लेख्नुहुन्छ–‘‘यसमा संकलित कविताहरू गेयात्मक, प्रकृतिको प्राङ्गणमा मानवीय संवेदनाको झङ्कार दिने खालका भएकाले पनि संगीतको आभास नाम सार्थक देखिन्छ ।’’ हुनता यस कृतिमा थुप्रै कविता शीर्षकयोग्य छन् तापनि कवयित्रीको चाहना, भूमिकाकारले प्रष्ट्यााएको शीर्षकको सार्थकताको साथै यस कविताले समेटेको प्राकृतिक, संस्कृतिक, मानव मष्तिष्क, नौलो मानव जीवन र मानव इतिहासमा थपिएको नौलो आयमजस्ता सङ्गीतले मान जविनमा दिने आनन्ददायी धारणाले गर्दा शीर्षक सार्थक नै छ भन्न सकिन्छ । संगीतले के आभास दिन्छ त भन्ने सम्बन्धमा कवयित्रीका धारणाको पहिलो श्लोकलाई हेरौं –

कता कता हर्षको ध्वनि गुञ्जन्छ
सूर्यमा पनि लाली चढे झै लाग्छ
गुराँसमा यौवन भरे झै लाग्छ
अन्धकारमा पनि ज्योतिपुञ्ज देखिन्छ
अहो ! यो त संगीतको
आभास पो रहेछ ।

यस कवितामा पाँच ओटा श्लोक छन् दोस्रो श्लोकमा वसन्तले पनि घुम्टो खोल्न थालेको रंगीविरंगी फूलमा यौवन चढ्न थालेको, पंक्षीहरूमा पनि कलरव गान बढेको झर्नामा कञ्चनता छाएको यस्तो हुनुमा संगीतको आभास पो रहेछ भन्ने धारणा आएको छ ।

तेस्रो श्लोकमा चन्द्रमा सुस्तरी जून भएको, कोइलीले काफल पाक्यो भन्न थालेको, वन कुञ्जमा लताहरू लहरिन थालेका, सरित प्रवाहमा पनि वेग बढेको, यस्तो हुनुमा संगीतको आभास पो रहेछ भन्ने धारणा आएको छ ।

चौथोमा रोदी घरमा मादल घन्कनु, नृत्यांगनाको पाइलामा जोश बढ्नु, निद्रा पनि मधुर स्वप्नले भर्नु, समुद्रमा पनि सुन्दर तरंग थपिनु यस्तो हुनुमा संगीतको आभास पो रहेछ भन्ने धारणा आएको छ ।

पाचौं श्लोकलाई हेरौं –

मानव मष्तिष्क पनि परिवर्तित भएछ
प्रत्येक गायनमा झनन् झंकार बढेछ
नौलो जीवनको नयाँ आकांक्षा बढेछ
मानव जीवनमा नौले आयम थपेछ
अहो ! यो त संगीतको
आभास पो रहेछ ।
(पृष्ठ ९)

सत्यको आभास– सत्यलाई पनि कवयित्रीले गहनरूपमा लिएकी छन् । सत्य सनातन, गांभीर्य, रसिलो पोसिलो, दिव्यता, पोषक, माधुर्य, चहकिलो, गहकिलो, घमाइलो, रमाइलो, निस्वार्थ र पवित्र हुन्छ । कवयित्रीले सत्य भनेको पंक्षीको वोल, बाल मुस्कान, छहराको कञ्चन ध्वनि, स्वच्छन्दताको प्रतीको हो भन्दै सत्यलाई ईश्वरीय प्रेमसँग लगेर जोडेकी छन् –

सत्य ईश्वरीय प्रेम हो
प्रेम ईश्वरीय रूप हो
समता सत्ययताको आधार हो,
यही नै सत्यको आभास हो ।
(पृष्ठ ९०)

शिक्षाका विविध पक्षलाई समेटेका कविताहरू– दियो, नवजागरण, विद्या ददाति विनय म जस्ता कविताले मानव जीवनमा शिक्षाको कमिले गर्दा पार्ने सकरात्मक र नकरात्मक असरलाई समेटेका छन् । हेरौं केही श्लोकहरूलाई –

गाउँ अँध्यारो
दियो बलेन
चेतनाको
प्रेरणा भएन
(पृष्ठ १३, दियो)

शिक्षाबाट जीवनमा पार्ने सार्थकता –
शिक्षाको नौलो क्षितिजले
प्रतिक्षा तिम्रो गर्दछ
ज्ञानको ज्योति पाएमा
जीवन सार्थक बन्दछ
(नवजागरण, पृष्ठ १४)

विद्या ददाति विनय म
विद्याकोगुण नै मधुर म
मानव बन्छ सुन्दर म
हृदय बन्छ अति नरम
(विद्या ददाति विनयम्, पृष्ठ १५)

कर्तव्य पथमा चुक्न नहुने –
विश्वास नै ठुलो
मनको आँगनमा
चुक्न हुन्न है
कर्तव्य पथमा
(मनको आँगन, पृष्ठ १६)

स्वर्गप्रतिको कवयित्रीको धारणा –कसैले स्वर्ग खोज्छ भने अन्त जानु पर्दैन स्वर्ग त यसै पृथ्वीकै विविध प्राकृतिक तथा भौतिक सम्पदामा यत्रतत्र सर्वत्र प्राप्त गर्न सकिन्छ जस्ता धारणा राख्दै कवयित्री भन्छिन् –

मानव हृदयको स्वच्छन्दतामा
ईश्वर रहन्छ आनन्द स्वरूपमा
जहाँ रहन्छ मानव स्वर्गानन्दमा
त्यही स्वर्ग प्राप्ति आनन्दमा
(स्वर्ग कहाँ छ ?, पृष्ठ १७)

कहाँ गए ती – यस कवितामा कवयित्रीले आफ्नै जन्मभूमिका प्राकृतिक सौन्दर्यलाई विदेशमा बस्दा नपाउँदाको यादगारलाई समेट्दै आफ्नै देशलाई स्मरण गर्दै आफ्नै देशको न्यानो काख, आफ्नै देशको चोखो प्रकृति, आँखा भरि, सधैं भरि नाचिरहने धारणा पस्केकी छन् ।

जीवनजगत र कवयित्री– गंगाजी जीवन जगतसँग राम्रो परिचित हुनुहुन्छ । उहाँका कवितामा मानव जीवनका उकाली ओराली, सुख दुख, हाँसो रोदन, मानव्यि दायित्व र कर्तव्य, आदि विविधतालाई सेमेटेको पाइन्छ । सेवा, को हो त्यो मान्छे जस्तो, पतझड, ऐना, निसास्सिएको कहानी, बालक्रिडा, दिवा स्वप्न, अमूल्य आँसु, भडकिरहेको जीवन, असीमित रेखा, नव इतिहास, यी कवितामा मानव जीवनमा घट्ने घटना अर्थात जीवनजगतलाई समेट्ने प्रयास भएका छन् ।

आजको समाजमको यथार्थता–

भातृत्वको चोखो प्रेम हरायो
मातृत्वको पवित्र मर्यादा विलायो
राष्ट्रिय संस्कृति धराशयी बनायो
जनजीवनमा ठुलो पतझड आयो
(पतझड, पृष्ठ ४२)

मानव जीवन के को लागि –
मानवजीवन के को लागि त
खान पिउन मात्र होइन
सेवाको संगीत बोकेर
जीवन उच्च बनाउन
(सेवा, २४)

यो संसारमा थरि थरिका मानिसहरू भेटिन्छन्, कतै गरिबीको कारणले माानिस नै हैनन् कि जस्ता देखिन्छन् भने कतै पातले सिङ्गारिएको बृक्ष पात झरेपछि उजाड देखिए सरि आजका समाजका मानिसको मानवीय मूल्य नै हराएको जस्तो देखिन्छ । ऐना कवितामा मानव प्रतिविम्ब, सत्यताको प्रतीक, जीवनको प्रतिविम्ब स्वरुप देख्न सकिन्छ भन्ने धारणा आएको छ । वास्तवमा मानव जीवन आनन्दमय हुनु पर्ने हो तर चक्रव्यूहभित्र जकडिएको छ । मानवको वालककाललाई हेर्यो भने त्यहाँ रमणियता र आनन्दै आनन्द पाइन्छ, तर त्यही जीवन बृद्ध अवस्थामा दिवास्वप्न बन्न जान्छ र अमूल्य आँसु झर्न थाल्छ । यस कृतिमा जीवन भड्किरहेको अनुभूति हुनु, मानव जीवन अवर्णीय शक्तिपूर्ण हुँदाहुँदै पनि मृत्युको असीमित रेखामा सीमित हुनु । वास्तवमा मानिसले बालक, युवा र बृद्ध अवस्थामा पुगी आफ्नो अमर इतिहासलाई कायम गर्न सक्छ तर कार्यन्यनमा जान सकेको छैन भन्ने जस्ता गहन भावनालाई कवयित्रीले समेटेकी छिन् ।

धर्मप्रति कवयित्रकिो धारणा– धर्मप्रति कवयित्रीको गहिरो आस्था छ । कवयित्रीले धर्मलाई मानवको कवच हो, यसले मानवलाई स्वच्छता दिलाउँछ, मानिसमा हर्ष उमङ्ग भरिदिन्छ, मस्तिष्कलाई स्वच्छ पार्दछ, यो ईश्वरको प्रतिक हो, यो मानवको चरित्र हो र यसले जीवनलाई उच्चाइमा पुर्याउँछ भन्ने धारणा राखेकी छन् ।

शान्तिप्रतिको धारणा– शान्ति प्राप्त गर्न अरूलाई सुख दिन सके मात्र पूर्ण शान्ति पाइन्छ । शान्ति प्रेमको ज्यावल भएकोले पवित्र प्रेममा शान्ति पाइन्छ र चीर शान्ति कसरी बन्दछ भन्नेमा कवयित्रीको धारणा यसप्रकार छ –

त्याग र मानव सेवामा
जुन आनन्द मिल्दछ
त्यही हृदयको सुख नै
चीर शान्ति बन्दछ
(शान्ति, पृष्ठ ४९)

अहिंसा र कवयित्रीको धारणा–
अहिंसा परमो धर्म
ईश्वरीय सिद्धान्त हो
यसको अनुशरण गर्नाले
संसारै स्वर्ग बन्दछ ।

संसारलाई स्वर्ग र नर्क तुल्याउने काम हिंसा र अहिंसमा निर्भर रहन्छ । हिंसाले नर्क बोलाउँ छ र अहिंसाले स्वर्ग बोलाउँ छ । काटमार मात्र हिंसा होइन कसैको मन कुड्याउनु पनि हिंसा हो । त्यसो हुँदा अहिंसामा ईश्वरीय दृष्टि पर्दछ र मानव जीवनमा खुसीको वाहर ल्याउँछ भन्ने कवयित्रीको ठहर छ ।

विश्वास– मानव जीवनमा विश्वास लहरीएर रहेको हुन्छ । विश्वासमा सबै चीज छ । विश्वासमा मानव जीवन रमाइलो र घमाइलो बन्न पुग्छ भन्ने धारणा आएको छ ।

अमूल्य गुण– मानवीय जीवनको सृजनादेखि अन्त्यसम्म ज्ञानको चेतना आश्यक पर्दछ । अन्धकार प्रकाशपुञ्जले मेटाउँछ । उद्यानको नवपुष्पबाट तत्त्वज्ञान प्रप्त गर्न सकिन्छ, र आनन्दित बन्न सकिन्छ । मौरीले महजम्मा गरेर मानिसलाई रसस्वादन गरइ त्यागको आदर्श जगाउँछ त्यसो हुँदा यस्ता अमूल्य गुण र ज्ञान अनि चेतना जगाएर अमर गाथा बनाउन पछि हट्न हुँदैन भन्ने धारणा आएको छ । यस कवितालाई पढ्दा झट्ट महाकवि लक्ष्मीप्रसाद देवकोटाको झझल्को आउँछ ।

सन्ध्या–गंगाजीका भावनामा प्रकाशमय जीवनको चाहना छ । सन्ध्याले निम्त्याउने अन्धार मेटाउन दियो बालिन्छ । यो धपधपी बल्न दिनु पर्छ किनकि यो शुभको सूचक हो भन्ने धारणा छ ।

अतः गंगाजीका कविताहरू विविधताले भरिएका छन् र विविधताले सजिएका छन् । कतै दिव्यताको खोजी छ, कतै पुरातन संस्कृतिको वर्णन छ, कतै ऋषिमुनिप्रति आदरभाव छ, कतै नीजी भाष, संस्कृति, परम्परा, आत्मीय भावना, लोकगीतका भाकाहरूको खोजी छ भने कतै कलमको प्रवलताको वर्णन छ कतै मनभित्रको धनको खोजी छ । माथि नै आइसकेको छ कि उनका कविताहरू साहित्यप्रति समर्पित छन्, राष्ट्रियताको वर्णन छ, कल्पनामा प्रवलता र सवलता छ, प्रकृतिप्रतिको असीमित वर्णन छ, कतै आग्रह छ भने कतै उपदेश छ, अमेरिकाको वर्णन छ भने नेपालप्रतिको अगाध माया छ ।

अन्त्यमा छोटो यो मेरो अध्यनले देखेको यथार्थतालाई पस्कदै गंगाजीको दीर्घ आयुको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
२०७५ साल चैत्र २१ गते,
कावासोती, न.पा. वडा नं ७, शान्तिचोक
नवलपुर, गण्डकी प्रदेश, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *